फाल्गुनीले यसरी बनाइन् कस्मेटिक स्टार्टअपको साम्राज्य, आलिया र क्याटरिनाको पनि लगानी



एजेन्सी । संसारभर नै बढीभन्दा बढी बिक्री हुने सामग्रीमा सौन्दर्य प्रशाधन पनि एक हो ।

मानिसलाई कसरी आफू राम्रो हुने र कसरी आकर्षक बन्ने भन्ने लालसाले सताउँछ । मानिसले आफूलाई राम्रो देखाउन र बनाउनका लागि मात्रै मोटो रकम खर्च गर्ने गरेका छन् ।

कसरी राम्रो बन्ने र कसरी अरुका बीचमा आकर्षक बन्ने होडले बढाएको व्यापारको हिस्सा संसारभर निकै ठूलो छ । सोही व्यापारलाई नयाँ तरिकाले अगाडि बढाएका कारण केहीले भने राम्रै सफलता हासिल गरेका छन् । राम्रै कमाई पनि गरेका छन् ।

भारतका एक महिला सौन्दर्य प्रशाधनलाई अनलाइनमार्फत् बिक्री गरेर स्टार्टअप बिजनेशमा शीर्ष स्थानमा पुगेकी छिन् । भारतका धनीहरुको सूचीमा १७औं स्थानमा रहेकी फाल्गुनी नायर स्टार्टअपमा भने एक नम्बरमा रहेकी छिन् । उनको सेयरमा ५ प्रतिशतले गिरावट आएपनि उनी स्टार्टअपमा शीर्ष स्थानमा नै रहेकी छिन् ।

बजार पूँजीकरणका आधारमा नायरको कम्पनी ५३औं स्थानमा छ । उनको सम्पत्ति पेटीएमका विजय शेखर शर्माको तुलनामा दुईगुणा रहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । उनले नायका नाम दिएर आफनो स्टार्टअफ व्यवसाय अगाडि बढाएकी छिन् । उनको कम्पनी केही राम्रा स्टार्टअप कम्पनीमध्ये एक बन्न सफल भएको छ ।

उनको कम्पनीको सेयर बुधबार भारतीय स्टक एक्सचेञ्जमा सूचीकृत भयो । शुरुवाती सूचीकरण एक कित्ता सेयरको मूल्य २ हजार भारु रहेकोमा बढेर २ हजार २०० भारुसम्म पुग्यो । कम्पनीको आइपीओमा लगानी गरेकाले दुईगुणा बढी नाफा कमाए ।

उनको कम्पनीको आइपीओ १ हजार १२५ भारुमा बिक्री भएको थियो । कम्पनीमा फाल्गुनीको हिस्सेदारी ५३.५ प्रतिशत छ । नायकाको बुधबारको बजार पूँजीकरण मात्रै १.०४ लाख करोड बराबर पुगेको छ । बिहीबार भइरहेको कारोबारमा पनि सो कम्पनीको कुल बजार पूँजीकरण ९९ हजार करोड भारु बराबर छ ।

यस हिसाबले हेर्दा उनको मात्रै सम्पत्ति करिब ५२ हजार करोड भारु बराबर छ । भारतका सबैभन्दा धनी व्यक्तिका रुपमा रहेका मुकेश अम्बानीको कूल सम्पत्ति ९६.३ अर्ब डलर छ । दोस्रो स्थानमा अडानी समूहका गौतम अडानी छन् । उनको कूल सम्पत्ति ८४ अर्ब डलर बराबर छ ।

फाल्गुनी नायर र उनको परिवारको सम्पत्ति ७.४ अर्ब डलर रहेको छ । उनीभन्दा अघि बाडिया समूहको नुस्ली बाडिया र राहुल बजाजको सम्पत्ति ८.७ अर्ब डलर छ ।

सामान्यरुपमा मात्रै नायकाको सेयर मूल्यमा वृद्धि भयो भने फागुल्नीले बाडिया र बजाजलाई पछाडि छाडेर १५औं स्थानमा उक्लने छिन् ।

स्टार्टअपमा खास मानिएको पेटीएमका विजय शेखर शर्माको सम्पत्ति फाल्गुनीको तुलनामा आधा मात्रै छ । पेटीएममा शर्माको सेयर हिस्सा मात्रै १५ प्रतिशत छ । यस आधारमा उनको सम्पत्ति मात्रै ३ अर्ब डलर छ ।

पेटीएमको आगामी साता मात्रै स्टक एक्सचेञ्जमा सूचीकृत हुनेछ । त्यस समय उक्त कम्पनीको मूल्य मात्रै १.४८ लाख करोड भारु बराबर हुनेछ । यसको १५ प्रतिशतका आधारमा हेर्दा मात्रै २१ हजार करोड मात्रै हुनेछ ।

विवरणअनुसार नायकामा ४७ प्रतिशत महिला कर्मचारी छन् । कम्पनीको सेयर मूल्यांकन पनि महंगोमै भएको थियो ।

स्टार्टअपमा तेस्रो नम्बरमा रहेका छन् जोमाटोका दीपिन्द्रर गोयल । उनको सम्पत्ति ६५ करोड डलर छ । कम्पनीमा उनको हिस्सेदारी ५.५ प्रतिशत मात्रै छ ।

उता जोमाटोको कुल बजार पूँजीकरण १.०६ लाख करोड छ । चोथो नम्बरमा छन्, पोलिसी बजारका याशीका दाहिया । उनको सम्पत्ति २६.२ करोड डलर छ । पोलिसी बजार पनि यसै साता बजारमा सूचीकरण हुन लागेको छ ।

फाल्गुनी भारतको सबैभन्दा शीर्ष स्थानमा रहेकी अर्बपति हुन् । उनी आफनै बलमा त्यो स्थानमा पुगेकी हुन् ।

जानकारले नायकालाई थप लगानीका लागि आधा सेयर बिक्री गर्न सुझाव दिएका छन् । आधा सेयर लामो समयसम्म राखेर राम्रो प्रदर्शन गर्न सक्ने उनीहरुको भनाइ छ ।

कारोबारमा समयमा कम्पनीको सेयरले राम्रो प्रदर्शन गर्ने विश्वास पनि बढेको छ । यो कम्पनी चिनिएको स्र्टाटअप कम्पनी हो, जसले राम्रो फाइदा कमाउँछ । जबकी पेटीएम, जोमाटो, पोलिसीबजार जस्ता कम्पनीले लगातार घाटा बेहोरिरहेका छन् ।

उनले सन् २०१२ मा आफनो सामान्य बचतबाट कम्पनी स्थापना गरी स्टार्टअपको काम शुरु गरेकी थिइन् । उनको जन्म मुम्बईमा भएको हो । व्यापारिक माहोलमा जन्मिएकी फाल्गुनीको पिता गुजराती भएपनि आफनै सानो व्यापार थियो । विद्यालयको पढाइपछि उनले आईआईएम अहमदावादमा भर्ना भएकी थिइन् ।

कलेजपछि उनले कोटक महिन्द्रा क्यापिटलमा रोजगारी समेत गरेकी थिइन । मेहनतका कारण सन् २००५ मा नै उनी आफनो विभागको प्रबन्ध निर्देशक भइन् ।

असाध्यै राम्रो काम, पति र दुई बच्चाका साथ उनको जिन्दगी सिधा रेखामा नै चलिरहेको थियो । बाहिर देख्नलाई सबै विषय राम्रो थियो र शान्त पनि । तर उनको मनमा पनि एक प्रकारको उद्देल्लन उत्पन्न भइरहेको थियो । एकदिन उनको छोरी अद्धैताले सिवी कवाफीको कविता इथाका सुनाइन् ।

त्यसबाट फाल्गुनी यति प्रभावित भइन कि जागिर छाडेर उनले आफ्नै कम्पनी शुरु गरिन् । सो समयमा उनी ४९ वर्षकी थिइन् ।

उनको कम्पनीमा हरेक महिना १३ लाख वटा अर्डर आउने गरेका छन् । हरेक मिनेट १०४ वटा प्रडक्ट बिक्री भइरहेको छ । कम्पनीसँग देशभरमा ७५ भन्दा बढी अफलाइन स्टोर सञ्चालनमा छन् ।

नायका आफैमा एक संस्कृत शब्द हो । जसको अर्थ हुन्छ सधै चमकधममा रहने महिला । फाल्गुनीले भारतीय महिलालाई सुन्दर देखाउने भित्री चाहनालाई आत्मसात गरिन् ।

सन् २०१२ मा कम्पनी ‘नायका’ शुरु भयो । उनलाई सौन्दर्य प्रशाधन उद्योग र त्यसको बजारका बारेमा जानकारी थियो । शुरुवाती दिनमा उनलाई नायकाको अर्डर कहिले आउला भन्ने प्रतिक्षा हुन्थ्यो । उनले आफै सबै प्रकारको अर्डर हेर्थिन र सहजै ग्राहकको घर घरमा पुर्याउने गर्थिन ।

सन् २०१२ मा शुरु भएको नायका आज महिलाका लागि एक अर्को सहयोगी नाम बन्न पुगेको छ । हाल उक्त प्लेटफर्ममा ३० भन्दा बढी मेकअप सामग्री बिक्री हुने गर्छन् । नायका सन् २०२० मा मात्रै १ अर्ब डलरभन्दा ठूलो कम्पनी बन्न सफल भएको थियो ।

विवरण अनुसार नायकामा भारतीय हिरोइन आलिया भट्टले पनि त्यसमा लगानी गरेकी छिन् । यस्तै क्याटरिना कैफले पनि लगानी गरेकी छिन् । तर कति मात्रामा लगानी गरिएको छ भन्ने बारेमा कुनै जानकारी दिइएको छैन ।

कम्पनीमा कूल १५ लगानीकर्ताले ३४१.९ मिलियन डलर लगानी गरेका छन् । सन् २०१४ मा सिकोइला क्यापिटलले मात्रै ७ हजार करोड लगानीबाट कम्पनी बिस्तार भएको थियो । कम्पनीमा हर्ष मरिवाला, दिलिप पाठक, टीवीएस क्यापिटल, स्टेडव्यू क्यापिटलले लगानी गरेका छन् ।

नायकाको ५५ लाख मासिक सक्रिय प्रयोगकर्ता छन् । त्यसमा १२०० भन्दा बढी ब्राण्डका ७ लाख बढी उत्पादन छन् । पहिले नायकाले दोस्रो कम्पनीको उत्पादनको मात्रै फिचर गर्ने गरेको थियो । तर पछिल्ला दिनमा उसले आफ्नै प्रडक्ट सार्वजनिक गरिरहेको छ ।

लकडाउनका कारण गत अप्रिलमा नायकाको बिक्री ७० प्रतिशतले घटेको थियो । त्यसपछि अनलाइनबाट नै कारोबार शुरु गरियो, त्यो पनि तीव्र गतिका साथ । कोरोनाको समयमै ९० प्रतिशतभन्दा बढी व्यापार बाउन्स ब्याक भएको उनको भनाइ छ ।

सन् २०१८ सम्म २१ करोड बराबरको घाटा भएको कम्पनीले सन् २०१९ मा मात्रै २ करोड मुनाफा कमाएको थियो भने सन् २०२० मा ९४ करोड नाफा कमायो । सन् २०१९ मा भारतको कूल सौन्दर्य उद्योगको हिस्सा १ लाख करोड बराबरको थियो ।

यसमा हरेक वर्ष १२ देखि १४ प्रतिशतले वृद्धि भइरहेको आँकडाले बताएको छ । कम्पनीले अनलाइन र अफलाइन दुबै व्यापारलाई तीव्र गतिमा अगाडि बढाउने लक्ष्य राखेको छन् । सन् २०२४ सम्म कूल १८० वटा अफलाइन स्टोर खोल्ने घोषणा समेत भइसकेको छ ।


क्लिकमान्डु