गुल्जार तातोपानी नाका बन्यो खण्डहर, बिस्थापित भयो बजार (फोटो फिचरसहित)



काठमाडौं । २०७२ साल बैशाखमा आएको भूकम्पअघिसम्म नेपाल र चीनबीचको उत्तरी तातोपानी नाका गुल्जार थियो । राजधानी काठमाडौंदेखि १२० किलोमिटर दूरीमा रहेको यो नाकामा व्यापार निकै चम्किलो थियो ।

चीनपट्टीको खासा बजारबाट सामान ल्याएर काठमाडौं हुँदै देशका विभिन्न क्षेत्रमा सामानहरु बिक्री गर्नका लागि तातोपानी नाकामा व्यापारीहरुको निकै चहलपहल हुन्थ्यो ।

सधैजसो गुल्जार हुने तातोपानी नाका भूकम्पपछि भने खण्डर बनेको छ । तातोपानी नाकामा दशकौंदेखि चम्किलो व्यवसाय गरिरहेका व्यवसायीहरु बिस्तापित भएका छन् ।

भूकम्पले नेपाल र चीन जोड्ने मितेरी पुल भत्किएपछि दुबै नाकाबाट हुने व्यापारको संरचना पनि भत्कियो । त्यसअघिसम्म चीनपट्टी पर्ने खासा बजार नेपाली व्यापारीका लागि चीनका नाकामध्ये प्रमुख थियो ।

नेपालीहरुले नागरिकताका आधारमा एक दिने भिसा लिएर व्यापारका लागि खासा बजारमा व्यापार गर्न जान्थे । भूकम्पको असर नेपाली क्षेत्रमा जत्तिकै असर खासा बजारमा पनि उत्तिकै पर्यो ।

भूकम्पपछि चीन सरकारले त खासा बजारलाई सर्लक्कै उठाएर अन्यत्रै सारिदियो । त्यसपछि तातोपानी नाकाबाट हुने व्यापार ठप्प भयो । अहिले दुबै देश जोड्नका लागि नयाँ मितेरी पुल बनेको छ । तर चहलपहल भने शुन्य जस्तै छ । उत्तरी नाका हुँदै नेपाल सामान ल्याउने सीमित कन्टेनर बाहेक मितेरीपुलमा आवातजावत छैन ।

‘भूकम्प अगागडिसम्म व्यापारीका लागि यो नाका सुनको अण्डा जस्तै थियो,’ तातोपानी नाकाका एक होटल व्यवसायीले भने, ‘अहिले शुन्य प्रायः छ, तातोपानीमा नुहाउन आउनेहरु बाहेक मानिसहरु कमै देखिन्छन् । त्यसमाथि तातोपानी नाकामै चिया पिउने होटल समेत छैन ।’

उनका अनुसार पहिले व्यापारीहरुको यति भिड हुन्थ्यो कि होटलमा बास पाउन निकै मुस्किल हुन्थ्यो, एउटै कोठाको ३ देखि ५ हजार रुपैयाँसम्म व्यापारीले तिर्दथे । खासा बजारमा चम्किलो व्यापार चलिरहेकै थियो । व्यापारीहरु सामान खरिद गर्नमात्रै होइन मनोरञ्जनका लागि पनी खासा बजार गन्तव्य थियो ।

तर अहिले खासा बजारमा रौनक छैन । सीमित कार्यालय र बस्ती बाहेक सबै उजाडिएको छ । जसको असर तातोपानी क्षेत्रमा देखिएको छ । यस क्षेत्रका मानिसहरु पहिले नै बिस्थापित भइसकेका छन् । आर्थिक रुपमा सम्पन्न व्यवसायीहरु थातथलो सारिसकेका छन् ।

भूकम्पले दुई देश जोड्ने मितेरी पुल मात्रै बगाएन, त्यहाँ सञ्चालनमा रहेको होटल, विभिन्न कार्यालय पनि बिस्तापित भए । अहिले उक्त क्षेत्रमा भूकम्पले ध्वस्त बनाएका खण्डहरु मात्रै बाँकी छन् ।

भूकम्पपछि मितेरी पुल त बन्यो तर उजाडिएको बजारमा हरियाली छाउन सकेको छैन ।

तातोपानी मुहानदेखि करिब ४५ मिनेटको पैदल दूरीमा रहेको कोदारी राजमार्गको मितेरी पुलसम्म पुग्दा भूकम्पले ध्वस्त बनाएका कंक्रिटका भवनहरु अलपत्र देखिन्छन् । भत्किएको जगमा कोल्टे परेका भवनहरु जोखिम बनेका छन् । अधिकांश कार्यालयहरु ठाउँ छाडिसकेका छन् भने मानवीय बस्ती निकै कम छ ।

मितेरी पुल भत्किएर नाका बन्द भएको केही समयपछि चीन सरकारको सहयोगमा नाकादेखि ६ किलोमिटर तल ड्राइपोर्ट बनाइदिएको छ । जहाँ तातोपानी भन्सार कार्यालय सञ्चालनमा छ । मितेरी पुल हुँदै नेपाल प्रवेश गर्ने कन्टेनरहरु सिधै यही आउँछन् । र, भन्सारको काम गरिन्छ । भन्सार कार्यालयसम्म ४० फुटे कन्टेनर आउँछन् । तर त्यहाँबाट सामान ल्याउनका लागि बाटोको अवस्थाका कारण लामा कन्टेनरहरु आउन सक्ने अवस्था छैन ।

तातोपानी भन्सार कार्यालयका प्रमुख लालबहादुर खत्रीका अनुसार गत आवमा भन्सार कार्यालयले १ अर्ब ६१ करोड रुपैयाँ राजस्व संकलन गरेको थियो भने चालु आवमा फागुन महिनासम्म ४१ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । यो नाकाबाट चालु आवमा ५ अर्ब रुपैयाँको राजस्व संकलन गर्ने लक्ष्य रहेको खत्रीले बताए ।

उनका अनुसार गत वर्षदेखि शुरु भएको कोरोना महामारीका कारण बीचमा नाका बन्द भएको र भौगोलिक हिसाबले पनि कठीन भएकाले राजस्व संकलनमा कमी आएको हो । तर फागुन २३ गते पहिलो पटक उत्तरी नाकाबाट युरिया मल आयात भएपछि आगामी दिनमा यहाँबाट हुने आयात तथा निर्यात बढ्ने उनको विश्वास छ ।

साल्ट ट्रेडिङका लागि सिल्क ट्रान्सपोर्ट कम्पनीले फागुन २३ गतेदेखि युरिया मल ल्याउन शुरु गरिसकेको छ । हरेक दिन ४ देखि ५ वटा ४० फुटे कन्टेनर आयात भइरहेका छन् । कन्टेनरको संख्या बढाउन सक्ने हो भने सम्पूर्ण मल ल्याइसक्न १ महिना पनि नलाग्ने कम्पनीका अध्यक्ष रमेश शेर्पाले बताए ।

कम्पनी साल्ट ट्रेडिङका लागि ४ हजार मेट्रिक टन अर्थात् ८० हजार बोरा युरिया मल ल्याउने जिम्मेवारी पाएको छ । कम्पनीका अध्यक्ष शेर्पाका अनुसार यो परीक्षणका लागि मात्रै भएकाले सानो परिमाणमा मल ल्याए पछि परीक्षणमै सफलता पाएकाले आगामी दिनमा वार्षिक १ लाख मेट्रिक टन मल आयात गर्न सकिन्छ ।


क्लिकमान्डु