महिला भएकै कारण कहिल्यै प्रतिस्पर्धामा पछाडि पर्नु परेको छैनः उपासना पौडेल
बीमा क्षेत्रको उच्च व्यवस्थापनमा कमै मात्र महिला पुगेका छन् । पहिलो पटक युनाइटेड इन्स्योरेन्समा सह–कार्यकारी अधिकृत (डेपुटी सीइओ)का रुपमा उपासना पौडेलले फड्को हानेकी छिन् । लामो समय भारतमा रहेर बीमालगायत अन्य कर्पोरेट क्षेत्रमा गरेको कामको अनुभवले उनलाई सफलता दिलाएको छ । सानिमा जनरल इन्स्योरेन्सबाट यस क्षेत्रमा प्रवेश गरेकी पौडेल आफूलाई महिला भएरभन्दा पनि प्रतिस्पर्धाका आधारमा अगाडि बढेको बताउँछिन् । सानिमा जनरल इन्स्योरेन्समा सहायक महाप्रबन्धकमा डेढ बर्ष काम गरेपछि उनी गत मंसिर १५ गतेदेखि युनाइटेड इन्स्योरेन्सको डेपुटी सीइओमा नियुक्त भएकी हुन् । महिला भएर कम्पनीको उच्च व्यवस्थापनमा पुगेको भन्दा पनि मेहनत र कार्यक्षमताका आधारमा सफलता हासिल गरेकोमा गौरवान्वित महशुस गर्छिन् उनी । डेपुटी सीइओ हुँदाको अनुभव र एवम् कम्पनीको भावी योजनाबारे क्लिकमाण्डूकर्मी दिलु कार्कीले पौडेलसँग गरेको अन्तर्वार्ताः
बीमा क्षेत्रको पहिलो महिला डेपुटी सीइओका रुपमा कार्यरत हुुनुहुन्छ, आफनो अनुभव बताइदिनुस् न ?
काममा महिला÷पुरुष भन्ने हुन्छ जस्तो लाग्दैन । हरेक व्यक्तिले आ-आफ्नो पक्षबाट मेहनत गरेका हुन्छन् । मैले आजसम्म जे गरे त्यो सबै आफ्नै इच्छाले गरे । आज म जुन स्थानमा छु त्यो महिला भएर मात्र नभई मेरोे क्षमताको मूल्यांकन गरेर व्यवस्थापनले विश्वास गरेको हो । मैले भारतको आइआइमा प्रडक्ट म्यानेजरका रुपमा करियर शुरु गरे । त्यसपछि हरेक वर्ष मेरो प्रमोसन हुँदै गयो । त्यसको लागि मैले धेरै नै मेहनत गर्नु परेको थियो । बिहान ८ बजेदेखि कहिलेकाँही भोलिपल्ट बिहान ४ बजेसम्म पनि काम गरेको छु । त्यस समयमा मेरो करियरले चाँडै फड्को मारेको थियो । महिला भएर मात्र नभई विश्वसनीयरुपमा मेहनत गरे सबैले राम्रो प्रगति गर्न सक्छ । कतिपयले भाग्यमानी रहेछौँ भन्नु हुन्छ । तर यहाँसम्म आइपुग्न मैले गरेको मेहनत भने कमैले देखेका छन् ।
नेपाल आएपछि यहाँको बजार मेरो लागि नयाँ भएकाले बुझन समय लाग्यो । महिला पुरुषको विभेदको संघर्षभन्दा पनि मलाई नेपालको बीमा बजार बुझेर पुराना साथीहरुसँग बराबरीमा काम गर्न भने संघर्ष गर्नु परेको छ । सँगै काम गर्ने साथीहरु २०/२५ वर्षदेखि यही क्षेत्रमा रहेर,मान्छे चिनेर काम गरिरहनु भएको छ । एक्कासी बाहिरबाट आएर बजारमा स्थापित हुन मलाई केही समय लाग्यो । तर यसलाई मैले समस्याको रुपमा नलिई जागिरकै एक पाटो एवं नयाँ अवसरको रुपमा रुपमा लिएर काम गरे ।
समाजमा व्याप्त महिला पुरुषबीचको विभेदले तपाइलाई यहाँसम्म आइपुग्न केही समस्या सिर्जना गर्यो भन्ने लाग्छ ?
मैले त्यस्तो केही भोग्नु परेन । संघर्ष र मेहनत सबैले गर्छन् । इच्छाशक्ति भएमा त्यस्तो विभेद भोग्नु पर्दैन । मैले इन्डियामा काम गर्दा पनि महिला पुरुषमा त्यस्तो विभेद थिएन । अन्य विषयमा भने पक्षपात हुन्थ्यो ।
इच्छाशक्तिका साथ मेहनत गर्नेलाई पक्षपातले असर गर्दैन । हरेक वर्षजस्तो मेरो प्रमोसन हुन्थ्यो । आजसम्म कामका अनुभवमा महिला भएकै काणले मेरो ठाँउमा पुरुषको प्रमोसन भएन । त्यस्तो अनुभव इन्डियामा पनि भएन । नेपालमा पनि त्यस्तो अनुभव हुन्थ्यो भने अहिले यो स्थानमा पुग्दैन थिए ।
प्रतिस्पर्धा अरुसँग नभई सधै आफैसँग हुन्छ । अरुलाई हेरेर प्रतिस्पर्धा गर्नुभन्दा आफुलाई कहाँ लाने, आज म कहाँ छु, भोलि कहाँ हुन्छु भनेर आफुलाई तुलना गरेर अगाडि जानुपर्छ । एउटा लक्ष्यमा फोकस भएर हिँड्यो भने कसैले रोक्न सक्दैन । यसरी अघि बढ्नेलाई कसैले रोक्न सक्दैन । त्यही भएर होला कहिल्यै पनि मलाई महिला र पुरुषबीचको विभेदका चुनौती आएनन् । मेरो प्रतिस्पर्धामा सँगै पुरुष हुँदा पनि महिला भएकै कारणले समस्या भएन ।
सुविधा र सहजताका हिसाबले महिलालाई निजी भन्दा सरकारी क्षेत्र नै पहिलो आर्कषणका रुपमा रहन्छ । तपाइले कुनै समय सरकारी जागिरको लागि प्रयास गर्नुभयो ?
सरकारी जागिर खानु पर्छ भनेर मलाई कहिल्यै दिमागमा आएन । शुरुदेखि नै यही क्षेत्रमा आफ्नो करियर बनाउछु भनेर सोच बनाएको थिए । सरकारी मात्रै नभई गर्न चाहने महिलाको लागि हरेक क्षेत्रमा असंख्य अवसर छन् । तर कतिपय ठाँउमा महिला हुँ भनेर आफै पछि हट्छौँ । हामीलाई कहिलेकाही आफ्नो एवम् श्रीमानको परिवारले घरलाई किन ध्यान नदिएको भनेर प्रश्न गर्नुहुन्छ । बिहान चाँडै गएर राती अबेर किन आएको भनेर सोध्नुहुन्छ ।
म पनि बिहान सबेरैदेखि मध्यरातसम्म काम गरेको छु । कहिले घरै नगएर तीन दिनसम्म लगातार मेहनत गरेको छु । भर्खरै पनि कामकै सिलसिलामा १५ दिन घर बाहिर रहे । परिवारबाट मलाई धेरै रोकतोक भएको छैन ।
सबैले सरकारी जागिर पाउन सम्भव छैन । स्वतन्त्र हुनका लागि निजी क्षेत्रमा काम गर्नुपर्छ । यो क्षेत्रमा काम गर्नका लागि इच्छाशक्ति सहित कडा मेहनत जरुरी छ । निजी वा सरकारी जहाँ भएपनि अगाडि बढ्न मेहनत चाहिन्छ । अगाडि बढ्न लागेको बेला अनेकन चुनौती आउँछन् । चुनौतीको सामना गरेर अघि बढ्ने हो कि पछि हट्ने भन्ने विषय आफैमा भरपर्छ । इच्छा हुनेका लागि अवसरको कमी छैन ।
मेरो टिममा पनि धेरै महिला हुनुहुन्छ । पुरुषभन्दा अगाडि नै बढिरहेको देख्छु । गर्न चाहनेको लागि नहुने भन्ने केही हुँदैन । हामीले केवल आफ्नो सोच बदल्नु पर्छ ।
एउटा स्थानमा पुगिसकेका महिला पनि घर र कार्यालयको कामलाई व्यवस्थापन गर्न नसक्दा गृहिणी जीवन बिताइरहेका पाइन्छ, यस्तो समस्या तपाईलाई पर्यो कि परेन ?
यस्तो समस्या मैले पनि भोग्नु परेको छ । तर व्यवस्थापन कसरी गर्ने भन्ने कुरा आफैमा भर पर्छ । कतिपय महिला एउटा स्थानमा पुगेर पनि फर्कनु परेको छ । हरेक महिलालाई एक समयमा आएपछि अनेकन पारिवारिक वाध्यता आइपर्छ । मेरो पनि १८ महिनाको बच्चा छ । सानिमामा काम गर्दा १ महिनाको बच्चा छोडेर अफिस गएको थिए । त्यो बेला म सुत्केरी छु, २/३ महिना काम गर्न सक्दिन भनेको भए मैले आफ्नो करियरमा सम्झौता गर्नु पर्थ्यो होला ।
मैले युनाइटेडमा काम शुरु गर्दा मेरो बच्चामात्रै ३ महिनाको थियो । त्यो बेला मैले यो अवसर लिन्न भनेर बसेको भए आज म यहाँ हुँदैन थिए । महिलालाई यस प्रकारकासमस्या आउछन् । घर र कार्यालयको कामलाई व्यवस्थापन गर्न चुनौती छ ।
काम छोडेर घर बस्नु बाहेक पनि विकल्पहरु हामीसँग धेरै हुन्छन् । जसरी हुन्छ आफ्नो करियरलाई निरन्तरता नै दिन चाहने हो भने हामीले धेरै विकल्पहरु खोज्न सक्छौँ । बच्चा हेर्न मान्छे राख्ने, केही समयपछि ‘डे केयर’ मा राख्ने, सासु ससुरा, घरमा आमा बुवा पनि हुनुहुन्छ । कमाएर केही गर्छु भन्ने मान्छेले डे केयरमा राखेर पनि हुर्काउन सक्छ ।
त्यो भनेको बच्चालाई हेला गरेको होइन । त्यो बच्चा कै लागि हो । तपाईं सक्षम हुन भयो भने तपाई कै बच्चालाई फाइदा हुन्छ । महिला भएर चुनौती थपिदैमा सक्दिन भनेर पछि हट्नु हुँदैन ।
समाजमा सानो बच्चा छाडेर काममा गयो भन्ने मान्छेहरु धेरै हुन्छन् । यस्तो भनाइले आफ्नो लक्ष्यलाई प्राभावित बनाउनु हुँदैन । यस्ता कुरा त सुन्ने क्षमता राख्नु पर्छ । काम गर्ने नयाँ आमाले हरेक दिन सुन्नै पर्छ । नकारात्मक प्रभाव आफुमा पर्ने दिनु हुँदैन । यस्ता कुरा सुनेर हार मानेर घर बस्ने कि अझ बलियो हुने आफैंमा भर पर्छ । त्यो क्षमता यदिन म मा हुँदैन थियो भने हार मानेर आज घरै बसेको हुन्थे होला ।
बच्चा अरुको भरमा छोडेर कार्यालय जादाँ सम्बन्धमा कति भिन्नता आउने सम्भावना हुन्छ, कतिपय महिला यसैको भयमा हुन्छन् । बच्चा छाडेर कार्यालय जाँदा सुरुवाती दिनमा धेरै ध्यान त अवश्य जान्छ । तर त्यही बच्चाको लागि नै काम गर्नु पर्छ भनेर छोडेर काम गरेको भन्ने सोच्नु पर्ने हुन्छ ।
घरायसी कामै नै रहने महिलाका हकमा बच्चाले हेर्ने दृष्टिकोण पछि फरक हुन्छ । आमा र बच्चाबीच सम्बन्ध राम्रो हुन्छ भनेर आफ्नो करियर नै छोडेर घरमा बस्नेको भविष्य के भन्ने प्रश्न पनि उठ्छ । भावनात्मकभन्दा पनि व्यवहारिक भएर सोच्नु पर्छ । बच्चाको माया लाग्छ तर २/३ वर्षपछि उनीहरुको छुट्टै जीवन शुरु हुन्छ । स्कुल कलेज शुरु हुन्छ । बालापन सकिएर किशोर हुँदै युवा अवस्था शुरु हुन्छ । उ आफ्नो जीवनमा करियर बनाउन थाल्छ ।
त्यसपछि आमाले के गर्ने ? दिनभरी घरमा बसेर मात्रै त हुँदैन । भावनात्मक सम्बन्धको मोहले बाध्नु आफ्नो ठाँउमा छ । तर व्यवहारिक भएर सोच्नुपर्छ ।वर्किङ उमनलाई विवाहपछि वा आमा भइसकेपछि आफ्नो करियरलाई निरन्तरता दिने÷नदिने भन्न निर्णय लिन परिवारको ठूलो हात हुन्छ । परिवारको सहयोग र सहमतिबिना एक्लो निर्णयले जीवन कठिन बनाउँछ । काम गर्ने इच्छाशक्ति र हिम्मत भने आफैंमा हुनु पर्छ अनिमात्रै परिवारको सहयोग दोस्रो पक्ष हो ।
हाम्रो समाजमा महिला र पुरुषको विभेद आज पनि हरेक क्षेत्रमा छ यस्तो चुनौतीलाई समाना गरेर अघि बढ्न अन्य महिलाई के सुझाव दिनु हुन्छ ?
समाजमा रहेका यस्ता विभेद हटाउनलाई महिलाले आफ्नो इच्छा शक्ति र मेहनतलाई छाड्नु हुँदैन । काम सबैको लागि समान भएपनि महिलाले त्यसमा बढी मेहनत गर्नु नै पर्छ । मेरो विचारमा महिलाले पुरुषलेभन्दा काममा अझ बढी मेहनत गर्छन् । महिलाले पुरुषसँग नभएर आफैसँग प्रतिस्पर्धा गरेर अघि बढ्नु पर्छ । के गर्ने के नगर्ने भनेर सुझाव दिने मान्छे धेरै हुन्छ । तर आफुलाई के गर्ने इच्छा छ ? आफैलाई सोधेर अगाडि बढियो भने कहिल्यै पनि पछुताउनु पर्दैन ।
पुरुषसँग प्रतिस्पर्धा गर्दै अगाडि बढ्न महिलालाई आरक्षणको आवश्यकता कतिको देख्नु हुन्छ ?
मैले भारतमा काम गर्दा मेरो टिममा महिला म एक्लै थिए । पछि हेर्दाहेर्दै महिला कर्मचारी कम्तीमा ३० प्रतिशत पुगे । त्यहाँ जागिर छोडेर निस्कने बेलामा ५० प्रतिशत महिला नै भए । कानुनले नै महिला कर्मचारी यति प्रतिशत राख्नु पर्छ भनेर होइन् । महिलाले इमान्दार भएर राम्रो विश्वासनिय काम गरेर भएको हो । आरक्षण पाएर काम गर्नु भन्दा महिलाले क्षमता प्रर्दशन गरेर काम गर्नुपर्छ ।
आरक्षण तोकिनु नराम्रो होइन तर त्यसमा काम गर्ने महिला साच्चिकै सवल हुनुपर्छ । काम भएन भने जुनसुकै क्षेत्रमा भएपनि जागिर छाड्नु पर्छ । सरकारी निकायमा कोटा पुर्याउन कै लागि महिलालाई जागिरमा राखेर कार्यालयका काम भएन भने त्यसको केही अर्थ लाग्छ र ?
महिलालाई अरक्षण दिनु नराम्रो होइन तर अरक्षणमा काम गर्ने प्रतिस्पर्धी महिला नै राख्नु पर्छ । काम नगर्ने ५० प्रतिशत महिला हुनु भन्दा नहुनु नै उत्तम हुन्छजस्तो लाग्छ । आजपनि अधिकांश कार्यालयमा महिलालाई जागिरमा राख्नुअघि काम गर्दैनन या काम लगाउन सकिदंैन कि भनेर सन्देह व्यक्त गरिन्छ ।
यस्तो अवस्था हामी महिला कै कारणले आएको हो । केही गाह्रो भयो रोइदिने, सानो तिनो समस्यामा पनि काम रोकेर बस्ने या आफु महिला भएकै कारणले बढी सुविधा पाउनु पर्छ भन्ने बानीले मानिसमा यस्तो छाप बस्दै गएको हो । आजका दिनमा धेरै महिला छन् । जसले पुरुषलेभन्दा राम्रो मेहनतले काम गर्छन् । पुरुषकै नेतृत्व गरेर कतिपय क्षेत्रमा अघि बढेका छन् । त्यस्ता महिलाका लागि आरक्षण भन्दा अवसरको खाँचो हुन्छ ।
सम्भावना र अवसर धेरै हुँदा पनि तुलनात्मक रुपमा बेरोजगार महिलाको संख्या धेरै रहेका छन्, के कारणले यस्तो भएको होला ?
अवसर धेरै क्षेत्रमा छन् त्यसका लागि काम गर्ने इच्छा हुनपर्छ । बेरोजगारी यति धेरै छ तर हामीले खोजेको मान्छ पाउन मुस्किल छ । जागिरको आवश्यकता हुने र गर्छु भनेर इच्छा राख्ने मानिसले जुनसुकै क्षेत्रमा पनि काम गर्न तयार हुन्छ । यो क्षेत्र राम्रो, त्यो नराम्रो, यो पदमा पाए जागिर खान्छु वा भनेर छनौट गर्दैन ।
बीमा क्षेत्रमा पनि कति धेरै अवसरका लागि आह्वान गरिएको हुन्छ । तर किन हो मानिसहरु तल्लो तहमा नै भएपनि बैंकमा जागिर खान तयार हुन्छन् । तर इन्स्योन्सको जागिर नखाने भन्दा रहेछन् । करियर बनाउन योे क्षेत्र राम्रो हो भनेर जनचेतना जगाउनुपर्ने आवश्यकता छ । जीवन या निर्जीवन दुबै बीमा कम्पनीका हरेक तहमा महिलाको लागि जागिरको अवसर छ ।
बेरोजगार भएपनि अहिले प्रायः मानिसलाई खान लाउन समस्या हुँदैन ।त्यही भएर आवश्यकताभन्दा बढी जागिरलाई इज्जत प्रतिष्ठा, सहुलियत र फेसनको रुपमा हेर्ने प्रचलनले पनि अवसर हुँदा हुँदै पनि बेरोजगारी बढेको छ । प्रायः महिला मार्केटिङमा जागिर खान रुचाउँदैनन् । तर सबैभन्दा बढी अवसर भनेको यसैमा छ । थोरै तलबमा अफिसमा बसेर काम गर्न धेरै महिला तयार भएपनि केहीमात्र फिल्ड, मार्केटिङमा काम गर्न तयार हुन्छन् । अवसरलाई सहुलियतको आधारमा छनौट गरेर नभई आफ्नो क्षमतालाई मुल्यांकन गरेर काम गर्छु भन्ने इच्छा राख्ने जो कोही पनि बेरोजगार हुँदैन ।