आइपीओको सुविधासहित नयाँ ब्रोकर कम्पनी थप हुँदै, पुरानालाई समेत पुँजी वृद्धि गरी पब्लिकमा लगिने



काठमाडौं । नेपाल धितोपत्र बोर्डले ब्रोकर कम्पनीरुले पनि साधारण सेयर (आइपीओ) जारी गर्न पाउने व्यवस्था गर्न लागेको छ । बोर्डले नयाँ स्टक ब्रोकर कम्पनी थप गर्दै सर्वसाधारण सेयर जारी गर्न पाउने व्यवस्था गर्ने भएको हो ।

बोर्डले नयाँ धितोपत्र दलाल व्यवसायी (स्टक ब्रोकर) कम्पनीलाई लाइसेन्स वितरणको प्रक्रिया अघि बढाइसकेको छ । बोर्डले ५ सदस्यको कार्यदल गठन गरी एक साताभित्र नियामावली सहित प्रतिवेदन बुझाउने निर्देशन गत साता नै दिएको हो ।

कार्यदलले बुझाएकोे नियामावली बोर्ड सञ्चालक समितिले पास गरेपछि मन्त्रालयको स्वीकृतमा नयाँ स्टक ब्रोकरलाई लाइसेन्स वितरण शुरु हुने सेबोनका अध्यक्ष भिष्मराज ढुङगानाले जानकारी दिए ।

बोर्डले संद्यीय संरचना अनुसार सबै प्रदेशिक स्तरको ब्रोकर कम्पनीलाई लाइसेन्स दिने बताइएको छ । जसमा बैंकको साहयक कम्पनीलाई पब्लिकमा नै जाने गरी लाइसेन्स दिइने र अन्यलाई समेत पब्लिकमै जाने गरी लाइसेन्स दिइने उनले बताए ।

‘राष्ट्रियस्तर र क्षेत्रीयस्तर दुवै स्तरमा ब्रोकर कम्पनीलाई लाइसेन्स दिइन्छ, नियमावली निर्माण भइसकेपछि कम्पनीको संख्या तय हुन्छ,’ बोर्ड अध्यक्ष ढुङगानाले क्लिकमाण्डूसँग भने, ‘बैंकको सहायक कम्पनी पब्लिक लिमिटेड नै भएर आउनु पर्छ, पब्लिक लिमिटेड भइसकेपछि आइपीओ जारी गरेर पब्लिकमा जान सक्छन् ।’

बोर्ड नयाँ आउने ब्रोकर कम्पनीहरुको निश्चित पुँजी तोकेर आइपीओ जारी गरेर पब्लिक जान पाउने व्यवस्था गर्न सक्ने सम्भावना प्रवल रहेको उनको भनाइ छ ।

‘अहिले सञ्चालनमा रहेका ब्रोकर कम्पनीहरु केही बाहेक सबै प्राइभेट कम्पनीहरु छन्,’ उनले थपे, ‘ती कम्पनीहरुलाई पनि निश्चित समय तोकेर पब्लिकमा निर्देशन दिइन्छ भने, पुँजी वृद्धि गरी आइपीओ जारी गर्न पाउने पनि हुन सक्छ तर तत्कालै त्यो व्यवस्थाबारे केही निर्णय भएको छैन ।’

तर नयाँ लाइसेन्स पाउने कम्पनीहरु सबै संस्थागत नै हुने र निश्चित समयपछि आइपीओ जारी गर्न पाउने उनले बताए । ब्रोकर कम्पनीलाई आइपीओ जारी गर्न पाउने व्यवस्था सम्बन्धी भने थप छलफल आवश्यक रहेको उनको भनाइ छ ।

यसैगरी, नयाँ ब्रोकर कम्पनीलाई लाइसेन्स वितरण गर्दा राष्ट्रिय तथा क्षेत्रीयस्तरमा नै वितरण हुनेछन् । नयाँ ब्रोकर लाइसेन्सका लागि मन्त्रालयबाट नियामवाली स्वीकृत भएर आएपछि आवेदन खुलाइने उनले बताए ।

नीति संशोधन नगरी ब्रोकर कम्पनीलाई पब्लिक बनाउन सम्भव छैन
हाल नेपालमा ५० वटा धितोपत्र व्यवसायीले कारोबार गरिरहेका छन् । यी कम्पनीहरुलाई समेत बोर्डले संस्थागत बनाइने भनिसकेको छ ।

बोर्डले संस्थागत ब्रोकर कम्पनीको अवधारणलाई प्रष्ट रुपमा बुझाउन नसक्दा अन्योलता भएको धितोपत्र दलाल व्यवसायीहरु बताउछन् । बोर्डले सञ्चालनमा रहेका ब्रोकर कम्पनीलाई संस्थागत बनाउँछ निश्चित संख्यामा सेयरधनी थप्नुभन्दा सर्वसाधारणमा आइपीओ जारी गरेर पब्लिक बनाउन उपयुक्त हुने नेपाल ब्रोकर एसोसियशनका अध्यक्ष सन्तोष मैनालीले बताए । तर यसका लागि बोर्डले स्टक ब्रोकरको कारोबार सम्बन्धी पुराना व्यवस्थाहरुलाई संशोधन गर्न आवश्यक रहेको उनको भनाइ छ ।

‘संस्थागत बनाउने भनेको कस्तो हो त्यो बोर्डले स्पष्ट पार्न आवश्यक छ, अहिले ३÷४ वटा ब्रोकर कम्पनीमा मात्र एउटा परिवारका स्वामित्व होला,’ अध्यक्ष मैनालीले क्लिकमाण्डूसँग भने, ‘प्राइभेष्ट वा पब्लिक लिमिटेड दुवै संस्था हुन्, पब्लिकमै लाने हो भने परिवासको स्वामित्वलाई ७ जना सेयरधनी होइन आइपीओ नै जारी गर्न पाउने व्यवस्था गर्नुपर्छ ।’

परिवारिक स्वामित्वको ब्रोकर कम्पनीलाई निश्चित संख्यामा सेयरधनी थप गरी पब्लिक बनाउने हो भने त्यसको औचित्य नभएको उनको भनाइ छ ।

‘संस्थागत भनेको सुसाशन, पूर्वाधारलगायतको विषय हुन्छन्, यो हामी ब्रोकरको माग नै हो,’ उनले थपे, ‘पुँजी वृद्धि गर्नु पर्ने हो वा प्रविधि ल्याउनु पर्ने हो हामी तयार छौ तर त्यसमा पोलिसी दिनुपर्छ । ब्रोकर कम्पनीका जोखिम व्यवस्थापन, नियमन सुपरीवेक्षण तथा जनशक्ति व्यवस्थापनको लागि बोर्डले संस्था खडा गर्न विगत १० वर्षदेखि भन्दै आएका छौँ ।’

प्रालिलाई पब्लिक बनाउँदैमा संस्थागत नहुने हुँदा लगानीकर्ताले विस्वास गर्ने सेवाको गुणस्तर वृद्धि गर्ने नीति निर्माण गरी कार्यान्वयन बोर्ड गराउन पर्ने उनको बुझाइ छ ।

अहिले ब्रोकर कम्पनीको सेयरधनीले आफ्नोबाट कारोबार गर्न नपाउने व्यवस्था छ । बोर्डले सबै ब्रोकर कम्पनीलाई पब्लिकमा बनाउँदा सो व्यवस्थाले सेयरकारोबारमा संकुचन ल्याउने उनको भनाइ छ ।


क्लिकमान्डु