खतिवडा अर्थमन्त्री बनेपछि कति आयो विदेशी लगानीको प्रतिबद्धता ?
काठमाडौं । उद्योग विभागको तथ्यांकलाई आधार मान्दा पछिल्लो १० वर्षमा नेपालमा २ खर्ब ७५ अर्ब रुपैयाँबराबरको विदेशी लगानीको प्रतिबद्धता आएको छ । १० वर्षको तथ्यांक हेर्दा औसतमा यो प्रतिवर्ष २७ अर्ब ४१ लाख रुपैयाँ हुन आउँछ ।
विदेशी लगानीको प्रतिबद्धताको तथ्यांकलाई हेर्ने हो भने यसबीचमा सबैभन्दा बढी आर्थिक वर्ष २०७१/७२ मा सबैभन्दा बढी देखिएको छ ।
उक्त वर्ष ६७ अर्ब ४५ करोड ५० लाख रुपैयाँ बराबरको विदेशी लगानीको प्रतिबद्धता आएको थियो । त्यसैगरी सबैभन्दा कम आर्थिक वर्ष २०६८/६९ मा जम्मा ७ अर्ब १४ करोड रुपैयाँ बराबरको लगानीको प्रतिबद्धता आएको थियो ।
२०७२ साल असोजमा नेपालको संविधान जारी भएपछि भने विदेशी लगानीको प्रतिबद्धता केही घटेको छ । आव २०७१÷७२ सालमा ६७ अर्ब रुपैयाँको विदेशी लगानीको प्रतिबद्धता देखिएकोमा त्यसपछिका लगातार २ वर्षमा विदेशी लगानीको प्रतिबद्धता १५ अर्बमा सीमित भएको थियो ।
त्यसपछि २०७४/७५ सालमा भने विदेशी लगानीको प्रतिबद्धता फेरि बढेर साढे ५५ अर्ब रुपैयाँ पुगेको थियो ।
हेर्नुहोस् तथ्यांक
खतिवडा अर्थमन्त्री भएपछि भने घट्यो
डा. युवराज खतिवडा २०७४ साल फागुनमा अर्थमन्त्रीमा नियुक्त भएका थिए । त्यसयता उनले २०७६ साल फागुन महिनासम्म दोस्रो पटक ६ महिनाका लागि अर्थमन्त्रीमा नियुक्त भए ।
खतिवडा अर्थमन्त्री भएको वर्ष आव २०७४/७५ मा ५५ अर्ब ६१ करोड रुपैयाँको विदेशी लगानीको प्रतिबद्धता आएको थियो ।
उक्त आवमा अर्थमन्त्री हुनुभन्दा अगाडि १० महिनामा जम्मा २० अर्ब रुपैयाँको विदेशी लगानीको प्रतिबद्धता आएको थियो भने अर्थमन्त्री भइसकेपछि बाँकी ४ महिनामा मात्रै ३५ अर्ब रुपैयाँको विदेशी लगानीको प्रतिबद्धता आएको थियो । जुन निकै सकारात्मक थियो ।
तर त्यसपछिका वर्षमा भने विदेशी लगानीको प्रतिबद्धता खुम्चिएर गएको देखिन्छ । खतिवडा मन्त्री भएर बजेट ल्याएको वर्ष आव २०७५/७६ मा २५ अर्ब ४७ करोड रुपैयाँ मात्रै विदेशी लगानीको प्रतिबद्धता आएको थियो भने आर्थिक वर्ष २०७६/७७ मा कुल ३८ अर्ब ८७ करोड रुपैयाँको विदेशी लगानीको प्रतिबद्धता आएको छ ।
त्यसैगरी चालु आवमा भदौ १८ गतेसम्म ६ अर्ब १५ करोड रुपैयाँ बराबरको विदेशी लगानीको प्रतिबद्धता आएको छ ।
पछिल्लो ४ वर्षलाई विश्लेषण गर्ने हो भने विदेशी लगानीको ठूलो हिस्सा पर्यटन क्षेत्रमा देखिएको छ । जसमध्ये काठमाडौंमा सबैभन्दा बढी होटल, रेष्टुराँ, स्पामा विदेशी लगानीको ओइरो नै लागेको देखिन्छ । जसमा सबैभन्दा बढी चिनियाँ लगानीकर्ताको आकर्षित पर्यटन क्षेत्रमा देखिएको छ ।
व्यवसायी भन्छन- नीतिका कारण विदेशी लगानी कम
निर्वाचनपछि प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा स्थायी सरकार बनेपछि धेरैको अपेक्षा थियो अब आर्थिक विकास दु्रतरुपमा हुन्छ । तत्कालिन समयमा सबैको ध्यान राजनीति र सरकार अस्थिर भएकै कारणले लगानी पर्याप्त मात्रामा नभित्रिएको व्यवसायीहरु तर्क गर्दथे ।
सरकारले यसबीचमा सरकारले लगानी सम्मेलन पनि आयोजना गर्यो तर त्यसपछि पनि विदेशी लगानी ल्याउन भने सकेन् । लगानी सम्मेलनमा नेपालमा लगानी गर्नका लागि राम्रो वातावरण बनेको भन्दै आकर्षित गर्न खोजे पनि विदेशी लगानीकर्ताहरु भने आकर्षित नभएको तथ्यांकले नै पुष्टि गर्छ ।
यसबीच सरकारले एकल विन्दु सेवा समेत शुरु गर्यो । लगानीकर्तालाई पाहुनाका रुपमा सत्कार गर्दै प्रक्रिया झन्झिटिलो नहोस भन्ने उद्देश्यले सरकारले उक्त सेवा शुरु गरेको थियो । तर पनि त्यो प्रभावकारी सावित भने हुन सकेन् ।
प्रधानमन्त्री ओलीको सरकार बनेपछि विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०७५ जारी गर्यो । जसमा विदेशी लगानी ल्याउनका लागि न्यूनतम ५ करोड रुपैयाँको विदेशी लगानी हुनुपर्ने व्यवस्था गर्यो ।
व्यवसायीहरु यही व्यवस्थाका कारणले साना आयोजनामा विदेशी लगानी आकर्षित हुन नसकेको बताउँदै आएका छन् । उनीहरु सरकारले लिएको नीतिका कारण विदेशी लगानी कम भएको बताउँदै आएका छन् ।
पछिल्लो १० वर्षमा कति उद्योगमा भित्रियो विदेशी लगानी ?