१८औं हस्तकला व्यापार मेल आगामी मंसिर ३ गतेबाट हुँदै, करिब १ लाखले अवलोकन गर्ने



काठमाडौं । नेपाल हस्तकला महासंघले आगामी ३ गतेबाट १८ औं हस्तकला व्यापार मेला तथा १६औं कला प्रतियोगिता आयोजना गर्ने भएको छ ।

महासंघले आगामी ३ गतेदेखि ५ गतेसम्ममा १८औं हस्तकला व्यापार मेला तथा १६औं कला प्रतियोगिता आयोजना गर्ने भएको हो ।


उक्त आयोजना कार्यक्रम होटल ह्यात रेजेन्सी बौद्धमा हुने भएको छ । जसमा १२० वटा स्टल रहनेछ ।

कोभिड–१९ का कारण गत वर्ष मेला आयोजना हुन सकेको थिएन । यो वर्ष पनि कोभिडकै समय भएकाले सामाजिक दूरीलाई मध्यनजर गर्दै ह्यात रेजेन्सीमा हुने भएको महासंघका उपाध्यक्ष रविन्द्र शाक्यले बताए ।

उक्त मेलाको प्रमुख आकर्षणको रुपमा कला प्रतियोगिता अन्तर्गत नेच्यूरल फाइवर (प्राकृतिक रेसा) फिलगिरसी गरी २ वटा विधामा प्रतियोगिता हुने भएको छ । जसमा उक्त २ विधाका प्रतियोगितामा सहभागी भई प्रथम भएकालाई ५० हजार, द्वितियलाई ३० हजार र तृतीयलाई २० हजार रकमसहित पमाणपत्र वितरण हुनेछ ।

त्यसैगरी, महासंघले ७० वर्ष नाघेका जेष्ठ कलाकारहरूलाई तथा हस्तकला वस्तुहरू विदेशी बजारमा निर्यात गर्ने उत्कृष्ठ निकासीकर्तालाई सम्मान गर्ने भएको छ ।

महसंघका उपाध्क्ष शाक्यले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्रेता तथा बिक्रेतालाई एक स्थानमा भेला गराउन उपयुक्त वातावरणद प्रदान गर्नु, नवोदित उद्यमी ब्यवसायीलाई बजार पहुँचको अवसर प्रदान गर्नु, हस्तकला र नेपाली संस्कृतिबीचको अन्योन्याश्रित सम्बन्धलाई जनमानसमा उजागर गर्नु रहेकाले हरेक वर्ष मेला आयोजना गर्दै आएको बताए । यो वर्ष सो मेलामा ९० लाख रुपैयाँ खर्च भएको शाक्यले जानकारी दिए ।

व्यापार मेलामा एकै छानामुनि हस्तकला वस्तुहरूको बृहत प्रदर्शनी तथा बिक्री, उत्कृट स्टल तथा प्याभिलियन प्रतियोगिता, समय सापेक्ष मेड इन नेपाल, मेक इन नेपाल अवधारणा अनुरुप वस्तुहरूको प्रदर्शन, परम्परागत तथा नवोधित हस्तकलाको जीवन्त सीप प्रदर्शनी, अर्मूत साँस्कृतिक सम्पदा आइसीएको उजागर, क्राफ्ट कम्पीटिसन हुने भएको छ ।

मेलामा अन्तराष्ट्रिय बजारमा पहुँच पुग्न नसक्ने घरेलु लघु एवं साना उद्यमी व्यवसायीले विदेशी आयातकर्ताहरूसँग व्यवसायिक सम्बन्ध स्थापित गर्न सक्ने अवसर प्राप्त गर्ने महासंघको भनाइ छ ।

साथै, सो मेलामा करिब १ लाख अवलोकनकर्ताले अवलोकन गर्नेछन् । ८० मुलुकभन्दा बढी देशमा निर्यात हुँदै आएको हस्तकला व्यवसायी तथा उद्योगीले सामान्य अवस्थामा वार्षिक १२ अर्ब रुपैयाँसम्मको हस्तकला निर्यात गर्दै आएका थिए ।

तर, कोभिड–१९ का कारणले उक्त निर्यातमा गिरावट आएर ६ अर्बमा सिमित भएको उपाध्यक्ष शाक्यको भनाई छ । तर, उक्त समयवधिमा पनि सो रकम बराबरको निर्यात गर्नु ठूलो उपलब्धि रहेको महासंघले जनाएको छ ।


क्लिकमान्डु