कानून मिचेर जनरल इन्स्योरेन्सद्वारा सेयर कारोबार, सीमा नाघेर १५५% सम्म लगानी



काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनीले कानून विपरीत सेयर खरिद गरेको पाइएको छ । कानूनको बर्खिलाप गरेर सो कम्पनीले दुई पटक सेयरमा लगानी गरेको पाइएको बीमा समितिले गरेको स्थलगत निरीक्षणमा समेत फेला परेको छ ।

सूचीकृत पब्लिक लिमिटेड कम्पनीको साधारण सेयरमा कूल टेक्निकल रिजर्भको १० प्रतिशतसम्म लगानी गर्न मिल्ने व्यवस्था भए पनि सो सीमाभन्दा बढी लगानी गरेको पाइएको समितिको विवरणमा उल्लेख छ ।

कूल टेक्निकल रिजर्भका आधारमा कायम गर्नुपर्ने लगानीको सीमा प्रत्येक दिन कायम गर्नुपर्ने कानूनी प्रबन्ध छ । तर, आर्थिक वर्ष २०७५/७६ को वित्तीय विवरण अनुसार टेक्निकल रिजर्भ ९ करोड ३५ लाख ३९ हजार ४७५ रहेको र सो को १० प्रतिशत मात्रै लगानी गर्नुपर्नेमा कम्पनीले १५५ प्रतिशतसम्म लगानी गरेको समितिको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।

त्यस्तै, आर्थिक वर्ष २०७६/७७ को वित्तीय विवरण अनुसार टेक्निकल रिजर्भमा १५ करोड ७५ लाख ७ हजार २८३ रहेकामा त्यसको १० प्रतिशत मात्रै लगानी गर्नुपर्नेमा ६४ प्रतिशतसम्म लगानी गरेको पाइएको समितिको प्रतिवेदनमा उल्लेख छ । समितिले गत चैत २२ गते र २३ गते आकस्मिक निरीक्षण गरेको थियो ।

कम्पनीले आफनो संस्थापक सेयरधनी, सञ्चालक समितिको कुनै सदस्य सञ्चालक भएको वा त्यस्तो सदस्य वा निजको एकाघरको परिवारको सदस्यको वित्तीय स्वार्थ रहेको कुनै कम्पनी, व्यक्ति वा फर्म तथा संगठित संस्थामा कुनै पनि किसिमको लगानी गर्न हुँदैन भन्ने व्यवस्था विपरित बीमकले गोर्खा फाइनान्स, सिभिल बैंक, अरुण भ्याली हाइड्रोपावर कम्पनीको सेयर खरिद गरेको छ ।

लगानीको शर्तमा सेयरमा गरिने कम्पनीको ५ प्रतिशत बढी हुने गरी लगानी गर्न नपाइने व्यवस्था विपरीत गएर बीमकले ९९ करोड ८३ लाख २३ हजार २०० चुक्ता पूँजी रहेको अरुण भ्याली हाइड्रोपावर कम्पनीको साधारण सेयर २०२० अक्टोबर ५ मा २ लाख १९ हजार ११६ कित्ता सेयर खरिद गरेको थियो । त्यो भनेको ५ करोड १८ लाख १३ हजार १४८ अर्थात् ५.१९ प्रतिशत सेयर खरिद गरेको देखिन्छ ।

त्यस्तै गरी २०२० डिसेम्बर ८ मा २ लाख ४६ हजार ४४४ कित्ता सेयर ६ करोड ३९ लाख ६६ हजार ९९७ अर्थात् ६.४१ प्रतिशत सेयर गरेको पाइएको छ । कम्पनीले सूचीकृत पब्लिक कम्पनीको साधारण सेयरमा लगानी स्म्बन्धी कारोवार श्री कृष्ण सेक्युरिटीज लिमिटेड र सुमेरु सेक्युरिटज कम्पनी मार्फत गरेको पाइएको छ ।

कम्पनीले ती सेयर दलाल कम्पनीमार्फत् धितोपत्र कारोबार गर्न आवश्यक पर्ने ग्राहक परिचयपत्र विवरण, नेपाल स्टक एक्सचेञ्ज ट्रेड म्यानेजमेन्ट सिस्टम को युजरनेम र पासवर्ड समेत लिएको देखिदैन ।

युजरनेम र पासवर्ड लिई कारोवार गर्नका लागि अख्तियार प्राप्त अधिकारी को हो भन्ने विषयमा सञ्चालक समितिको निर्णय नभएको तथा सेयर खरिद तथा बिक्रीको लिखित आदेश नदिएको अवस्थामा समेत सेयर कारोवार गरेर कानून विपरीत काम गरेको समितिको ठहर छ ।

त्यस्तै, समितिले गत चैत १७ गते बसेको सञ्चालक समितिको बैठकबाट बीमकको लगानी नीति बनाई सञ्चालक समितिमा पेश गर्न व्यवस्थापनलाई निर्देशन दिने निर्णय भएपनि त्यसको कार्यान्वयन समेत नभएको पाइएको छ । जोखिम व्यवस्थापन तथा वित्तीय स्वस्थता समितिको जोखिम विश्लेषणतर्फ ध्यान नदिई लगानी गरेको देखिन्छ ।

बीमकले सूचिकृत पब्लिक लिमिटेड कम्पनीको साधारण सेयरमा लगानी सम्बन्धि कारोबार श्री कृष्ण सेक्युरिटिज लिमिटेड र सुमेरु सेक्युरिटिजमार्फत् गर्ने गरेको पाइएता पनि उक्त सेयर दलालहरुमार्फत् कारोबार गर्दा बीमकले लिन बाँकी रहेको रकम लामो समयसम्म भुक्तानी बीमकको बैंक खातामा दाखिला भएको पाइएन ।

बीमकले आफनो डिम्याट खातामा रहेको प्रत्येक सेयरसँग सेयरको कारोवार गर्ने दलालले तयार गरेको बीमकको कारोबारको खाता र बीमकले तयार पारेको सेयर दलालसँगको हिसाब खाताको हिसाब मिलान समेत भएको छैन । यता सुमेरु सेक्युरिटिजले सेयर कारोबारवापत एक रुपैयाँ पनि नपाएको जानकारी कम्पनीलाई गराएको छ ।

सुमेरुले चैत २५ गते कम्पनीलाई पत्र पठाउँदै शुरुवातदेखि नै सेयर खरिदवापत पैसा प्राप्त नभएको उल्लेख गरेको छ । ‘हामी अझै पनि सेयर खरिद गरे वापतको पैसाका लागि कोसँग सम्पर्क गर्ने भन्नेमा अनविज्ञ छौं,’ कम्पनीले भनेको छ, ‘त्यसैले यही पत्रमार्फत् चेक पनि उपलब्ध गराएका छौं ।’


क्लिकमान्डु