संसारभर नै कोरोनाको दोस्रो लहर, ओरालो लाग्दै कच्चा तेलको मूल्य, नेपालमा के प्रभाव पर्ला ?



काठमाडौं । संसारभर नै कोरोनाको दोस्रो लहर देखिएपछि विश्व बजारमा इन्धनको मूल्य समेत ओरालो लागेको छ ।

कोरोनाको दोस्रो लहर देखिएपछि विश्व बजारमा इन्धनको खपत कम हुने अनुमानका बीचमा मूल्य समेत घटन थालेको हो ।

विशेष गरी अमेरिका, ब्राजिल, भारत तथा यूरोपमा कोरोनाको नयाँ भेरियन्ट देखा परेको छ । विश्वभर नै कोरोना विरुद्ध खोपको प्रयोगलाई समेत अगाडि बढाइए पनि त्यसले काम नगरेको समाचार समेत सार्वजनिक भएको छ ।

वर्ल्ड ओ मिटरका अनुसार ब्राजिलमा मात्रै ३ लाख १४ हजार २६८ जनाको कोरोनाका कारण निधन भएको छ । यस्तै भारतमा १ लाख ६२ हजार १४७ बराबरको निधन भएको छ । अमेरिका, ब्राजिल, भारत, फ्रान्स, रसिया, बेलायत, इटली, स्पेन, टर्कीमा कोरोनाको दोस्रो लहर देखा परेको छ ।

यो समाचार सामग्री तयार पार्दासम्म डब्ल्यूटिआई क्रुड आयलको मूल्य ६१.५३ अमेरिकी डलर रहेको छ ।

यस्तै बेन्ट क्रुड आयलको मूल्य ६४.९५ अमेरिकी डलर रहेको छ । नेचुरल ग्यास २६.५१ र हिटिङ ग्यासको मूल्य १.८०७ अमेरिकी डलर रहेको छ ।

तेल उत्पादक देशहरुको संगठन ओपेकले कच्चा तेल उत्पादनमा केही कटौती गर्ने निर्णय गरेको छ । तर, रसिया तथा इरानलगायतका देशले त्यसमा साथ नदिने बताएका छन् ।

इरानको इन्धन खरिदलाई बढावा दिने भारतको तयारी छ । यस्तै भेनेजुएलाको इन्धन समेत भारत ल्याउने समाचार सार्वजनिक भएको छ । भेनेजुएलाको इन्धन असाध्यै सस्तो रहेको छ ।

भारतका पेट्रोलियम मन्त्री धर्मेन्द्र प्रधानले आफूहरु सस्तो इन्धन खरिदका लागि संसारका जुनसुकै देशसँग पनि सम्झौता गर्न तयार रहेको बताएका छन् ।

भारतमा लगातार मूल्य बढ्दा त्यसको प्रभाव नेपालमा समेत परेको थियो । सोही कारण पेट्रोल प्रतिलिटर १४० सम्म पुग्ने अनुमानहरु सार्वजनिक भएका थिए ।

मार्च १२ तारिखका दिन ६७.१४ प्रतिब्यारेल रहेको कच्चा तेलको मूल्य २६ तारिखका दिन ६२.२६ अमेरिकी डलरमा झरेको छ ।

यस्तै, अप्रिल ४ तारिखका दिनसम्म आइपुग्दा ६२.८६ प्रतिव्यारेल रहेको छ । सन् २०२० को जनवरी १ का दिन प्रतिव्यारेल ४१.४१ अमेरिकी डलरमा रहेको कच्चा तेलको मूल्य पछिल्ला दिनमा लगातार उकालो लागेको थियो ।

कोरोनामाथि संसारले नियन्त्रण बढाउँदै लगेको, कोरोनाको खोप तयार भउको, अर्थतन्त्र सामान्य लयमा फर्किएपछि इन्धनको मूल्य उकालो लाग्न थालेको हो ।

सामान्यतया, भारत, चीन जस्ता धेरै इन्धन खपत गर्ने देशमा जनजीवन सामान्य भएपछि इन्धनको मागमा उल्लेख्य वृद्धि भएको देखिन्छ ।

अर्थतन्त्र पूरानै लयमा फर्किएको, भौतिक निर्माणमा बढावा भएको तथा उद्योग कलकारखाना सामान्य रुपमा चल्न थालेपछि इन्धनको अत्याधिक माग बढेको ओपेकको विवरणमा उल्लेख छ ।

माग बढ्न थालेपछि कच्चा तेल उत्पादनमा ओपेकले कोटा निर्धारण गर्न थाल्यो । साउदी अरबले त दैनिक १० लाख व्यारेल इन्धन उत्खननमा कटौती गर्ने निर्णय नै गर्यो । कोरोनाले समस्यामा पारेको अर्थतन्त्रलाई सुधार गर्न कच्चा तेल उतपादनमा कटौती जरुरी रहेको साउदी सरकारको भनाइ छ ।

ओपेकको विवरण अनुसार सन् २०१२ को जनवरीमा १०९.४५ प्रतिब्यारेल पुगेको कच्चा तेलको मूल्य क्रमशः घट्दै सन् २०१६ को जनवरीमा आइपुग्दा ४०.७६ प्रतिव्यारेलमा ओर्लिएको थियो ।

कोरोना कालमा पनि ओपेको विवरण अनुसार ४१.४७ प्रतिब्यारेल रहेको थियो । खासमा यो मूल्य भने औसत मूल्य भएको ओपेकको भनाइ छ ।

भारतीय बजारमा पछिल्लो ५ दिन यता फेरि पनि पेट्रोल तथा डिजलको मूल्य सस्तो भएको छ । भारतीय बजारका जानकारहरुका अनुसार कोरोनाको दोस्रो लहर भारतमा बढी मात्रामा देखिएपछि कच्चा तेलको मूल्य स्वाट्टै खटेको छ ।

अन्तर्राष्ट्रिय बजारमा नै इन्धनको मूल्य ओरालो लागेपछि त्यसको प्रभाव स्वभाविक रुपमा नै भारतमा पर्ने देखिन्छ ।
भारतमा नै सस्तो भएर आएपछि नेपाली बजारमा समेत इन्धनको मूल्य थप सस्तो हुने देखिएको छ ।

तर, कोरोनाको भयावहकालमा समेत नेपाल आयल निगमले इन्धनको मूल्य घटाउने तर्फ नै तत्परता देखाएको थिएन ।
यूरोपलगायत संसारभर नै कोरोनाको संक्रमण पुनः बढ्दै गएको छ । संक्रमण बढ्दै गएका कारण अर्थतन्त्रमा देखिएको पुनः जागरणमा समेत कमी आएको छ ।

अर्थतन्त्र स्लोडाउन हुन थालेका कारण चिन्ता बढेको जानकारहरुको टिप्पणी छ । संसारभर नै कोरोनाको दोस्रो लहर नियन्त्रणका लागि लकडाउनलगायतका उपाय अवलम्बन गरिएपछि इन्धनको मागमा कमी आएको छ ।

चीनमा समेत कच्चा तेलको आयात क्रमशः घटीरहेको छ । स्वेज नहरमा एउटा ठूलो पानीजहाज फसेका कारण भएको बन्दका कारण कच्चा तेलको मूल्य तथा खपतमा समेत कमी आएको थियो ।

अहिले यूरोपको ठूलो क्षेत्रमा कोरोनाको मामिला तीव्ररुपमा बढेको छ । कोरोनाको लहर बढेका कारण अर्थतन्त्रमा केही महिनादेखि शुरु भएको पुनः स्थापना तथा सुधारको गतिमा रोकावट देखिएको छ ।

विश्वव्यापी रुपमा नै कच्चा तेलको मूल्यमा अस्वाभाविक गिरावट देखिने संकेतहरु सार्वजनिक भएका छन् ।

भारतको बजारमा आधारमा निर्धारण हुने नेपालको इन्धनको मूल्यमा भने तत्कालीन रुपमा भने कुनै प्रभाव पर्ने देखिदैन ।

कच्चा तेलको मूल्य ओरोलो लागिरहेको बेला विश्व बजारमा सुनको मूल्यमा समेत गिरावट आएको छ । मंगलबार सुनको मूल्यमा ३२.७७ अमेरिकी डलरले कमी आइ १ हजार ६९९.६३ कायम भएको छ ।


क्लिकमान्डु