जीवन बीमा कम्पनीको पुँजी ५ अर्ब र निर्जीवनको साढे २ अर्ब तोक्ने तयारी



काठमाडौं । बीमा समितिले बीमा कम्पनीहरुको चुक्ता पुँजी वृद्धि गर्ने तयारी गरेको छ ।

बीमा बजारमा जोखिम बढ्दै गएको तर कम्पनीहरुको पुँजीको आकार भने सानो भएको भन्दै समितिले पुँजी वृद्धि गर्ने तयारी गरेको हो ।

समितिले जीवन र निर्जीवन दुबै प्रकारको व्यवसाय गर्ने कम्पनीको पुँजी वृद्धि गर्ने मापदण्ड बनाउने बारेमा छलफल शुरु गरेको हो ।

तर, समितिले कम्पनीहरुको पुँजी कति कायम गर्ने भन्ने निर्णय भने गर्न बाँकी छ ।

स्रोतकाअनुसार समितिले जीवन बीमा कम्पनीहरुका लागि न्यूनतम ५ अर्ब र निर्जीवन बीमा कम्पनीहरुको लागि न्यूनतम साढे २ अर्ब रुपैयाँ बराबरको मापदण्ड बनाउने तयारी गरिरहेको छ ।

हाल निर्जीवन बीमा कम्पनीका लागि कम्तिमा १ अर्ब र जीवन बीमा कम्पनीहरुको लागि कम्तिमा २ अर्ब पुँजी तोकिएको छ ।

जोखिमअनुसार कम्पनीलाई बलियो बनाउनु पर्ने आवश्यकता महशुस गर्दै समितिले पुँजी बढाउन लागेको हो ।

समितिले बीमा कम्पनीहरुको पुँजी वृद्धि सम्बन्धी अध्ययन गर्न कार्यदल गठन गरी अध्ययनसमेत गरेको थियो । सोही बमोजिम बीमा कम्पनीहरुको पुँजी वृद्धि गर्ने भएको हो ।

समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले केही समयअघि देखि नै बीमा कम्पनीहरुको पुँजी वृद्धि गर्नुपर्ने आवश्यकता रहेको बताउँदै आएका छन् ।

उनले सार्वजनिक कार्यक्रममा सेमत बीमा कम्पनीहरुको हालको पुँजी सानो भएको र बढाउनु पर्ने आवश्यकता रहेको बताउँदै आएका छन् ।

बीमा बजारमा जोखिम बढ्दो क्रममा रहेको तर बीमा कम्पनीहरुको पुँजीको आकार भने न्यून भएको उनको भनाइ छ ।

हाल कम्पनीहरुमा कायम भएको पुँजीले बढ्दै गएको जोखिम उठाउन नसक्ने समितिको भनाइ छ । हाल कम्पनीहरुमा कायम भएको पुँजी अनुसार जोखिम उठाउन सक्ने क्षमताले बीमा व्यवसाय अघिबढ्न नसक्ने समितिको बुझाइ छ ।

जोखिमअनुसार कम्पनीहरुको क्षमता वृद्धि गर्नका लागि पनि पुँजी बढाउनु पर्ने आवश्यकता रहेको समितिको तर्क छ ।

महालक्ष्मी लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराई अहिलेको बीमा बजारमा बीमा कम्पनीहरुको पुँजी वृद्धिको आवश्यकता रहेको बताउँछन् ।

नेपालमा यतिका संख्यामा बीमा कम्पनीहरुको आवश्यकता नभएको उनको बुझाइ छ ।

कम्पनीहरुले कति जोखिम लिएका छन्, उक्त जोखिमको आधारमा कम्पनी सुरक्षित हुनलाई निश्चित पुँजी चाहिने उनको भनाइ छ । जसका लागि पुँजी वृद्धिको आवश्यकता छ ।

‘नयाँ लाइसेन्स दिने कुराहरु पनि छ । भएकै कम्पनीहरु पनि बढी छन् । नेपालको बीमा बजारमा यी कम्पनीहरुको संख्या धेरै हो । १९ जीवन बीमा कम्पनी र २० निर्जीवन बीमा कम्पनीको आवश्यकता नै छैन,’ सीइओ भट्टराईले क्लिकमाण्डूसँग भने, ‘बीमा कम्पनीहरुलाई मर्जरमा जानु बाहेकको विकल्प हुँदैन ।’

उनका अनुसार बीमा कम्पनीको संख्या घटाउने उपाय भनेको मर्जर हो । पुँजी वृद्धिका नाममा हकप्रद जारी गर्न भने दिनु नहुने उनले बताए ।

‘पुँजी वृद्धि गर्नु आवश्यक छ । हकप्रद जारी गर्न भने दिनु हुँदैन । र मर्जरलाई नै जोड दिएर पुँजी वृद्धि गर्नुपर्छ,’ उनले थपे, ‘हकप्रद सेयर पूर्णरुपमा बन्देज लगाएर पुँजी वृद्धिलाई कडाइका साथ लागू गर्नुपर्छ ।’

जसले गर्दा बीमा कम्पनीहरुले मर्जरको बाटो रोज्ने र बीमा समितिलाई पनि सुपरिवेक्षण गर्नका लागि पनि सहयोग पुग्ने उनको भनाइ छ ।

जोखिमको तुलनामा हाल बीमा कम्पनीहरुको पुँजी कम भएको उनले बताए ।

तर, हकप्रद सेयर जारी गर्न नदिने गरी पुँजी वृद्धिका लागि मर्जरमा जोड दिनु पर्ने उनको बुझाइ छ । उनले हाल बीमा बजारमा भएका कम्पनीहरुको संख्या नघट्ने हो भने अस्वस्थ्य प्रतिस्पर्धा नरोकिने उनको भनाइ थियो ।

नेको इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत अशोककुमार खड्काले पुँजी वृद्धि किन गर्ने सोको उदेश्य तय गर्नु पर्ने बताए ।

समितिले बीमा कम्पनीहरुको पुँजी वृद्धि गर्नुको उदेश्य निर्धारण गर्नुपर्ने उनको भनाइ छ ।

यद्यपि, बीमा कम्पनीहरुको पुँजी वृद्धि गर्दा बीमा बजारमा राम्रो प्रभाव पार्ने उनको भनाइ छ ।

‘पुँजी वृद्धि के को लागि ? पहिले त्यो उदेश्य प्रष्ट हुनु जरुरी छ । पुँजी वृद्धि के का लागि गरिँदै छ भन्ने पहिले बुझ्नुपर्छ,’ बीमक संघका महासचिव समेत रहेका खड्काले क्लिकमाण्डूसँग भने, ‘पुँजी वृद्धि कम्पनीहरुको क्षमतलाई वृद्धि गर्नका लागि हो कि मर्जरलाई प्राथमिकता दिनका लागि हो । पहिले त्यो उदेश्यमा प्रष्ट हुन जरुरी छ ।’

बीमा समितिले बीमा कम्पनीहरुका लागि जोखिममा आधारित पुँजी लागू गर्ने भएको छ ।

‘रिस्कवेस्ड क्यापिटल लागू हुने वित्तिकै कम्पनीहरुको पुँजी वृद्धि अटोमेटिकरुपमा वृद्धि हुन्छ,’ उनले थपे, ‘रिस्क बढ्दै जान्छ । क्यापिटल बढाउँदै जानु पर्ने हुन्छ ।’

उनका अनुसार रिस्कवेस्ड क्यापिटल कार्यान्यवन नगर्ने हो भने समितिले ल्याउनका लागेको पुँजी वृद्धिको अवधारणा राम्रो हो ।

तर, रिस्कवेस्ड क्यापिटल कार्यान्वयन ल्याउने हो भने समितिको पुँजी वृद्धिको अवधारणाको औचित्य नहुने उनको बुझाइ छ ।

पुँजी बढाउन नगद लाभांश वितरणमा रोक

बीमा समितिते बीमा कम्पनीहरुलाई नगद लाभांश वितरणमा रोक लगाएको छ । समितिले बीमा कम्पनीहरुको पुँजी बढाउनका लागि बोनस सेयरमा मात्रै जोड दिएको हो ।

समितिले बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि मात्रै नगद लाभांश वितरण गर्न निर्देशन दिएको छ ।

समितिले भविष्यमा जोखिममा आधारित पुँजी कायम गर्नुपर्ने तथा कम्पनीलाई आइपर्नसक्ने थप जोखिम बहन गर्न पुँजी कोषलाई सवल बनाउनका लागि भन्दै नगद लाभांश वितरणमा रोक लगाएको हो ।

साथै, समितिले बीमा कम्पनीहरुलाई हकप्रद निष्कासनमा समेत रोक लगाइसकेको छ ।


बिजया बास्कोटा