चुनावको मिति सार्ने निर्णयमा चन्द्र ढकालको असहमति, चण्डीको उदण्डता



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनको मिति सार्ने निर्णयमा एसोसिएट उपाध्यक्षसमेत रहेका बरिष्ठ उपाध्यक्षका उम्मेद्धार चन्द्र ढकालले असहमति जनाएका छन् ।

महासंघले बिहीबार दिउँसो पूर्वअध्यक्षहरुसमेतलाई बोलाएर पदाधिकारी बैठक गरेको थियो ।

चण्डीराज ढकाल बाहेकका पूर्वअध्यक्षहरुले सभासम्मेलन गर्न सरकारले लगाएको रोकलाई सम्मान गर्दै केही समयका लागि चुनाव स्थगित गर्न सुझाव दिएका थिए ।

पूर्वअध्यक्षहरुको रायको सम्मान गर्दै यही साउन २५ र २६ गतेका लागि तय भएको निर्वाचनको मिति स्थगन गरिएको महासंघ अध्यक्ष भवानी राणाले जानकारी दिइन् ।

‘सरकारले सभा-सम्मेलन गर्न लगाएको प्रतिबन्ध फुकुवा भएको १५ दिनभित्र निर्वाचन गर्ने निर्णय गरेका छौं,’ अध्यक्ष राणाले क्लिकमाण्डूसँग भनिन् ।

तर, पूर्वअध्यक्षहरुको रायसहितको पदाधिकारी बैठकको निर्णयमा चन्द्र ढकालले भने असहमति जनाएका छन् ।

‘तोकिएको मितिमै चुनाव गर्नुपर्छ, हामीलाई सरकारले पनि हेरिरहेको छ, भोलिका दिनमा कानूनी अड्चन पनि आउन सक्छन्,’ ढकालको भनाइ उदृत गर्दै बैठकमा सहभागी एक पदाधिकारीले भने ।

ती पदाधिकारीका अनुसार महासंघले सरकारको निर्णयलाई सम्मान गर्दै निर्वाचन स्थगन गरेको हो ।

‘निर्णयमा असहमति जनाउन पाइन्छ तर अध्यक्षलाई सार्वजनिकरुपमै ‘ओई भवानी तिम्रो हैसियत देखाइदिन्छु’ जस्ता शब्द प्रयोग गर्दै हातपातै गरौंला जसरी प्रस्तुत हुनुचाहीँ असोभनिय हो, अराजकता हो,’ एक पूर्वअध्यक्षले भने, ‘चण्डीजी कसरी प्रस्तुत हुनुभयो त्यो त तपाईंले देखिहाल्नु भो ।’

‘देश कोरोना र बाढीपहिरोले ग्रस्त छ, यस्तो बेलामा जसरी पनि निर्वाचन गर्नुपर्छ भन्ने पक्षमा चन्द्रजीहरु हुनुहुन्छ,’ स्रोतले भन्यो, ‘आजकै दिनमा सरकारले अनुमति दिनसक्ने अवस्था नरहेकाले पूर्वअध्यक्षसहित पदाधिकारीको बहुमतले यस्तो निर्णय लिएको हो ।’

बैठकभित्र जसरी भएपनि निर्वाच साउन २५ र २६ मै हुनुपर्छ भन्ने मत राखेका चण्डीराज ढकालले बैठक सकिएपछि बाहिर आएर अध्यक्ष भवानी राणा र बरिष्ठ उपाध्यक्ष शेखर गोल्छामाथि जाइलागे ।

ठूल्ठूलो स्वरले कराउँदै चण्डी उफ्रिए पनि शेखर गोल्छा केही बोलेनन् । त्यसपछि चण्डी भवानी राणामाथि जाइलागे । राणाले तपाईंबाहेकका सबै पूर्वअध्यक्ष र पदाधिकारीको महुमतले निर्णय गरेको हो, तपाईंसँग भोटिङ राइट पनि छैन । तपाईंले भनेको हुनैपर्छ भन्ने छैन । असहमति राख्न पाउनुहुन्छ भन्दै चण्डीसँग प्रतिवाद गरिन् ।

‘बाहिर एजेण्डा सेटिङ गरेर ल्याउने अनि निर्णय भएको सुनाउने, तिमिहरुलाई जे मन लाग्छ त्यही गर्ने ? म पनि हेरौंला’ भन्दै चण्डीले चर्को स्वरमा आक्रोश व्यक्त गरे ।

बैठक कक्षबाट बाहिरीएर पत्रकारका अघि नै चण्डी तिमीहरुको हैसियत के हो ? निर्णयको माइन्यूट गरेको म पनि हेरौंला’ भन्दै चण्डीले अलि असोभनियरुपमा असन्तुष्टि पोखे ।

चण्डी चर्को स्वरमा कराउन थालेपछि वस्तुगततर्फका उपाध्यक्षका उम्मेद्धार उमेशलाल श्रेष्ठले थम्थम्याउँदै बाहिर लगे ।

बरिष्ठ उपाध्यक्षका उम्मेद्धार चन्द्र ढकालले बैठकभित्र असहमति राखेपनि बैठकबाहिर कुनै प्रतिक्रिया दिएनन् ।

बरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले पनि अध्यक्षले निर्णय सुनाउने भन्दै कुनै प्रतिक्रिया दिएनन् ।

पूर्वअध्यक्षहरु रविभक्त श्रेष्ठ, सुरज बैद्य, पशुपति मुरारकाले पत्रकारहरुसँग संक्षिप्त प्रतिक्रिया दिँदै सबैको रायअनुसार सरकारले सभासम्मेलन गर्न खुल्ला गरेको १५ दिनभित्र निर्वाचन गराउने निर्णय भएको जानकारी दिए । बैठकबाट बाहिरिएकाहरुकाे अनुहारले भित्र ठुलै रस्साकस्सी भएको बताउँथ्थाे !

‘निर्णयमा असहमति जनाउन पाइन्छ तर अध्यक्षलाई सार्वजनिकरुपमै ‘ओई भवानी तिम्रो हैसियत देखाइदिन्छु’ जस्ता शब्द प्रयोग गर्दै हातपातै गरौंला जसरी प्रस्तुत हुनुचाहीँ असोभनिय हो, अराजकता हो,’ एक पूर्वअध्यक्षले भने, ‘चण्डीजी कसरी प्रस्तुत हुनुभयो त्यो त तपाईंले देखिहाल्नु भो, हाम्रो लडाइँ चन्डी प्रवृत्तिविरुद्ध हाे।’

निर्णय भएपनि माइन्यूट हुन भने बाँकी नै छ ।

निर्वाचनमा पराजित हुन्छु भन्नेहरु चुनाव सार्न सक्रिय भएको वस्तुगततर्फका उपाध्यक्षका उम्मेद्धार उमेशलाल श्रेष्ठले बताए ।

बैठकमा निवर्तमान अध्यक्ष पशुपति मुरारका, विशिष्ट सदस्य एवं पूर्व अध्यक्ष चण्डिराज ढकाल, महासंघका पूर्व अध्यक्षहरू महेशलाल प्रधान, प्रदीपकुमार श्रेष्ठ, रविभक्त श्रेष्ठ, विनोदबहादुर श्रेष्ठ, कुशकुमार जोशी, सुरज वैद्य, वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, उपाध्यक्षहरू किशोरकुमार प्रधान, उमेशलाल श्रेष्ठ, चन्द्र प्रसाद ढकालको सहभागिता थियो ।  दिउँसो साढे २ बजे शुरु भएको बैठक साँझ साढे ५ बजे सकिएको थियो ।

गत जेठमा पनि महासंघमा निर्वाचनको मिति तोक्ने कि नतोक्ने भन्ने विषयमा ठूलो विवाद चर्किएको थियो ।


पुष्प दुलाल