कोरोना जोखिममा वित्तीय क्षेत्र, ३ हजार कर्मचारी संक्रमित : सेवा कटौती गर्न प्रस्ताव



काठमाडौं ।  निषेधाज्ञामा समेत डिम्याट खोल्नेको संख्या नघटेपछि बैंकिङ क्षेत्र कोरोना भाइरसको थप जोखिममा परेको छ ।

अहिले वाणिज्य बैंकमा करिब २४ सय जति कर्मचारी कोरोना भाइरसबाट संक्रमित भएका छन् । विकास बैंक फाइनान्स कम्पनी गर्दा यो संख्या ३ हजारभन्दा बढी हुन्छ ।

जिल्ला प्रशासन कार्यालयहरुले कोरोना भाइरस नियन्त्रणका लागि लगाएको निषेधाज्ञामा बैंक तथा वित्तीय संस्थालाई अत्यावश्यक क्षेत्रमा राखेर शाखा खोल्न दिएको छ । काठमाडौं उपत्यकामा २५ प्रतिशत शाखा २० प्रतिशत कर्मचारी बोलाएर खोल्न भनेको छ । बैंक तथा वित्तीय संस्थामा डिम्याट खोल्ने खाता खोल्ने जस्ता काममा नै सर्वसाधारणको भिड बढ्ने गरेको छ ।

नेपाल बैकर्स संघका अध्यक्ष भुवन दाहालले संक्रमण व्यापक फैलिएको बेला डिम्याट खोल्ने तथा साना कामहरुले नै बैंकमा आउनेको संख्या नघटेको बताए ।
‘जोखिम बढेपछि बैकर्स संघको बिहीबार भर्चुअल माध्यमबाट बैठक बोलाइएको छ,यस्तो अवस्थामा कसरी सेवा प्रवाह गर्ने भन्ने निर्णय संघले गर्ने छ,’दाहालले क्लिकमाण्डूसँग भने ।

कोरोना संक्रमणको बेला अत्यावश्यक पर्ने नगद निकाल्ने तथा नगद जम्मा गर्नको लागि बैंकको शाखा खोल्नुपर्ने हुन्छ । यसबाहेक ऋण प्रवाह लगायतका कामहरु भने बैंकहरुको करिब ठप्प जस्तै छ । पहिले स्विकृत भएको योजनामा ऋण गएपनि नयाँ कामहरु अगाडि भने बढेको छैन ।

बैकर्स संघको ग्रुपमा भने सीइओहरुले डिम्याट खोल्ने लगायतका साना सेवाहरु बन्द गर्नुपर्ने माग राखेका छन् । बिहीबार बैठक बसेर कुन सेवा दिने कुन नदिने निर्णय गर्ने संघका अध्यक्ष दाहालले जानकारी दिए ।

बैंकर्स संघले गर्ने निर्णय अनुसार विकास बैंक र फाइनान्स कम्पनीले समेत अत्यावश्यक सेवा कसरी चलाउने भनेर निर्णय गर्ने छन् ।

बैंकर्स संघमा वाणिज्य बैंकमा कार्यरत २४ सय कर्मचारी संक्रमित भएको तथा बैंकमा काम गर्नेको परिवारका सदस्यहरु ८ जना संक्रमण भएको विवरण छ ।

राष्ट्र बैंकमा ७५ जना संक्रमित

केन्द्रिय बैंकमा कोरोना भाइरसको दोस्रो लहरमा ७५ जना संक्रमित भएका छन् । विभिन्न विभागको काम कोरोना भाइरसको संक्रमण बढेको कारण प्रभावित समेत भएको छ ।

राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले केन्द्रिय बैंकमा समेत संक्रमण फैलिएको हुँदा भाइरसको जोखिमबाट बच्दै काम अगाडि बढाएको जानकारी दिए ।


क्लिकमान्डु