एटीएमबाट पैसा मात्रै होइन अब पानी पनि आउँछ, मूल्य कति ?



काठमाडौं । काठमाडौं उपत्यकाभित्र तपाईं कुनै न कुनै काम लिएर आउनु भएको छ भने तपाईंलाई प्यास लाग्दा पानी पिउने स्थानको बारेमा थाहा छ ? पक्कै पनि थाहा छैन होला ।

काठमाडौंमा नै रहनेले पनि आफनो झोलामा पानीको बोत्तल बोकेर हिँड्नु पर्छ वा नजिकको पसलमा गएर खरिद गर्नुपर्छ । ग्रामीण क्षेत्रमा जस्तो धारा कुवा वा नदी काठमाडौंमा छैन । प्यास लाग्दा पानी पिउने स्थानको अभाव छ । शहरी क्षेत्रमा सार्वजनिक धारा तथा कुवा पाउन मुस्किल नै हुन्छ ।

आम मानिसलाई सहजरुपमा प्यास लागेको बेला पानी पिउन पाउने ध्येयले खानेपानी मन्त्रालय, काठमाडौं महानगरपालिका र काठमाडौ उपत्यका खानेपानी व्यवस्थापन बोर्डको संयुक्त प्रयासमा बिहीबारदेखि काठमाडौंमा वाटर एटीएम सञ्चालनमा आएको छ । यसले काठमाडौं महानगरभित्र प्यास लाग्दा पानी पिउन पाउने व्यवस्था गरेको छ । त्यसका लागि तपाईंले सामान्य शुल्क भने तिर्नुपर्नेछ ।

काठमाडौं उपत्यकालगायत सहरी तथा सहरोन्मुख क्षेत्रमा पैसा निकाल्नका लागि एटीएम मेशिन राखिएको पनि तपाईं हामीले देखेकै छौं । त्यसका प्रयोग पनि गरेकै छौं । पैसा निकाल्ने मात्रै एटीएम हुँदैन । पानी निकाल्ने पनि एटीएम पनि सञ्चालनमा आएको छ ।

बिहीबार एक कार्यक्रमकाबीच खानेपानीमन्त्री मणिचन्द्र थापाले वाटर एटीएमको उद्घाटन गरे । पहिलो चरणमा रत्नपार्क, बालाजु र स्वयम्भु भगवान पाउमा वाटर एटीएम सञ्चालनमा आएको छ ।

वाटर एटिएम जडान भएसँगै यस क्षेत्रमा स्वच्छ र गुणस्तरीय पानी पिउने सुविधा उपलब्ध भएको छ । वाटर एटीएमबाट उपलब्ध हुने पानीका लागि उपभोक्ताले प्रति २ सय मिलिमिटरका लागि १ रुपैयाँ तिर्नुपर्नेछ । एक लिटर पानीको भने ५ रुपैयाँ तिर्नुपर्छ । यो वाटर एटीएमलाई ३ महिनासम्म सप्लायर्सले नै सचालन गर्ने र ३ महिनापछि बोर्डलाई हस्तान्तरण गरिने छ ।

यस एटीएमबाट जाडोमा तातो र गर्मीमा चिसो पानी उपलब्ध गराउने प्रणाली जडान गरिएको छ । एटीएमबाट पानी लिनका लागि उपभोक्ताले एक रुपैयाँका सिक्का प्रयोग गर्नुपर्ने छ ।

काठमाडौं उपत्यका खानेपानी बोर्डका कार्यकारी निर्देशक सञ्जीवविक्रम रानाले ३ हप्ताभित्र विभिन्न १५ वटा स्थानमा यस्ता एटीएम जडान गरिने जानकारी दिए । काठमाडाैंमा पिउने पानीको समस्या भइरहेका बेला सार्वजनिक स्थानमा राखिने वाटर एटीएमले आमसर्वसाधरणलाई सुलभ मूल्यमा स्वच्छ पानी पिउन सक्ने सुविधा दिने विश्वास महानगरले लिएको छ ।

योजना अनुसार अबको एक हप्ताभित्रमा कलंकी, मालपोत, बानेश्वर, बंगलामुखी मन्दिर, कुसुन्ती यातायात कार्यालय र शंखपार्क धुम्बराहीमा वाटर एटीएम सञ्चालन गर्ने तयारी गरिएको छ । काठमाडांै ललितपुर र भक्तपुरका विभिन्न स्थानमा सञ्चालनमा ल्याइने वाटर एटीएमको लागत २ करोड रुपैयाँ छ ।


क्लिकमान्डु