पुँजीबजारमा साना लगानीकर्ता मात्रै किन सधै पीडित हुने ? राधा पोखरेलको लेख
पुँजीबजारबारे धेरैमा एउटा भ्रम छ त्यो हो यो पैसावाला लगानीकर्ता खेल्ने मात्रै ठाउँ हो । तर धेरै पैसा हुने, करोडौं अर्बौको, कारोबार गर्ने, सेयर बजारको बारेमा धेरै सूचना राख्ने र बजारमा लगानी गरेर प्रतिफल लिनेका लागि मात्रै पुँजी बजार पक्कै होइन ।
पुँजी बजार त सबैका लागि हो । देशको दुरदराजमा बस्ने मानिसका लागि पनि हो । अझ थोरै पैसा हुने, थोरै भएको पैसालाई पनि लगानी गरेर त्यसको प्रतिफलले दैनिकी टार्छु, स्वास्थ्योपचार गर्छु, सन्तानलाई राम्रो शिक्षा दिन्छु भन्नेहरुका लागि पनि हो ।
अहिले अधिकांशको सोचाइ कस्तो छ भने सेयर बजार भनेको सिंहदरबार वरिपरी, अनामनगर, पुतलिसडक, डिल्लिबजार, न्यूरोड क्षेत्रमा मात्रै फैलिएको छ । जे हुन्छ यहाँ नै हुन्छ भन्नेहरुको कमी छैन ।
जो यो सोचाईमा छन् उनीहरुले हेराइको दायरा फराकिलो बनाउन धेरै ढिला भइसकेको छ ।
नेपालको पुँजी बजार दार्चुलाकी शलिमाया साउद, ताप्लेजुङका खम्बसिंह लिम्बु, जनकपुरका रामपृत यादवहरुको पनि हो ।
उहाँहरुले पनि पनि यो बजारमा आफूसँग भएको सेयर सहजै बिक्री गर्न पाउनु पर्छ । र, बिक्री भएको सेयरको पैसा समयमा नै पाउनु पर्छ । किन्न चाहनेले पनि समयमा नै किन्न पाउनु पर्छ ।
भदौ २५ गते बिहीबार सेयर बजारमा २ अर्ब १७ करोड रुपैयाँभन्दा बढी रकमको ४२ लाख ६२ हजारभन्दा बढी कित्ता सेयर कारोबार भयो । उक्त दिन कयौ लगानीकर्ताले सेयर किनबेच गरेका छन् ।
त्यो दिन सीमित क्षेत्रका लगानीकर्ताका लागि मात्रै होइन देशैभर छरिएर रहेका ब्रोकरका शाखा कार्यालयहरुबाट आम लगानीकर्ताले सेयर किनबेच गर्नुभयो ।
साधारणतया चार कार्य दिनभित्र बिक्रेताले पैसा पाउने र खरदिकर्ताले सेयर पाउने धितोपत्र बजारको कानूनी व्यवस्थामा उल्लेख छ ।
तर, अहिले त्यस्तो भएको छैन । जसको कारण आज मलाई दिनभरजसो फोन आई राखेको छ । दार्चुलाबाट शालिमाया साउदले फोनमा आफ्नो पीडा सुनाउनु भयो । उहाँले श्रीमानको उपचारका लागि ५० हजार बराबरको सेयर बेच्नु भएको रहेछ । श्रीमान उपचारपछि अस्पतालबाट डिस्चार्ज हुने बेला भयो भनेर उहाँले सेयर बेच्नु भयो । उहाँको चाहना थियो । सेयर बिक्री गरेर आएको पैसाले अस्पतालको पैसा तिरौं र आफ्नो श्रीमानलाई अस्पतालबाट घरमा लैजाऔं ।
तर त्यो सोचाइ व्यवहारमा परिणत हुन सकेन । सेयर बिक्री गरेपनि पैसा अझै हात परेको छैन भनेर उहाँले भक्कानिँदै फोन गर्नु भयो । पुँजी बजारको कारण समस्या भोग्ने साउद मात्रै होइन अन्य कैयन लगानीकर्ताहरु छन् ।
जसमा समस्या फरक फरक खालको होला तर समस्या अधिकांशमा छ । यस्तै समस्या बेहोरि रहनु भएको छ ताप्लेजुङका खम्बसिंह लिम्बुले पनि । उहाँको छोराले यस बर्षको एसईई परीक्षामा ग्रेड ४ ल्याएर पास हुनु भएछ ।
बिर्तामोडको नाम चलेको कलेजले आजसम्म भर्ना गरेमा ५० प्रतशित छुट गरिदन्छिु भनेर उहाँलाई कलेजले फोन गरेछ । उहाँले पनि सोही दिन छोराको उज्ज्वल भविश्यका लागि राम्रो कलेजमा पढाउने भन्दै सेयर बेच्नु भएको रहेछ ।
उहाँले पनि सेयर बिक्री गरेको पैसा पाउन सक्नु भएन । छोरालाई राम्रो कलेजमा पढाउने सपना कहिले पूरा हुने हो त्यो उहाँलाई नै थाहा छैन । झापाको मलिन धिमालको पनि पीडा यस्तै रह्यो ।
त्यस्तै पीडामा रहुन भएका जनकपुरका रामपृत यादव भन्नुहुन्छ छोरीको विवाह मंसिरमा छ । अहिले सुनको मूल्य घट्यो । मूल्य घटेको समयमा किन्नु पर्यो भनेर दुई लाखको सेयर बेचेको त्यो पैसा हात परेन । सूनको मूल्य पो बढने हो की चिन्ता लागेको छ ।
अर्को पीडा रामेछापका बीर बहादुर बस्नेतले पनि सुनाउनु भयो । उहाँको श्रीमती सुत्केरी हुने क्रममा हुनुहुन्छ रे । त्यसैका लागि पैसा जोहो गर्न सेयर बेच्नु भएको रहेछ । सेयर बिक्री गरेर पैसा आउला भनेर दिन गन्दै बसें न सेयर खातामा छ न चेक हातमा छ । यो भनिरहँदा शुरुमा उहाँको आवाज जति उँचो थियो तर पछि त्यत्ति नै मलिन हुँदै गयो ।
वास्तबमै भन्ने हो भने मेरो भोगाइको पाँच बर्षमा मैले धितोपत्रको कारोबारको धेरै खालका घटनाक्रम देख्दै आँए ।
हामी लगानीकर्ताले भुलवश आफ्नो डिम्याटमा भएको भन्दा बढी सेयर बेचिएको खण्डमा तत्कालै २० प्रतशित जरिवाना तिर्नुपर्छ भने नियामक निकायले लगानीकर्ताको अर्बौ रुपैयाँको लाखौ कित्ता सेयर यसरी बन्धक बनाई रहँदा के हामी लगानीकर्ता फड्केको साक्षी मात्रै बनरिहनु पर्ने ?
यसको जवाफ कसले दिन्छ ? चार कार्य दिनभित्र हामिले पैसा नपाँउदा के नियामकले हामिलाई २० प्रतिशत रकम थप गरिदिन्छ ? यदी दिँदैन भने साना लगानीकर्ताले भुलबश बेचेको सानै कित्ताको पेनाल्टी किन लिने ? मैले यसो भनरिहँदा टाठाबाठा चतुर लगानीकर्ताले जानाजान हजारौं हजार कित्ता सर्ट सेलको कुरा किमार्थ गर्न खोजेकी होइन ।
मैले विपिन्नका सन्दर्भमा यो बेथिती अन्त्यका लागि कलम नचलाएको पनि होइन । नियामक निकाय धितोपत्र बोर्ड, नेप्से तथा सिडिएससीमा सयौँ पटक गएँ । यसको अतिरिक्त अर्थमन्त्री, अर्थ सचिवहुँदै प्रधानमन्त्री समक्षसम्म पनि समस्या लिएर पटक पटक पुगिनै रहेको छु ।
यो बेथिती कहिलेसम्म लगानीकर्ताले भोगिरहनु पर्ने हो ? कसले दिन्छ यो सबै प्रश्नको लगानीकर्तालाई जवाफ म प्रश्न सोध्न चाहन्छु ।
यदी गत बिहीबारको सेटलमेन्ट आज भोलिमै गरिँदैन र यसबाट झन लगानीकर्ता पीडित हुँदै जान्छन भने त्यसपछि घट्ने घटनालाई नियामक निकायले ठूलो मूल्य चुकाउनु पर्ने हुन्छ । देशैभरबाट लगानीकर्ता उठने छन् । र, नियामक निकायलाई त्यसको मूल्य ज्यादै महंगो पर्नेछ । त्यसैले समयमै हेक्का राखौँ ।
पाेखरेल नेपाल पूँजीबजार लगानीकर्ता संघका अध्यक्ष हुन्