नयाँ सोचलाई कसरी बिजनेशमा बदल्ने ? सिटिजन्स बैंकले बनायो मन छुने भिडियो
काठमाडौं । के तपाईंसँग केही नयाँ सोच र सिर्जनसिलता छ ? तर तपाईंले त्यसलाई व्यावसायिक रुप दिन सकिरहनु भएको छैन ?
यदि त्यसो हो भने तपाईंका लागि सिटिजन्स बैंकले बनाएको यो भिडियोले पक्कै पनि छुनेछ ।
बैंकले अंग्रेजी नयाँ वर्ष २०२१को पहिलो दिन एउटा भिडियो सामाजिक सञ्जालमा पोस्ट गरेको छ । सारमा भन्दा भिडियोको सन्देश नयाँ सोचमा सिटिजन्स बैंकले साथ दिन्छ भन्ने छ ।
भिडियोमा आमाछोरी छन् । छोरी धेरै नै खञ्चुवा र मोटी छन् । तर, अरु काममा भने धेरै नै अल्छी । आफ्नो पलङबाट भूइँमा खसेको चस्मा उठाउन समेत आमालाई बोलाउँछिन् ।
यो देखेर आमाले भन्छिन् ‘आफ्नै आँखा अगाडि भएको सामान उठाउन त अरु चाहिन्छ, के गरेर खान्छे होला मेरी छोरीले ?’
छोरीले भन्छिन्- ‘ह्या मामू खानाको त कुरै नगरिह्यो न ।’
खाँदासमेत छोरीले मोवाइल चलाइरहेकी हुन्छिन् । त्यो देखेर आमाले सोध्छिन् ‘युटुव, इन्स्टाग्राम गरेर के पाउँछौं ? केही अर्थपूर्ण काम गर्ने बारे सोचेकी छौ कि छैनौं ?’
आमाको प्रश्न सोधेर छोरी रिसाउँछिन् । तर, उनी आफ्नो काम छाड्दिनन् ।
छोरीले अँध्यारो कोठामा केक बनाउने विधिको भिडियो बनाइरहेका बेला आमाले झ्यालको पर्र्दा खोलिदिन्छिन् ।
‘मामू यो डार्क रुम कन्सेप्ट हो,’ छोरीले भन्छिन् ।
‘डार्क रुम न सार्क रुम, यस्तो मजाको घाम छ, भिटामीन डी खानु छैन, केक खानु परेको छ ?’ आमाले भन्छिन् ।
छोरीले केक बनाउने विधि जानकारी दिँदै भिडियो निर्माण गर्छिन् । र, उक्त मिडियो बनाउन आमालाई सहयोग गर्न आग्रह गर्छिन् ।
कार्यालय जान तयार रहेकी आमाले मेकअप गर्दै भनिछन्, ‘मैले तिमीलाई सहयोग गर्न थालेँ भने मलाई चाहीँ कस्ले सहयोग गर्छ ?’
छोरीले हत्ते गरेपछि आमाले बाध्य भएर एक हातले मेकअप गर्दै अर्को हातले मोवाइलबाट भिडियो खिच्दिन्छिन् । छोरीको काम आमालाई मन परेको हुँदैन । छोरीको मन थाम्नका लागि मात्रै मोवाइल समाइदिन्छिन् ।
छोरीले केक बनाउने विधिको जानकारी दिँदै भिडियो निर्माण गर्छिन् । र, युटुवमा हाल्छिन् ।
कार्यालय गएकी आमा दिउँसो रेस्टुराँमा खाजा खान जान्छिन् । रेस्टुराँमा खाजा खान आएका अरु ग्राहकले उनकी छोरीले बनाएको भिडियोको बारेमा कुरा गर्छन् । र, एकजना युवाले उनकी छोरीले भनाएको रेसिपि भिडियो केटी साथीलाई देखाउँदै भन्छन्, ‘यो केटीको यार, हेर्दाहेर्दै सस्क्राइबर कस्तो बढेको, नबढोस् पनि किन यस्तो प्यासनका साथ खाना पकाउँछे नि, एकचोटी चाख्न पाए त ।’
आफ्नी छोरीको प्रगति देखेर आमा अचम्म पर्छिन् । र, छोरीले सहयोग माग्दा आफूले सहयोग नगरेकोप्रति आत्मग्लानी गर्दै आमाले गहभरी आँशु पार्छिन् । आफ्नी छोरीलाई सम्झिन्छिन् । आफूले गाली गरेको पनि सम्झिन्छिन् ।
साँझ घर आएर आमाले छोरी रेस्टुराँ लैजान्छिन् ।
‘लाइफमा सेकेन्ड टाइम रेस्टुराँमा डिनर खान ल्याइस्या छ, त्यो पनि चल्दै नचल्ने रेस्टुराँमा, यहाँ त कुक पनि छैन होला खाना पकाउनलाई, के अब मै गएर पकाउँ ?’ छोरीले आमालाई प्रश्न गर्छिन् ।
‘अँ जाउ,’ आमाले भन्छिन् ।
‘पुअर जोक,’ भन्दै छोरी किचनतिर अघि बढ्न खोज्छिन् । तर, आमाले उनको नाममा रेस्टुराँ खोलिदिएको देख्छिन् । रेस्टुराँको नाम हुन्छ ‘नेहा’ज किचन ।’
‘मैले तिमीलाई सहयोग त गरेँ, तर कहिल्यै मनबाट सहयोग गरेकी थिइँन, मलाई लाग्थ्यो मेरी छोरीले जीवनमा कहिल्यै केही गर्न सक्दिन, सायद अरुको मुखबाट सुनेपछि मात्रै रियलाइज हुने रहेछ, मेरी छोरी त मैले सोचेभन्दा धेरै अगाडि पुगिसकिछे,’ आमाले आँशु झार्दै छोरीको क्षमता चिन्न नसकेकोमा आत्मग्लानि गर्छिन् ।
आफ्नो युटुव च्यानलको नाममा आमाले रेस्टुराँ नै खोलेको देखेर छोरी आश्चर्यचकित पर्छिन् । र, सोध्छिन्, ‘अनि यतिधेरै पैसा चाहीँ कहाँबाट आयो ?’
‘बैंकबाट, यतिधेरै खुसी पनि हुनु पर्दैन, मैले त ऋणमात्रै लिएको हो,’ आमाले अर्थ्याउँदै भन्छिन्, ‘अब रेस्टुरेन्ट चलाएर ऋण तिर्ने काम तिम्रो ।’
यो कुरा सुनेपछि खुुसी हुँदै छोरीले आमालाई गर्ल्याम्म अंगालो हाल्छिन् ।
आमाले भन्छिन्- पकाएको भन्दा बढी चाखेर चाहीँ नसक्नू नि ।’
‘सपनाको कुनै आकार हुँदैन, खुसीको कुनै सीमा हुँदैन,
त्यसैले तपाईं आँट मात्रै गर्नुहोस्, सहयोग गर्नलाई हामी छौं,
सिटिजन्स बैंक, तपाईंको प्रगतिको सहयात्री ।’ भन्ने शब्दबाट भिडियो समाप्त हुन्छ ।
यो भिडियोको पहिलो सन्देश के हो भने आफ्ना छोराछोरीले गरिरहेको कामबारे बाबुआमा कन्भिन्स हुँदैनन् । तर, जब अरुको मुखबाट आफ्ना छोराछोरीले गरेको कामको चर्चा हुन्छन् । तब मात्रै बाबुआमाले विश्वास गर्छन् ।
र, यस्तो नयाँ सोच भएका युवाहरुको सोचमाथि बैंकहरुले लगानी गरिरहेका छन् ।
यदि तपाईंसँग पनि नयाँ सोच छ भने बैंकबाट ऋण लिएर त्यसलाई व्यावसासियकरुपमा रुपान्तरण गरेर अर्थोपार्जन गर्न सक्नुहुनेछ ।