एक हप्तामा ३ हजार रुपैयाँले घट्यो सुनको मूल्य, यस्तो छ कारण



काठमाडौं । पछिल्लो समय कोरोना भाइरस विरुद्धको भ्याक्सिनको सफल परीक्षण भइरहेको समाचार प्रकाशित भएसँगै विश्व बजारमा सुनको मूल्य निरन्तर ओरालो लाग्दै गएको छ । गत आइतबारबाट निरन्तर ओरालो लागेको सुनको मूल्य शुक्रबार पनि घटेको छ ।

यससँगै सुनचाँदी व्यवसायीहरूले अझै सुनको मूल्य घट्ने अनुमान गरेका छन् । आइतबारदेखि शुक्रबारसम्म निरन्तर ओरालो लागेको सुनको मूल्य ६ दिनमा ३ हजार रुपैयाँले गिरावट आएको छ ।

गत आइतबार छापावाला सुनको मूल्य प्रतितोला ९४ हजार ३ सय रुपैयाँ कायम भएको थियो । तर, शुक्रबारसम्ममा आइपुग्दा सुनको मूल्य घटेर छापावालको सुनको मूल्य प्रतितोला ९१ हजार ३ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवासायी महासंघले जनाएको छ ।

यस्तो छ कारण
विश्वव्यापी रुपमा फैलिएको कोरोना विरुद्ध भ्याक्सिनको अनुसन्धान, परीक्षण तथा उत्पादन तीव्ररुपमा भएकाले सुनको मूल्य ओरालो लाग्नुको मुख्य कारण रहेको महासंघका पूर्वअध्यक्ष मनिरत्न शाक्य बताउँछन् । जसले गर्दा विश्वव्यापीरुपमा व्यवसायमा आशालाग्दो अवस्थामा फर्केको उनले बताए ।

‘विगतको दिनमा कोरोनाको डरले सबै उद्योगधन्दा बन्द भएसँगै सबै क्षेत्रको लगानीहरू सुनमा लुकेर बसेको थियो,’ उनले क्लिकमान्डूसँग भने, ‘हाल उद्योग धन्दा, व्यवसायी क्षेत्रको अर्थतन्त्र चलायमान शुरु भएको छ । जसले गर्दा उद्योगधन्दा, व्यवसायीक क्षेत्रहरू अब चलायमान हुन सुनमा अड्किएको पुँजी बजारमा लगानी हुन थालेको छ ।’

यसले गर्दा कोरोनाको समयमा सुनमा लगानी भएको पुँजी बजारमा धमाधम आउँदै उद्योगधन्दामा लगानी भएसँगै विश्वको अर्थतन्त्रमा सुनको मूल्य ओरालो लाग्दै गएको उनको भनाइ छ ।

त्यस्तै, अमेरिकाको आउँदो दिनमा बन्ने नयाँ राष्ट्रपति जो वाइडेनले पहिलो प्राथमिकता अमेरिकालाई कोरोनामुक्त गर्ने र संक्रमण हुन नदिने भनिएको थियो । साथै, अमेरिका र चीनसँगको व्यवसायिक र राजनैतिक मनमुटावमा पनि चाँडै मेलमिलापको काम हुने भनेकोले बजार सकारात्मक रहेको उनी बताउँछन् ।

यसले गर्दा अमेरिकाप्रति चीन पनि सकारात्मक रहेकाले सुनको मूल्यमा भएको लगानी व्यवसायीक क्षेत्रमा छिट्टै जाने भएको उनको बुझाइ छ ।

‘कोरोना अघि पनि चीन र अमेरिकाको व्यापार युद्धले सुनको मूल्य बढेको थियो । उक्त व्यापार घाटाको पनि धामधम समस्याको समाधान हुँदै जाने भएको छ । यसले गर्दा बजारमा व्यवासायीहरूमा आशा पलाएको छ,’ उनले भने ।

त्यसैगरी, आजसम्मको तथ्याङ्कको आधारमा अझै मूल्य घट्ने अनुमान लगाएता पनि पहिलेकै मूल्यमा पुग्न धेरै समय लाग्ने उनी बताउँछन् । तर, उनका अनुसार सामान्य अवस्थाको सुनको मूल्यमा धेरै समय लागेता पनि करिब ९० हजार रुपैयाँसम्म भने सुनको मूल्य कायम हुने उनको अनुमान छ ।

साथै, चाँदीको मूल्य पनि निरन्तर ओरालो लाग्दै गएको छ । गत आइतबार प्रतितोला १२ सय १० रुपैयाँमा कायम भएको चाँदीको मूल्य घटेर प्रतितोला ११ सय ६५ रुपैयाँमा कायम भएको छ । उक्त समयअवधिमा चाँदीको मूल्य ४५ रुपैयाँले घटेको छ ।

सुनको मूल्य निर्धारण यसरी हुन्छ ?
नेपालमा सुनचाँदी व्यवसायी संघले सुनको मूल्य निर्धारण गर्छ । र, सोही अनुसार बजारमा कारोबार हुन्छ ।

सुनचाँदी व्यवसायी संघका पूर्व अध्यक्ष शाक्यका अनुसार नेपालमा सुनको मूल्य निर्धारणका लागि पहिले न्यूयोर्क एक्चेञ्ज अर्थात अन्तर्राष्ट्रिय बजारको कारोबार दरलाई आधार लिइन्छ ।

उनका अनुसार मूल्य निर्धारण गर्नुअघि नेपालको समयअनुसार बिहान १० बजे संघमा न्युयोर्क मार्केटको बजार मूल्य आइसकेको हुन्छ । साथै भारत र दुबईको मूल्य प्रवृत्तिलाई पनि आधार मानेर मूल्य निर्धारण गर्दछ ।

त्यसैगरी, नेपाल राष्ट्र बैंकले तोकेको विदेशी विनिमय दर अर्थात् डलरको मूल्यको आधारमा निर्धारण हुन्छ । सुनको मुख्य मूल्य आधार भनेको नै अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य र राष्ट्र बैंकको विनिमय दर रहेको शाक्यले बताए ।

यसका साथै अन्य खर्चमा भन्सार, ह्यान्डलिङ शुल्क र मुनाफा जोडिन्छ । जसमा मुनाफा ०.५ प्रतिशत आयातकर्ता बैंकले र ०.५ प्रतिशत सुनचाँदी व्यवसायीले राख्ने गरेको शाक्यको भनाइ छ ।

यसरी कायम हुन आएको सुनको मूल्य नै सो दिनको कारोबारका लागि निर्धारण गरिन्छ ।


क्लिकमान्डु