कोरोनाको ‘हटस्पट’ बन्यो बैंकिङ क्षेत्र, ४.१७ % कर्मचारी कोरोनाबाट संक्रमित



काठमाडौं । बैंक तथा वित्त कम्पनीका कार्यरत ४.१७ प्रतिशत कर्मचारी कोरोनाबाट संक्रमित भएका छन् ।

अत्यावश्यक सेवा अन्तर्गत पर्ने बैंक तथा वित्तीय क्षेत्रमा कर्मचारीले लकडाउन र निषेधाज्ञाबीच समेत ग्राहकलाई सेवा दिएका थिए । यसबीच बैंक तथा वित्त कम्पनीका कर्मचारी र तीनका परिवार गरी कुल २ हजार ९ सय ३ जनालाई कोरोना संक्रमण पुष्टी भएको छ ।

नेपाल राष्ट्र बैंकबाट प्राप्त तथ्यांक अनुसार बैंक तथा वित्त कम्पनीमा कार्यरत २ हजार ८१ जना कर्मचारी र उनीहरु मार्फत् उनका ८ सय २२ जना परिवारका सदस्य गरी कुल २९ सय ३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

हाल बैंक तथा वित्त कम्पनीहरुमा कुल ४९ हजार ८ सय ४२ जना कर्मचारी कार्यरत छन् । जसको ४.१७ प्रतिशत कर्मचारीमा कोरोना भाइरस पुष्टी भइसकेको हो । बैंक तथा वित्तीय संस्थाको नियामक निकाय नेपाल राष्ट्र बैंकमा समेत ४९ जना कर्मचारी र ५० जना परिवारका सदस्य गरी ९९ जनामा कोरोना पुष्टी भइसकेको छ ।

बैंकमा कार्यरत हजारौ कर्मचारीमा कोरोना संक्रमणको पुष्टि भएसँगै सर्वसाधारणमा समेत संक्रमणको जोखिम बढ्दोे छ । प्राप्त तथ्यांकअनुसार कोरोना संक्रमित बैंक तथा वित्त कम्पनीका कोरोना संक्रमित कुल कर्मचारी मध्ये ८४.४३ प्रतिशत अर्थात् १ हजार ७ सय ५७ जना संक्रमित वाणिज्य बैंकहरुका छन् । साथै, वाणिज्य बैंकका कर्मचारीहरुको ६ सय ७३ जना संक्रमित गरी कुल २ हजार ४ सय ३० जना कोरोना संक्रमित भइसकेका छन् ।

यसैगरी, विकास बैंकहरुका २ सय ५४ जना कर्मचारी र १ सय २३ जना परिवारका सदस्य गरी कुल ३ सय ७७ जना कोरोना संक्रमित भइसकेका छन् । हालसम्म विकास बैंकहरुमा ८ हजार १ सय ८१ कर्मचारी कार्यरत छन् । यसमा ३.१० प्रतिशत कर्मचारी कोरोना संक्रमित भइसकेका छन् ।

वित्त कम्पनीहरुमा हालसम्म २ हजार १३ जना कर्मचारीहरु कार्यरत छन् । जसको ३.४७ कर्मचारीमा कोरोना पुष्टी भइसकेको छ । प्राप्त तथ्यांकअनुसार वित्त कम्पनीहरुमा कार्यरत ७० जना कर्मचारी र २६ जना परिवारका सदस्य गरी कुल ९६ जनामा कोरोना संक्रमण भएको हो ।

दैनिक सयौं सेवाग्राहीलाई सेवा प्रवाह गर्ने बैंक तथा वित्त कम्पनीका कर्मचारीलाई कोरोना संक्रमण देखिन थालेपछि जोखिम अझ बढेको छ ।

मुलुकभर संक्रमित संख्या बढेपछि बैंकका कर्मचारीमा पनि जोखिम बढेको हुँदा जोखिम न्यूनिकरणको लागि बैंकहरुलाई सोही अनुसारको व्यवसायीक योजना बनाउन भनिएको राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले बताए ।

‘अहिले हरेक क्षेत्रमा कोरोना संक्रमण बढ्दो छ, बैंकका कर्मचारी सबैभन्दा सर्वसाधारणसँग सम्पर्कमा रहनु पर्छ,’ प्रवक्ता भट्टले क्लिकमाण्डूसँग भने, ‘यस्तो अवस्थामा कसरी व्यवसाय गर्ने ? त्यसबारे बेला बेलामा बैंकका सीइओ र अध्यक्षहरुसँग ग्राहकको र कर्मचारीको स्वास्थ्यको सुरक्षालाई ध्यानमा राख्र्दै विजनेश प्लानबारे छलफल हुनुका साथै कार्यलयमा स्वास्थ्य सुरक्षाका माप दण्ड पालना गराउने बारे भइरहको हुन्छ, बैंकहरुलाई सम्भव भएसम्म सेवाग्राहीलाई बैंकिङ सेवा निर्वाध रुपमा दिने व्यवस्था मिलाउन निर्देशन दिएको छ ।’

कर्मचारीको स्वास्थ्य सुरक्षा र उनीहरुमा संक्रमण जोखिक न्यूनीकरण तथा संक्रमित कर्मचारीको उपचार खर्चको लागि बैंकहरुलाई जिम्मेवार बनाउन राष्ट्र बैंकले निर्देशन दिइसकेको उनले जानकारी दिए ।

केन्द्रीय बैंकले यसअघि नै बैंक तथा वित्तीय संस्थाहरुलाई कोभिड–१९ बाट संक्रमित कर्मचारीलाई आइसोलेसनमा बस्दा लाग्ने सम्पूर्ण खर्च सम्बन्धित बैंक तथा वित्तीय संस्थाले बेहोर्नुपर्ने व्यवस्था गरिसकेको छ । समय बैंक तथा वित्तीय संस्थाका कर्मचारीमा संक्रमण देखिन थालेपछि राष्ट्र बैंकले उक्त निर्देशन दिएको प्रवक्ता भट्टले बताए ।

‘निर्देशनको पालना भए नभएको बेलाबेलामा निगरानी गराउने र थप सम्यमित हुन अनुस्मण केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई गराइरहेका उनको भनाइ छ ।


क्लिकमान्डु