७ दिनको कर्जा प्रवाहले वित्तीय जोखिम बढ्दै, तरलता बढ्दा डिफल्ट कर्जा समेत स्वाप गर्दै बैंकहरु
काठमाडौ । चैतयता बैंकहरुमा नयाँ परियोजना विस्तारका लागि कर्जाको माग खासै हुन सकेको छैन ।
बैंकमा कर्जाको आवेदन दिने नयाँ ऋणहरुमा अधिकांश व्यक्तिगत प्रकृतिका आवधिक कर्जा नै भएको बैंकरहरु बताउँछन् ।
कोरोना भाइरसको असर सम्पूर्ण अर्थतन्त्रसँगै वित्तीय क्षेत्रमा पनि छ । तर पछिल्लो साता बैंकहरुले गरेको कर्जा प्रवाहको तथ्यांक हेर्दा भने अब लगानी विस्तार हुन थालेको संकेत देखिन्छ ।
निक्षेप संकलनको तुलनामा करिब ६ महिनायता बैंकहरुको कर्जा प्रवाह सुस्ताएको थियो ।
असोज लागेसँगै कर्जा प्रवाह बढाउन थालेका वाणिज्य बैंकहरुले बैंकले असोज महिनामा १ खर्ब ३७ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छन् । जसको ५३.९६ प्रतिशत कर्जा बैंकहरुले असोज अन्तिम साता नै प्रवाह गरेको हुन् ।
नेपाल बैंकर्स संघद्वारा उपलब्ध तथ्यांक असोज २३ गतेसम्म २९ खर्ब ६४ अर्ब रहेको कर्जा प्रवाह गरेको वाणिज्य बैंकहरुले असोज मसान्तसम्म ७० अर्ब १५ करोड रुपैयाँले बढाएर ३० खर्ब ३५ अर्ब पुगेको छ ।
लामो समयसम्म सुस्ताएको बैंकको कर्जा प्रवाह एक सातामा नै अस्वाभाविक रुपमा बढेको हो ।
पछिल्लो समयम बैंकहरुमा केही नयाँ कर्जाको माग भएपनि यसरी एकसातामा नै अस्वभाविकरुपले कर्जा प्रवाह बढ्दा त्यसमा विश्लेषण तथा निगरानी राखिने नेपाल राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले बताए ।
‘बैंकिङ प्रणालीमा अहिले अधिक तरलता छ, जसकारण बैंकहरुले कर्जाको गुणस्तर नहेरी पनि लगानी गरेका छन्,’ उनले क्लिकमाण्डूसँग भने, ‘सर्वसाधारणको निक्षेपबाट प्रवाह गरिने कर्जाको गुणस्तरमा बैंकहरुले सम्झौता गर्नु मिल्दैन् ।’
बैंकहरुमा अस्वभाविक तवरमा कर्जा लगानी बढेमा राष्ट्र बैंकले त्यसको निगरानी तथा अनुगमन गरी निक्र्यौल निकाल्ने उनले जानकारी दिए ।
‘अहिलेको परिस्थितिमा बैंकहरुले कर्जाको गुणस्तरमा सम्झौता गरी प्रवाह गरेमा भविष्यमा त्यसले वित्तीय स्थायित्व प्रभावित हुने, जोखिम सिर्जना हुने र यसले नैतिक दबाब सिर्जना हन्छ,’ प्रवक्ता भट्टले थपे, ‘बैंक यस्तो बेलामा नैतिक दबाब र एड्भर्स सेलेक्सनमा चनाखो हुनुपर्छ ।’
राष्ट्र बैंकका अनुसार अहिले बैंकिङ प्रणालीमा अहिले १ खर्ब ८१ अर्ब रुपैयाँ अधिक तरलता छ ।
बैंकमा तरलता छ भन्दैमा जस्तो मागमा पनि कर्जा प्रवाह गर्दा भोलि एसेट क्वालिटी बिग्रिदा त्यसले समग्र बैंकिङ क्षेत्र र अर्थतन्त्रलाई प्रभावित बनाउने हुँदा बैंकहरुले सम्पत्तिको गुणस्तरमा सम्झौता गर्न नहुने प्रवक्ता भट्टको भनाइ छ ।
बैंकहरुले सहजै ऋण दिन्छ भनेर ऋणीले एउटा प्रयोजनामा कर्जा लिएर अन्तै लगानी गर्ने वा आम्दानीका स्रोत नै नभएका ऋणीले पनि कर्जा लिँदा भोलि त्यस्ता कर्जाले एनपीएल बढाउने उनले जानकारी दिए ।
राष्ट्र बैंकले गत आर्थिक वर्षको असार मसान्तसम्म नउठेको साँवाब्याज असोज मसान्तसम्म उठाउने समय दिएको थियो । असोज मसान्तपछि पनि नउठेको साँवा ब्याज नउठेका ऋणको ब्याज आवश्यकता अनुसार पुनरतालिकीकरण, ब्याजपूँजीकरण तथा पुनर्संरचना गर्न बैंकले पाउने व्यवस्था गरिएको छ ।
ऋणका ब्याज बैंकहरुले पुरानो ब्याज पूँजीकरण गर्दा पनि असोजको अन्तिम साता कर्जा प्रवाहको परिमाण बढेको नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दाहालले बताए ।
‘अहिले बैंकहरुले ब्याज पूँजीकरण पनि गरेका छन् भने ओभरड्राफ्ट एकाउण्टबाट ब्याज लिएको हुन सक्छ,’ अध्यक्ष दाहालले क्लिकमाण्डूसँग भने, ‘चैतयता स्थगित भएका कर्जाका आवेदन पनि बैंकहरुले राम्रो रिजल्ट देखाउन असोज मसान्तमा बुक गरेका हुन सक्छन् ।’
राष्ट्र बैंकले कोरोना प्रभावित क्षेत्रलाई चालुको आधारमा कुल कर्जाको २० प्रतिशत कर्जा दिने व्यवस्थामा बैंकहरु असोज महिनामा कर्जा दिँदा बढेको उनको भनाइ छ ।
पछिल्लो समयमा बैंकहरुको बेसरेट घट्नु र तरलता सहज हुँदा स्वाप रेसियो समेत बढेको संघका अध्यक्ष दाहालले बताए ।
‘प्रि-पेमेन्ट गरेर एक बैंकबाट अर्को बैंकमा स्वाप भएको कर्जाले सिस्टमेटिक जोखिम बढाउँछ,’ उनले भने, ‘अहिले अलिकति समस्यामा परेका लोन अर्थात् वाच लिस्ट, कमसल वा अन्य वर्गमा पर्न लागेका लोनहरु अर्को बैंकमा प्रि– पेमेन्ट गरेर अर्को बैंकमा गइरहेको छ ।’
एक बैंकमा डिफल्ट भएका, वाच लिस्ट वा अन्य वर्गको कर्जा पनि अर्को बैंकमा जाँदा असल कर्जामा पर्ने हुँदा त्यस्था कर्जाले प्रणालीमा जोखिम बढाउने अध्यक्ष दाहालले बताए ।
बैंकिङ व्यवसाय दीर्घकालीन व्यवसाय भएको कारणले बैंकहरुले तरलता सहज भयो भन्दैमा समकालिनभन्दा दीर्घकालीन सोच बनाएर कर्जा लगानी गर्न उनले सुझाव दिएका छन् ।
अन्तिम साता कुन बैंकले कति कर्जा बढाए ?
संघद्वारा उपलब्ध तथ्यांकअअनुसार असोज २३ गतेदेखि ३० गते अर्थात् एक सातामा नै २७ वाणिज्य बैंकहरुमा २६ बैंकले कर्जा बढाएका छन् भने स्ट्याण्डर्ड चार्टर्ड बैंकमात्र ५१ करोड रुपैयाँले घटेको छ ।
सातादिनमा नै २४ वटा वाणिज्य बैंकले १ अर्बदेखि ८ अर्बबढी कर्जा बढाएका छन् ।
असोजको अन्तिम साता कर्जा विस्तारमा ग्लोबल आइएमई बैंक आक्रामक देखिएको छ । बैंकर्स संघबाट प्राप्त असोजको २३ गतेदेखि ३० गतेसम्म बैंकले ८ अर्ब ८५ करोड कर्जा प्रवाह गरेको छ । असोज २३ गतेसम्म बैंकले १ खर्ब ९७ अर्ब ७१ करोड कर्जा प्रवाह गरेको थियो ।
यसैगरी, असोजको अन्तिम साता आक्रमक कर्जा बढाउनेमा एभरेष्ट बैंक दोस्रो नम्बरमा रहेको छ । बैंकले असोज २३ गतेसम्म १ खर्ब १६ अर्ब ३७ करोड रुपैयाँ कर्जा प्रवाह गरेकोमा ३० गतेसम्म ५ अर्ब ७७ करोड रुपैयाँले कर्जा बढाएर १ खर्ब २२ अर्ब १४ करोड रुपैयाँ पुर्याएको छ । साथै, राष्ट्रिय वाणिज्य बैंकले असोजको अन्तिम साता ४ अर्ब ३६ करोड रुपैयाँ, कुमारी बैंकले ४ अर्ब ३५ करोड रुपैयाँ र प्रभु बैंकले ४ अर्ब १९ करोड रुपैयाँ कर्जा बढाएका हुन् ।
साता दिनमा नै अर्ब बढी कर्जा बढाउनेमा बैंक अफ काठमाण्डूले ३ अर्ब ८२ करोड रुपैयाँ, नेपाल बैंकले ३ अर्ब ५५ करोड रुपैयाँ, एनसीसी बैंकले २ अर्ब ९२ करोड रुपैयाँ, नेपाल इन्भेष्टमेन्ट बैंकले २ अर्ब ९० करोड रुपैयाँ र सिटिजन्स बैंकले २ अर्ब ८९ करोड रुपैयाँ कर्जा बढाएका छन् ।
यस्तै असोजको २३ गतेदेखि ३० गतेसम्म माछापुच्छ्रे बैंकले २ अर्ब ४८ करोड, प्राइम बैंकले २ अर्ब ४६ करोड, नबिल बैंकले २ अर्ब ४२ करोड, सिद्धार्थ बैंकले २ अर्ब २९ करोड र कृषि विकास बैंकले २ अर्ब २७ करोड रुपैयाँ कर्जा बढाएका छन् ।
साथै, सनराइज बैंकले २ अर्ब २४ करोड र एनआइसी एशियाले २ अर्ब २४ करोड रुपैयाँ असोजको अन्तिम सातामा कर्जा बढाएका हुन् ।
सिभिल बैंक, नेपाल एसबीआइ बैंक, मेगा बैंक, एनएमबी बैंक, सेञ्चुरी बैंक र हिमालयन बैंकले २ अर्बभन्दा कम र १ अर्ब रुपैयाँभन्दा बढी असोजको अन्तिम साता कर्जा बढाएका हुन् ।
नेपाल बंगलादेशले ५८ करोड रुपैयाँ र लक्ष्मी बैंकले १६ करोड रुपैयाँ ७ दिनमा कर्जा बढाएका छन् ।
कोभिडका अहिले नयाँ लगानी गर्ने मनस्थिती भइनसकेको हुँदा बैंकहरुले एक–अर्काको पुरानै कर्जा खोसाखोस गर्दा बढाएको सिटिजन्स बैंकका सीइओ गणेशराज पोखरेलले बताए ।
‘अहिलेसम्म नयाँ कर्जाको माग पहिलेको जस्तो छैन्, भने साउनदेखि असोज मसान्तसम्मको कर्जाको ग्रोथ पनि बैंकहरुमा त्यति छैन्,’ सीइओ पोखरेलले क्लिकमाण्डूसँग भने, ‘राम्रो व्यवसाय पहिलो त्रैमासमा देखाउन बैंकहरुले अनेक रणनीति अपनाएका छन्, जसमा कर्जा स्वापको पनि प्रमुख भुमिका छ ।’
असोजको अन्तिम साता सिटिजन्स बैंकको नै पौने ३ अर्ब रुपैयाँ जति पुरानो कर्जा अर्को बैंकमा स्वाप भएको उनले जानकारी दिए ।
चालु आवको पहिलो त्रैमासमा बैंकहरुको व्यवसाय विस्तार र नाफा वृद्धि भएपनि ब्याज खर्च र प्रोभिजिङ बढ्दा वितरण योग्य नाफा भने घट्ने सीइओ पोखरेलको भनाइ छ ।
बैंकको ब्याजदर घट्नु र असार मसान्तको कर्जा असोजमसान्तमा तिर्ने व्यवसायीलाई दवाव पर्दा राष्ट्र बैंकको नीतिको फाइदा बैंक र व्यवसायी दुबैले उठाउको राष्ट्रिय वाणिज्य बैंकका डेपुटी सीइओ कविराज अधिकारीले बताए ।
‘राष्ट्र बैंकले प्रि–पेमेन्ट घटाएपछि ऋणीहरु आफै पनि थोरै ब्याजदर भएको बैंकबाट कर्जा ल्याएर ऋण चुक्ता गरिरहेका छन्,’ अधिकारीले क्लिकमाण्डूसँग भने, ‘बैंकहरु राम्रो ग्राहक हेरेर आफ्नो बैंकमा तानिरहेको छन्, भने त्यसले बैंकका ऋणी व्यवसायीलाई पनि पुरानो कार्जा चुक्ता गर्न सहज भएको छ ।’
बजारमा नयाँ कर्जाको माग नहुँदा बैंकहरुबीच कर्जाको खोसाखोसको प्रचलन पछिल्लो समय बढेको उनले बताए ।