बीमा कम्पनीलाई बोनसबाट मात्रै पुँजी वृद्धि गर्न मुस्किल



काठमाडौं । बीमा समितिले बीमा कम्पनीहरुको चुक्ता पुँजी वृद्धि गर्ने तयारी गरिरहेको छ ।

बीमा बजारमा जोखिम बढ्दै गएको र जोखिमअनुसार बीमा कम्पनीहरुको पुँजीको आकार भने सानो भएको भन्दै समितिले पुँजी वृद्धि गर्ने तयारी गरेको हो ।

समितिले जीवन र निर्जीवन दुबै व्यवसायका कम्पनीको पुँजी वृद्धि गर्ने मापदण्ड तयार गर्न लागेको हो ।

जसका लागि समितिले कार्यदल गठन गरी अध्ययन गरेको थियो । उक्त कार्यदलले नेपाली बीमा बजारमा बीमा कम्पनीहरुको पुँजी वृृद्धिको आवश्यकता रहेको प्रतिवेदन बुझाएको समितिको भनाइ छ ।

जोखिम अनुसार बीमा कम्पनीलाई सक्षम बनाउनका लागि पुँजी बृद्धि गर्न लागिएको समितिको भनाइ छ ।

समितिले निर्जीवन बीमा कम्पनीलाई न्यूनतम साढे २ अर्ब र जीवन बीमा कम्पनीलाई ५ अर्ब रुपैयाँको पुँजी कायम गर्ने तयारी गरेको हो ।

तर, समितिले औपचारिक निर्णय भने गर्न बाँकी छ ।

‘बीमा कम्पनीको पुँजी वृद्धि सम्बन्धी अध्ययन गर्न गठित कार्यदलले बीमा कम्पनीहरुको पुँजी वृद्धि गर्न आवश्यक रहेको प्रतिवेदन पेस गरेको छ । पुँजीको वृद्धि गरिनु पर्छ । नेपालको रिस्कलाई हेरेर अहिले कम्पनीहरुसँग भएको पुँजी कम भयो भनेको छ,’ समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले क्लिकमाण्डूसँग भने, ‘तर कुन मोडेलमा जाने भन्ने औपचारिक निर्णय भने भएको छैन ।’

बोर्डमा छलफल गरेर पारित भएपश्चात मात्रै मापदण्ड तोकिने उनको भनाइ छ । सो पश्चातमात्रै जीवन बीमाको कति, निर्जीवनको कति पुँजी वृद्धि गरिने भन्ने निष्कर्षमा पुगिने उनले बताए ।

उनका अनुसार हाल समितिले कुन मापदण्डमा पुँजी वृद्धि गरिने, के आधारमा गरिने र किन गरिने भन्ने निर्णय भने गरेको छैन ।

यद्यपि, उनका अनुसार समिति पुँजी वृद्धिको पक्षमा छ ।

पुँजी वृद्धिको मोडालिटी बनेपछि कम्पनीहरुलाई हकप्रदबाट वा मर्जर तथा प्राप्तिमार्फत पुँजी वृद्धिको निर्देशन दिने सोही समयमा निर्णय गरिने उनको भनाइ छ ।

समितिले बीमा कम्पनीहरुलाई हकप्रद सेयर जारी गर्न बन्देज गरेको छ । चालु आवमा समितिले शिखर इन्स्योरेन्स र आईएमई जनरललाई मात्रै हकप्रद सेयर जारी गर्न अनुमति दिएको छ ।

समितिले बीमा कम्पनीहरुको पुँजी वृद्धि गर्नका लागि भन्दै बोनस सेयरमा मात्रै जोड दिन निर्देशन दिईसकेको छ ।

भविष्यमा जोखिममा आधारित पुँजी कायम गर्नुपर्ने तथा कम्पनीलाई आइपर्न सक्ने थप जोखिम बहन गर्न पुँजी कोषलाई सवल बनाउनका लागि भन्दै नगद लाभांश वितरणमा रोक लगाएको समितिको भनाइ छ ।

समितिले नगद लाभांशमा रोक लगाएसँगै कम्पनीहरु बोनस सेयरमा मात्रै केन्द्रित छन् । जसले गर्दा कम्पनीहरुलाई चुक्ता पुँजी वृद्धि गर्न केही राहत भने मिल्ने छ ।

तर, बोनस सेयरबाट मात्रै समितिले तोकेको पुँजी पुर्याउन भने कम्पनीहरुलाई मुश्किल पर्ने देखिएको छ । जुन कम्पनीहरुले प्रस्ताव गरेको बोनसबाट प्रस्ट हुन्छ ।

सञ्चालनमा रहेका १९ वटा जीवन बीमा कम्पनीहरुमध्ये राष्ट्रिय बीमा संस्थान र सर्वसाधारणलाई आइपीओ निष्काशन गर्न बाँकी रहेका ५ जीवन बीमा कम्पनीबाहेक सबैले न्यूनतम चुक्ता पुँजी २ अर्ब कायम गरेका छन् ।

यस्तै, १८ निर्जीवन बीमा कम्पनीमध्ये राष्ट्रिय बीमा कम्पनीबाहेक सबै कम्पनीको न्यूनतम चुक्ता पुँजी १ अर्ब रुपैयाँ पुगेको छ ।

जीवन बीमातर्फ मेट लाइफ र निर्जीवनतर्फ ओरियन्टल र नेशनल इन्स्योरेन्सले चुक्ता पुँजी उल्लेख गरेका छैनन् ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा ३० वटा बीमा कम्पनीहरु सूचीकत छन् । जसमध्ये जीवन बीमातर्फ १२ कम्पनी छन् भने निर्जीवनतर्फ १८ कम्पनी छन् ।

हालसम्म २० वटा बीमा कम्पनीहरुले बोनस सेयर घोषणा गरेका छन् । जसमा १२ वटा निर्जीवन बीमा र ८ वटा जीवन बीमा कम्पनीहरु रहेका छन् ।

निर्जीवन बीमा कम्पनीहरुले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट लगानीकर्ताका लागि लाभांश घोषणा गरेका हुन् ।

जीवन बीमा कम्पनीले भने आर्थिक वर्ष २०७६/७७ को नाफबाट लगानीकर्ताका लागि लाभांश वितरण गरेका हुन् ।

लाभांश घोषणा गरेका जीवन बीमा कम्पनीतर्फ नेपाल लाइफ बाहेक अरु सबै कम्पनीले साधारण सभा सम्पन्न गरिसकेका छन् ।

नेपाल लाइफले चैत २१ गते साधारण सभा बोलाएको छ । कम्पनीद्धारा प्रस्तावित लाभांश उक्त सभाले पारित गरेपछि नेपाल लाइफको चुक्ता पुँजी ८ अर्ब १९ करोड रुपैयाँ पुग्ने छ ।

नेशनल लाइफले अघिल्लो आवको नाफाबाट लगानीकर्ताका लागि २० प्रतिशत लाभांश दिने घोषणा गरेको थियो । जसमध्ये १९ प्रतिशत बोनस सेयर प्रस्ताव गरेको थियो । नेशनलको साधारण सभा सम्पन्न भईसकेको छ । नेशनल लाइफको ४ अर्ब ३ करोड रुपैयाँ चुक्ता पुँजी पुगेको छ ।

एलआइसी नेपालले २० प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको थियो । फागुन ११ गते बसेको इन्स्योरेन्सको वार्षिक साधारणसभाले सो लाभांश पारित गरिसकेको छ । बोनस सेयर पश्चात कम्पनीको चुक्ता पुँजी २ अर्ब ६५ करोड रुपैयाँ पुगेको छ ।

ज्योति लाइफले १० प्रतिशत बोनस प्रस्ताव गरेको थियो । फागुन ६ गते सम्पन्न भएको साधारण सभाले उक्त लाभांश पारित गरेको छ ।

प्रस्तावित बोनसपछि ज्योतिको चुक्ता पुँजी २ अर्ब २४ करोड रुपैयाँ पुगेको छ ।

एशियन लाइफ इन्स्योरेन्सले अघिल्लो आवको नाफाबाट २५ प्रतिशत बोनस प्रस्ताव गरेको थियो । २५ प्रतिशत बोनस पछि एशियन लाइफको चुक्ता पुँजी २ अर्ब ५१ करोड रुपैयाँ पुगेको छ ।

१२.७० प्रतिशत बोनस सेयर पारित भएपछि सूर्या लाइफको चुक्ता पुँजी २ अर्ब ५४ करोड रुपैयाँ पुगेको छ ।

१५ प्रतिशत बोनस सेयर पारित भएपछि प्राइम लाइफको २ अर्ब ७७ करोड रुपैयाँ पुगेको छ ।

यस्तै, रिलायन्स लाइफले अघिल्लो आवको नाफाबाट लगानीकर्ताका लागि ५.२६ प्रतिशत बोनस सेयर दिएको थियो ।

निर्जीवन बीमा कम्पनीतर्फ १२ वटाले गत आवको नाफाबाट लाभांश घोषणा गरेका छन् ।

माघ २१ गते सम्पन्न प्रिमियरको वार्षिक साधारणसभाले प्रस्तावित १४.२५ प्रतिशत अर्थात १५ करोड ३१ लाख रुपैयाँ बराबरको बोनस सेयर पारित गरेको छ । कम्पनीको चुक्ता पुँजी १ अर्ब २२ करोड रुपैयाँ पुगेको छ ।

नेको इन्स्योरेन्सद्धरा प्रस्तावित १५ प्रतिशत बोनस पश्चात चुक्ता पुँजी १ अर्ब ७४ करोड रुपैयाँ पुगेको छ ।

११ प्रतिशत बोनस सेयर प्रस्ताव गरेको प्रभु इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब २८ करोड रुपैयाँ पुग्ने छ । लाभांश पारित गर्न कम्पनीले चैत ३० गते साधारण सभा बोलाएको छ ।

१५ प्रतिशतपछि बोनस पश्चात सिद्दार्थ इन्स्योरेन्सको १ अर्ब २८ करोड पुग्ने छ । सिद्धार्थ इन्स्योरेन्सको साधारणसभा चैत ३० गते बस्दै छ ।

हिमालयन जनरलको ६.६५ प्रतिशत बोनसपछि १ अर्ब १७ करोड रुपैयाँ पुगेको छ ।

नेपाल इन्स्योरेन्सले हाल कायम चुक्ता पुँजीको एक अर्ब २४ करोड २३ लाख रुपैयाँले ११.५७ प्रतिशतले हुन आउने बोनस सेयर प्रस्ताव गरेको छ । बोनस पश्चात कम्पनीको चुक्ता पुँजी १ अर्ब ३७ करोड ८९ लाख ५७ हजार २४२ रुपैयाँ पुग्ने छ ।

एनएलजी इन्स्योरेन्सले १० प्रतिशत बोनस प्रस्ताव गरेको छ । कम्पनीले चैत १७ गते साधारण सभा बोलाएको छ । १० प्रतिशत बोनसपश्चात कम्पनीको चुक्ता पुँजी एक अर्ब २० करोड नाघ्ने छ ।

लुम्बिनी जनरल, आइएमई जनरल, एभरेष्ट इन्स्योरेन्सले भने साधारण सभा बोलाएका छैनन् ।

१० प्रतिशत बोनसपश्चात लुम्बिनी जनरलको पुँजी एक अर्ब ३१ करोड ३० लाख ८० हजार रुपैयाँ पुग्ने छ । यस्तै, ६ प्रतिशत बोनस पश्चात एभरेष्ट इन्स्योरेन्सको चुक्ता पुँजी एक अर्ब २५ करोड ४६ लाख २० हजार रुपैयाँ पुग्ने छ ।

आइएमई जनरलको ७ प्रशितत बोनस र ४० प्रतिशत हकप्रदपछि चुक्ता पुँजी १ अर्ब ६८ करोड ११ लाख रुपैयाँ पुग्ने छ ।

शिखरको ३० प्रतिशत हकप्रदपछि चुक्ता पुँजी २ अर्ब २७ करोड रुपैयाँ पुग्ने छ । इन्स्योरेन्सले गत अवको मुनाफाबाट लाभांश घोषणा गरेको छैन ।


बिजया बास्कोटा