इजरायलमा केयर गिभर रोजगारीको प्रक्रिया अन्तिम चरणमा, पहिलो चरणमा ५ सय लैजाने



काठमाडौं । नेपालीहरूको आकर्षक गन्तव्य बनेको इजरायलले अस्थायी रोजगारीसम्बन्धि गत असोज १४ गते सम्झौतापत्रमा हस्ताक्षर गर्यो ।

सम्झौतामा नेपालको तर्फबाट इजरायलका लागि नेपाली राजदूत डा. अञ्जान शाक्य र इजरायलको तर्फबाट त्यहाँका परराष्ट्रमन्त्री गाबी आस्खेनाजीले हस्ताक्षर गरेका थिए ।

उक्त सम्झौताअनुसार केयर गिभर, कृषि, होटल र रेष्टुराँ, निर्माणलगायतका क्षेत्रमा नेपालीलाई रोजगारीको अवसर दिलाउने जनाएको थियो । यद्यपि, प्रत्येक क्षेत्रका लागि ‘इम्प्लिमेन्टेसन प्रोटोकल’मा हस्ताक्षर गरेपछि मात्रै श्रमिक भर्नाको प्रक्रिया शुरु हुने जनाएको थियो ।

सोही अनुरुप इजरायल रोजगारीमा पहिलो चरणमा केयर गिभरको प्रक्रिया अन्तिम चरणमा पुगेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । मलेसियालगायत अन्य खाडी मुलुकको तुलनामा पारिश्रमिक र सुरक्षाले राम्रो भएकाले इजरायल रोजगारीको लागि प्रक्रिया अघि बढाएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले यसअघि विभिन्न चरणमा छलफल भई सहमतिसमेत भइसकेकाले पहिलो क्षेत्रका रुपमा इजरायलको नर्सिङ क्षेत्र (अस्पताल, नर्सिङ होम, दिवा स्याहार केन्द्रलगायत) मा नेपालबाट केयर गिभर पठाउनेसम्बन्धी ‘इम्प्लिमेन्टेसन प्रोटोकल’ को कार्यविधि तयार भई क्याविनेटमा प्रस्ताव गइसकेको मन्त्रालयका सह–प्रवक्ता देवेन्द्र कार्कीले जानकारी दिए ।

उनका अनुसार उक्त कार्यविधि अब केही दिनमै स्वीकृत भइसके पनि इजरायल पठाउन प्रक्रिया अघि बढ्ने बताए । नेपाली वैदेशिक रोजगारीका लागि त्यहाँको सरकार पनि सकारात्मक भएकाले कामदार पठाउने विधि सरकारी संयन्त्रमार्फत् हुने भएको छ ।

सरकारी संयन्त्रमार्फत कामदार पठाउँदा थप पारदर्शी हुने गरी कार्यविधि तयार गरिएको मन्त्रालयका सह–प्रवक्ता कार्की बताउँछन् । साथै, कार्यविधिमा कुन मोडलमा पठाउने, कति लागत लाग्छ भन्ने विषयमा कार्यविधिमा स्पष्ट तोकिएकोले नेपाली श्रमिकले निकै लाभ लिन सक्ने उनको भनाइ छ ।

पहिलो चरणमा केयर गिभर
इजरायलले केयर गिभर, कृषि, होटल र रेष्टुराँ, निर्माणलगायतका क्षेत्रमा नेपालीलाई रोजगारीको अवसर दिलाउने भनिएता पनि पहिलो चरणमा भने केयर गिभर मात्रै लैजाने तयारी गरेको सह–प्रवक्ता कार्कीको भनाइ छ ।

जसमा पहिलो चरणमा ५ सय केयर गिभर पठाउने निर्णय भएको उनले जानकारी दिए । तर, परीक्षार्थीले परीक्षा दिइसकेपछि छनौटमा कति पर्छन् । त्यही अनुसार पठाउने तयारी भएको उनले बताए ।

‘हाल इजरायलमा जानका लागि केयर गिभरको मात्रै कार्यविधि तयार गरेको छ । उक्त कार्यविधि केही दिनमै कार्यान्वयन भई प्रक्रिया अघि बढ्नेछ,’ उनले क्लिकमान्डूसँग भने, ‘आगामी दिनमा निर्माण, होटल तथा रेष्टुरामा पठाउनको लागि पनि छुट्टाछुट्टै कार्यविधि तयार गरी रोजगारी पठाउने तयारी मन्त्रालयले गरेको छ ।’

त्यस्तै, इजरायल केयर गिभरको लागि दक्ष कामदार लैजाने भएको छ । जसमा रोजगारी जाने व्यक्तिले पहिलो हिब्रु जान्नुपर्ने नियम थियो भने अहिले भने अङ्ग्रेजी भाषा जान्नुपर्ने व्यवस्था गरेको उनले बताए ।

जसमा इच्छुक कामदारले एसईई दिइसकेपछि अनमी र अहेबा पढेको हुनुपर्नेछ । तर, यदि उक्त विषय नपढी अन्य विषय लिएर प्लस टु पढेको खण्डमा तीन महिना स्वास्थ्य सम्बन्धि तालिम लिनुपर्नेछ ।

त्यसैगरी उक्त रोजगारीको लागि स्वास्थ्य सम्बन्धि पढेको अवस्थामा कुनै तालिम लिनु पर्दैन भने आफ्नो विषयभन्दा फरक पढेको अवस्थामा तीन महिना तालिम लिनुपर्ने व्यवस्था गरेको छ ।

त्यसमा प्लस टु गरेर केयर गिभरमा जान इच्छुक श्रमिकले आफ्नै पैसाले स्वास्थ्य सम्बन्धि तालिम लिनुपर्दछ । उक्त तालिमको लागि सरकारले तालिमको मोडलहरू तयार पारिदिने र सहजिकरण बनाइदिने कार्कीको भनाइ छ । साथै, रोजगारीमा जाने श्रमिकले हवाई टिकट तथा अन्य कार्यमा केही मात्रामा खर्च गर्नुपर्ने उनले बताए ।

करार अवधि ५ वर्ष

मलेसियालगायत अन्य खाडी मुलुकमा रोजगारीमा गएका श्रमिकको करारअवधि करिब २ वर्ष मात्रै हुन्छ । तर, जिटुजीमार्फत श्रमिक पठाउने देश दक्षिण कोरिया जस्तै इजरायलमा पनि ५ वर्षको करार अवधि तोकिएको मन्त्रालयले जनाएको छ ।

जसमा ५ वर्षको आवधिमा नेपाल आउने जाने प्रक्रिया भएता पनि ५ वर्षको करार अवधि सकेपछि पुनः परीक्षा दिएर मात्रै रोजगारीमा जान पाउने व्यवस्था रहेको कार्कीले बताए ।


क्लिकमान्डु