लकडाउनले वातावरणमा सकारात्मक असर, ११ स्टेसन ग्रीन जोनमा



काठमाडौं । आज अर्थ डे । प्रत्येक वर्ष २२ अप्रिलमा सम्पूर्ण विश्वमा पृथ्वी दिवस मनाइन्छ । संयुक्त राष्ट्र संघले वर्षमा दिन र रात बराबरहुने समयलाई यो दिवस मनाउने घोषण गरेपछि सन् १९७० देखि पृथ्वी दिवस मनाउन सुरु गरिएको हो ।

पृथ्वीमा कार्बन उत्सर्ज तीव्र रुप भएको र वायु प्रदुषणको कारण मौसम तथा जल वायु परिवर्तनले गर्दा पृथ्वीको आयु घट्दै गएको हुँदा यसलाई बचाउँन कति आवश्यक छ भनेर संदेश दिन पनि विश्वभर पृथ्वी दिवस मनाइन्छ ।

प्रदुषणको कारणले तीव्र रुपमा मौसम र जलवायु परिवर्तनको असर नेपालमा पनि भइरहेको हुन्छ ।

केही महिनायता विश्वमा कोरोना भाइरसको संक्रमण फैलिएका २१० देशमध्ये ९० वटाभन्दा बढी देशमा लकडाउन घोषणा गरिएको छ । कोरोना भाइरसको कारणले गरिएको लकडाउनले अर्थ जगतमा नकारात्मक असर पारे पनि पर्यावरणमा भने सकारात्मक असर देखिएको छ ।

नेपालमा कोरोना भाइसर संक्रमणको जोखिम न्यूनिकरण गर्न सरकारले गत चैत ११ गतेबाट लकडाउन घोषणा गरेको थियो । देश लकडाउन भएसँगै प्रदुषण कम भई नेपालका धेरै स्थान वातावण स्वच्छताको मापनमा ‘ग्रीन जोन’मा परेका छन् ।

सरकारले राखेको प्रदुषण मापन केन्द्रका तथ्यांक अनुसार हाल नेपाल रहेका २० वटा स्टेसनमध्ये ११ वटा स्टेशन ग्रीन जोन अर्थात् पूर्णप्रदुषण मूक्त क्षेत्र र आधाभन्दा बढी प्रदुषण कम भएका २ वटा एल्लो जोनमा परेको वन तथा वातावरण मन्त्रालय तथा वातावरण विभाग वायु गुणस्तर निगरानीले जनाएको छ ।

साधारणतया अप्रिलको महिनामा डढेलो र सवारीको प्रदुषण बढ्ने भए पनि अहिले लक डाउनले सवारी साधान कम चलेर प्रदुषण घटेको वातावरण विभागका सूचना अधिकारी शंकरप्रसाद पौडेले बताए ।

‘कोरोनाको प्रभाव अन्य क्षेत्रमा नकारात्मक भएता पनि यसले वातावणीय स्वच्छता कायम गरेको छ,’ उनले भने ‘विषेशत सवारी साधनको कारण हुने प्रदुषण कम हुँदा पनि ग्रीन जोनमा धेरै स्टेशनहरु परिरहेका छन् ।’

अन्य वर्षहरुमा अप्रिल महिनामा डढेलो र धुलोको प्रदुषण अत्यधिक हुने भए पनि यो वर्षको अप्रिल महिना विश्वका धेरै देश कोरोना भाइसरको कारण लकडाउन हुँदा प्रदुषण कम हुदै गएको उनले बताए ।

तथ्यांकअनुसार हालसम्म काठमाडौंको शंखरपार्क र रत्नपार्क ग्रीन जोनमा छन् भने धुलीखेल, दाङ, लुम्बिनी, डीएमएच र पीयु पोखरा, धनकुटा, सौराह, सीमरा र नेपालगञ्ज ग्रीन जोनमा परेका छन् । काठमाडौं उपत्यकाका स्टेशनहरुमा भैसेपाटी र भक्तपुर भने एल्लो जोनमा छन् ।

वातावरण मन्त्रालयले तय गरेको मापदण्डअनुसार वायुमा धुलोको कण पीएम २.५ को मात्रा ४० माइक्रोमिलिलिटर भन्दा उच्च रहे मात्रै त्यसलाई वायु प्रदुषण भएको मानिन्छ ।

सामान्यतया पिएम २.५ भनेको धेरै सूक्ष्म कण हो । जसको व्यास २.५ माइक्रोनभन्दा कम हुन्छ । यी कणहरु श्वासप्रश्वास नली हुँदै फोक्सोसम्म पुग्न सक्छ । भारत, पाकिस्तानहरुका देशहरुमा पीएम २.५ को मात्रा मापदण्डमा तोकेको छ ।


क्लिकमान्डु