७% को आर्थिक वृद्धि हासिल गर्न मौद्रिक नीतिले कर्जा विस्तार गर्नुपर्छः प्रद्युम्न पोखरेलको विचार

2.9k
Shares

मौद्रिक नीतिको उद्देश्य नै आर्थिक वृद्धि राम्रो बनाउने, कर्जाको विस्तार गर्ने मूल्य वृद्धि नियन्त्रणलगायतका क्षेत्रमा व्यवस्था गर्नु हो ।

अहिले हामीले समष्टिगत आर्थिक सूचांक हेर्दा ३/४ वटा विषयहरु महत्वपूर्ण छन् । २०७६/७७ को कुल ग्राहस्थ उत्पादनको प्रक्षेपण हेर्दा विगत ४ वर्षयताकै तल छ ।

नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक मुलकको समष्टिगत आर्थिक तथ्यांक अनुसार चालु आर्थिक वर्षको १० महिनामा आर्थिक वृद्धि २.३ प्रतिशतमात्रै छ ।

राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक हेर्दा बैशाख मसान्तसम्म कुल ३५ खर्ब ९२ अर्ब रुपैयाँ निक्षेप पुगेको छ । जुन गतवर्षको सोही अवधिको तुलनामा ५ सय २९ अर्ब रुपैयाँले बढेको छ ।

कर्जातर्फ हेर्दा सो अवधिमा ३१ खर्ब ८३ अर्ब रुपैयाँ छ । जुन गतवर्षको सोही अवधिको तुलनामा ३७२ अर्ब रुपैयाँले मात्र बढेको छ । पहिले निक्षेप र कर्जाको वृद्धिदर बराबर हुन्थ्यो अथवा कर्जाको वृद्धिदर धेरै हुन्थ्यो ।

तर अहिले कर्जा लगानी थोरै भएर तरलता बढी भइरहको छ । आवश्यकताअनुसार कर्जा जान सकिरहेको छैन् । यसको प्रत्यक्ष प्रभाव सरकारको राजश्व संकलनमा परेको छ ।

कर्जाको प्रवाह बढाउदा उत्पादनशील क्षेत्र विषेश गरी कृषिमा लगानी बढाउन सकियो भने मुलक कृषिमा आत्मनिर्भर हुन्छ । यो सबै विषयलाई पुनर्विचार गर्नेे मौद्रिक नीतिको अहिले आवश्यक छ ।

पछिल्लो ३/४ वर्षयता मुलुकको अर्थतन्त्रको सम्पूर्ण सूचकलाई हेर्ने हो भने हाम्रो देशमा सबैभन्दा धेरै कर्जाको विस्तार हुनुपर्छ भन्ने स्पष्ट देखिन्छ ।

आर्थिक क्रियाकलापहरु बढीभन्दा बढी हुनुपर्छ भन्ने स्पष्ट देखिन्छ । यो सबैलाई सहयोग गर्ने मौद्रिक नीति आउनुपर्छ ।

कोभिडको कारणले गर्दा रिपेमेन्टमा उत्पन्न समस्यालाई समाधान गर्ने नीति आउनुपर्छ । बैंक तथा वित्तीय संस्थाहरुको छलफलमा पनि राष्ट्र बैंक यो विषयमा सकारात्मक देखिएको छ ।

लकडाउनले गर्दा आर्थिक क्रियाकलापहरु धेरै बन्द भयो र लकडाउन खुकुलो भए पनि अझैपनि कतिपय सूचारु हुन सकिरहेका छैनन् । यो सबैलाई अध्ययन गरेर यसले उत्पन्न समस्यालाई सहजीकरण गर्ने मौद्रिक नीति आउनुपर्छ ।

अब निजी क्षेत्रतर्फ जाने कर्जा बढाउनुपर्छ । त्यसका लागि राष्ट्र बैंकले मौद्रिक नीतिमा सहजीकरण गर्ने नीति ल्याउन सीसीडी, सीआरआर, एसएलआरमा सहजीकरण गर्नुपर्छ । साथै पुनरकर्जाको ब्याजदर, कर्जाको पुनरतालिकीकरण तथा पुनरसंरचना, ब्याज पुँजीकरण, लोनलस प्रोभिजन लगायतमा सहजीकरण हुनुपर्छ ।

हाम्रो देश यदी कृषिमा आत्मनिर्भर बन्ने हो भने कृषिसँग सम्बन्धी संस्थाहरु खोल्नका लागि पुँजीको आवश्यकता पर्छ । कृषिसँग सम्बन्धित परियोजनामा लगानी गर्न बैंक तथा वित्तीय संस्थाहरु अगाडि आउनु पर्छ ।

बैंक तथा वित्तीय संस्थाहरुले कृषि क्षेत्रको उत्पादन तथा बजारीकरण सम्बन्धी काम गर्ने संगठित संघ संस्थाहरुमा बढाउन सक्यो भने कृषिमा हामी आत्मनिर्भर हुन सक्छौैं ।

तत्काल बैंक तथा वित्तीय संस्थामा तरलताको समस्या देखिन्न् तर आगामी आवको पहिलो त्रैमासपछि तरलताको दवाब पर्न सक्छ । त्यसका लागि पनि अब राष्ट्र बैंकले बाहिरबाट तरलता भित्र्याउन मौद्रिक नीतिमार्फत् सहजीकरण गर्नुपर्छ ।

असार मसान्तसम्म राष्ट्र बैंकले विकास बैंकहरुको निक्षेप र कर्जाको ब्याजदर अन्तर स्प्रेडदर ५ प्रतिशतसम्म ल्याउन निर्देशन दिएको छ । यसमा ब्याजदर अन्तर कम गर्नका लागि गणना गर्ने स्रोत सञ्चालन लागतलाई हटाएको छ ।

यसले भविष्यमा बैंकको शाखा विस्तार भएर सेवा दिनलाई निरुत्साहित गर्छ । सञ्चालन लागतलाई गणना गर्न नपाउँदा बैंकहरुले त नयाँ शाखा नै नखोल्ने भए ।

राष्ट्र बैंकको तथ्यांकअनुसार ६१ प्रतिशत नागरिकको बैंकमा खाता छ । यसलाई त हामीले बढाउनुपर्छ । तर बैंकहरुले नयाँ शाखा नखोल्दा यो बढाउन त सम्भावना घटेर जान्छ । त्यसकारण कारोबार बढाउनका लागि शाखाको संख्या बढ्नुपर्छ । तर शाखाको संख्या बढाउँदा सञ्चालन लागत बढ्छ ।

सञ्चालन लागतलाई भने राष्ट्र बैंकले ब्याजदर अन्तर गणना गर्दा हिसाब गर्न नपाउने प्रावधान गरेको छ । त्यसकारण वित्तीय पहुँच विस्तार गर्नका लागि भएपनि राष्ट्र बैंकले ब्याजदर अन्तर गणना गर्दा सञ्चालन लागतलाई गणना गर्ने व्यवस्था गर्नुपर्छ ।

मर्जरमा जाने बैंकहरुलाई कर्पोरेट करमा छुट दिने व्यवस्था हुनपर्छ । विकास बैंकहरु पनि एलसीको कारोबार गर्न पाउनु पर्छ । यसको कारणले बजारमा प्रतिस्पर्धा बढाउँछ । प्रतिस्पर्धा बढी हुँदा शुल्क कम हुन्छ र यसले उपभोक्तालाई फाइदा पुग्छ ।

राष्ट्र बैंकले यही असार मसान्तसम्म कल डिपोजिटलाई १५ प्रतिशतमा झार्नु पर्नेछ । आगामी वर्षमा हामीलाई बढीभन्दा बढी कर्जा विस्तार गर्नुपर्ने छ । त्यसकारण घटाउनुपर्ने कल डिपोजिटको प्रवाधानलाई २०७८ असार मसान्त कायम गरिनुपर्छ । यसले पनि कर्जा विस्तारलाई सहयोग गर्छ ।

आजभन्दा २/३ वर्ष अगाडि वाणिज्य बैंकहरुको स्तरमा राष्ट्रियस्तरका विकास बैंकहरुले आज काम गरिरहेका छन् । तर विकास बैंकहरुले सरकारी कारोबार गर्न पाउँदैनन् । सरकारी कारोबार विकास बैंकहरुले पनि गर्न पाउने व्यवस्था आगामी मौद्रिक नीतिमार्फत् हुनुपर्छ । यसले गर्दा विकास बैंकहरुलाई स्रोत व्यवस्थापनमा धेरै ठूलो सहयोग पुग्छ ।

यसैगरी, पहिलेको व्यवस्थाअनुसार जमानीमा ७ लाख रुपैयाँसम्म व्यक्तिगत कर्जाको परिमाणलाई १० लाख रुपैयाँसम्म गर्न सकिन्छ । यो गर्दा एसएमई कर्जा धेरै प्रवाह हुन्छ । साथै कृषिसँग सम्बन्धित १५ लाख रुपैयाँसम्मको कर्जालाई बेसरेटमा थप २ प्रतिशतमात्र र अन्य कुनै प्रकारका शूल्क लिन नपाउने अहिलेको व्यवस्था व्यवहारिक छैन ।

स-सानो कर्जामा बैंक तथा वित्तीय संस्थाको खर्चबढी हुन्छ । त्यसकारण त्यस्ता कर्जामा केही प्रतिशत शूल्क लिन पाउनुपर्छ । क्यापिटल एडुकेसी (पुँजी पर्याप्तता अनुपात) को गणाना विधिमा केही सहजीकरण गर्न सक्यो भने आगामी दिनमा कर्जा बढी जान सक्छ ।

राष्ट्रियस्तरको विकास बैंकहरुलाई सबै प्रकारको विद्युतीय भुक्तानीका कार्डहरु जारी गर्न अनुमाति छ । तर क्रेडिट कार्ड जारी गर्नका लागि भने अनुमति छैन।

राष्ट्रियस्तरका र राम्रा क्षेत्रीयस्तरका विकास बैंकहरुले पनि जारी गर्न पाउनुपर्छ । विकास बैंकहरुले १५ लाख रुपैयाँसम्मको खुद्रा कर्जापनि दिइरहेका छौं । क्रेडिट कार्डमा ५ लाख रुपैयाँ वा निश्चित दायरा तोकेर राष्ट्र बैंकले क्रेडिट कार्ड विकास बैंकहरुलाई पनि जारी गर्न दिनुपर्छ ।

यस्तै, मर्जरमा जाने बैंकहरुलाई कर्पोरेट करमा छुट दिने व्यवस्था हुनपर्छ । विकास बैंकहरु पनि एलसीको कारोबार गर्न पाउनु पर्छ । यसको कारणले बजारमा प्रतिस्पर्धा बढाउँछ । प्रतिस्पर्धा बढी हुँदा शुल्क कम हुन्छ र यसले उपभोक्तालाई फाइदा पुग्छ ।

सरकारले आगामी आर्थिक वर्ष ७ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य बजेटमार्फत् लिएको छ । यो आवमा २.३ प्रतिशतमात्र आर्थिक वृद्धि भएको छ । यसका कोरोनाको प्रभाव देखिएको कारणले हो ।

तर विगतका ३ वर्षलाई हेर्ने हो भने २०१६/१७ मा ७.७ प्रतिशत, २०१७/१८ मा ६.३ प्रतिशत र २०१८/१९ मा ६.८ प्रतिशतले जीडिपी वृद्धि भएको छ । अब आगामी आर्थिक वर्षमा ७ प्रतिशत वृद्धि गराउनका लागि कर्जाको प्रवाह बढाउनु पर्छ ।

कर्जाको प्रवाह बढाउदा उत्पादनशील क्षेत्र विषेश गरी कृषिमा लगानी बढाउन सकियो भने मुलक कृषिमा आत्मनिर्भर हुन्छ । यो सबै विषयलाई पुनर्विचार गर्नेे मौद्रिक नीतिको अहिले आवश्यक छ ।