कर तिर्ने समय थप्न माग गर्ने बढे, राजस्व विभागका महानिर्देशक भन्छन्- निर्णय भएको छैन



काठमाडौं । कर तिर्ने समय थप गर्न र कोभिड १९ महामारी रोकथाम तथा नियन्त्रणका लागि जारी भएको लकडाउन अवधिको कर छुटका लागि निजी क्षेत्रले सरकारसँग माग गरेको छ ।

निजी क्षेत्रका छाता संगठन र उद्योगी व्यवसायीहरुले व्यक्तिगत रुपमै पनि कर तिर्ने म्याद थपका लागि माग गर्दै अर्थ मन्त्रालय र आन्तरिक राजश्व विभागमा धमाधम निवेदन दिन थालेका छन् ।

आन्तरिक राजश्व विभागका महानिर्देशक झक्कप्रसाद आचार्यका अनुसार अहिले महामारीका कारण आर्थिक गतिविधिहरु सुस्ताएको र कर तिर्न समस्या भएका कारण म्याद थपका लागि विभागमा निवेदनहरु आउने गरेका छन् ।

‘असहज परिस्थितिको कर तिर्ने समय थपिदिन निजी क्षेत्रका छाता संगठनहरुले निवेदन दिएका छन् । यस्ता निवेदनहरु अर्थमन्त्रालयमा पनि गएका छन्,’ महानिर्देशक आचार्यले भने, ‘तर सरकारले यस विषयमा कुनै निर्णय गरिसकेको छैन । माथिल्लो तहले कुनै निर्णय गरेको सूचना मलाई प्राप्त भएको छैन ।’

उद्योगी व्यवसायीहरुले मुख्यगरी मूल्य अभिवृद्धि कर (भ्याट) तिर्ने समय थप गर्न मागसहितका निवेदन दिने गरेका छन् । हरेक महिनाको २६ गतेभित्रसम्ममा अघिल्लो महिनाको भ्याट रकम दाखिला गरिसक्नुपर्छ । अहिले उद्योगी व्यवसायीहरुले गत चैत महिनायताकै भ्याट तिर्ने समय माग गरिरहेको आचार्यले बताए ।

‘निवेदनमा चैतको मूल्य अभिवृद्धि करलाई पनि छुट दिनुपर्ने भनेर भनिएको छ,’ आचार्यले क्लिकमाण्डुसँग भने, ‘गतवर्ष पनि छुट दिएको हुनाले उहाँहरुले त्यो सुविधा खोज्नु भएको होला ।’

वस्तु र सेवाको बिक्रीमा लाग्ने मूल्य अभिवृद्धि कर उद्योगी व्यवसायीहरुले तिर्ने नभई उपभोक्ताले तिर्ने हो । त्यसमाथि गत चैतमा आर्थिक गतिविधिहरु स्वभाविक रुपमा सञ्चालन भएका कारण चैत महिनाको कर छुट गर्ने विषयमा कुनै निर्णय भने भएको छैन । निषेधाज्ञा पछिको अवस्थामा पनि करसँग सम्बन्धित कुनै पनि निर्णय सरकारबाट भएको छैन ।

त्यस्तै आयकरको दोस्रो किस्ता वापत अनुमानित करको ७० प्रतिशत रकम चैत मसान्तभित्रै तिरिसक्नुपर्छ । आयकरको हकमा तिर्न बाँकी तेस्रो किस्तावापतको ३० प्रतिशतका लागि निजी क्षेत्रले ‘लबिङ’ गर्दै आएको छ ।

अहिले निजी क्षेत्रले अन्तःशूल्क, आयकर र भ्याट तीनैवटाका लागि समय थप गर्न र कर पनि छुट दिन माग गरिरहेका छन् ।

‘सबै करमा समय थप भनेका छन । माग राख्ने उहाँहरुको अधिकार हो, राख्नुभयो । सरकारले निर्णय गर्यो भने पाउनुहुन्छ,’ आचार्य भन्छन् ।

कोभिड १९ महामारीका लागि जारी गरिएको निषेधाज्ञा पनि पछि कर असुलीको अवस्था भने सामान्य र औसत नै रहेको विभागले जनाएको छ ।

‘महामारीको समयमा सबै आर्थिक गतिविधि र कर वातावरण नै खल्बलिएको अवस्थामा हामीले मात्रै राजश्व असुलीका लागि चाप महशुस गरेर हुँदैन । तर पनि सामान्य अवस्थामा जस्तै असूली भएको छ,’ आचार्यले भने ।


क्लिकमान्डु