४४ बैंक तथा वित्तीय संस्थाका ऋणीले ७२ अर्ब रुपैयाँ पुनरकर्जा माग गरे, कसले कति पाउँछन् ?



काठमाडौं । नेपाल राष्ट्र बैंकमा ७२ अर्ब रुपैयाँ पुनरकर्जा माग भएको छ । सहुलियत ब्याजदरमा ४४ बैंक तथा वित्तीय संस्थामार्फत ऋणीहरुले पुनरकर्जाको आवेदन गरेको हुन् । राष्ट्र बैंकले एक मुष्ट पुनरकर्जाका लागि आवेदन दिने समय असोज मसान्तसम्म तोकेको थियो ।

प्राप्त पुनरकर्जा आवेदन अध्ययन तथा विश्लेषणको क्रममा रहेको र अध्ययन पछि ऋणीको आवश्यकता अनुसार कर्जा प्रदान गरिने राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकले पुनरकर्जा कोभिड १९ ले प्रभावित क्षेत्रको वर्किकरण गरेर सोही अनुसार वितरण गर्ने उल्लेख गरेको छ । केन्द्रीय बैंकले वर्गिकरण गरेको क्षेत्रमा परेकामा ऋणीले पुनरकर्जा न्यूनतम १ प्रतिशतदेखि ५ प्रतिशत ब्याजदर अनुुदानमा उपयोग गर्न पाउँछन् ।

कोभिड प्रभावित क्षेत्रमा अति प्रभावित, मध्यम प्रभावित र न्यून प्रभावित गरी वर्गिकरण गरेको छ । जसमा पर्यटन, होटल क्षेत्रलाई राष्ट्र बैंकले अति प्रभावित क्षेत्रमा वर्गिकरण गरेको छ । अति प्रभावित होटल क्षेत्रबाट मात्र ८ अर्ब ७ करोड रुपैयाँ पुनरकर्जाको माग भएको छ ।

राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत् कोरोना भाइरसले समस्यामा परेको व्यवसायलाई उकास्न राहत प्याकेज कार्यक्रम अन्तर्गत सरकारले ६० अर्बको पुनरकर्जा कोषलाई बढाएर १ खर्ब रुपैयाँ पुर्याएको छ ।

पुनरकर्जा कोषबाट राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई आवेदनको आधारमा एक मुष्ट पुनरकर्जा प्रदान गर्ने र बैंक तथा वित्तीय संस्थाले ग्राहक ऋणीलाई पुनरकर्जा वितरण गर्छ । पुनरकर्जाको नयाँ कार्याविधि अनुसार यसपटकबाट लघुवित्त संस्थाहरुले पनि एकमुष्ट कर्जाको माग राष्ट्र बैंकमा गर्न पाउने व्यवस्था गरिएको छ ।

राष्ट्र बैंकले कोषमा उपलब्ध रकमभन्दा ५ गुणा बढीसम्म कर्जा प्रयोग गर्न मिल्ने गरी पुनरकर्जा कार्यविधि जारी गरेको छ । जसमध्ये ७० प्रतिशत अर्थात् १ खर्ब ४८ अर्ब ४ करोड रुपैयाँ बैंक तथा वित्तीय संस्थालाई पुनरकर्जा प्रवाह गर्न सक्ने अवस्था रहेको राष्ट्र बैंक नियमन विभागका कार्यकारी निर्देशक देवकुमार ढकालले बताए ।

‘पुनरकर्जा कोषबाट २० प्रतिशत अर्थात् ४२ अर्ब ५ करोड ग्राहक ऋणीअनुसार प्रवाह गर्न सक्ने अवस्था,’ ढकालले राष्ट्रद्वारा आयोजित मौद्रिक नीतिको कार्यान्यवनको अवस्था र समसामायिक आर्थिक गतिविधि सम्बन्धी अन्तरक्रियामा भने, ‘यस बाहेक १० प्रतिशत अर्थात् २१ अर्ब २ करोड लघुवित्त वित्तीय संस्थाहरुलाई प्रवाह गर्नसक्ने अवस्था छ ।’

पुनरकर्जा कार्याविधि जारी गरिसकेके पछि २६ जना ऋणीहरुलाई करिब ५ अर्ब ९ करोड रुपैयाँ पुनरकर्जा वितरण भइसकेको राष्ट्र बैंकले उनले जानकारी दिए । पुनरकर्जा लिने ऋणीहरु अधिकांश कोभिडबाट अति प्रभावित होटल क्षेत्रमा गएको ढकालले बताए ।

बैंक तथा वित्तीय संस्थाको हरेक शाखाबाट कम्तीमा ५ जना ऋणीको पर्ने गरी एकमुष्ट पुनरकर्जा आवेदनको आह्वन राष्ट्र बैंकले गरेको थियो । केही बैंक तथा वित्तीय संस्थाले मात्र सोही अनुसार आवेदन पठाएपनि केहीले सो अनुसार नगरेको कार्यकारी निर्देशक ढकालको भनाइ छ ।

‘केही बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकको निर्देशनअनुसार आवेदन संकलन गरेको छैनन्,’ उनले थपे, ‘यस विषयमा हामी भालीका दिनमा छलफल गर्ने छौं ।’ प्रदेशगत रुपमा पुनरकर्जाको माग सबैभन्दा बढी बागमति प्रदेशबाट १८ अर्ब रुपैयाँको आएको उनले जानकारी दिए ।


क्लिकमान्डु