युक्रेन मामिलामा अमेरिका फस्दा दक्षिण अमेरिकामा चीनको बलियो उपस्थितिः ४५० अर्ब डलरको ब्यापार



एजेन्सी । रसियाले युक्रेनमाथि हमला गर्न लागेको भन्दै अमेरिकाको नेतृत्वमा नेटो सम्वद्ध देशहरु यतिबेला सैन्य गतिविधिलाई बढावा दिइरहेका छन् । रुस-युक्रेनबीचको संकट कसरी समाधान होला भन्ने बारेमा कुनै निष्कर्ष निस्केको छैन । विवाद जारी छ ।

कुटनीतिक प्रयास पनि भइरहेको छ । अमेरिकाले युक्रेन मामिलामा अलिक बढी हस्तक्षेप गरेको भन्दै आलोचना पनि भइरहेको छ । तर, एकअर्काले आफ्नो हठ भने छाडेका छैनन् ।

युक्रेन संकटको बाछिटा संसारभर पर्दा इन्धनको मूल्यमा अप्रत्यासित वृद्धि भएको छ । यसबाट कोरोनाले संकटमा पारको अर्थतन्त्रलाई झनै समस्या पार्ने सम्भावना पनि उत्तिकै देखा परेको छ ।

तर, यही बेला चीन भने अमेरिकाको नाकैमुनि रहेका दक्षिण अमेरिकी देशहरुका व्यापारिक सम्बन्ध विस्तारमा लागिपरेको छ । चीनले कसरी ल्याटिन अमेरिकामा आफ्नो खुट्टा फैलाइरहेको छ भन्ने बारेमा केही विवरणहरु सार्वजनिक भएका छन् ।

एकातिर विश्वको नजर रुस र युक्रेन तनावमा छ भने अर्कोतिर भौगोलिकरुपमा अमेरिकाको निकै नजिक रहेको ल्याटिन अमेरिकामा चीनले आफ्नो उपस्थिति असाध्यै बलियो बनाएको छ ।

रुसले नेटोको मुद्दालाई लिएर युक्रेनको सिमानामा आफ्ना हजारौं सेना तैनाथ गरेको र जुनसुकै बेला युक्रेनविरुद्ध सैन्य कारबाही गर्न सक्ने आशंका गरिएको छ । यही तनावका कारण विश्वको विशेषगरी पश्चिमा मुलुकको नजर युक्रेनमा केन्द्रित भएको छ ।

यस तनावको बीचमा ल्याटिन अमेरिकी देशहरूको स्थानीय मिडियामा भने पछिल्ला केही सातामा भइरहेको चिनियाँ कुटनीतिज्ञ र व्यापारीहरूको भ्रमणका बारेमा ठूल्ठूला सामग्रीले स्थान पाएको छ ।

अमेरिकाको दक्षिणी भागमा बसोबास गर्ने देशहरूमा बढेको चिनियाँ दौडका बारेमा अमेरिकी अधिकारी थाहा पाएर पनि थाहा नपाएको जस्तै गरी बसीरहेका छन् ।

चीनको महत्वाकांक्षी बेल्ट रोड इनिसिएटिभमा सामेल हुन धेरै मध्य र दक्षिण अमेरिकी देशका सरकारहरूले सम्झौतामा हस्ताक्षर गरेको पनि विवरणहरु सार्वजनिक भएका छन् । यससँगै ल्याटिन अमेरिकी देशका नेताहरूको चीन भ्रमणबारे पनि स्थानीय सञ्चारमाध्यमले महत्वकासाथ स्थान दिइरहेका छन् ।

हालै अर्जेन्टिना र इक्वेडरका राष्ट्राध्यक्षहरूले अमेरिकी कूटनीतिक बहिष्कारलाई बेवास्ता गर्दै शीतकालीन ओलम्पिक खेलकुदको उदघाटन समारोहमा भाग लिए । सोही क्रममा चिनियाँ राष्ट्रपति सी चिनफिङसँग महत्वपूर्ण भेटवार्ता समेत गरेको समाचार विवरणहरुमा जनाइएको छ ।

अर्जेन्टिनाले अन्तर्राष्ट्रिय मुद्रा कोषबाट लिएको ऋण तिर्न अमेरिकी सहयोगको लागि वार्ता गरिरहेको छ । यही सन्दर्भको पेरीफेरीमा अर्जेन्टिनाका वामपन्थी राष्ट्रपति अल्बर्टो फर्नान्डेजले फेब्रुअरीको सुरुवातमा नै रुस र चीनको भ्रमण गरेका थिए ।

उनको यो भ्रमण विवादमा परेको थियो । आफ्नो भ्रमणका क्रममा उनले अन्तर्राष्ट्रिय मुद्रा कोष र अमेरिकामा देशको निर्भरता घटाउनेबारे छलफल गरेको बताएका थिए ।

इक्वेडरका राष्ट्रपति गुइलेर्मो लासो मेन्डोजाले पनि लागुऔषध ओसारपसार गर्ने गिरोहसँग लड्न अमेरिकाको सहयोग खोजेका छन् । यही बीचमा उनीहरुले चीनसँग ऋणको विषयमा पनि वार्ता गरिरहेका छन् ।

मध्यअमेरिकाबाट ठूलो संख्यामा आप्रवासीहरू अमेरिका जाँदै गरेको तथा लागूपदार्थको अवैध कारोबार र भ्रष्टाचार अमेरिकी विदेश नीतिको टाउको दुखाइको विषय बनेको छ । यस्तो अवस्थामा हालैका दिनहरूमा चीनले वामपन्थी शासित निकारागुआलाई ताइवानसँग परम्परागतरूपमा कूटनीतिक सम्बन्ध तोड्न बाध्य बनाएको छ ।

चीनले एल साल्भाडोर र होन्डुरससँग पनि आफ्नो सम्बन्ध बलियो बनाएको छ । केही विज्ञहरूको विचारमा चीनले अमेरिकाको परम्परागत रुपमा पछाडि’ पारिएको भनिने क्षेत्रमा आफ्नो प्रभुत्व बढाउन खोजिरहेको स्पष्ट देखिन्छ ।

धेरैजसो अवस्थामा, चीनले यी देशहरूलाई आफ्नो देशमा निर्मित कोभिड-१९ खोप दान गरेको छ । उनीहरूको अन्य आवश्यकताहरू पूरा गरिदिएको छ । यसले चीनलाई यी देशहरूसँग राम्रो र बलियो कूटनीतिक र व्यापारिक सम्बन्ध राख्ने मार्ग प्रशस्त गरेको छ ।

मानवअधिकार र लोकतन्त्रलाई लिएर अमेरिका र केही ल्याटिन अमेरिकी देशका नेताहरूबीच चलिरहेको कूटनीतिक तनावको बीचमा चीनले फाइदा उठाएको संकेतहरु पनि स्पष्ट देखिएको छ ।

एल साल्भाडोरका राष्ट्रपति नायब बुकेले आफ्ना केही नागरिकहरूमाथि अमेरिकी आर्थिक प्रतिबन्धलाई बेतुकको भनेर टिप्पणी गरेका छन् । अमेरिकाले इक्वेडरका सरकारी अधिकारीहरू र आपराधिक संगठनहरूबीच सम्झौता भएको आरोप लगाएको छ ।

विगतमा, ल्याटिन अमेरिकालाई लक्षित गर्दै चिनियाँ राज्य नियन्त्रित सञ्चारमाध्यममा स्पेनिस र पोर्तुगाली भाषामा सन्देशहरू पठाइएको थियो । यस क्षेत्रमा काम गर्ने चिनियाँ कूटनीतिज्ञहरूको सोसल मिडियामा पनि सो बारेमा जानकारी दिँदै बुस्टसमेत गरिएको थियो ।

साथै स्थानीय सञ्चारमाध्यममा चीनका बारेमा धेरै समाचार प्रकाशित भएका छन् । एक हिसाबले हेर्दा चीन पश्चिमी गोलार्धमा रणनीतिकरूपमा महत्वपूर्ण साझेदारका रूपमा मात्रै नभई आर्थिक रूपमा पनि ठूलो खेलाडीको रूपमा उभिइरहेको देखिन्छ ।

ब्राजिलको ग्याजेटा डो पोभो नामक पत्रिकामा फेब्रुअरी ९ मा प्रकाशित समाचार अनुसार दुई देशबीचको व्यापार सन् २०२१ मा मात्रै ऐतिहासिक कीर्तिमानमा पुगेको छ ।

उही समयमा, फेब्रुरुअरी ८ मा, पेरुको एल पेरुआनो नामक अखबारले ल्याटिन अमेरिकासँग चीनको व्यापार २०२१ म मात्रै ४५० अर्ब डलरभन्दा माथि पुगेको जनाउँदै ऐतिहासिक रेकर्ड कायम गरेको उल्लेख गरेको छ ।

जनवरी २०२२ मा एक अमेरिकी एक विश्वविद्यालयमा गरिएको अध्ययनले स्थानीय नेताहरूलाई विश्वास गर्ने हो भने ल्याटिन अमेरिकामा चीनको प्रभाव विशेष गरी अर्थतन्त्र र प्रविधिको हिसाबले महत्वपूर्ण एवं रणनीतिक तहमा पुगेको उल्लेख गरिएको छ ।

चीनले बारम्बार भनिरहेको छ कि त्यो कोभिड खोपको रूपमा होस् वा संरचनात्मक सुधारको रूपमा विनाशर्त सहयोग गर्न हामी तयार छौं । अमेरिकाले चीन आफ्नो भूराजनीतिक लक्ष्य जुनसुकै माध्यमबाट पूरा गर्न चाहन्छ र यसका लागि पैसाको प्रयोग गरिरहेको छ ।

एल साल्भाडोरको घटनालाई यसको उदाहरणका रुपमा लिइन्छ । अमेरिकी सरकारले एल साल्भाडोरका राष्ट्रपति नायब बुकेलेलाई लोकतान्त्रिक प्रक्रिया नअपनाएकोमा आलोचना गर्दै आएको छ । यस आलोचनाको बीचमा, बुकेलेले घोषणा गरेका छन् कि सन् २०२१ को अन्त्यअघि, चीनले देशमा राष्ट्रिय रंगशाला निर्माण गर्ने घोषणा गरेको छ । त्यो पनि ऋणमा होइन अनुदानमा उपलब्ध हुनेछ ।

यसबारे उनले ट्वीट गर्दै सोधेका छन्- साथी को हो ? तपाईंलाई रंगशाला, पुस्तकालय, कन्भेन्सन सेन्टर, बन्दरगाह र वाटर प्लान्टमा बनाउन सहयोग गर्ने कि प्रतिबन्धको सूचीमा समावेश गरेर प्रतिबन्ध लगाउने र विरोधीलाई आर्थिक सहयोग गर्ने व्यक्ति ?

साल्भाडोर मिडियाकाअनुसार विश्लेषकहरू भन्छन्, ‘कि बुकेले चीनको सबैभन्दा ठूलो व्यापारिक सहयोगी रहेको अमेरिकालाई उक्साउन चीनमाथि हात बढाउँदैछन् ।’

ब्राजिल, चिली, अर्जेन्टिनाजस्ता धेरै ठूला ल्याटिन अमेरिकी अर्थतन्त्रहरूमा चीनले द्विपक्षीय व्यापारमा अमेरिकालाई उछिनेको छ । पेरु र भेनेजुएलाको अवस्था पनि त्यस्तै छ । उही समयमा चीनले भर्खरै कोलम्बिया, इक्वेडर र अन्य ठाउँमा आफ्नो उपस्थिति बढाएको छ ।

चीनको व्यापारिक चालअनुसार आफ्नो विदेश नीतिमा अरूसँग बहुपक्षीय सम्बन्ध विकास गर्ने खालको देखिन्छ । यसका लागि अर्जेन्टिनाको हकमा जस्तै अमेरिका र यससँग सम्बन्धित वित्तीय संस्थाहरूमाथिको निर्भरता घटाउने प्रयास भइरहेको छ ।

एकै समयमा, क्युबा, निकारागुआ र भेनेजुएलाजस्ता वाम झुकाव सरकार भएका देशहरूले पहिलेदेखि नै विद्यमान अमेरिका विरोधी भावनालाई बलियो बनाउनु पर्छ भन्नेमा केन्द्रीत छ । जसलाई अमेरिकाले खतरनाक मानेको छ ।

चीनले बहुपक्षीयता मा विश्वास गर्ने ’कम्युनिटी अफ ल्याटिन अमेरिकन एन्ड क्यारिबियन स्टेटस’ (सेलककक) जस्ता क्षेत्रीय संगठनहरूसँग पनि आफ्नो सम्बन्ध सुदृढ गर्दै लगेको छ । अहिले यो संस्थाको नेतृत्व अर्जेन्टिनाले गरिरहेको छ ।

संगठनले चीनको बेल्ट रोड इनिसिएटिभसँग मात्र नभएर भेनेजुएला र क्युबाको नेतृत्वमा अमेरिका विरोधी एल्बासँग पनि सहकार्य गरेको छ ।

सिन्ह्वाले स्पेनिस भाषामा लिबेरो अमेरिका (अमेरिकाबाट स्वतन्त्रता) नामक खण्ड नै शुरु गरेको छ ।

आफ्नो स्पेनी भाषा सेवामा, चिनियाँ राज्य नियन्त्रित मिडिया सिन्ह्वाले लिबेरो अमेरिका (अमेरिकाबाट स्वतन्त्रता) नामक खण्ड शुरु गरेको छ, जसमा ल्याटिन अमेरिका र क्यारिबियन देशहरूमा चीनको कूटनीतिक प्रयासको रिपोर्ट प्रकाशित गरिएको छ ।

फेब्रुरुअरी ७ मा, पीपुल्स डेली स्पेनिसमा एउटा लेख प्रकाशित भयो, जसमा चीनको बेल्ट एण्ड रोड परियोजनामा अर्जेन्टिनाको संलग्नताबारे चर्चा गरिएको थियो ।

यसमा चिनियाँ–ल्याटिन अमेरिकी विज्ञलाई उधृत गर्दै बेल्ट एण्ड रोड परियोजनाको हिस्सा नबनेका ब्राजिल, मेक्सिको र कोलम्बियाले पनि यो अवसरको फाइदा उठाउने प्रयास गर्न सक्ने बताइएको छ ।

फेब्रुअरी ९ मा, चीनको सीजीटिएन इस्पोनलले इक्वेडोरका राष्ट्रपतिले सन् २०२२ मा चीनसँग व्यापार सम्झौता गर्ने सम्भावनाको बारेमा छलफल गरेको उल्लेख गरेको थियो । सो विवरणमा भनिएको छ कि चीनले आफ्नो देशमा बनाइएको सिनोभ्याक कोभिड–१९ खोपमात्रै २५ लाख डोज दिने योजना बनाएको छ ।

चिनियाँ दूतावास र कूटनीतिज्ञहरूले ताइवान र सिनजियाङमा मानवअधिकार उल्लंघनका सम्बन्धमा पश्चिमाहरूले आरोप लगाएको सन्दर्भमा ल्याटिन अमेरिकी देशहरूसँगको उनीहरूको सुधारिएको सम्बन्धको सानो विवरणहरू सामाजिक सञ्जालमा सार्वजनिक गरिरहेका छन् ।

अर्जेन्टिनामा रहेको चिनियाँ दूतावासले फेब्रुअरी ६ मा अर्जेन्टिनाका राष्ट्रपति फर्नान्डेज चीन भ्रमणमा जाँदैछन् भन्ने ट्वीट गरेको थियो । उनको ट्विटको अर्जेन्टिनाको स्थानीय मिडियामा कडा आलोचना भएको थियो ।

ल्याटिन अमेरिकामा चीनलाई कूटनीतिक र व्यावसायिक रूपमा आफूलाई प्रस्तुत गर्ने खेलाडीको रूपमा हेरिएको छ । तर, अमेरिकाले यसपछि चीनसँग सैन्य सम्झौता हुन सक्ने चेतावनी दिएको छ ।

अर्जेन्टिनाका स्तम्भकार मारियो वेनफिल्ड वामपन्थी विचारधारासँग सम्बन्धित एक पत्रिकामा लेख लेख्दै भनेका थिए कि यो महत्वपूर्ण सुरुवात भएको छ । फेब्रुरुअरी ६ मा प्रकाशित सो लेखमा उनले युक्रेनलाई लिएर रुस र पश्चिमी देशहरूबीच तनाव बढ्दै गएको सन्दर्भका बीचमा चीनले रुसबाट आफूलाई पृथक गर्न सफल भएको र व्यापारको माध्यमबाट विश्वभर फैलिरहेको बताएका छन् ।

उनको तर्क थियो कि चीनको अर्थतन्त्र र त्यसमा लुकेको सम्भावनाको हिसाबले रुसभन्दा धेरै ठूलो छ । उनले लेखेका छन्, कि उनीहरू पहिले व्यापारी र सैनिक पछि । अमेरिकाका लागि अहिले सबैभन्दा ठूलो चुनौती पनि रसिया होइन चीन बनीरहेको छ ।

चीनका अलावा रुस र इरानसँगको अमेरिकाको तनावलाई ध्यानमा राख्दै एक विश्लेषकले यी तीनले अमेरिकालाई चुनौती दिएको लेखेका छन् । निकारागुआको विपक्षीलाई समर्थन गर्ने वेबसाइट हेक्टर शामिसले एउटा लेख मार्फत चीनले पूर्वाधार विकास र प्राकृतिक खनिजहरूमा जोड दिइरहेको जनाएको थियो ।

इरानले ऊर्जा, गैरकानूनी गतिविधि र हिजबुल्लाहका माध्यमबाट इस्लामिक चरमपन्थीसँगको सम्बन्धमा ध्यान केन्द्रित गरिरहेको छ । रुसले न त चीनसँग प्रतिस्पर्धा गर्न सक्छ । न त रुससँग व्यापार र लगानीका हिसाबले पनि सँगै जान सक्छ ।

अर्थतन्त्र पनि तुलना गर्न सकिँदैन । तर, उसलाई पुरानो थाहा छ कि औपनिवेशिक नीतिहरू र सैन्य पूर्वाधार निर्माण गर्ने काममा भने रुस र चीन आफैमा मिलेर पनि आउन सक्छन् । विभिन्न अन्तर्राष्ट्रिय मिडिया विवरणहरुमा आधारित


क्लिकमान्डु