कोभिडपछि घरमै बसेर कसरी काम गर्ने ?: सीए महेश गोदारको लेख
कोरोना भाइरसको महामारीका कारण, प्रमुख सहर बन्दाबन्दीमा छन् । सबै आन्तरिक र बाह्य हवाई उडान स्थगित भएका छन् ।
सरकारी कार्यालय बन्द छन्, उद्योगधन्दा चौपट छन्, अन्तर्राष्ट्रिय सिमानाहरू बन्द छन् र पूरै अर्थतन्त्र शिथिल छ । तर पनि घातक भाइरस द्रुत र व्यापकरूपमा फैलिरहेको छ । यसले ठूलो संख्यामा व्यक्तिहरूको ज्यान लिइरहेको छ ।
नेपालमा पनि कोभिडले पारेको असरको अवस्था फरक छैन । सरकारले संक्रमणको श्रृंखलालाई तोड्न कडा सामाजिक दूरीको उपायहरू लगाएको छ ।
मानिसहरु आफ्नो दैनिकी अनुरुप अफिस र आफ्नो व्यापार स्थलसम्म पुग्न सकेका छैनन । यस्तोमा घरबाट काम कसरी गर्न सकिन्छ भन्ने अवधारणाले व्यापक रुपमा चर्चा परिचर्चा शुरु भएको छ ।
खासगरी वर्क फ्रम होमको अवधाराणा विकसित तथा पश्चिमा मुलुकमा धेरै लोकप्रिय भएको छ ।
अहिलेको माहामारीले सिकाएको पाठ के पनि हो भने साना तथा मझौला व्यवसायहरु चलायमान नहुँदा पूरै अर्थतन्त्र शिथिल हुँदो रहेछ र परम्परागत व्यवसायको शैलीले कठिन परिस्थितिमा साना तथा मझौला व्यवसाय सञ्चालन गर्न सम्भव हुँदो रहेनछ ।
त्यसैले पनि साना तथा मझौला व्यवसायलाई सूचना र प्रविधिको प्रयोग गर्दै अटोमेसन र डिजिटाइजेसन आगामी दिनमा नगर्ने हो भने हाम्रो जस्तो अर्थतन्त्र भएको देशले महामारी नियन्त्रण गर्न पनि सक्षम नहुने र अर्थतन्त्र पनि जोगाउन नसक्ने अवस्था रही रहने देखिन्छ ।
यो धेरै चूनौतीपूर्ण छ । घरबाट काम गर्न कठिनाइ छ । किनभने हाम्रो जस्तो कम विकसित देशमा साना तथा मझौल व्यापारमा पर्याप्त प्रविधि प्रयोग गरिएको छैन र व्यापार शहरी क्षेत्रभन्दा बाहिरबाट पनि सञ्चालित छन् ।
यी समस्याहरू बाहेक, इन्टरनेट, उपकरणहरूको प्रयोगको ज्ञान, र कर्मचारीहरूलाई प्रशिक्षणको अभावले पनि तत्काल पुँजी र प्रविधिको लगानी बिना यी क्षेत्रहरु घरबाट सञ्चालित गर्न सम्भव देखिदैन ।
यो कुरा पनि बिर्सनु हुँदैन कि सबै कर्मचारी र व्यवसायीसँग इलेक्ट्रोनिक उपकरण जस्तै कम्प्युटर, ल्यापटप, प्रिन्टर वा घरमा स्थिर इन्टरनेट छैन ।
साथै अनुसन्धानले के देखाउँछ भने कर्मचारीहरू घरबाट काम गर्दा डाटा चोरी र मालवेयर आक्रमण तथा अन्य प्रकारका साइबर सम्बन्धी जोखिमहरु उठाइरहेका हुन्छन् ।
कर्मचारी र व्यवसायीहरूले व्यक्तिगत ल्यापटप र अन्य उपकरण अफिसको नेटवर्कमा जडान गर्दा साइबर सुरक्षा जोखिममा परिरहेका हुन्छन ।
महामारी कहिले समाप्त हुन्छ ? यो अवस्था सामान्यमा फर्कनु अघि हामीले कति समय कुर्नु पर्नेछ ? हामी सबैले लकडाउनमा बिताएका दिन, हप्ता र महिनाहरूमा यी प्रश्नहरू आफैलाई सोध्यौं ।
हामी धेरैले अवस्था कहिले समान्य होला र आफ्नो दैनिकी सामान्य रुपमा फर्केला भनेर पनि चिन्तित भयौ पनि होला । तर हामीले यस्तो अवस्था पनि सामना गर्नुपर्ने हुन सक्छ जुन हामीले ‘सामान्य’ ठान्दछौं सदाका लागि परिवर्तन हुन सक्छ ।
आगामी दिनमा अनलाइन अर्डर, वेवनार, भर्चुअल मिटिङ जस्ता शब्दहरू हाम्रो दैनिक शब्दकोषको हिस्सा बन्न सक्दछन ।
त्यसैले अब व्यवसायीले टेक्नोलोजी पूर्वाधार, कार्यशैली र कर्मचारीहरूको नीतिमा नयाँ रणनीतिहरू ल्याउनुपर्नेछ जसले कर्मचारीहरूलाई घरबाट काम गर्न व्यस्त राख्छन् ।
सामान्यबाट ‘नौलो सामान्य’ को गन्तव्यमा पुग्न अनलाइन पूर्वाधार र जनशक्ति निर्माण गर्नुपर्ने देखिन्छ ।
वर्क फ्रम होम अथवा सामान्यबाट नौलो सामान्य निर्माण गर्न साना तथा मझौल व्यवसायीहरुले कम्तीमा पनि निम्न क्षेत्रमा लगानी र प्रविधिको विकास गर्नुपर्ने हुन्छ ।
क) घरबाट कामका लागि आधारभूत टेक्नोलोजी उपकरणहरू
टेक्नोलोजीले छिटो र समयमा काम गर्न सम्भव बनाउँछ । जसले मूख्य र गृहकार्यालय दुबैबाट काम गर्न पनि सम्भव बनाउँछ । उद्यमी र कर्मचारीसँग घरदेखि काम गर्नका लागि निम्न आवश्यक प्रविधि उपकरणहरू हुनुपर्छ ।
१) कम्प्युटर (ल्यापटप वा डेस्कटप)
२) इन्टरनेट
३) प्रिन्टर र स्क्यानर
४) मोबाइल
५) मोबाइलका लागि उपयुक्त एपहरू
ख) सञ्चार उपकरणहरू
कर्मचारीहरू घरबाट काम गर्दा आफ्नो बानी र कार्य शैलीमा परिवर्तन ल्याउनु पर्छ । टाढाबाट काम गर्नका लागि तलका सञ्चार उपकरणले प्रयोगले अफिसमै काम गरे जस्तो महसुस गराउन सक्छन् ।
१) हेडसेट
२) माइक्रोफोन (एउटा माइक्रोफोनको मद्दतले बैठकलाई अफिसको कोठामा भएको जस्तै महसुस गर्न सहयोग पुर्याउँछ ।)
३) च्याट सफ्टवेयर । स्याक वा गुगल ह्याङस्आउट, गुगल मिट वा जुम जस्ता एपहरूले कर्मचारीहरूलाई एक अर्कासँग सम्पर्कमा राख्न मद्दत गर्छन् ।
४) कन्फरेन्स सफ्टवेयर
गुगल, गुगल मीट वा जूम जस्ता सफ्टवेयरले कर्मचारीहरू र व्यवसायीलाई भर्चुअल मिटिङ गर्ने अवसर प्रदान गर्दछ । जसले आफूलाई प्रत्यक्ष अफिसमा भएको महसुस गराउँछ ।
५) मानव संशाधन सूचना प्रणाली एचआरआईएस, क्लाउड कम्प्युटिङ र स्टोरेज
ग) जवाबदेही उपकरण र प्रविधिहरू
कर्मचारीका गतिविधि निगरानी गर्ने उपकरणहरुले गर्न उचित उपकरण हुनुपर्दछ ताकि उनीहरू उत्पादक र कार्यालयको काममा संलग्न छन् भनेर सुनिश्चित गर्दछ ।
तलका उपकरणहरूले भौतिक दूरीको बावजुद सबैलाई जवाफदेही रहन मद्दत गर्दछ ।
१) क्लाउडमा आधारित समय ट्यापिङ
२) पूर्व निश्चित कार्य तालिका ( क्यालेन्डरहरू
यस्तो क्यालेन्डरले कर्मचारीहरूलाई समय व्यवस्थापान्, बैठकहरू र अन्य प्रोजेक्टहरू कार्यतालिकाको स्मरण गर्न र तदअनुसार कार्य गर्न मद्दत गर्दछ ।
३) रिपोर्टिङः प्रबन्धकहरू र कर्मचारीहरूले टाढाको कामको प्रभावकारिताको बारेमा पूर्वनिर्धारित तालिका अनुसार एकअर्कामा रिपोर्टिङ गर्नुपर्दछ । साथै हरेक कर्मचारीको कार्य सम्पादन गरी समय समयमा उनीहरुलाई उत्साहित र कामप्रति प्रेरित गरी रहनु पर्दछ ।
घ) घरबाट कामका लागि निरन्तर संलग्नताका लागि उपकरणहरु
कर्मचारीको शारीरिक र मानसिक अवस्था लक्ष्य अनुसार कार्य गर्न र कर्मचारीको उत्पादकत्व बढाउन महत्वपूर्ण हुन्छ ।
१) अलार्मः घरबाट काम गर्दा कर्मचारीलाई उनीहरूको सामान्य तालिका अनुसार रहन प्रोत्साहित गर्न र समयमा आवश्यक काम गराउनु मुख्य चूनौती हुन्छ ।
२) ड्रेस्स कोडः अफिसिअल ड्रेस
३) खानपान
४) अफिसमा जस्तै ब्रेकको पनि व्यवस्था हुनुपर्छ । साथै मिल्ने साथीसँग ब्रेक टाइममा अनलाइन कुरा गर्न गोपनीयतासहितको व्यवस्था हुनु जरुरी छ ।
माथि उल्लेखित घरबाट काम गर्नका लागि भनिएका उपकरण, प्रविधी र जनशक्तिको तालिममा साना तथा मझौला व्यवसायीहरुले लगानी गर्नुपर्ने देखिन्छ । जुन रकम र चेतनाको कारणले चुनौतिपूर्ण देखिन्छ ।
अवश्य पनि भविश्यको सामान्य अवस्था हिजोको जस्तो हुँदैन । कोभिडले अर्थतन्त्र र मानिसको स्वास्थ्यमा मात्रै होइन व्यवसायीको काम गर्ने पद्दतिमा पनि असर पर्नेछ ।
कुनै पनि साना तथा मझौल व्यवसायलाई घरबाट काम गर्न उपकरण र प्रविधीमा गर्नुपर्ने लगानी त्यती सजिलो र पहुँच छैन । त्यसैले सरकारले ल्याएको अर्थनीतिमा यस्ता प्रविधि र पद्दतिमा लगानी गर्न प्रोत्साहन गर्नुपर्ने थियो ।