आयातमा कडाइ गर्ने नीतिले पनि जुत्ता र टोपीको आयात घटेन



काठमाडौं । राष्ट्र बैंकले उच्च आयातका कारण विदेशी सञ्चिती घट्दै गएको भन्दै लागू गरेको प्रतितपत्र (एलसी) मा शतप्रतिशत र ५० प्रतिशत मार्जिन राख्ने नीतिले उल्लेख्य रुपमा आयात घटेको छ ।

भन्सार विभागले सार्वजनिक गरेको माघ महिनाको तथ्याङ्कले गर्दा एलसी मार्जिन लागू भएको अधिकांश वस्तुको आयातमा कमी आएको देखाउँदछ । तर, केही सीमित वस्तुमा भने कुनै असर देखिएको छैन ।

नेपाल राष्ट्र बैंकले गत पुस ५ गते २० वस्तु आयात गर्दा नगद मार्जिन राख्नुपर्ने व्यवस्था गरेपछि ती आयात वस्तुको आयातमा प्रभाव देखिन थालेको छ ।

तर, पछिल्लो समयमा सरकारले गत माघ २८ गते थप २७ वस्तुमा नगद मार्जिनको व्यवस्था गरेको छ । उक्त व्यवस्थाको प्रभाव हाल देखिसकेको छैन । तर, आगामी दिनमा झन कम आयात हुनेछ ।

राष्ट्र बैंकले गत माघ २८ गते मात्रै थप २४ वस्तुमा शतप्रतिशत र ३ वस्तुमा ५० प्रतिशत मार्जिन लागू गरेको थियो ।

उक्त वस्तुमध्ये सरकारले पुसमा लागू गरेको नीतिले माघ महिनामा भने उल्लेख्य घटेको भन्सार विभागको तथ्याङ्कले देखाउँदछ ।

सरकारले ल्वाङ्को आयातमा पनि शत प्रतिशत मार्जिन लागू गरेको थियो ।

उक्त ल्वाङ आयातमा परिमाणमा कमी आएपनि मूल्यको हिसाब गर्दा धेरै आयात भएको देखिन्छ । जसमा माघ महिनामा मात्रै ल्वाङ १ करोड २८ लाख ४१ हजार रुपैयाँको २१ हजार बढी केजी ल्वाङ आयात भएको छ । सामान्य अवस्थामा ल्वाङ मासिक रुपमा २२ हजारभन्दा बढी केजी आयात हुँदै आएको थियो ।

त्यस्तै, चिनी, सख्खर तथा चकलेट मासिकरुपमा ६० करोभन्दा बढी आयात हुँदै आएकोमा माघ महिनामा ५६ करोड २९ लाखको आयात गरेको छ ।

वाइन ह्वीस्की मिनिरल वाटरको आयातमा भने उल्लेख्य गिरावट आएको छ । सामान्य अवस्थामा ६० करोडको हाराहारीमा आयात हुँदै आएको सो वस्तु मार्जिन लागू भइसकेपछि लगातार घट्दै गएको छ ।

पुसमा ४६ करोड ८२ लाख रुपैयाँ बराबरको आयात भएकोमा माघ महिनामा भने २७ करोड ४८ लाख रुपैयाँको मात्रै आयात भएको छ ।

सुर्ती तथा चुरोटको आयातमा सामान्य अवस्थाको तुलनामा १५ करोडले कमी आयात भएको छ । माघमा सो वस्तु ४३ करोडको ४५ लाखको आयात भएको भन्सार विभागको तथ्याङ्कले उल्लेख गर्दछ ।

परफ्यूम तथा ट्वाइलेट वाटरको आयातमा निकै प्रभाव परेको देखिन्छ । उक्त वस्तुु माघ महिनामा ७२ लाख रुपैयाँको मात्रै आयात भएको छ । सामान्य अवस्थामा सो वस्तुको आयात मासिक ४ करोडको हाराहारीमा आयात हुुँदै आएको थियो ।
सौन्दर्य वस्तुको आयात ३६ करोड ६६ लाखमा सीमित भएको छ । मासिक उक्त वस्तु करिब ५० करोडको हाराहारीमा आयात हुँदै आएको थियो ।

कपालमा प्रयोग हुने वस्तुको आयात २७ करोड ७५ लाख रुपैयाँमा सीमित भएको छ ।

काठलगायत यससम्बन्धी सामग्रीको आयात यसअघि मासिकरुपमा ७० करोडको हाराहारीमा आयात हुँदै आएकोमा माघ महिनामा ५८ करोड ९५ लाख रुपैयाँ आयात गरेको छ ।

जुत्ता तथा जुत्ता बनाउने सामग्री र टोपीलगायत टाउको ढाक्न प्रयोग हुने वस्तुको आयातमा भने कुनै कमी देखिदैन । सो वस्तु सामान्य अवस्थामा जस्तै आयात भएको छ । माघ महिनामा क्रमशः ९० र १५ करोड ४० लाख रुपैयाँको आयात गरेको छ ।

छाता तथा छडीमा पनि कुनै असर देखिएको छैन । उक्त वस्तुको आयात झन बढेको छ । माघमा मात्रै सो वस्तु २ करोड ५३ लाख रुपैयाँको आयात गरेको छ ।

त्यस्तै, नक्कली कपाल, मार्बल तथा घर बनाउन तथा बिल्डिङ ब्लक, इट्टा तथा सेरामिक वस्तु, बोतल, चाँदी तथा चाँदीको धुलो, फर्निचरको सामग्रीको आयात घटेको छ । साथै, गाडीको आयात घटेको अवस्थामा मोटरसाइकलको आयात भने बढेको छ ।

कुन वस्तु कतिको आयात ?


अरिष्मा मोक्तान