निजीकरणमाथि विनोद चौधरीको टिप्पणीः असल नियतले ल्याएको नीतिको खराब कार्यान्वयन



२०४६ साल ताका नेपालमा जब नेपालको आर्थिक अवस्था निकै कमजोर भयो । त्यो बेला भारतको अर्थतन्त्र पनि कमजोर थियो । भारतमा तत्कालीन समयमा नरसिंहा रावको सरकार थियो । रावले मनमोहन सिंहलाई बोलाएर ‘म राजनीति चलाउँछु तिमी अर्थतन्त्र चलाउ’ भनेर बोलाए । त्यो समयमा नेपालमा पनि विश्व बैंक र आइएमएफको दबाब शुरु भइसकेको थियो ।

त्यसपछि नेपालमा बनेको गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारले निजी क्षेत्रलाई निकै राम्रो ढंगले अघि बढायो । त्यो समयमा ७ वटा क्षेत्रलाई निकै महत्वका साथ अघि बढाइयोे । त्यसका पछाडिको मुख्य कुरा प्रतिष्पर्धा र लाइसेन्सतन्त्रको अन्त्य थियो ।

निजीकरणका ३ दशकः सरकारको अर्बौं जोगियो, निजी क्षेत्रको मनोवल बढ्यो

निजीकरणको केही जस मैले पनि लिन्छु । किनभने अर्थमन्त्री महेश आचार्य, योजना आयोगमा डा. रामशरण महत हुनुहुन्थ्यो भने नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्षमा म थिएँ । हामीले निजीकरणमा मिलेर काम गरेका थियौं ।

तत्कालीन समयमा आएको नीतिले नै देशको अर्थतन्त्रलाई मौलाउने अवसर दियो । एकपटक बाँध खोलिसकेपछि रोक्न सकिँदैन । केही न केही पानी त बगिहाल्छ ।

निजीकरण भनेको सरकारले व्यापार गर्न सक्दैन, सरकारको व्यापार काम गर्ने होइन । व्यापार नै गर्ने हो भने पनि सामाजिक व्यवासयहरु शिक्षामा, स्वास्थ्यमा, पूर्वाधारमा गर्ने हो । उत्पादन र सप्लाइ गर्ने होइन भन्ने हो । जुन एकदमै सही छ । त्यही आधारमा निजीकरणलाई अगाडि बढाइयो ।

त्यो बेला डीएफआइडीले एडम स्मिथ नाम गरेका विदेशीलाई कन्सलटेन्टका रुपमा ल्याएर राखेको थियो । राम्रो नियतले निजीकरणको नीति आयो । तर, निजीकरण गरिएको सम्पत्ति अन्य प्रयोजनका लागि प्रयोग गर्नबाट रोक्न नसक्नुचाहीँ कमजोरी भयो ।

सरकारी अनुदानमा पाएको वा सरकारको पैसा परेको, जनताको अधिग्रहण गरेको सम्पत्तिलाई राज्यले बेच्ने अनि त्यहाँको उद्योग धन्दा बन्द गरेर त्यसलाई घरजग्गा बनाएर रियल स्टेट बनाउनु भनेको गलत काम थियो । त्यसले निजीकरणलाई नराम्रो बनायो ।

सरकारले उद्योग व्यवसाय चलाउन सकेन । र, मैले राम्रोसँग चलाउन सक्छु भन्ने हिसाबले निजी क्षेत्रले लिएको हो । यसरी लिएपछि त राम्रोसँग चलाउन सक्नु पर्छ नि । यदि तपाईंले राम्रोसँग चलाउन नसक्ने हो भने सरकारलाई फिर्ता गर्न सक्नु पर्यो नि । हुनुपर्ने त्यो थियो, तर त्यसो भएन । त्यहाँ विकृति घुस्यो ‘गुड इन्टेन्सन बट ब्याड इम्प्लिमेन्टेसन’ भयो ।

निजी क्षेत्रले पनि राज्यसँगै आफ्नो भूमिका बिर्सनु हुँदैन । राम्रो सन्देश दिन सक्नुपर्छ । त्यसैले निजी क्षेत्रको प्रतिष्ठा र सम्मान समाजमा बढ्ने हो । निजी क्षेत्रमा सबै एकै प्रकारका चरित्र हुन्छन् भन्ने छैन, खराब चरित्र भएकाहरुले निजीकरणको बदनामी गरे ।

राज्यले जानेको भए त्यही अनुसार नीति लिन्थ्यो । यसले सकारात्मक ढंगबाट अगाडि जान्थे । तर रेन्ट सिकिङ मानसिकता भएका मानिसहरु अझ बढी फ्रन्ट लाइनमै आएर बस्न थाले । त्यसको फल राज्यले आजसम्म पनि भोगिरहेको छ ।


पुष्प दुलाल