ई-पासपोर्ट लिन कति लाग्छ खर्च ?



काठमाडौं । सरकारले आजबाट ई-पासपोर्ट जारी गरेको छ । राहदानी विभागको नयाँ भवन त्रिपुरेश्वस्थितमा मा एक कार्यक्रम आयोजना गरी ई-पासपोर्ट जारी गरेको हो ।

विभागले सात थरीका ई-पासपोर्ट जारी गरेको छ । जसमा कुटनीतिक, विशेष, अस्थायी, साधारण, सम्यान्स अभिलेख किताब स्लेट र सर्भिस जारी गर्ने भएको छ भने पासपोर्टको दस्तुर पनि छुट्टाछुट्टै तोकेको छ ।

सरकारले पहिलो पटक राहदानी संशोधन गरी राजपत्रमा सार्वजनिक गरिसकेको छ । सार्वजनिक राजपत्रकाअनुसार विभिन्न प्रकारका राहदानी जारी गर्न छुट्टछुट्टै दस्तुरको व्यवस्था छ ।

राजपत्रकाअनुसार साधारण राहदानीका लागि जिल्ला प्रशासन कार्यालयमा निवेदन दिँदा ३४ पृष्ठको हकमा ५ हजार रुपैयाँ र ६६ पृष्ठको हकमा १० हजार रुपैयाँ तोकेको छ ।

तर, विभागमा निवेदन दिएर दुई दिनमै प्राप्त गर्न चाहनेलाई ३४ पृष्ठका लागि १२ हजार र ६६ पृष्ठका लागि २० हजार रुपैयाँ तोकिएको छ । साथै, राहदानी हराएको, च्यातिएको, केरमेट भएको वा अन्य कारणले राहदानी प्रयोग हुन नसक्ने भएकोमा उक्त दस्तुमा ५ हजार थप हुनेछ ।

उत्तर र दक्षिण अमेरिकी महादेशअन्तर्गतका देशहरू अष्ट्रेलिया, न्यूजिल्यान्ड, जापान, दक्षिण कोरिया र हङकङस्थित नेपाली नियोगमा निवेदन दिँदा प्रतिराहदानी ३४ पृष्ठको हकमा २ सय अमेरिकी डलर वा सो बराबरको स्थानीय मुद्रा तोकिएको छ ।

रुसी महासंघ र नेपाली राजदूतावास मस्कोको महप्रमाणीकृत मुलुक र साइप्रसका लागि नेपाली नियोगमा निवेदन दिँदा प्रतिराहदानी ३४ पृष्ठको हकमा ८० यूरो र ६६ पृष्ठको हकमा १ सय ३० यूरो तोकेको छ ।

युरोपेली देशस्थित नेपाली नियोगमा निवेदन दिँदा प्रतिराहदानी ३४ पृष्ठको हकमा १२० युरो र ६६ पृष्ठका लागि १७० यूरो तोकेको छ ।

मलेसिया, कतार, साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स, बरहाइन, लेबनान, इराक, इरान, कुबेत, इजरायल, सिरिया, जोर्डन, ओमन र यमनस्थित नियो र सो नियोगको सहप्रमाणीकृत मुलुकका लागि नियोगमा निवेदन दिँदा प्रतिराहदानी ३४ पृष्ठको हकमा ५० अमेरिकी डलर र ६६ पृष्ठका १ सय अमेरिकी डलर राजपत्रमा उल्लेख गरेको छ ।

अन्य एसियाली अफ्रिकी र बाँकी सबै देशस्थित नियोगमा निवेदन दिँदा प्रतिराहदानी ३४ पृष्ठको हकमा ८० अमेरिकी डलर र ६६ पृष्ठको हकमा १३० अमेरिकी डलर तोकेको छ ।

साथै, सरकारले राहदानी हराएको, पाना चयतिएको, केरमेट भएको वा अन्य कारणले राहदानी प्रयोग हुन नसक्ने भएकोमा नियोगबाट नयाँ राहदानी लिनुपर्दा दोब्बर दस्तुर लाग्नेछ ।

दश वर्षभन्दा कम उमेरका नाबालकको राहदानीमा लागि निवेदन दिँदा उक्त लाग्ने दस्तुरको आधा रकम लाग्नेछ ।

तर, १० वर्षभन्दा कम उमेरका नाबालकले खण्ड (क) को उपखण्ड (२) बमोजिम राहदानीका लागि विभागमा निवेदन दिँदा ३४ पृष्ठको राहदानीको हकमा ९ हजार ५ सय र ६६ पृष्ठको राहदानीको हकमा १४ हजार ५ सय रुपैयाँ दस्तुर लाग्नेछ ।

त्यस्तै, यात्रा अनुमतिपत्रका लागि विभागबाट जारी गरिने प्रति यात्रा अनुमतिपत्रको ४ हजार रुपैयाँ र नियोगबाट जारी गरिने अनुमतिपत्रको ५० अमेरिकी डलर उल्लेख गरेको छ ।

विभागबाट जारी गरिने ((सिम्यान्स अभिलेख किताबका लागि १२ हजार रुपैयाँ र नियोगबाट जारी गरिने सिम्यान्स अभिलेख किताबका लागि १ हजार २० अमेरिकी डलर तोकेको छ ।

त्यसैगरी, अस्थायी राहदानीका लागि ५० अमेरिकी डलर तोकेको छ ।


क्लिकमान्डु