ब्रोकर कार्यालयमा केवाइसी अपडेट गर्नेको लर्को, लाइनमा भन्दा अनलाइनबाट सेयर किन्ने बढे



काठमाडौं । कुनै समय लगानीकर्ताहरु सेयर खरिदबिक्रीका लागि दिनभरी ब्रोकर कार्यालयमा बस्थे । बढ्दै र घट्दै गरेका कम्पनीका सेयर खरिद र बिक्रीका लागि ब्रोकरलाई अर्डर दिन्थे र कारोबार गर्दथे ।

लगानीकर्ताहरुको अधिकांश समय ब्रोकर कार्यालयमा खर्च हुन्थ्यो । ब्रोकर कार्यालयमा बसेर स्क्रिनमा रातो र हरियो रंग पछ्याउँदै कारोबार गर्नेको संख्या ठूलो थियो ।

तर पछिल्लो समय यो ट्रेन्ड परिवर्तन भएको छ । सूचना प्रविधिको विकासले अहिले सेयर खरिद र बिक्रीका लागि ब्रोकर कार्यालय धाउन नपर्ने गरी घरमै बसेर ल्यापटप र कम्प्युटरमा सीमित बनाइदिएको छ ।

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से)ले अनलाइनमार्फत् कारोबार गर्नका लागि ट्रेड म्यानेजमेन्ट सिस्टम (टीएमएस)को शुरुवात गरेसँगै अहिले अधिकांश लगानीकर्ताहरु घरमै बसेर टीएमएसमार्फत् कारोबार गर्न थालेका छन् ।

लगानीकर्ताहरु घरमै बसेर कारोबार गर्न थालेपछि अहिले अधिकांश मर्चेन्ट बैंकर्स, बैंक तथा वित्तीय संस्था एवम् ब्रोकरका कार्यालयमा डिम्याट खाता खोल्ने र केवाइसी अपडेट गराउने ग्राहकको मात्रै भिड देख्न सकिन्छ ।

लकडाउन खुलेयता सेयर बजारमा आउने आईपीओहरु मानिसहरुको आकर्षक बढेसँगै डिम्याट खाता खोल्ने र पुरानो केवाइसी अपडेट गराउनेको भिडको बढेको ब्रोकरहरुको भनाइ छ ।

सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडको अनुसार हालसम्म २७ लाख ७५ हजार २८९ जनाले डिम्याट अकाउण्ट लिएका छन् । सिडिएससी ७६ वटा वटा संस्थालाई निक्षेप सदस्यको लाइसेन्स दिएको छ ।

यस्ता संस्थाबाट र यी संस्थाहरुसँग सहकार्य गरेर विभिन्न मर्चेन्ट, बैंक तथा वित्तीय संस्था र ब्रोकर कार्यालयले डिम्याट खाता खोल्ने सेवा दिदै आएका छन् । पछिल्लो समय दैनिक हजारभन्दा बढीले डिम्याट खाता खोल्ने गरेको सिडिएस एण्ड क्लियरिङले जानकारी दिएको छ ।

हालसम्म ३ लाख ३५ हजारभन्दा बढीले अनलाइन सेयर कारोबारका लागि ट्रेड म्यानेजमेन्ट सिस्टम (टीएमएस) को युजर नेम र पासवर्ड लिएको नेपाल स्टक एक्सचेन्जका प्रवक्ता मुराहरी पराजुलीले बताए । दोस्रो बजारमा सेयर खरिद बिक्री दैनिक हुने कारोबारको औषतमा ८० प्रतिशत अनलाइनमार्फत् हुने उनको भनाइ छ ।

गत माघ २५ गतेका दिन हालसम्मै सबैभन्दा धेरै १० अर्ब ४४ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो । उक्त दिन कारोबार गर्ने ५० हजार ९२३ जामध्ये ८० प्रतिशतले अनलाइनमार्फत् कारोबार गरेका थिए ।

यस्तो भिड अनलाइनबाटै दोस्रो बजारमा सेयर खरिद बिक्री गर्न पाउने व्यवस्था भएयता बढेको नेपाल ब्रोकर एसोशियसनका पूर्व अध्यक्ष प्रियाराज रेग्मीले बताए ।

‘अहिले फ्लोरमा बस्नेको भिड छैन तर केवाइसी खोल्नेको भने धेरै भिड कार्यालयमा हुन्छ,’ उनले क्लिकमाण्डूसँग भने, ‘कार्यालयमा सेवाग्राहीको भिड बढेसँगै व्यवस्थापन गराउन समस्या भएको छ, केवाइसी खोल्ने, डिम्याट, अनलाइन टीएमएस खोल्ने सेवाग्राहीलाई सेवा दिनलाई नैकर्मचारीहरु अबेरसम्म बस्नु पर्ने र अतिरिक्त कर्मचारी समेत राख्नु पर्ने अवस्था सिर्जना हुन थालेको छ ।’

प्रायः जसो सेयर ब्रोकर कार्यालय सानो ठाँउका साथै सीमित कर्मचारीले सञ्चालन भएको हुँदा धेरै मानिसहरु कार्यालयमा आउँदा समयमा नै काम सम्पन्न गर्न समस्या भएको उनको गुनासो छ ।

अनलाइन कारोबार कसरी ?
अनलाइनबाट सेयर कारोबार गर्नका लागि लगानीकर्ताले ब्रोकर कार्यालयमा गएर सबैभन्दा पहिले केवाइसी अपडेट गराउनु पर्छ । केवाइसी अपडेट भएपछिमात्र लगानीकर्ता अनलाइन प्रणालीमा आवद्ध हुन सक्छन् ।

ब्रोकर कार्यालयले केवाइसी भेरिफाइ गर्छन् र लगानीकर्ताले अनलाइन कारोबारको लागि ट्रेड म्यानेजमेन्ट सिस्टम (टीएमएस) लिन आवेदन दिनु पर्ने हुन्छ । ब्रोकरले केवाइसी टीएसएस सिस्टममा समाविष्ट गरी लगानीकर्तालाई ‘ट्रेडिङ यूआरएल एड्रेस’ को युजर नेम र पासवर्ड दिन्छ ।

अब ट्रडिङ यूआरएलमा गइ आफ्नो युजर नेम र पासवर्ड प्रयोग गरी टीएमएस सबमीट गरी आनलाइन सिस्टममा लगिन गरी दोस्रो बजारबाट सेयर कारोबार गर्न सकिन्छ ।

अनलाइन कारोबारले जोखिम बढ्दै
अर्डर म्यानेजमेन्टको काम अनलाइन प्रयोगकर्ताले गर्छन् त्यसका लागि ब्रोकरलाई सहजता भएको छ भने अनलाइनबाटै सेयर खरिद बिक्री गर्न सकिने भएपछि बजार बढेको समेत छ । तर पनि यसले जोखिम तथा समस्या बढाएको पूर्वअध्यक्ष रेग्मीको भनाइ छ ।

‘अनलाइन प्रणाली पूर्णरुपमा बैंकसँग एकीकृत नभएको कारणले भोलिका दिनमा सेटलमेन्टका लागि रिस्क हुने अवस्था आउँछ,’ उनले भने, ‘सेटलमेन्टका लागि फण्ड म्यानेजमेन्ट गर्नुपर्यो, अहिले अनलाइन प्रयोगकर्तालाई हामीले लिमिट दिएका हुन्छौँ त्यो लिमिटलाई पूर्णरुपमा कन्ट्रोल गर्न सक्ने हाम्रो सिस्टम छैन ।’

सिस्टमले कन्टोल गर्ने नसक्दा लगानीकर्ताले सेयर किनेर राफसाफलाई खातामा पैसा नपठाउने समस्या हुने उनले जानकारी दिए ।

‘अनलाइन सिस्टमले लगानीकर्तालाई सहजता सिर्जना गरेपनि रिस्क म्यानेजमेन्टको पाटो भने गाह्रो छ,’ उनले थपे, ‘अनलाइनले अर्डर म्यानेजमेन्टको काम घटेपनि रिक्स म्यानेजमेन्टको काम भने बढेको छ ।’

अनलाइनबाट सेयर किनेर लिमिटभन्दा बढी लगानीकर्ताको खातामा पैसा नहुँदा ब्रोकरलाई समयमा नै राफसाफ गराउन समस्या भइरहेको उनको गुनासो छ ।

‘भविष्यमा यस्ता समस्याहरु अझै बढ्दै जाने हुँदा अटोमेटेड् सिस्टम प्रणाली बनाउन आवश्यक छ,’ उनले भने ‘अहिले जुन प्रणालीमा आवद्ध भएर कारोबार गरिरहेको छौँ त्यही प्रणालीबाटै रिस्क म्यानेजमेन्ट हुने फिचरहरु हुनुपर्छ ।’

टीआएस, इडीएसलगायतलाई अटो सिस्टम गर्नुपर्ने तथा ब्रोकरलाई पावर अफ अटर्नी दिएर लगानीकर्ताले बेचेको सेयरमा ब्रोकरको पहुँच हुनपर्ने व्यवस्था गरिन आवश्यक रहेको उनको भनाइ छ ।

लगानीकर्ताको खातामा पैसा भएमा मात्र सेयर अर्डर गर्न मिल्ने सिस्टमका साथै लगानीकर्ताले सेयर खरिद गरिसकेपछि राफसाफका लागि लगानीकर्ताको बैंक खाताबाट ब्रोकरले पैसा तानेर ल्याउन मिल्ने सिस्टम हुन आवश्यक रहेको उनको भनाइ छ ।


क्लिकमान्डु