यसपटक बोनस सेयरः गजेन्द्र विष्टको लेख
सेयर लगानीकर्ताका प्रेरणाका स्रोत पुँजी व्यवस्थापक पिटर लिन्च लगानी मन्त्रबारे सुझाव दिन्छन्, ‘एक हजार डलर लगानी गर्ने हो । र, सबै रकम डुब्यो भने तपाईंको एक हजार डलरमात्र गुम्नेछ । तर प्रतिफल आउन थाल्यो भने दश हजार डलर वा पचास हजार डलर पनि प्राप्त हुनसक्छ । त्यही संभावनाका लागि लगानीको जोखिम उठाउने हो ।’
तर सेयर बजार यस्तो जोखिमपूर्ण क्षेत्र हो, जसले जोसुकैलाई छक्याउने क्षमता राख्छ । यस क्षेत्रका घघडान अध्येता वा विश्लेषकहरु पनि बजारको भविष्यवाणी गर्न असफल हुन्छन् । खासमा बजारको आकर्षण र महत्व पनि यसमै छ । यो बेग्लै कुरा हो, सौभाग्यवश कोही ठीक समयमा प्रवेश गर्छन् । र, ठीक समयमा बाहिर निस्किन्छन् । तिनले कमाएका हुन्छन् । र, आफूलाई सही विश्लेषक ठान्न पुग्छन् ।
नेपालमा वि.सं २०५१ मा सय विन्दुबाटै शुरु बजार परिसूचक नेप्सेले पनि कहिले लगानीकर्ताहरुलाई निराश पार्दै झण्डै ३ दशकको अवधिमा न्यूनतम २९३ विन्दु र हौस्याउँदै १८८१ को उच्च विन्दुको इतिहास रचना गरेको छ ।
घटना र असर
वि.सं. २०७२ वैशाखमा नेपालले ७.८ र ६.६ रिक्टर स्केलका ठूला मुख्य भूकम्पसहित सयौं परकम्पनहरु व्यहोर्नुपर्यो । त्यसले करिव ९ हजार मानिसको ज्यान लियो भने २२ हजारभन्दा बढी गम्भीर घाइते भए । भूकम्पका कारण अर्थतन्त्रमा ६ खर्ब रुपैयाँभन्दा बढीको नोक्सानी भयो ।
केही समय घटेपनि सबैलाई चकित पार्दै भूकम्प गएको झण्डै १४ महिनाको अवधिमा बजार सूचक मापक नेप्सेले ऐतिहासिक छलाङ मार्दै १८८१ माथिको उचाई बनाएको थियो । यस अवधिमा बीच–बीचमा कयौंले कमाएका छन् । र, कतिले गुमाएका छन् ।
नेपालमात्र अपवाद होइन, सेयर बजारका यस्ता घटना अन्य मुलुकमा पनि थुप्रै छन् ।
आगामी दिन निकै जटिल र चुनौतीपूर्ण हुने भएकोले सरकारको आम्दानीलाई पनि सहयोग हुने, सेयर बजारलाई पनि मद्दत पुग्ने, कर्मचारीलाई पनि बोनस प्राप्त हुने, सेयरधनीलाई पनि प्रतिफल प्राप्त हुने र यसले अर्थतन्त्रमा नगद प्रवाह भई आर्थिक गतिविधिहरुको विस्तारमा सहयोग पुग्ने भएकोले प्राप्त आम्दानीलाई वितरण गर्न दिनुपर्ने हुन्छ ।
सन् १९९५ जनवरी १७ मा जापानको कोबेमा ७.२ रिक्टर स्केलको शक्तिशाली भूकम्प गयो र त्यसले करिव ६४२५ को ज्यान लियो । सेन्टर फर इण्ड्रष्टियल रिनोभेसन अफ कानसाईले भूकम्पका कारण १ खर्र्ब डलरको क्षति भएको तथ्यांक सार्वजनिक गर्यो । त्यसदिन टोकियो स्टक मार्केट नगण्य घट्यो । निर्माण सम्बन्धित कम्पनीको सेयरमूल्य अझ बढ्यो । एक हप्तासम्म बजारमा खासै फरक परेन । जनवरी २३ मा निक्केइ ५.६ प्रतिशतले घट्यो । त्यसपछि १० दिनमा ८ प्रतिशत र चौमासिकको अन्त्यमा १६ प्रतिशतले घट्यो ।
नोबेल पुरस्कार बिजेता अर्थशास्त्री रोबर्ट शिलर लेख्छन्, ‘अमेरिकी सेयर बजारको उतारचढावले यसपटक धेरैलाई चकित तुल्याएको छ । कोरोना भाइरसको शुरु हल्लासँगै जनवरी ३० देखि फेब्रुअरी १९ सम्म स्टाण्डर्ड एण्ड पुअर ५०० सूचक ३ प्रतिशतले वृद्धि भयो । त्यसपछि मार्च २३ सम्ममा ३४ प्रतिशतको ह्रास आयो र फेरि मार्च २३ यता ४२ प्रतिशतले वृद्धि भएको छ ।’
भाइरसको हल्लासँगै बजार बढ्यो, भाइरसको प्रभाव बढ्न थालेपछि आश्चर्यजनक ढंगले धेरै घट्यो र भाइरसले भयाबह रुप लिन थालेपछि फेरि बजार बढ्न थालेको छ । खर्बौ डलरका उत्थान प्याकेजले लगानीकर्ताहरुमा आशा पलाएको हुन सक्छ ।
नेप्सेको जिद्दी जोन
धेरै वर्षदेखि हजार अंकमुनि नझरेको नेप्से पछिल्लो समय १२ सयदेखि १६ सयको बीचमा फन्को लगाइरहेको छ । हिंसात्मक द्वन्द्व, संक्रमणकालको अन्त्य, संविधान निर्माण र स्थीर सरकारको अपेक्षामा पुरानो रेकर्ड तोडेर माथितिर जाने अनुमान र कोभिडको असरस्वरुप हजार अंक तल जाने विश्लेषणहरुलाई मिथ्या सावित गर्दै बजार तल पनि नजाने माथि पनि नजाने ‘जिद्दी जोन’ मा अल्झिरहेको छ ।
बोनस सेयर (स्टक डिभिडेण्ड) को विकल्पमा जाँदा सबैको हितको मिलनविन्दुमा पुग्न सकिन्छ । यसले बजार मूल्यलाई तल जान नदिएर सेयर बजारका बीसौं लाख लगानीकर्ताहरुलाई समेत निरन्तरको नोक्सानीबाट बचाउन सक्नेछ । प्रणालीबाट नगद बाहिर जान पनि सक्दैन । संस्थापक सेयरधनीहरुले पनि रुपान्तरण भएको सार्वजनिक सेयर होल्ड गरेर बसेको र त्यसमा फाइदा पुग्ने भएकोले खुसी नै हुनेछन् ।
सेयर बजारका सफल प्रेरणास्रोत भनिने अर्बपति वारेन बफेट हुन् वा पिटर लिन्च, राम्रो कम्पनीमा लगानी गरी लामो समय प्रतीक्षा गर्न सल्लाह दिन्छन् ।
तर नेपालमा छोटो समयमा लगानी गरी बाहिर निस्किने लगानीकर्ताले बढी लाभ लिने गरेको देखिन्छ । जो लामोे समय बजारमा रहन्छ, उसको पुँजी झण्डै पुरानै अवस्थामा फर्किन्छ, विहानैदेखि खालमा बसेको साँझको जुवाडेको जस्तो प्रवृत्ति र शैलीमा ।
नेपालमा पनि कोरोना फैलिने क्रमसँगै खुलेको बजारमा दुई दिन सर्किट लाग्ने गरी बढ्यो । फेरि त्यसरी नै सर्किट लाग्नेगरी घट्यो र अहिले क्रमिकरुपमा बढ्ने लयमा देखिन्छ । सेयरका लगानीकर्ताहरुले वितेको दुई अढाई बर्षयताको नेप्से उतारचढावको सम्पूर्ण दोष अर्थमन्त्री डा. युवराज खतिवडालाई दिने गरेका छन् ।
तर बजार असहिष्णु भनिएका वर्तमान अर्थमन्त्री डा. खतिवडाले लामो समयको अडानपछि लगानीकर्ताहरुले राखेका प्राय सबै मागहरु पूरा त गरिदिएका छन् । पहिला ढाड खुस्काइसकेपछि सुधार गरेकोले नै बजार तङिग्रन नसकेको उनीहरुको विश्लेषण रहेको छ ।
राष्ट्रियसभामा कार्यकाल सकिएसँगै जब उनी पदमुक्त हुन्छन् भन्ने हल्ला फैलियो, त्यसपछि बजार बढ्दै गएर नेप्से १६ सय अंकमाथि पुग्यो । फेरि उनको कार्यकाल लम्बिएसँगै पुरानै लयमा बजार घट्न थाल्यो । तर बजार माथि नजाने थुप्रै कारणहरु जिम्मेवार छन् ।
बजार फेरि बढ्दो क्रममा
पुँजी बजारलाई अर्थतन्त्रको ब्यारोमिटर मान्ने हो भने त अहिलेको निराशापूर्ण अवस्थामा लगानीकर्ताहरुले ठूलै जुवा खेलिरहेका छन् भन्नुपर्ने हुन्छ । तर नेपालको सेयर बजारमा तथ्यगत विश्लेषणभन्दा बढी हल्लाले भरपूर कच्चा विश्लेषण (लेमेन आइडिया) ले बढी मात्रामा काम गरिरहेको छ ।
अर्थतन्त्र राम्रो होला भन्ने भन्दा पनि लगानीकर्ताहरु फेरि पनि अर्थमन्त्री खतिवडा पुनः चाँडै पदमुक्त हुँदैछन्, बजारमा तरलता बढ्दैछ । र, यसले सेयर कर्जालाई सहज बनाउने, निक्षेप ब्याजदर घट्ने र न्यूनतम बिन्दूमा झरेको बजार माथितिर जानेछ, छिट्टै प्रतिफल पनि आउन सक्नेछ भन्ने विश्लेषणका आधारमा लगानी गर्न थालेका छन् । बजारमा भैरहेको दैनिक झण्डै १ अर्बको कारोबारले यस्तै देखाउँछ । उनीहरु जनस्वास्थ्य र अर्थतन्त्रमा पर्ने कोभिडको असरका बारेमा त्रसित देखिँदैनन् ।
नेपालमा छोटो समयमा लगानी गरी बाहिर निस्किने लगानीकर्ताले बढी लाभ लिने गरेको देखिन्छ । जो लामोे समय बजारमा रहन्छ, उसको पुँजी झण्डै पुरानै अवस्थामा फर्किन्छ, विहानैदेखि खालमा बसेको साँझको जुवाडेको जस्तो प्रवृत्ति र शैलीमा ।
नेपालको सेयर बजार अहिले पनि बैंक तथा वित्तीय संस्थाकै बाहुल्यमा चलेको छ । यस क्षेत्रमा भएको सुधारसँगै हौसिने र नियन्त्रणसँगै हतोत्साह हुनेगर्छ । बैंक तथा वित्तीय संस्थाहरु ऐतिहासिक समस्यालाई राष्ट्र बैंकले दिएको निर्देशन बमोजिम आगामी असोज र पुससम्मको चिन्तालाई भविष्यको जिम्मा लगाउँदै संभव सबै उपाय र लचकता अपनाएर असार मसान्तलाई विदाइ गर्दैछन् ।
पुरानै रटान र अडान अनुसार गर्दा अर्थतन्त्रको निकै भयावह तस्बीर बाहिर आउनेवाला थियो । सायद यो अवस्था अहिलेलाई टरेको छ । खासमा असारको समस्या असोज र मसान्तसम्मका लागि सरेको छ भन्दा पनि हुन्छ । आगामी आर्थिक वर्षको पहिलो छ महिना रोगसँग लड्दै विताउने, त्यसपछिको छ महिना आर्थिक गतिविधिहरुको उत्थान हुने र पहिलो छ महिनाको नोक्सानी समेत फिर्ता हुने अपेक्षा धेरैले गरेका छन् ।
पछिल्लो समयको संकटसँगै अर्थतन्त्रको वास्तविक अवस्था कस्तो हुनेछ भनेर कसैले पनि एकिनसाथ भन्न सक्ने अवस्था छैन । त्यसैले ठूला लगानीकर्ता जोखिम लिने मूडमा देखिएपनि अहिले विशेषगरी साना लगानीकर्ताहरुले केही समय पर्ख र हेरको स्थितिमा नै बस्नु उपयुक्त हुनेछ ।
लगानीकर्ताको अपेक्षा
बैंक तथा वित्तीय संस्थाको कर्जा लगानी सीमा सम्बन्धी राष्ट्र बैंकको व्यवस्था (एलटीभी) का कारण सेयर बजारले प्रतिकूल अवस्थामा पनि उक्त मौद्रिक अधिकारी तथा अन्य नीति निर्माताहरुको ध्यान खिच्न सकेको देखिँदैन ।
तर बैंक तथा वित्तीय संस्थाको कर्जा असूली र अर्थतन्त्रलाई चलायमान गर्नका लागि ऐतिहासिक घोषणाको अपेक्षा गरिरहेका छन् ।
विशेषगरी यसपटक लगानीकर्ताहरुले राष्ट्र बैंकबाट पुँजी खर्च नहुने सित्तैको नीतिगत सहयोग खोजेका छन् । त्यो भनेको बैंक तथा वित्तीय संस्थाहरुको प्रतिफल वितरण नै हो । सिंहदरबार र वालुवाटारमा बैंकको लाभांश रोक्ने चर्चाले लाखौ लगानीकर्ताहरुलाई निराश बनाएको छ ।
कतिपय अप्ठ्यारो अवस्थामा रहेका बैंकहरुलाई पनि यो सुविधाले चिठ्ठा पर्ने निश्चित छ । तर लगानीकर्ताहरुले यसैका आधारमा विश्लेषण गर्नु उपयुक्त हुने छैन ।
बैंक तथा वित्तीय संस्थाहरु अघिल्लो बर्षदेखि पूर्णरुपमा एनएफआरएस प्रणाणी अन्तर्गत कुल ब्याज आम्दानीलाई नाफामा हिसाव गर्न बाध्य छन् । पहिला जस्तो नगद आम्दानीलाई मात्र असूली मान्ने प्रथा हटेको छ । यसो गर्दा बैंकहरु असूल नभएको ब्याजमा समेत सरकारलाई कर तिर्नुपर्ने र कर्मचारीलाई पनि बोनस वितरण गर्नुपर्ने बाध्यतामा छन् ।
कोभिडको प्रकोप र लकडाउनका बीच ब्याज असूल हुँदैन र भएको छैन भन्ने स्पष्टै छ । सामान्य अवस्थामा भए असूल नभएको कर्जाको गुणस्तरमा आएको ह्राससँगै कर्जा नोक्सानी व्यवस्था गर्नुपर्ने हुन्थ्यो ।
तर सेवालाई कतिपय अवस्थामा निशुल्क गरिएको र ब्याजको केही प्रतिशत छुट दिनुपरेकोले आम्दानीमा केही नकारात्मक प्रभाव परेपनि राष्ट्र बैंकले दिएको छुट र सहुलियतका कारण असार मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाहरुले कागजी असूली पहिलाभन्दा पनि राम्रो बनाएको हुनुपर्छ ।
कतिपय अप्ठ्यारो अवस्थामा रहेका बैंकहरुलाई पनि यो सुविधाले चिठ्ठा पर्ने निश्चित छ । तर लगानीकर्ताहरुले यसैका आधारमा विश्लेषण गर्नु उपयुक्त हुने छैन ।
त्यसैले आगामी दिन निकै जटिल र चुनौतीपूर्ण हुने भएकोले सरकारको आम्दानीलाई पनि सहयोग हुने, सेयर बजारलाई पनि मद्दत पुग्ने, कर्मचारीलाई पनि बोनस प्राप्त हुने, सेयरधनीलाई पनि प्रतिफल प्राप्त हुने र यसले अर्थतन्त्रमा नगद प्रवाह भई आर्थिक गतिविधिहरुको विस्तारमा सहयोग पुग्ने भएकोले प्राप्त आम्दानीलाई वितरण गर्न दिनुपर्ने हुन्छ ।
अन्य मुलुकमा भएका घट्नाबाट तरंगित भएर लाभांश वितरणमा रोक लगाउन पुगियो भने उल्लेखित चारै पक्षलाई नोक्सानी हुनसक्छ । आम्दानीलाई वितरण गर्न नपाइने हो भने जेखिमपूर्ण कर्जामा नोक्सानीको व्यवस्था गरी बैंक तथा वित्तीय संस्थाहरुले नाफा कम देखाउन सक्नेछन् ।
बरु बोनस सेयर (स्टक डिभिडेण्ड) को विकल्पमा जाँदा सबैको हितको मिलनविन्दुमा पुग्न सकिन्छ । यसले बजार मूल्यलाई तल जान नदिएर सेयर बजारका बीसौं लाख लगानीकर्ताहरुलाई समेत निरन्तरको नोक्सानीबाट बचाउन सक्नेछ ।
प्रणालीबाट नगद बाहिर जान पनि सक्दैन । संस्थापक सेयरधनीहरुले पनि रुपान्तरण भएको सार्वजनिक सेयर होल्ड गरेर बसेको र त्यसमा फाइदा पुग्ने भएकोले खुसी नै हुनेछन् ।
(लेखक विष्ट नेपाल आर्थिक पत्रकार समाज (सेजन)का पूर्वअध्यक्ष हुन्)