वैदेशिक रोजगारी नीतिलाई पुनरावलोकन गर्ने तयारी गरेको छः मन्त्री श्रेष्ठ



काठमाडौं । श्रम रोजगार तथा समाजिक सुरक्षा मन्त्री कृष्ण कुमार श्रेष्ठ ‘किसान’ले वैदेशिक रोजगारीलाई केन्द्रमा राखेर वैदेशिक रोजगार नीतिलाई पुनरावलोकन गर्ने तयारी गरिरहेको बताएका छन् ।

अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस २०२१ को अवसरमा अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आईओएम) को ७० औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले श्रमिकको हकहितलाई सम्बोधन गर्न रोजगार नीति पुनरावलोक गर्ने तयारी गरेको बताएका हुन् ।

‘वैदेशिक रोजगारीलाई केन्द्रमा राखेर पुनरावलोकन गर्ने तयारी गरेको छ,’ मन्त्री श्रेष्ठले भने, ‘वैदेशिक रोजगारी नीति समयसापेक्ष बनाउन सरोकारवाला र विज्ञहरूबाट सुझाव संकलन गरिरहेको छ ।’

त्यस्तै, सरकारले विभिन्न देशसँग श्रम सम्झौता गरी नेपाली आप्रवासन कामदारको हकहितका लागि सुरक्षित र व्यवस्थित गर्न निरन्तर काम गर्दै आएको उनले जिकिर गरे ।

श्रम सम्बन्धि अन्तर्राष्ट्रिय प्रतिबद्धतालाई आन्तरिकीकरण गर्दै लैजाने सरकारको मुख्य प्राथमिकतामा रहेको जनाउँदै कोभिडका कारण श्रमिकले भोग्दै आएको समस्यालाई तत्काल सम्बोधन गर्नुपर्ने चु्नौती थपिएको उल्लेख गरे ।

मन्त्रालयले ५ वर्षे रणनीति बनाउने योजना प्रक्रियालाई अन्तिम चरणमा पु¥याएको बताए । यस रणनीति योजनाले सरकार र दातृनिकाय र सहयोगी संस्थाहरूको सहकार्यमा अझ बलियो र प्रभावकारी बनाउने अपेक्षा लिएको उनको भनाइ छ ।

यस्तै, वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई सामाजिक सुरक्षामा आबद्ध गर्ने र फर्केर आएका श्रमिकलाई पुनः एकीकरण गर्ने कार्यक्रम सञ्चालन गरेर रोजगारीमा आबद्ध गराउने नीति लिएको उनले जानकारी दिए ।

साथै, विभिन्न सरकारी र गैरसरकारी स्तरबाट सञ्चालन भइरहेका सीप विकास कार्यक्रमलाई एकीकृत रुपमा सञ्चालन गरी प्रभावकारी र परिणममुखी बनाउने प्रतिबद्धता जनाए ।

कठिन अवस्थामा रहेर पनि आप्रवासनमा रहेका नेपालीहरूले आर्थिक र सामाजिक क्षेत्रमा उच्च योगदान रहेको बताउँदै आप्रवासन रोजगारीमा रहेका श्रमिकलाई सहज, व्यवस्थित र मर्यादित बनाउनका लागि क्रमश अगाडि बढेको जानकारी दिए ।

हालसम्ममा २०५० देखि २०७८ सम्ममा नेपालबाट विश्वका विभिन्न मुलुकमा २ लाख ५० हजार २९५ महिलासहित ५६ लाख ६४ हजार ९२ जना श्रमिक रोजगारीमा गएका छन् । उक्त श्रमिकले पठाएको विप्रेषणले अर्थतन्त्र चलायमान बनाउन ठूलो योगदान गरिरहेको मन्त्री श्रेष्ठले बताए ।

‘कुल ग्राहस्थ उत्पादनमा वैदेशिक रोजगारीबाट प्राप्त विप्रेशषणको योगदान औषत २५ प्रतिशत रहेको छ,’ मन्त्री श्रेष्ठले भने, ‘अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको श्रमि शक्तिलाई उत्पादनमुलक र प्रतिस्पर्धा गर्दै वैदेशिक रोजगारीबाट प्राप्त सीप, अनुभवलाई परिचालन गर्ने राज्यको नीति रहेको छ ।’

उनकाअनुसार उक्त सम्पूर्ण श्रमिकलाई ध्यानमा राखेर सरकारले सुरक्षित, मर्यादित र व्यवस्थित बनाउन सरकारले नीतिगत र संरचनात्मक सुधार गर्दै आएको छ ।


क्लिकमान्डु