बैंकबाट ऋण लिने यो उपयुक्त समय हो, स्थिर ब्याजदर ठीक कि परिवर्तित ?



काठमाण्डौं । पछिल्लो समय बैंक तथा वित्त कम्पनीहरुबाट घर, सवारीलगायत व्यक्तिगत प्रकृतिका आवधिक कर्जा लिने ग्राहकमा अन्यौता बढेको छ । यस्तो कर्जामा बैंक तथा वित्त कम्पनीले लागू गरेको ब्याजदरका कारण ग्राहकमा अन्यौला बढेको देखिन्छ ।

राष्ट्र बैंकले कात्तिक १ गतेबाट स्थिर ब्याजदर कार्यन्यवन गर्न बैंक तथा वित्त कम्पनीहरुलाई निर्देशन दिएको थियो । सोही अनुसार हाल कर्जामा स्थिर ब्याजदरका कर्जाका प्रोडक्ट बैंक तथा वित्त कम्पनीले ल्याएका छन् ।

यस अघिसम्म परिवर्तित ब्याजदरमा कर्जा प्रवाह गरिरहेका बैंकहरुले स्थिर ब्याजदर सार्वजनिक गर्दा ग्राहकमा कर्जाको ब्याजदरमा विकल्प बढेको छ ।

एकै प्रकारका व्यक्तिगत आवधिक प्रकृतिको कर्जामा बैंक तथा वित्त कम्पनीले स्थिर र परिवर्तित ब्याजदर लागु गरेपनि परिवर्तितभन्दा स्थिर ब्याजदर केही प्रतिशत महंगो छ ।

कोरोना भाइरसको संक्रमणको असर अर्थतन्त्रमा पर्दा बैंक तथा वित्त कम्पनीमा अहिले नयाँ परियोजनामा कर्जाको माग न्यून छ । जसकारण बैंकिङ प्रणालीमा लगानी योग्य रकम बढ्दा बैंक तथा वित्त कम्पनीहरुले बेसरेट घटाएर कर्जाको ब्याजदर सस्तो बनाएका छन् ।

परिवर्तित ब्याजदरमा प्रवाहित कर्जाको ब्याजदर बेसरेट परिवर्तन हुँदा घटबढ हुन्छ । तर स्थिर ब्याजदरमा प्रवाहित कर्जाको ब्याजदर भने तोकिएको समयावधिसम्म सोही नै रहन्छ । भोलिका दिनमा अवस्था सामान्य हुँदै गएमा बैंकिङ क्षेत्रमा कर्जाको माग बढ्ने र माग बढेमा कर्जाको परिवर्तित ब्याजदर महंगो हुने अनुमान बैंकरहरुको छ ।

जसकारण अहिले सवारी, घर तथा व्यक्तिगत प्रकृतिका आवधिक कर्जामा कुन ब्याजदर रोज्ने त्यो ग्राहकले बिश्लेषण गरी कर्जा लिनुपर्ने हुन्छ ।

परिवर्तित ब्याजदर रोज्दा भोलिका दिनमा ब्याजदरमा उतारचढाब हुँदा ब्याजदरमा हुने परिवर्तित र त्यसको भारको जोखिम एकलौटी ग्राहकमा हुन्छ ।

तर स्थिर ब्याजदरमा कर्जा लिँदा भोलिको दिनमा ब्याजदर परिर्वतन हुँदा ब्याजदर घटबढको भार बैंक र ग्राहक दुवैमा हुन्छ ।

जसमा कर्जा लिने व्यक्ति जोखिम लिने वा नलिने कुन प्रवृतिको छ, त्यसमा भर पर्छ । यदि जोखिम लिने व्यक्ति हो भने अहिले परिवर्तित रोज्न ठिक हुन्छ भने जोखिम अरुलाई दिने प्रवृतिको व्यक्ति भएमा अहिले केही प्रतिशत महंगो नै भएपनि स्थिर ब्याजदरमा कर्जा लिन उपयुक्त हुन्छ ।

बेसरेट बढ्दा ग्राहकलाई भार पर्ने हुँदा अहिले स्थिर ब्याजदर उपयुक्तः राष्ट्र बैंक

एकै प्रकारको कर्जामा केही प्रतिशत महंगो र सस्तो ब्याजदरमा कर्जा लिन बैंकहरुले ग्राहकलाई भने पनि अहिलेको अवस्थामा ग्राहकले केही प्रतिशत महंगोमा नै स्थिर ब्याजदरमा कर्जा लिन उपयुक्त हुने नेपाल राष्ट्र बैंकका प्रवक्ता गुणकर भट्टले बताए ।

‘ब्याजदर भनेको बजारले निर्धारण गर्ने कुरा हो तर अहिलेको अवस्थालाई विश्लेषण गरेर भोलिलाई हेर्ने हो भने ग्राहकले स्थिर ब्याजदरमा नै कर्जा लिन उपयुक्त हुन्छ,’ प्रवक्ता भट्टले क्लिकमाण्डूसँग भने, ‘राष्ट्र बैंकले यही ब्याजदरमा कर्जा लिन निर्देशन दिन नमिल्ने भएको हुँदा ग्राहकको जोखिम लिने वा दिने बानीले स्थिर र परिवर्तित ब्याजदरको उपयुक्ता भर पर्छ ।’

स्थिर ब्याजदरले व्यक्तिलाई दिगो आर्थिक योजना बनाउन सहयोग गर्ने, वित्तीय योजना अनुसार हिड्न सहज हुने र समग्र अर्थतत्रमा समेत स्थायित्व प्रवद्र्धन गर्नमा स्थिर ब्याजदरले सहयोग गर्ने उनले जानकारी दिए ।

बैंक तथा वित्तीय संस्थाहरुको बेसरेट परिवर्तन हुँदा कर्जाको ब्याजदर परिवतनले आजित भएका ग्राहकको हित गर्न स्थिर ब्याजदर नीति ल्याएको भट्टले बताए ।

ग्राकहले यसअघिका ब्याजदर परिवर्तनको रेसियोलाई हेरेरभन्दा अहिलेको असहज अवस्थाको बैंकिङ व्यवसाय हेरेर ब्याजदरको छनौट गर्नुपर्ने प्रवक्ता भट्टको भनाइ छ ।

‘विप्रेषण आप्रवाह अघिल्लो वर्षकै स्थिरमा हँदा डिपोजिट बढिरहेको छ,’ उनले थपे, ‘तर कोभिडका कारण आर्थिक गतिविधहरु विस्तार नहुँदा र सबै तिर अनिश्चितता भई उद्यम व्यवसायमा विस्तार नहँदा बैंकहरुमा कर्जाको माग कम छ ।’

अवस्था सहज हुँदै जाँदा बैंकहरुमा कर्जाको माग बढ्दा ब्याजदर बढ्ने निश्चित भएकाले अहिले आवधिक प्रकृतिका व्यक्तिगत कर्जा लिने ग्राहकले स्थिर ब्याजदर नै चयन गर्न उपयुक्त हुने उनको भनाइ छ ।

त्यसैगरी राष्ट्र बैंकले समेत अहिलेको जस्तो सदैब लचिलो मौद्रिक नीति कायम नराख्ने र अर्थतन्त्रको अवस्था हेरेर नीतिमा परिवर्तन गर्न उनले जानकारी दिए ।

राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक देवकुमार ढकाल पनि ग्राहकलाई स्थिर ब्याजदर लिनु फाइदाजनक भएको बताउँछन् ।

‘अहिले जुन ब्याजदरमा बैंकहरुले कर्जा दिइरहेका छन् भोलिका दिनमा यो भन्दा तल ब्याजदर आउला भन्ने अवस्था छैन,’ ढकालले भने, ‘त्यसैले अहिले स्थिर ब्याजदर लिनु उपयुक्त हुन्छ ।’

ग्राहकलाई छान्ने अवसर मिलेको छ

अनिल केशरी शाह, सीइओ, नबिल बैंक

राष्ट्र बैंकको निर्देशनअनुसार बैंकहरुले स्थिर र परिवर्तित दुबै ब्याजदर सार्वजनिक गरेका छन् । यसमा कुन उपयुक्त हुन्छ भन्नेमा मानिसहरुको आ-आफ्नो दृष्टिकोणमा भर पर्छ । स्थिर ब्याजदरमा ग्राहकले १०÷१५ वर्षको होम लोन वा अटो लोन लिँदा हरेक महिना आफूले बैंकमा कति तिर्न सक्छु त्यो थाहा पाउन सक्छ । ब्याजदर माथि गयो या तल गयो त्यसको झन्झट लिन चाहन्छ भन्ने ग्राहकलाई स्थिर ब्याजदर ठिक हुन्छ ।

तर ग्राहकले भोलिका दिनमा अहिलेको भन्दा ब्याजदर कम भएर फाइदा हुन सक्छ भनेर अनुमान गर्छ । र, अहिले नै स्थिरभन्दा परिवर्तित ब्याजदर कम छ भन्ने सोचमा कर्जा लिन्छ भने उसका लागि परिवर्तित नै ठिक हुन्छ ।

यसअघि ग्राहकलाई ब्याजदर रोजाइको विकल्प थिएन तर अहिले छ । ग्राहकहरुले बैंकको ब्याजदर परिवर्तनले धेरै दुख दियो भन्ने गुनासो गर्थे अब त्यो स्थिर ब्याजदरमा कर्जा लिएमा रहेन ।

अहिलेको अवस्थालाई र ब्याजदरको उतार चढावलाई विचार गरेर, ग्राहकले आफ्नो जोखिम बहनको क्षमता के हो त्यो विचार गरेर कर्जाको ब्याजदर चयन गर्नुपर्छ । कोरोनाका कारण भोलिको दिनमा के हुन्छ आज भन्न सक्ने अवस्था छैन भने अबको ३ बर्षमा ब्याजदर कहाँ पुग्छ भन्न पनि सक्ने अवस्था छैन ।

महामारी कै कारण नेपालको अर्थतन्त्र समेत उथलपुथल भएको छ । अझै कर्जाको माग भएन भने ब्याजदर घट्न सक्छ । तर कोभिडको भ्याक्सिन आयो भनेमात्र ३ महिनामा नै बजारमा तलरता अभाव हुन्छ । बजारमा कोरोना नै कारण धेरै मानिसहरुको काम रोकिएको छ । त्यो कम गर्नलाई अहिले बैंकिङ प्रणालीमा भएको पैसाले नै पुग्दैन र कर्जाको ब्याज माथि पुग्छ ।

कर्जाको ब्याज माथि पुग्यो भने जसले आज स्थिर ब्याजदरमा कर्जा लिएको उसलाई फाइदा हुन्छ । तर अवस्था समान्य रहेन अझै तरलता बढ्यो भने परिवर्तित कर्जाको ब्याजदर अझै घट्छ । जुन समयमा स्थिर ब्याजदर चयन गलत हुनसक्छ ।

स्थायी वित्तीय योजना बनाउनेलाई स्थिर ब्याजदर ठीक

रोशन न्यौपाने, सीइओ, एनआइसी एशिया बैंक

ग्राहकको चाहनाअनुसार बैंकहरुले स्थिर वा परिवर्तित ब्याजदरमा कर्जा दिइरहेको छन् । कुन ब्याजदरमा कर्जा दिनेभन्ने ग्राहकको इच्छामा भर पर्छ । बैंकबाट कर्जा लिएर स्थायी वित्तीय योजना बनाउन चाहने ग्राहकले स्थिर ब्याजदर नै छनौट गर्दा हुन्छ ।
तर नेपालमा जस्तो प्रकारको लगानीदरमा अस्थिरता छ । त्यसको आधारमा ग्राहकलाई फाइदा भने परिवर्तित ब्याजदर छनौटमा नै छ ।

नेपालमा ब्याजदरमा धेरै नै उत्तारचढाब भइरहेको हुन्छ । त्यसैले यदि ग्राहकले स्थिर ब्याजदरमा नै कर्जा लिन चाहन्छ भने १० देखि १५ वर्षसम्म स्थिर ब्याजदरमा कर्जा लिँदा ठिक हुन्छ ।

अहिले पनि अधिकांश बैंकहरुले सार्वजनिक गरेका ब्याजदरमा स्थिरको भन्दा परिवर्तितको नै ब्याजदर थोरै छ । कर्जाको ब्याजदर घट्नुको कारण भनेको बैंकहरुमा अधिक तरलता भएर पनि हो । ग्राहकमा भोलिका दिनमा कर्जाको माग बढेर तरलता अभाव भइ ब्याजदर बढ्छ भन्ने ग्राहकलाई लाग्न सक्छ ।

तर कर्जाको माग बढ्दा तल्कालै ब्याजदर बढ्ने देखिएपनि दिर्गकालमा त्यो नरहला । जसरी सरकार राष्ट्र बैंकले व्यापार लागत र ऋणीको खर्चलाई कम गर्ने नीति योजना बनाउन तर्फ अग्रसर भइरहेका छन् । जसका लागि नेपालमा ब्याजदरहरु धेरै माथि नजाने हिसाबले बाह्य पुँजी लगानी भित्राएर मौद्रिक उपकरणहरुमार्फत त्यसलाई बजारमा प्रवाह गर्ने नीतिहरु भविश्यमा आउँछन् ।

त्यसो भएमा भविष्यमा समेत तरलता सहज भई ब्याजदर धेरै माथि नजाने बुझाइ मेरो छ । त्यसकारण ग्राहकलाई स्थिरभन्दा परिवर्तित ब्याजदरमा नै कर्जा दिन फाइदाजनक हुन्छ ।

ऋणीलाई जोखिम हुँदैन

सुनिल केसी, सीइओ, एनएमबी बैंक

एउटै प्रोडक्टमा स्थिर र परिवर्तित ब्याजदर संसारका प्रायः देशहरुमा लागु भएका छन् । नेपालमा पहिलो पटक स्थिर ब्याजदरको लागु भएको छ । बैंकहरुले एउटा ब्याजदरमा कर्जा दिन्छन् पछि बिस्तारै बढाउँदै जान्छन् भन्ने आरोप बैंकहरुलाई थियो । जुन स्थिर ब्याजदर लागू भएसँगै हटेर जानसक्छ ।

बैंकहरुले एकै प्रोडक्टमा परिवर्तित वा स्थिर दुवै ब्याजदरमा तोकेका भएपनि छनोट ग्राहकमा हुन्छ । माग र आपूर्ति, मुल्यवृद्धि, सरकारी नीति लगायत धेरै कुराले ब्याजदरलाई प्रभाव पारेको हुन्छ । जसकारण कर्जाको ब्याजदरमा उत्तारचढाव आइरहेको हुन्छ ।
यदि ग्राहकलाई ब्याजदर परिवर्तनको जोखिम बैंकलाई दिने हो भने स्थिरब्याजदरमा कर्जा लिन उपयुक्त हुन्छ । तर त्यो जोखिम ग्राहकले आफूसँगै राख्ने हो भने परिवर्तित ब्याजदरमा कर्जा लिँदा हुन्छ ।

अहिलेको अवस्था कस्तो छ भनेर स्थिर ब्याजदरमा कर्जा लिनुभन्दा जोखिमको बहनबारे विचार गरेर कर्जा लिनु उपयुक्त हुन्छ । आजको ५ वर्षपछि ब्याजदर अर्को रेसीयोमा पनि पुग्छ । परिवर्तितदर बजारसँगै घटबढ हुँदै जान्छ । तर स्थिरदर बजार जस्तो अवस्थामा रहेपनि ब्याजदर घटबढ हुँदैन ।

स्थिरदर लिएपछि बजारमा ब्याजदर घटेमा ग्राहकले घटेको फाइदा लिन पाउँदैनन् । तर ग्राहकले ब्याजदरमा जस्तोसुकै प्रभाव परेर घटबढ होस् म जोखिम लिन चाहन्न त्यो बैंकलाई नै छोड्छु भन्ने हो भने स्थिर ब्याजदर नै रोज्नु उपयुक्त हुन्छ ।

कर्जाको ब्याजदर स्थिर भएपछि बजारमा ब्याजदर घटेपनि बढेपनि त्यसको जोखिम बैंकले लिन्छ । अहिले परिवर्तितभन्दा स्थिर ब्याजदर केही बढी छ ।

तर केही प्रतिशत बढी तिरेर ब्याजदर उतारचढाब जोखिम बैंकलाई दिएमा ग्राहकले ढुक्कसँग अरु वित्तीय योजना बनाएर काम गर्न सक्छन् । ब्याजदर बढ्दा आम्दानी घट्छ भन्ने चिन्ता हट्छ ।

अहिले कोरोभका कारण अर्थतन्त्र प्रभावित भएर कर्जाको माग नहुँदा बैंकहरुमा लगानी योग्य रकम बढी छ । सोही कारण कर्जाको ब्याजदर घटेको हो ।

तर भोलिका दिनमा कर्जाको माग बढ्दा परिवर्तित ब्याजदरको रेट त बढ्छ नै । निश्चित आम्दानी भएका व्यक्तिले घर वा सवारी कर्जा लिँदा ब्याजदरको उतारचढावले धेरै समस्या सिर्जना गर्छ । त्यस्ता ग्राहकले जहिले पनि ब्याजदरको उतारचढाबको जोखिम भार बैंकलाई नै छोडेर स्थिर ब्याजदर रोज्दा उपयुक्त हुन्छ ।


पुष्प दुलाल