घरजग्गा धितो राखेर बैंकबाट ऋण लिएका साढे २ लाखभन्दा बढीले समयमै ऋण तिर्न सकेनन्



काठमाडौं । विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरस महामारीका कारण अधिकांश व्यापार व्यवसायमा प्रभावको बेला गत वर्षदेखि घरजग्गा खरिद बिक्री हालसम्मकै उच्च हुँदै आएको छ ।

मासिकरुपमा घरजग्गा खरिद बिक्रीमा रेकर्ड ब्रेक गर्दै आएको घरजग्गा खरिद बिक्रीमा निषेधाज्ञाले भने ब्रेक लागेको छ ।

हालसम्मकै उच्चरुपमा घरजग्गा खरिद बिक्री भएपनि कोरोनाको समयमा घरजग्गा धितो राखेर ऋण लिएका ऋणीले समयमै बैंकको कर्जा तिर्न ऋणीको नसकेर संख्या बढेको छ ।

सामान्य अवस्थाको तुलनामा कोरोनाको समयमा ५० प्रतिशतले घरजग्गाको कारोबार बढेको थियो । साथै, घरजग्गा कारोबार बढ्नुका साथै जग्गाको मूल्य पनि निकै उक्लिएको थियो ।

सामान्य अवस्थाको तुलनामा घरजग्गा खरिद बिक्री बढे पनि बैंकको कर्जा प्रवाहमा सहज नुहँदा समस्या परेको घरजग्गा व्यवसायीहरू बताउँछन् । उक्त समयमा आर्थिक मन्दिका कारण अधिकांश मानिसले घरजग्गा धितो राखेर कर्जा लिनेको संख्या बढेको घरजग्गा बिक्री केन्द्रका अध्यक्ष सुरज खड्का बताउँछन् ।

‘कोरोनाको समयमा घरजग्गा धितो राखेर कर्जा लिनेको संख्या बढेको थियो । बैंकको कर्जा लिई समयमै कर्जा तिर्न नसक्दा ऋणीको संख्या बढेको देखिन्छ,’ खड्काले क्लिकमाण्डूसँग भने ।

कोरोनाले व्यापार व्यवासाय बन्द भएको अवस्थामा विभिन्न व्यापारीहरूले यस क्षेत्रमा घाटा नहुने भन्दै घरजग्गा खरिदमा ओइरेको थियो ।

तर, अधिकांश व्यवसायीहरू घरजग्गा खरिद गर्नुका साथै आर्थिक मन्दीले गर्दा बिक्रीको संख्या अत्याधिक रहेको उनको भनाई छ ।

कोरोना भाइरस महामारीमा आर्थिक मन्दी खेपिरहेको अवस्थामा घरजग्गा धितो राखेर बैंकबाट कर्जा लिई समयमा तिर्न नसकेको उनको बुझाइ छ । भूमि, व्यवस्थापन तथा अभिलेख विभागले सार्वजनिक गरेको देशभरको मालपोत कार्यालयले सेवा प्रवाह गरेको कर्जाका लागि राखेको धितो घरजग्गा रोक्का तथा फुकुवाको तथ्याङ्कले ऋणीको संख्या बढेको देखाउँदछ ।

यस्तो छ रोक्का फुकुवाको तथ्याङ्क

विभागको अनुसार चालु आर्थिक वर्षको साउनदेखि बैशाखमसान्तसम्ममा देशभरका मालपोत कार्यालयबाट ४ लाख ४३ हजार ६ सय ९३ घरजग्गा धितो कबन्धक राखेर ऋण लिएको तथ्याङ्कले उल्लेख गरेको छ ।

उक्त बैंकको ऋण चुक्ता गरेर घरजग्गा फुकुवा गर्नेको ऋणीको संख्या ४१ प्रतिशत रहेको छ । जसमा ४ लाखले धितो राखेर ऋण लिएर फुकुवा गर्नेको ऋणीको संख्या २ लाख ५९ हजार १ सय ६३ रहेको छ । सो तथ्याङ्क अनुसार ५९ प्रतिशतले मात्रै कोभिडको समयमा धितो राखेर कर्जा लिएको ऋणीले बैंकको कर्जा फिर्ता ऋणमुक्ता भएका छन् ।

चालु आर्थिक वर्षको पहिलो महिना साउन महिनामा देशभरका मालपोत कार्यालयहरुमा २६ हजार २०९ घरजग्गा धितो राखेर ऋण प्रवाह हुँदा १९ हजार २०१ ऋणीले कर्जा समयमै तिरेर धितो फुकुवा गरेका छन् ।

त्यस्तै, भदौ महिनामा १८ हजार ७७९ धितो राख्दा ११ हजार ५ सय ९९ धितो फुकुवा भएका तथ्याङ्कले उल्लेख गरेको छ । त्यसैगरी असोजमा ३६ हजार ४ सय ३६ धितो राख्दा १८ हजार १ सय १८ धितो फुकुवा गरेको छ ।

त्यसैगरी, मंसिरमा ५३ हजार २ सय ८१ धितो राख्दा ३२ हजार २६० धितो फुकुवा, पुस महिनामा ६९ हजार १८२ धितो राख्दा ४० हजार २६५ धितो फुकुवा गरेको छ ।

साथै, माघ महिनामा ६२ हजार ११६ धितो राख्दा ३८ हजार ३२० धितो फुकुवा, फागुन महिनामा ६४ हजार धितो राख्दा ३६ हजार ९ सय ४२ धितो फुकुवा, चैतमा ७४ हजार ८ सय ७५ धिता बन्धक राख्दा ४१ हजार ९ सय ५८ धितो फुकुवा र बैशाख महिनामा ३८ हजार ३ सय ७७ घरजग्गा धितो राख्दा २० हजार ४ सय ९९ घरजग्गाको फुकुवा भएको छ ।

विभागको तथ्याङ्का अनुसार विगतको तुलनामा पछिल्लो समय धितो राखेर ऋण चुक्ता गर्ने संख्या घटेको देखिन्छ ।

कोरोनाको समयमा अधिकांश व्यापार व्यवसाय बन्द भएको अवस्थामा आर्थिक मन्दी खेपिरहेकाले घरजग्गा धितो राख्न बाध्य भएका व्यक्तिहरूलाई अहिले दोस्रो लहरको कोरोनाले निकै प्रभावित भएको व्यवसायीहरू बताउँछन् ।

साथै, घरजग्गा धितो राखेर ऋण लिएका व्यवसायीहरूको व्यापार व्यवसाय चलायमान हुन नसकेको अवस्थामा बैंक तथा वित्तिय संस्थाले तारन्तार दबाब दिँदा मारमा परेको उनीहरूको भनाइ छ ।

त्यसैगरी, बैंक तथा वित्तिय संस्थाले कोरोनाको समयमा पनि आक्रमक रुपमा ऋणीलाई दबाब दिएको व्यवसायीहरूको गुनासो छ ।


पुष्प दुलाल