जनरल इन्स्योरेन्सका महाप्रबन्धक एस के तमोटमाथि युनाइटेड इन्स्योरेन्सको अनुसन्धान, यस्तो छ कारण



काठमाडौं । निर्जीवन बीमा कम्पनी जनरल इन्स्योरेन्सका महाप्रवन्धक एस के टमोटमाथि युनाइटेड इन्स्योरेन्सले छानबिन थालेको छ ।
२०५२ सालमा स्थापना भएको कम्पनी युनाइटेड इन्स्योरेन्सले स्थापना कालदेखि नै कम्पनीको उच्च व्यवस्थापनमा रहेर अहिले जनरल इन्स्योरेन्समा महाप्रवन्धक पदमा कार्यरत तमोटमाथि छानबिन थालेको हो ।

तमोट नेशनल, युनाइटेड र सिद्धार्थ इन्स्योरेन्समा काम गर्दै हाल जनरल इन्स्योरेन्समा महाप्रबन्धकको रुपमा कार्यरत छन् ।
तमोटमाथि युनाइटेड इन्स्योरेन्सले अनुसन्धान गरिरहेको छ । साथै, उनी कार्यरत रहँदा कम्पनीमा भएका कारोबार सम्बन्धी विषयमा अनुसन्धान गर्न बारम्बार ताकेता गरिरहेको छ ।

उनले युनाइटेडमा रहँदा गरेको कारोबारको अनुसन्धान गर्न कम्पनीले हालसम्म २ वटा पत्र पठाइसकेको छ । तर उनले त्यसबारेमा कुनै प्रकारको आधिकारिक प्रतिक्रिया नै नदिएको पाइएको छ ।

तमोट युनाइटेडमा नायव महाप्रबन्धक हुँदाको बीमा दावीको सेटलमेन्ट आजसम्म पनि पूर्ण रुपमा भएको छैन । जुन बीमा समितिको छानबिनको बिषय बन्यो । अदालत पुग्यो र फैसला समेत भयो । पछिल्लो अदालती फैसला अनुसार अब बीमा कम्पनीले बिमितलाई तोकिएको दावी भुक्तानी गर्नैपर्छ ।

अदालतले बीमितलाई तोकिएको दावी गर्ने आदेश दिनु भन्दा अघिदेखि नै युनाइटेडले उक्त दावीको प्रारम्भिक जिम्मेवारी लिएका त्यस समयका कर्मचारीलाई अनुसन्धानको लागि बारम्बार पत्राचार गर्यो । तर, उनीहरुले पत्राचारको कुनै प्रतिक्रिया दिएका छैनन् ।

कसरी शुरु भयो घटना ? यस्तो छ वास्तविकता

युनाइटेड इन्स्योरेन्स सञ्चालनमा आएको ८ वर्षपछि एक कम्पनीले अग्नि बीमा दावी गरेको थियो । धनुषा जिल्ला संखुवा महेन्द्रनगरमा रहेको एभरेष्ट पेपर मिल्स प्रालिले अग्नि बीमा दावी गरेको हो ।

तत्कालिन माओवादीले सञ्चालन गरेको सशस्त्र युद्धको क्रममा बम पड्काएर कम्पनीमा आगो लागेको एभरेष्टको दावी थियो । २०६० साल भदौ ६ गते कम्पनीमा आगलागी भएको थियो ।

एभरेष्ट पेपर मिल्सले अग्नि बीमा गराउँदा कारखाना र गोदाम घरको गराएको थियो । माओवादीले बम पड्काए पछि आगो लाग्दा कारखानामा मात्र जलेको त्यस समयमा गरिएको स्थलगत अनुमगनले देखाएको थियो ।

सोही कारण एभरेष्टले ११ करोड रुपैयाँ बराबरको क्षति भएको दावी गरेको थियो । तर पनि दावी योग्य रकम भने ६ करोड ५० लाख रुपैयाँ निर्धारण भएको थियो ।

त्यसमा पनि सर्भेयरले कम्पनीको कारखानामा भएका मेसिन र कच्चा पर्दाथमात्र नष्ट भएको पुष्टी गरेको थियो । सोही अनुसार एभरेष्ट पेपर मिल्सले पाउने दावी रकममा २ करोड रुपैयाँ कटौती भएको थियो ।

त्यस समयमा सर्भेमा खटिएका युनाइटेडका महाप्रबन्धक वीरेन्द्रमान श्रेष्ठ, नायव महाप्रबन्धक एस के तमोट र दावी विभाग प्रमुख बिके महर्जन थिए । महर्जन हाल पु्रडेन्सियल इन्स्योरेन्समा प्रमुख कार्यकारी निर्देशक छन् ।

सो कार्यमा सर्भेयर कम्पनीहरु जेवि वोडा र गणपति कन्सल्ट्याण्ट तथा एभरेष्ट पेपर मिल्सका प्रतिनिधि सहभागी थिए ।

सर्भे टोलीले कम्पनीमा आगलागीले मेसिन र कच्चा पदार्थमात्र नष्ट गरेको हुँदा सोही अनुसार मुल्यांकन गरी ४ करोड ६८ लाख रुपैयाँ दिन निर्णय गरेको थियो । बाँकी २ करोड रुपैयाँ क्षतिको मूल्यांकनमा नपरेको निचोड निकालिएको थियो ।

तर एभरेष्ट पेपर मिल्सले भने सर्र्भेयरको टोलीले निकालेको निचोडमा चित्त नबुझाइ बीमा समितिमा कम्पनी विरुद्ध उजुरी दिएको थियो ।
तर बीमा समितिले घटनाको विवरण र सर्र्भेको रिपोटको अध्ययन गरेर वास्तविक क्षतिअनुसार नै दावी भुक्तानी गर्नु पर्ने रकम ४ करोड ६८ लाख रुपैयाँ भएको निष्कर्ष निकालेको थियो ।

बीमा समितिमा उजुरी गर्दा एभरेष्ट पेपर मिल्सले आगलागीको क्षति मूल्यांकन भएको कागजात, सर्भेको रिर्पोट पेस गरेअनुसार निर्णय गरेको समितिले जनाएको छ ।

बीमा समितिको मनपरीः एउटै नियममा कसैलाई काखा कसैलाई पाखा, अयोग्यलाई कस्ले बनायो योग्य ?

तर एभरेष्ट पेपर मिल्सले समितिको निर्णयमा चित्त नबुझाइ पुनरावेदन अदालत पाटनमा मुद्दा दायर गरेको थियो । कम्पनीले उक्त समयमा पेस गरेको सर्भेको कागजपत्र फर्जी भएको बीमा कम्पनीले अदालतमा जानकारी दिएको थियो ।

 

जुन सर्भेको रिपोट मिल्सले अदालतमा पेस गरेको थियो । उक्त कागजात भने बीमा समितिमा पेस नभएको युनाइटेडमा एक अधिकारी बताउँछन् ।

‘बीमा समितिले छानबिन गर्दा मिल्सले जुन सर्भेको रिपोट पेस गरेको थियो त्यो फर्जी हो,’ ती अधिकारीले क्लिकमाण्डूसँग भने, ‘पेस भएको सर्भेको रिपोटमा सहभागीको हस्ताक्षर छैन भने कम्पनीको लोगो पनि फरक छ ।’

बिना लेटरहेड बनाइएको सर्भेको उक्त रिपोटको कारणले त्यस समयमा कम्पनीमा कार्यरत केही व्यक्तिको जवाफदेहिता माथि प्रश्न उठेको उनले बताए ।

त्यस कागजपत्रका आधारमा पुनरावेदन अदालत पाटनले एभरेष्ट मिल्सलाई युनाइटेडले बाँकी रहेको २ करोड रुपैयाँ भुक्तानी गर्नुपर्ने फैसला गरेको थियो ।

२०६७ साल वैशाख १३ गतेको उक्त फैसला चित्त नबुझेको भन्दै युनाइटेड इन्स्योरेन्स पुनः सर्वोच्च अदालत पुग्यो । सर्वोच्चले एभरेष्ट पेपर मिल्सकै पक्षमा गत असार २५ गते फैसला गरिसकेको छ ।

यससँगै अब युनाइटेडले बीमा वापतको रकम र त्यसको ब्याजसहित भुक्तानी गर्नु पर्ने वाध्यता छ । ‘बीमा ऐन २०४९’ अनुसार बीमा रकम समयमै भुक्तानी नभएमा सम्बन्धित बीमा कम्पनीले ब्याजसहित भुक्तानी गर्नुपर्ने हुन्छ ।

तमोटमाथि किन अनुसन्धान गर्न चाहन्छ युनाइटेड ?

एभरेष्ट पेपर मिल्सले पुनरावेदन अदालतमा पेस गरेको सर्भेको रिपोटमा उल्लेख गरिएका व्यक्तिहरुमा बीमा कम्पनीको तर्फबाट एस के तमोट, वीरेन्द्रमान श्रेष्ठ, बिके महर्जन रहेका थिए ।

उनीहरुलाई युनाइटेडले सर्भेमा संलग्न पक्षको बैठकको निर्णयमा लगाइएको कम्पनीको छाप, सहि र मितिको बारेमा छानबिन गर्न बोलाइरह्यो । उक्त बैठक २०६२ फागुन २४ गते बसेको थियो । तर बैठकको निर्णयका बारेमा भने स्वयम् यूनाइटेड इन्स्योरेन्सलाई बर्षौ पछि मात्रै थाहा हुन पुगेको छ ।

बीमा कम्पनीको विरुद्धमा जब मिल्सले अदालतमा मुद्दा दायरा गर्यो तब मात्रै उक्त बैठकको निर्यणबारे खुलासा भएको हो ।

जुन निर्णयमा मिल्सलाई ६ करोड रुपैयाँ दावी भुक्तानी गर्नुपर्ने उल्लेख गरिएको छ । त्यसमा गरिएको निर्णय र प्रयोग गरिएका बीमा कम्पनीको छापको बारेमा छानबिन गर्न युनाइडेटले एस के तमोट, वीरेन्द्रमान श्रेष्ठ र बिके महर्जनलाई सर्वोच्चमा मुद्दा चल्दाको समयदेखि नै पत्राचार गरेको थियो ।

पुनरावेदनमा मिल्सले कम्पनी विरुद्ध मुद्दा दायर गर्दाको बखतमा पनि मौखिक रुपमा उनीहरुलाई छलफलका लागि बोलाएको थियो ।
कम्पनीमा आन्तरिक छलफल तथा छानविनका लागि बोलाउँदा उनीहरुले सम्वन्य नै नगरेको क्लिकमाण्डूलाई प्राप्त युनाइटेडले तमोटलाई पठाएको पत्रमा देखिन्छ ।


क्लिकमान्डु