कोभिडले थला पारेको पर्यटन, कायमै छ ओरालो यात्रा
काठमाडाैं । कोरोना नहुँदो हो त यतिबेला घनुषा घर भई लामो समयदेखि काठमाडौं नयाँ बानेश्वर बस्दै आउनु भएका अजय दाहाल विदेशी पर्यटकका समूहका साथमा लामो पदयात्राका लागि पहाड र हिमालका बाटामा भेटिन्थे । उमेरले ५० वर्ष टेकेका उनले जीवनको करिब आधा समय अर्थात् २१ वर्ष ट्रेकिङ र टुर गाइडका रुपमा बिताइसके ।
सन् २०२० मा नेपाल भ्रमण वर्ष मनाउने र २० लाख पर्यटक ल्याउने भनेपछि उनको मन हौसिएको थियो । जति धेरै विदेशी पर्यटक आउँछन्, त्यति धेरै आम्दानी हुने मात्रै होइन, भविष्य पनि सुरक्षित हुन्छ भन्ने उहाँको आशा थियो । तर, भ्रमण वर्ष स्थगित भयो, कोरोनाको कहर व्याप्त भयो ।
विदेशी पर्यटक आउन नपाएपछि उनको दैनिक पनि बदलियो । केही महिना घरमै बिताए । यता अवस्था सामान्य बन्दै गर्दा बेलायत र भारत लगायतका देशमा कोरोनाको नयाँ भेरियन्ट देखा पर्न थाल्यो । त्यसको सिधा असर नेपालमा पर्छ भन्नेमा दाहाललाई पनि शंकै भएन । उनले पेशा नै परिवर्तन गर्ने सोचे । त्यसैले २०७७ फागुनमा काठमाडौंको सोल्टीमोडमा १५ लाख रुपैयाँ लगानी गरेर रेष्टुराँ खोले । नाम राखे– ‘फूडडुड’ । तर, रेष्टुराँ खुलेको दोस्रो महिनामै कोरोनाको नयाँ भेरियन्टको प्रकोप बढ्न थाल्यो । अनि त्यही रेष्टुराँ पनि बन्द गरेर फेरि घरभित्रै बस्न दाहाल बाध्य भए । ‘बाटो हेर्दैछु । रेष्टुराँ राम्रो चल्यो भने गाइडका रुपमा फेरि फर्कन्न होला,’ योजना सुनाउँछन् ।
दाहाल मात्रै होइन, टुर गाइडका रुपमा काम गरिरहनु भएका ४२ वर्षे शंकर भट्टराईले पनि पेशा परिवर्तन गरे । जबसम्म पुरानो काम पाइन्न तबसम्म बोर्डिङ स्कुलमा पढाउने । ‘मैले ब्याचलर पढ्दा केही समय बोर्डिङमा पढाएको थिएँ । केही समयका लागि फेरि टिचिङ मै फर्किएको छु,’ उनी सम्झिन्छन् । बौद्धको लस्ट लाइट एकेडेमीमा पढाउन थालेको केही समयमै त्यहाँ पनि कोरोनाले सतायो । अहिले घरबाटै २–३ वटा अनलाइन क्लास लिइरहेका छन् ।
दाहाल र भट्टराईको जस्तै अवस्था भोगेका अर्का पात्र हुन्– यज्ञबहादुर कार्की । ५० वर्षे कार्की पनि २१ वर्षसम्म टुर गाइड भए । कोरोनाका कारण अहिले काम पाउने अवस्था नभएपछि भक्तपुरको बोडेमा किराना पसल थालेका छन् । ‘पैसा आउने बाटो खोज्नु त पर्यो । त्यसैले केही समयअघि मात्रै किराना पसल शुरु गरेको छु । साथमा खाना पकाउने ग्यास पनि बिक्री गर्छु, अहिलेसम्म त राम्रै छ,’ उनी भन्छन् । पर्यटन क्षेत्रमा पहिलेको जस्तै अवस्था आउन लामो समय लाग्ने ठानेर उनले किराना पसल शुरु गरेका हुन् ।
अति प्रभावित पर्यटन क्षेत्र
पर्यटकीय गन्तव्य अन्य प्रदेशको तुलनामा बाग्मतीमा कम छन् । तर मुलुकको राजधानी काठमाडौं समेत रहेको हुनाले मुलुकमा हुने हरेक पर्यटकीय गतिविधि यहाँ गाँसिएर आइहाल्छ । हवाईमार्ग हुँदै नेपाल प्रवेश गर्ने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, आन्तरिक विमानस्थलको हव, तारे तथा पर्यटकीय होटलहरुको ठूलो संख्याले बाग्मती प्रदेश पर्यटकीय दृष्टिकोणले निकै महत्वपूर्ण छ ।
कोरोना महामारी नहुँदो हो त नेपाल भ्रमण वर्ष भव्यताका साथ मनाइएको हुन्थ्यो । तर, मुलुकको अर्थतन्त्रमा ठूला टेवा पुग्ने अपेक्षा गरिएको पर्यटन क्षेत्र आगामी २/३ वर्षका लागि उठ्नै नसक्ने गरी प्रभावित भयो । सन् २०१९ मा १२ लाख विदेशी पर्यटक आएकामा सन् २०२० मा थप ८ लाख ल्याएर २० लाख पु¥याउने महत्वाकांक्षी लक्ष्य कोरोनाका कारण पूरा हुन सकेन । फलतः १४२ वटा तारे होटल बन्द हुने अवस्थामा पुगे । तारे होटलबाहेक पर्यटक स्तरीय १ हजार १५१ होटल सुनसान भए जसमा १३ हजार ९ सय बेड खाली भए ।
पर्यटन विभागमा दर्ता भएका ३ हजार ७४३ ट्राभल एजेन्सी बन्द भए । यस अवधिमा २ हजार ७९७ ट्रेकिङ एजेन्सी पनि कामबिहीन भए । ४ हजार २ सय ४१ टुर र १७ हजार ६ सय २६ ट्रेकिङ गाइड लकडाउन तथा निषेधाज्ञाका कारण घरभित्रै बस्न बाध्य भए । ३८९ वटा होमस्टेका ६६३ कोठा र १ हजार ८८ वटा बेडले अतिथी पाएनन् । साथै ८२ वटा र्याफ्टिङ एजेन्सीले काम पाएनन् । अन्तर्राष्ट्रिय विमानहरु नेपाल आउन पाएनन् भने नेपालमा भएका विमान पनि ह्याङगरमा थन्किए ।
खोपको उपलब्धतासँगै सामान्य बन्दै गएको जनजीवनलाई कोरोनाको दोस्रो लहरले तहसनहस पारेको छ । चाँडै तंग्रिने संकेतहरू मधुरा देखिएका छन् ।
क्यासिनोको राजस्वः ५९ करोडबाट एक करोड
कोरोना महामारीका कारण पर्यटन क्षेत्रमा असर पर्दा क्यासिनोबाट हुने राजस्वमा पनि ठूलो कमी आएको छ । अर्थ मन्त्रालयका अनुसार २०७७÷७८ को फागुनसम्ममा नेपालमा १० वटा क्यासिनो दर्ता भइ सञ्चालनमा छन् ।
आधुनिक मेसिन वा उपकरणको माध्यमबाट मात्रै खेलाइने खेल (मिनि क्यासिनो) तर्फ पाँच क्यासिनो दर्ता भइ सञ्चालनमा रहेका छन् । यसबाट आर्थिक वर्ष २०७६÷७७ मा ५८ करोड ७६ लाख ६८ हजार ४ सय रावस्व प्राप्त भएको थियो भने चालु आर्थिक वर्षमा १ करोड १ लाख रुपैयाँ मात्रै राजस्व प्राप्त भएको छ ।
बाग्मतीमा विविध पर्यटन
प्रदेशको धरातलीय विविधता अनुसार यहाँको हावापानीमा पनि विविधता छ । समुद्र सतहदेखि १४१ मिटर उचाइमा रहेको चितवनको गोलाघाटदेखि ७ हजार २२७ मिटर उचाइमा रहेको रसुुवाको लाङटाङ हिमालसम्म यो प्रदेश फैलिएको छ ।
यहाँका महत्वपूर्ण धार्मिक स्थानहरुमा हिन्दुहरुका आराध्यदेव पशुपतिनाथ, बुढानीलकण्ठ, स्वयम्भूनाथ, चांगुनारायण, गोसाइँकुण्ड, कालिञ्चोक भगवती, भीमेश्वरलगायत छन् । त्यसका साथै ऐतिहासिक गढीहरुमा मकवानपुर गढी, सिन्धुली गढी, रसुवा गढी प्रमुख पर्यटकीय गन्तव्य हुन् । त्यसैगरी यस प्रदेशमा २० हजारी ताल, गोसाइँकुण्ड, च्छो रोल्पा हिमताल, जट पोखरी, पाँच पोखरी तथा बहुबाल पोखरी जस्ता महत्वपूर्ण पर्यटकीय र ऐतिहासिक सम्पदा पनि छन् ।
यस प्रदेशमा लाङटाङ र गौरीशंकर गरी दुई वटा हिमश्रृंखला छन् भने । नेपालमा रहेका ५ हजार मिटरभन्दा अग्ला ४१४ वटा हिमचुचुरामध्ये यस प्रदेशमा ६१ वटा छन् । यस प्रदेशमा रहेको अग्लो चुचुरो लाङटाङ लिरुङ ७२२७, लाङटाङ ७२०५ मिटर र गौरीशंकर ७१३५ मिटर उचाइका छन् ।
यस प्रदेशमा १० वटा उपजलाधार प्रणाली र ३३ वठा मुख्य नदी छन् । यीमध्ये सबैभन्दा लामो नदी सुनकोशी हो जसको लम्बाइ १६०.१९ किलोमिटर छ भने सबैभन्दा छोटो नदी लाल बकैया १.८९ किमि मात्र रहेको जानकारी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले आधिकारिक वेबसाइटमै राखेको छ ।
पर्यटनमा लगानी १५ खर्ब
संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले कोरोना महामारीको पहिलो लहर शुरु भएपछि गरेको अध्ययन अनुसार नेपालको पर्यटन क्षेत्रमा १५ खर्ब रुपैयाँ बराबरको लगानी भएको छ, जसमा ७ लाख २० हजारले रोजगारी पाएका छन् । पर्यटन मन्त्रालयका सहसचिव घनश्याम उपाध्यायको संयोजकत्वमा पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनञ्जय रेग्मी र नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेल सदस्य रहेको समितिले उक्त अध्ययन गरेको हो ।
हाल नेपालमा तारे तथा पर्यटकस्तरीय होटलको संख्या १ हजार २८९ वटा छन् । जसमा ४४ हजार बेड संख्या छ भने यसमा १० खर्ब रुपैयाँ लगानी छ । यी होटलहरुमा २ लाखभन्दा बढीले रोजगारी पाएका छन् ।
त्यसैगरी विभिन्न विमान कम्पनीमा १ खर्ब रुपैयाँभन्दा बढी र पर्वतारोहण तथा पदयात्राको क्षेत्रमा पनि १० अर्ब रुपैयाँ लगानी भइसकेको छ । यस क्षेत्रबाट सरकारले गत वर्ष मात्रै ५५ करोड रुपैयाँ राजस्व संकलन गरेको थियो । यो क्षेत्रमा ९० हजार श्रमिक आश्रित छन् ।
सरकारले आर्थिक वर्ष २०७७/७८ मा को वसन्त ऋतुमा मात्रै विभिन्न १६ वटा हिमाल आरोहणका लागि अनुमति दिए वापत ७१ करोड ४८ लाख रुपैयाँ संकलन गरिसकेको छ ।
यसबीच खर्बौं लगानी भएको यस क्षेत्रलाई अनिश्चित भविष्यबीच कसरी टिकाइ राख्ने हो भन्ने चिन्ता थपिएको छ । पर्यटनसँग प्रत्यक्ष र अप्रत्यक्ष अन्तर सम्बन्ध राख्ने कृषि, यातायात, उद्योगलगायतका क्षेत्रमा पनि ठूलो असर देखिएको छ ।
त्यसैगरी बाग्मती प्रदेशको हकमा अर्थ मन्त्रालयका अनुसार आर्थिक वर्ष २०७६÷७७ मा १४ अर्ब ४ करोड रुपैयाँ लगानी भइसकेको छ । यो अन्य प्रदेशको तुलनामा सबैभन्दा बढी हो । मुलुकका ७ वटै प्रदेशमा कुल १८ अर्ब १६ करोड रुपैयाँ पर्यटन क्षेत्रमा लगानी भएको अर्थ मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।
मोटामोटी २५ अर्ब क्षति
गत वर्ष नेपाल पर्यटन बोर्डले गरेको अध्ययन अनुसार कोरोना महामारीका कारण पर्यटन क्षेत्रमा मासिक १० अर्ब रुपैयाँ बराबरको क्षति भइसकेको छ । बोर्डले गरेको लकडाउनपछिको पर्यटन क्षेत्रको अवस्था र पुनस्र्थापना विषयको एक अध्ययनले समग्र पर्यटन क्षेत्रमध्ये होटल, ट्राभल, ट्रेकिङ, एयरलाइन्ससहितमा यस्तो क्षति भएको अनुमान गरिएको हो ।
पर्यटकको संख्यामा उल्लेख्यरुपमा आएको कमीका कारण यस क्षेत्रमा ठूलो नोक्सानी भइसकेको र कोरोनाको नयाँ भेरियन्टका कारण अझै ठूलो क्षति हुने अनुमान बोर्डको छ ।
नेपालमा कुन नाकाबाट कति पर्यटक आए, उनीहरुले नेपालमा कति दिन बिताए, कति खर्च गरे जस्ता विश्वश्नीय तथ्यांक छैन । त्यसैका लागि सरकारले स्याटेलाइट अकाउन्टको अवधारणा ल्याएको थियो । पर्यटनमन्त्री रबीन्द्र अधिकारी भएको समयमा सो प्रणा ली लागू गर्ने भनिए पनि हालसम्म कार्यान्वयनमा आउन सकेको छैन । तर पनि होटल, रेष्टुराँ तथा बार, ट्राभल एन्ड ट्रेकिङ, विमान कम्पनीलगायतको मोटामोटी हिसाब गर्दा २५ अर्बभन्दा रुपैयाँ बढीको क्षति भइसकेको छ ।
स्याटेलाइट अकाउन्ट प्रणाली विश्व पर्यटन संगठनले सञ्चालनमा ल्याएको हो । आन्तरिक तथा बाह्य पर्यटकले गर्ने खर्च, पर्यटन उद्योगले कूल राष्ट्रिय र कूल गार्हस्थ उत्पादनमा पारेको प्रभाव, रोजगारी, लगानी, गैरबजेटरी प्रभाव तथ्यांकमा समावेश गर्नेछ ।
बन्द होटल, यसैमा छ हित
अहिले पर्यटक नआउँदा केही होटल सञ्चालक बिस्थापित भइसकेका छन् भने धेरैले होटल बन्द गरेर राखेका छन् । त्यस्तै अवस्था बाग्मति प्रदेश अन्तर्गत काठमाडौंको ठमेलमा पनि छ । पर्यटकको बाक्लो उपस्थिती रहने यस्ता क्षेत्रका व्यवसायीलाई घरभाडा तिर्न र कर्मचारीलाई तलब खुवाउनै हम्मेहम्मे परेको छ । कतिपय बिस्थापित भइसकेका छन् भने कतिपय कसरी टिकाउने भन्नेमा चिन्तित छन् ।
काठमाडौंका अधिकांश तारे होटलहरु बन्द छन् । सञ्चालन गर्नुभन्दा बन्द गर्दा घाटा कम हुने भएकाले बन्द गर्नुको विकल्प नभएको उनीहरुको तर्क छ । ¥याडिसन होटलका सञ्चालक प्रकाश तिवारीका अनुसार होटलका अधिकांश ग्राहक विदेशी पर्यटक नै हुन् । उनीहरु अहिले नेपाल आउने अवस्था छैन ।
‘यदि आजका दिनमा होटल सञ्चालन गर्ने हो र कम्तीमा ४० प्रतिशत अकुपेन्सी नहुने हो भने होटल खोल्नुभन्दा बन्द गर्नु नै फाइदा हुन्छ । होटल खुल्ने वित्तिकै, किचनदेखि गार्डेन, स्वीमिङ पुल, हाउस किपिङलगायतका सबै कर्मचारी बोलाउनु पर्ने हुन्छ । उनीहरुको खर्च धान्नका लागि कम्तीमा ४० प्रतिशत अकुपेन्सी चाहिन्छ जुन अहिले सम्भव छैन,’ उनको हिसाबकिताब छ ।
कोभिड आउानुअघि सम्म राम्रो नाफा कमाइरहेका होटल यतिबेला ठूलो घाटामा छन् । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से)मा सूचीकृत तीन वटा होटल सोल्टी, र्याडिसन र हायात होटलको घाटा ठूलो छ । यसबीचमा र्याडिसन होटल आर्थिक वर्ष २०७७/७८ को चैत महिनासम्म २१ करोड घाटामा गइसकेको छ । सोही अवधिमा हायात होटलको ९ करोड रुपैयाँ र सोल्टी होटलको घाटा १३ करोड ६६ लाख रुपैयाँभन्दा बढी छ ।
होटलहरूले खर्च धान्न सक्ने अवस्था नभएपछि धमाधम कर्मचारी कटौती गर्ने रणनीति अंगालेका छन् । होटल डेल अन्नपूर्णकी सञ्चालक तथा होटल संघ नेपाल (हान) का अध्यक्ष सिर्जना राणाले तत्कालका लागि होटल पूर्णरुपमा बन्द गरिएको जानकारी दिइन् ।
‘कोरोनाका कारण घाटा अत्यधिक भयो, अझै २ वर्षसम्म विदेशी पर्यटन आउने अवस्था सुनिश्चित नभइसकेको अवस्थामा होटल सञ्चालन गरेर करोडौं घाटामा जानुभन्दा बन्द गर्नु नै उचित देखियो,’ उनले भनिन् । राणाले अवस्था सामान्य भए पनि होटल सञ्चालन गर्ने विषयमा योजना बनाइ नसकेको जानकारी दिइन् ।
पर्यटन क्षेत्र राम्रोसँग सञ्चालन हुन नसक्दा यसले कैयन क्षेत्रमा असर गर्ने देखिएको छ ।
‘एउटा पर्यटक आउँदा हवाई सेवासँगै यातायातका विभिन्न साधनको प्रयोगदेखि किसानले उत्पादन गर्ने खाद्यान्न, बैंक तथा बीमा क्षेत्रसँगै हस्तकलाको व्यापार पनि कम भएको छ,’ हानका उपाध्यक्ष बिनायक शाह भन्छन्, ‘सरकारले संकलन गरेको तथ्यांक नै अपुरो छ किनभने पर्यटक सबैले तिरेको पैसाको हिसाब सरकारसँग छैन ।’ यही अभाव पूरा गर्न पछिल्लो समय ल्याइएको स्याटेलाइट अकाउन्टिङ सिस्टमको अवधारणा हालसम्म अगाडि बढ्न नसकेको हो ।
शाहका अनुसार अहिले अधिकांश होटलहरु बन्द भए पनि सधैँभरि बन्द राखेर पनि हुँदैन । त्यसैले कतिपय होटलले १० प्रतिशत मात्रै कर्मचारी राखेर भए पनि होटल सञ्चालन गर्नुपर्ने बाध्यता छ ।
होटल र्याडिसनका सञ्चालक प्रकाश तिवारीका अनुसार विदेशी पर्यटक नआउँदासम्म होटल सञ्चालन गर्नु भनेको घाटामै जानु हो । एक जनाका लागि मात्रै होटल सञ्चालन गर्दा लाग्ने खर्च र ५० जनाका लागि लाग्ने खर्च उस्तै हुन्छ । त्यसैले पनि कम्तीमा ४० प्रतिशत अकुपेन्सी हुने अवस्था नआउँदासम्म होटल सञ्चालन गर्न नसक्ने भनिएको उनी बताउँछन् ।
रेष्टुराँः दैनिक क्षति १० करोड
रेष्टुराँ तथा बार एसोसिएसनका अध्यक्ष अरनिको राजभण्डारी कोरोनाका कारण यस क्षेत्रमा काम गर्ने करिब १ लाख दक्ष जनशक्ति बिस्थापित हुने अवस्थामा रहेको बताउँछन् ।
उनका अनुसार १ लाखमध्ये १० प्रतिशत मात्रै अहिले रेष्टुराँ क्षेत्रमै रहे पनि अधिकांश वैकिल्पक पेशामा आबद्ध हुन थालेका छन् । कतिपय गाउँ फर्केर कृषि पेशामा लागेका र कतिपय ठेक्का पट्टामा पनि लागेको उनले थाहा पाएका छन् ।
राजभण्डारीका अनुसार रेष्टुराँ तथा बारबाट दैनिक १० करोड रुपैयाँको व्यापार हुन्थ्यो । त्यो अहिले ठप्प छ । यसमा आबद्ध लाखौं मानिसहरुको आम्दानी रोकिएको छ ।
सरकारलाई कर पनि बुझाउन नसकिने अवस्था आएको उनी बताउँछन् । हुन पनि कोरोनाको महामारी केही कम भएको समयमा ठमेल बाहेकका काठमाडौं लगायत चितवनका कैयन रेष्टुराँहरु पूर्णरुपमा सञ्चालनमा आइसकेका थिए । विदेशी पर्यटकमा बढी आश्रित हुने ठमेललगायतका स्थानमा अवस्था सहज थिएन तर अहिले सबै ठप्प भएको छ ।
होमस्टेः सुनसानमा पनि सजावट कायमै
कोरोना महामारीका कारण होमस्टेमा पाहुना छैनन् । पाहुनाका लागि आकर्षक ढंगले सजाइएका कोठाहरु अतिथिबिहीन छन् । होमस्टे एसोसिएसन नेपालका कोषाध्यक्ष सुरज बास्तोलाका अनुसार कोरोनाका कारण होमस्टेमा ठूलो मार परेको छ ।
बास्तोला आफैले नगरकोटमा होमस्टे सञ्चालन गरिरहेका छन् । नगरकोटमा बास्तोला गाउँमा १७ घरधुरीले ६० वटा कोठा होमस्टेका रुपमा प्रयोग गरिरहेका छन् । पाहुना पाउन छाडे पनि सञ्चालकहरु भने कर्जा लिएरै भए पनि होमस्टेको ब्यूटिफिकेसनको काम गरिरहेका छन् ।
‘कोरोनाका कारण गत वर्ष बन्द नै भयो । बीचमा केही समय पाहुनाहरु आउनु भएको थियो तर फेरि बन्द भएको छ । यसैबीचमा १० घरधुरीले कृषि विकास बैंकबाट १५ लाख रुपैयाँका दरले कर्जा लिएर थप लगानी पनि गर्नु भएको छ,’ बास्तोलाले जानकारी दिए ।
उहाँका अनुसार प्रत्येक घरमा औसतमा ५० लाख रुपैयाँ लगानी भएको छ र त्यसमध्ये २० लाख रुपैयाँ कर्जा छ ।
उनले होमस्टे दर्ता र नवीकरणका लागि सहजीकरण गर्न बाग्मती प्रदेश सरकारसमक्ष मागसमेत गरे । “गण्डकी लगायतका प्रदेशमा होमस्टे दर्ता र नवीकरणको व्यवस्था छ तर बाग्मती प्रदेशले त्यो व्यवस्था गर्न सकेको छैन । यदि त्यसो भएमा हामीलाई सहज हुने थियो,” उनी भन्छन् । बास्तोलाका अनुसार कोरोनाबाट प्रभावित होमस्टे सञ्चालकहरुलाई ब्याज मिनाहा गरिदिए व्यवसाय जोगाउन केही सहज हुने छ ।
होटल तथा रेष्टुराँ नचल्दा किसानलाई मार
होटल तथा रेष्टुराँको सम्बन्ध किसानसँग सबैभन्दा बढी हुन्छ । तरकारी, मासु, अण्डालगायतका खाद्यान्नका लागि किसानमै भर पर्नुपर्ने हुन्छ । किसानले उत्पादन गरेको खाद्यान्न खरिदमै होटल तथा रेष्टुराँको कुल व्यापारको आधार रकम खर्च हुन्थ्यो, अहिले ठप्प छ ।
‘रेष्टुराँमा हुने दैनिक १० करोडको व्यापारमध्ये ४ देखि ५ करोड रुपैयाँ कृषिजन्य उत्पादनमै खर्च हुने हो । अहिले यो ठप्प हुँदा त्यसको सिधा असर किसानमा परेको छ,’ रेबनका अध्यक्ष राजभण्डारी भन्छन् ।
होटलमा अधिकांश प्रयोग हुने अण्डा, मासु, ब्रेड, तरकारी, खाद्यान्नको व्यापार ठप्प भयो । यसले गर्दा किसानले कुखुरा पाल्न छाडे, बजार नभएपछि अण्डा उत्पादन पनि कम हुन थाल्यो ।
‘किसानले ४० देखि ६० दिन लगाएर चिकेन तयार पार्छ । अण्डा तयार पार्छ । तर अहिले बजार नहुँदा त्यो लगानी किसानले गर्न सकिरहेको छैन । अर्थात्, अब फेरि शुरु गर्दा लागत बढ्ने र बीचमा सप्लाइको ग्याप पनि रहनेछ । यसका कारण मूल्य वृद्धि हुने जोखिम पनि रहेको छ,’ उनको विश्लेषण छ ।
गुमेको रोजगारीको चिन्ता
नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनञ्जय रेग्मीका अनुसार पर्यटन क्षेत्रमा प्रत्यक्ष रुपमा २ लाख ७२ हजार श्रमिक जोडिएका छन् भने करिब १० लाखको हाराहारीमा अप्रत्यक्षरुपमा जोडिएका छन् । तीमध्ये सबैभन्दा ठूलो संख्या होटलमा छ । कोरोनाका कारण होटल बन्द हुँदा २ लाख रोजगारी गुमेको छ । होटल डेल अन्नपूर्ण जस्ता कैयन होटलहरु बन्द भएका छन् । होटलहरुले कर्मचारीहरुले स्वेच्छिक अवकासमार्फत् विदा गर्ने कैयन योजना पनि ल्याएका छन् ।
‘होटल बन्द गर्नुपर्ने अवस्था आएकाले कर्मचारीलाई स्वेच्छिक अवकासको योजना दियौं । त्यसमा उहाँहरुले उपदान, ग्रेड, सञ्चयकोषमा जम्मा भएको रकम पाउनुहुन्छ । जुन रकमले सानोतिनो व्यापार गर्न सकिन्छ,’ हानका अध्यक्ष सिर्जना राणाले भन्छिन् ।
नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्टका वरिष्ठ उपाध्यक्ष बिनय बस्नेतका अनुसार सरकारले पर्यटनसँग सम्बन्धित तथ्यांक नै अपूरो संकलन गरेको छ । कोरोनाका कारण हजारौं संख्यामा रोजगारी प्रभावित भएको छ । कोरोनाको असर आगामी वर्षमा पनि रहने देखिएकाले स्थायीरुपमै दक्ष जनशक्ति गुमाउनु पर्ने अवस्था आएको छ ।
टुरिस्ट गाइड एसोसिएसन नेपालका अध्यक्ष बद्री नेपालका अनुसार हाल नेपालमा ४ हजार ५ सय जना लाइसेन्सप्राप्त टुर गाइड छन् । तीमध्ये २ हजार ३ सयको हाराहारीमा र १८ हजारको हाराहारीमा ट्रेकिङ गाइड छन् । कोरोना महामारीपछि हालसम्म यी गाइडहरुले काम पाउन सकेका छैनन् । त्यसैले केही पलायन भइसकेका छन् ।
सन् २०२० मा काम गर्नै पाएनन् भने २०२१ मा पनि विदेशी पर्यटक आएलान् र र काम पाइएला भन्ने अवस्था छैन । यस्तो अनिश्चितता भएकाले गाइडहरुले पनि विकल्प खोज्न थालेको नेपाल बताउँछन् । उनले गाइडहरु कोरोनाका कारण सबैभन्दा बढी प्रभावित भए पनि राज्यले कुनै सुविधा नदिएकोमा दुःख पनि व्यक्त गरे । ‘लाइसेन्सका आधारमा सरकारले सहुलियतपूर्ण कर्जा उपलब्ध गराउनुपर्छ”, उनको माग छ ।
कोरोनाको कहर शुरु भएपछि धेरै मानिसहरु गत वर्ष नै गाउँ गइसकेका थिए । त्यहाँ उनीहरु कृषिमा आबद्ध भए । बीचमा केही समय अवस्था सहज हुँदा केही फर्किए पनि सक्रिय २ हजार टुर गाइडमध्ये ७ देखि ८ सय जनाले नयाँ पेशा अपनाइसकेको उनले जानकारी दिए ।
त्यति मात्रै होइन, पर्यटन क्षेत्रमा रोजगारी पाइरहेका र अहिले बेरोजगार भएका जनशक्तिलाई न्यूनतम काम उपलब्ध गराउने पर्यटन मन्त्रालयको योजना अहिलेसम्म शुरु हुनसकेको छैन भने आन्तरिक पर्यटन बढाउनका लागि दुई दिन विदा दिने प्रस्ताव तुहिएको छ ।
नाट्टाका अध्यक्ष अच्युत गुरागाईंका अनुसार ३७४३ ट्राभल एजेन्सीमध्ये करिब १८ सय सक्रिय छन् । नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्टमा मात्रै ११ सय ट्राभल एजेन्सी कम्पनीहरु आवद्ध छन् । तिनमा करिब एक लाखले रोजगारी प्राप्त गरेको र थप ५ लाख आश्रित रहेको उनी बताउँछन् । उनका अनुसार अहिले व्यवसायीलाई कसरी व्यावसाय टिकाउने भन्ने चिन्ता छ भने कोरोनाको असर लामो समयसम्म रह्यो भने मजदुरलाई रोजगार गुमाउनु पर्लालाकी भन्ने चिन्ता छ ।
नेपाल ट्रेकिङ, ट्राभल्स्, ¥याफ्टिङ, एयरलाइन्स मजदुर यूनियन (युनिट्राभ) का अध्यक्ष सुमन पराजुली पाँच महिनादेखि अधिकांश मजदुरले तलव सुविधा नपाएको जानकारी दिन्छन् । ‘कोरोना शुरु भएपछि अधिकांश ट्राभल क्षेत्रका मजदुरले तबल सुविधा पाएका छैनन् । यही अवस्था रहिरहे यो क्षेत्रका पर्यटन मजदुर पलायन भएर भोलि पर्यटन क्षेत्रमा संकट उत्पन्न हुने अवस्था आउन सक्छ,’ अध्यक्ष पराजुली भन्छन् ।
उनका अनुसार इन्डोर ट्राभल मा २२ हजार र चार हजार पाँच सय टुरगाइड लाइसेन्स लिएर काम गरिरहेका छन् । यति ठूलो संख्याले रोजगारी गुमाउँदा यसको दीर्घकालीन असर नेपालको पर्यटन क्षेत्रलाई नै पर्ने छ । रेष्टुराँ तथा बार एसोसिएसनका अध्यक्ष अरनिको राजभण्डारी यो क्षेत्रमा कार्यरत १ लाख श्रमिकमध्ये अब ३० देखि ४० हजार जना फेरि फर्कन नसक्ने ठान्छन् ।
‘पुराना पर्यटन क्षेत्रका श्रमिकको केही बचत भएर जीवनयापन गर्न सहज होला तर यसक्षेत्रका नयाँ श्रमिकको अवस्था नाजुक छ’, टुरिस्ट गाइड एसोसिएसन अफ नेपालका अध्यक्ष केदार तामाङ बताउँछन् ।
‘केही थोरै साथीहरु कृषि कर्ममा लाग्नु भएको छ, केही वैकल्पिक पेशामा आवद्ध भएका छन् तर बहुसंख्यक साथीहरु यो क्षेत्र कहिले लयमा फर्केला र काम पाइएला र आर्थिक उपार्जन गरौंला भनेर पर्ख र हेरको अवस्थामा बस्नु भएको छ,’ उनी भन्छन् ।
गाइडहरुकोे लाइसेन्स र कार्यक्षमताको मूल्याङकनका आधारमा विना धितो कर्जा प्रवाह गरियोस भनेर राज्यका सबै निकाय चहार्दा पनि ठोस जवाफ कतैबाट नपाएको अध्यक्ष तामाङले गुनासो छ । अब पर्यटक आएपछि गाइडहरुले सेवा दिनु नै पर्छ । त्यसैले पर्यटकसँग अग्रमोर्चामा खटिनेहरुको स्वास्थ्य, सुरक्षा, बीमा र भोलिका दिनमा केही भवितव्य भइहाले क्षतिपूर्तिको व्यवस्था गर्न सरकारका निकायलाई सुझाउदैं आएको तर सुनुवाई नभएको अध्यक्ष तामाङको भनाइ छ ।
पर्यटक घट्दै, जनशक्ति थपिँदै
सन् २०१९ को तुलनामा सन् २०२० मा कोरोना महामारीका कारण विदेशी पर्यटक आगमनमा उल्लेख्य कमी आयो । आर्थिक सर्वेक्षण २०७७/७८ मा उल्लेख भए अनुसार सन् २०२० मा कुल विदेशी पर्यटकको संख्या २ लाख ३० हजार ८५ मा सीमित भयो जुन अघिल्लो वर्षको तुलनामा ८१ प्रतिशत कम हो ।
भ्रमणको उद्देश्य अनुसार ६०.५ प्रतिशत पर्यटनले विदा, मनोरञ्ज, यात्रा जस्ता पर्यटकीय उद्देश्यले नेपाल भ्रमण गरेका छन् । त्यसैगरी १५.५ प्रतिशतले तीर्थयात्रा, १२.४ प्रतिशत पर्वतारोहण, साहसिक यात्रा, पदयात्रा र ११.५ प्रतिशत अन्य विभिन्न उद्देश्यले नेपाल भ्रमण गरेका छन् ।
पर्यटन उद्योगमा भारी गिरावट आए पनि यस क्षेत्रमा मानवसंशाधनको विकास भने रोकिएको छैन । आर्थिक वर्ष २०७७/७८ को फागुन महिनासम्ममा नेपाल पर्यटन तथा होटल प्रतिष्ठानले होटल व्यवस्थापनतर्फ चालु ५४७ जना जनशक्ति तयार पारेको छ ।
साथै हालसम्म तालिम प्राप्त गर्नेहरुको संख्या ५६ हजार ९४४ पुगेको छ । त्यसैगरी नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठानले २०७७ फागुन महिनासम्म २ हजार ६ सय ५९ जनालाई विभिन्न विधामा पर्वतीय पर्यटनसम्बन्धी तालिम दिएको छ ।
ठमेलका १७ प्रतिशत व्यवसाय सधैका लागि बन्द
सन् २०२१ को मे १७ तारिखमा पर्यटन क्षेत्रसँग सम्बन्धित १७ प्रतिशत व्यवसाय सधैका लागि बन्द भएको प्रतिवेदन सार्वजनिक भएको छ । नेपाल पर्यटन बोर्डका निवर्तमान प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीको नेतृत्वमा भएको एक अध्ययनको प्रतिवेदनअनुसार ठमेलमा रहेका पर्यटनसँग सम्बन्धित १७ प्रतिशत व्यवसाय सधैंका लागि बन्द भएका छन् ।
काठमाडौं लिभिङ ल्याब्सले होटल एसोसिएसन नेपाल, ठमेल पर्यटन परिषदसँगको सहकार्यमा पर्यटकीय क्षेत्र ठमेललाई केन्द्र बनाएर अध्ययन गरिएको जोशीले जानकारी दिए ।
अध्ययन प्रतिवेदनमा ८७ प्रतिशत व्यवसाय ऋणमा रहेको, ९२ प्रतिशत व्यवसायमा कोरोनाका कारण ऋण थपिएको र ९५ प्रतिशत श्रमिकहरु मनोवैज्ञानिकरुपमा प्रभावित भएको उल्लेख छ ।
कोरोना महामारीका कारण ९४ प्रतिशत व्यवसाय बन्द भएका छन् भने ६५ प्रतिशत श्रमिक बेरोजगार भएका छन् । यसका साथै ९२ प्रतिशत श्रमिकहरु कोरोनाका कारण ऋणमा डुबेको पनि प्रतिवेदनमा उल्लेख छ ।
प्रतिवेदनले केही उत्साहजनक तथ्यांक पनि पेश गरेको छ । त्यसअनुसार, ७७ प्रतिशत व्यवसाय अस्थायीरुपमा मात्र बन्द भए भने ६ प्रतिशत व्यवसाय कहिल्यै बन्द भएनन् । यसबीचमा ३५ प्रतिशतले भने व्यवसाय नै बिक्री गर्न खोजेका भए पनि बाँकी ६५ प्रतिशतले बिक्री चाहिँ त्यसो गर्न नचाहेको देखिएको छ । बिक्री गर्न चाहेका ३५ प्रतिशतमध्ये पनि ९ प्रतिशतले मात्रै बेचेका र बाँकी २६ प्रतिशतले बेच्न नसकेको देखिएको छ ।
प्रतिवेदन अनुसार ८० प्रतिशत व्यवसायीले यसबीचमा सञ्चालन खर्च समेत उठाउन सकेका छैनन् भने ३२ प्रतिशतले लगानी थप्ने योजना तत्कालका लागि स्थगित गरेका छन् । अध्ययनबाट ४३ प्रतिशत व्यवसायीले भने सन् २०२० को नेपाल भ्रमण वर्षका लागि लक्षित गरी लगानी थप गरेको पाइएको छ ।
प्रतिवेदनमा ९५ प्रतिशत व्यवसायीसँग चार महिनाका लागि पनि नपुग्ने बचत रहेको देखिएको छ भने ८७ प्रतिशतले रकम सापटी लिएको देखिएको छ । व्यवसायीमध्ये ६६ प्रतिशतले सहुलियत ऋण लिएको र ३४ प्रतिशतले धितो राखेर बैंक तथा वित्तीय संस्थामार्फत् कर्जा लिएको पाइएको छ ।
पर्यटन काजको व्यवस्था
सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि वार्षिक बजेट प्रस्तुत गर्दै पर्यटन काजको व्यवस्था गरेको छ ।
आन्तरिक पर्यटनको विकास र विस्तारका लागि निजामति, सार्वजनिक संस्थान र प्रतिष्ठानका कर्मचारीलाई १० दिनको पारिश्रमिक बराबरको रकम सहित पर्यटन काज उपलब्ध गराइनेछ । निजी क्षेत्रमा कार्यरत कर्मचारीलाई समेत सोही अनुसारको सुविधा प्रदान गर्न प्रेरित गरिने सरकारले उल्लेख गरेको छ ।
यसअघिका पर्यटनमन्त्री योगेश भट्टराई तथा पर्यटन बोर्डका सीइओ धनञ्जय रेग्मीले समेत पटक-पटक कर्मचारीलाई पर्यटन विदाको व्यवस्था हुनुपर्ने माग गर्दै आएका थिए । तत्कालीन पर्यटनमन्त्री भट्टराईले आ.व. २०७७/७८ कै बजेटमा यो व्यवस्था समावेश गर्नका लागि लविङसमेत गरेका थिए ।
जीडीपीमा योगदान
केन्द्रीय तथ्यांक विभागका अनुसार मुलुकको कुल गार्हस्थ उत्पादनमा पर्यटन क्षेत्रको योगदान आर्थिक वर्ष २०७६/७७ मा ३.३२ प्रतिशत र आव २०७५/७६ मा २.२ थियो ।
विश्व बैंकको प्रतिवेदन अनुसार नेपालको कुल गार्हस्थ उत्पादनमा पर्यटन क्षेत्रको योगदान ७.९ प्रतिशत छ । जीडीपीमा पर्यटन क्षेत्रको योगदान निकै कम भए पनि यसले पार्ने प्रभावको चक्र भने ठूलो छ ।
हाल कार्यान्वयनको प्रक्रियामा रहेको १५औं योजनामा पनि योजनाको अन्तिम वर्षसम्ममा ३५ लाख विदेशी पर्यटक ल्याउने, बसाइ अवधि सरदर १५ दिन र औसत खर्च प्रतिदिन १०० डलर बनाउने लक्ष्य लिइएको छ ।
साथै उक्त अवधिसम्ममा थप ३ लाख ८२ हजार रोजगारी सिर्जना गर्ने र कुल गार्हस्थ उत्पादनमा पर्यटन क्षेत्रको योगदान १० प्रतिशत बनाउने लक्ष्य लिइएको छ ।
एउटा विदेशी पर्यटक नेपाल घुम्न आउँदा उसले विमानस्थलदेखि नै खर्च गर्न शुरु गर्छ । विमानस्थलमा मुद्रा सटही र मोबाइलको सीम खरिद गर्नेदेखि, होटलसम्म पुग्दा यातायातको प्रयोग, होटलको बसाइ, खानालगायतको खर्च ठूलो हुन्छ ।
वल्र्ड ट्राभल एन्ड टुरिजम काउन्सिलको तथ्यांकअनुसार, सामान्यतः एक जना पर्यटकबाट प्रत्यक्ष तथा परोक्ष रुपमा १० जनालाई रोजगारी प्राप्त हुन्छ । तर, व्यावसायीहरु भने एक साता नेपालमा बस्ने पर्यटकले औसतमा प्रत्यक्ष तथा अप्रत्यक्षरुपमा १० देखि २० जनाको व्यापारमा केही न केही योगदान गर्ने बताउँछन् । यसै आधारमा उनीहरुको व्यवसाय चलेको हुन्छ ।
कोरोनाका कारण पर्यटकको उपस्थिति नहुँदा कृषिजन्य बस्तुबाट हुने आम्दानी ओरालो लागेको छ भने हवाई उड्डयन क्षेत्रले आन्तरिक यात्रुका कारण मात्र राहतको श्वास फर्न सकेको छ । तर विदेशी पर्यटक नआउँदा डलर फेयरबाट हुने ठूलो आम्दानी गुमेको छ ।
नेपाल राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्ट पर्यटन क्षेत्रसँगै थोक तथा खुद्रा व्यापार, होटल तथा रेष्टुराँ र यातायात जोडिने भएकाले पर्यटनमा असर गर्दा यी क्षेत्रमा पनि असर गर्ने बताउँछन् । यही मार अहिले देखिएको छ ।
पुनर्कर्जाको सुविधा
नेपाल राष्ट्र बैंकले कोरोना महामारीका कारण प्रभावित भएको र हालसम्म पनि रिभाइभको कुनै संकेत नदेखिएको पर्यटन क्षेत्रका लागि कर्जा पुनरसंरचना तथा पुनःतालिकीकरणको समय बढाएर २०७८ असार मसान्तसम्म बनाएको छ । तर सरकारले उपलब्ध गराउने भनेको सहुलियत दरको पुनर्कर्जाको सुविधा अधिकांश होटलले पाएका छैनन् ।
‘पुनर्कर्जाको सुविधा उपयोग गर्ने अधिकांश ठूला होटल छन् । काठमाडौं बाहिरका होटलमध्ये एकाध बाहेक अरुले उपयोग गर्न पाएका छैनन्,’ हानका उपाध्यक्ष शाहले जानकारी दिए ।
त्यसबाहेक पर्यटकका लागि लक्षित हरियो नम्बर प्लेट भएका १० हजारभन्दा बढी सानादेखि ठूलो सवारी साधन छन् । यी गाडी पनि सबै सञ्चालन हुने अवस्था छैन र सहजरुपमा कहिलेदेखि सञ्चालनमा आउँछन् भन्ने पनि टुंगो छैन ।
नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार गत फागुन मसान्तसम्म कुल ९३ वटा होटलले १२ अर्ब ५४ करोड ८० लाख रुपैयाँसम्म पुनर्कर्जा लिएका छन् । तर साना तथा मझौला होटल तथा रेष्टुराँले त्यो सुविधा उपभोग गर्न पाएका छैनन् ।
पुनर्कर्जा लिनेहरुले न्यूनतम २ करोड ५४ लाख रुपैयाँदेखि अधिकतम २० करोड रुपैयाँसम्म लिएका छन् । ३० वटा होटलले अधिकतम २० करोड रुपैयाँसम्म पुनर्कर्जा लिएका छन् । ती होटलहरुले उक्त पुनर्कर्जाको रकम कर्मचारीको तलबभत्ता, व्यापार निरन्तरता लगायतमा खर्च गर्न पाउने व्यवस्था छ । यस्तो पुनर्कर्जाको ब्याजदर ५ प्रतिशत मात्रै हुन्छ ।
बजेटबाट खुसी छन् व्यवसायी
थला परेको पर्यटन क्षेत्रका लागि सरकारले अध्यादेशमार्फत ल्याएको बजेटको प्रतिक्रिया सकारात्मक देखिएको छ । हानका अध्यक्ष सिर्जना राणाले थलिएको पर्यटन क्षेत्र उकास्ने विषयलाई बजेटले सम्बोधन गरेको प्रतिक्रिया दिएकी छिन् ।
‘पर्यटन क्षेत्रलाई उत्पादनमुलक उद्योग सरहको मान्यता दिनु राम्रो हो । सामाजिक सुरक्षा कोषमा जेठ र असार दुई महिनाको रकम सरकारले नै हालिदिने भन्ने विषय स्वागतयोग्य छ,’ उनले भनिन् ।
उनले एक महिनाका लागि भिसा शुल्क निःशुल्क भनिएकोलाई पनि सकारात्मक नै मानेकी छिन् । भन्छिन्– त्यसलाई ६ महिना बनाएको भए हुने थियो, तैपनि यो शुरुवात भएकोले राम्रै हो ।
त्यसका साथै बजेटले कोभिड–१९ प्रभावित होटल, ट्राभललगायतका पर्यटन व्यवसाय, सार्वजनिक यातायात, हवाई सेवाले तिर्नुपर्ने इजाजत तथा नवीकरण दस्तुर छुट गरेको छ भने होटल तथा पर्यटन क्षेत्रलाई उत्पादनमूलक उद्योग सरहको सुविधा उपलब्ध गराइने उल्लेख छ । त्यसैगरी विद्युत र खानेपानीमा दिइएको छुट पनि सकारात्मक रहेको राणाको प्रतिक्रिया छ ।
तथ्यांक संकलनका लागि बायोमेट्रिकको व्यवस्था, होटललाई आइसोलेसन केन्द्र बनाउने भन्ने विषयले यस क्षेत्रलाई प्रोत्साहन गर्ने उनको भनाइ छ ।
यसै गरी सरकारी र सरकारी स्वामित्वका निकायको घर, गोदाम वा जग्गा भाडामा लिई व्यवसाय गरेका व्यवसायीहरूले निषेधाज्ञा अवधिको भाडामा ५० प्रतिशतसम्म छुट दिने व्यवस्थाबाट पनि व्यवसायीले केही राहत नै महसूस गरेका छन् ।
करदाताको करयोग्य कारोबारमा प्रयोग भएको डिजेल र एलपी ग्याँसको खरिदमा तिरेको मूल्य अभिवृद्धि कर कट्टी गर्न पाउने व्यवस्थाका साथै होटलको करयोग्य आयमा एक प्रतिशत मात्र आयकर लाग्ने व्यवस्था गरी ती व्यवसायको नोक्सानी सार्न मिल्ने अवधि बढाएर १० वर्ष बनाउनु राम्रो भएको उनको भनाइ छ ।