कोरोनाले नेपालको पर्यटन क्षेत्रमा पारेको असर र अब के गर्ने ?: दीपकराज जोशी
यतिबेला विश्वव्यापी रुपमा कोरोना भाइरसको महामारी छ । महामारीले समग्र विश्वलाई नै लकडाउनको अवस्थामा ल्याएको छ । गतिविधिहरु ठप्प हुँदा विकासमा निकै ठूलो असर परेको छ । जसरी मानवीय स्वास्थ्यलाई बचाउनका लागि विश्व एकजुट भएर लागेको छ । उसै गरी आर्थिक क्षेत्र बचाउनका लागि पनि सरकारहरु लागेका छन् ।
अहिले कोरोना भाइरसले ४ वटा कुराहरु जन्माएका छन् । आशंका, अनुमान, अपेक्षा र आशा ।
जसमा मानिसहरुलाई कति लामो समयसम्म यो महामारी जाने भन्ने आशंका छ । यसले निम्त्याउने समस्या कतिसम्म हुने हो आशंका छ । त्यस्तै कतिपयहरु जेठ महिना वा मे महिनाको अन्तिमसम्म यसको महामारी कम हुने अनुमान पनि गरेका छन् । साथै रोजगारदाता कम्पनीहरुले सरकारसँग र कामदारहरुले रोजगारदाता कम्पनीसँग कैयन अपेक्षा पनि गरेका छन् । साथै अन्तिममा महामारीको आयु सकेसम्म कम होस् र छिट्टै सामान्य अवस्थामा जनजीवन फर्कियोस भन्ने पनि आशा छ ।
यतिबेला जीविकादेखि जनवजीवनसम्म यसले पारेको प्रभाव ठूलो छ ।
कोरोना भाइरसको महामारीबाट सबैभन्दा बढी पर्यटन क्षेत्र परेको छ । जसमा विश्वका १८० देशहरुले अर्को देशमा जान र अर्को देशबाट आउनका लागि प्रतिबन्ध लगाएका छन् भने ६० भन्दा बढी देशले लकडाउन लगाएका छन् ।
पर्यटकहरु आवगनमा असर परेका हुनाले ट्राभल र हस्पिटालिटीमा यसले ठूलो असर पारेको छ । पर्यटकको आवतजावत कम हुँदा यसको असर नेपाल मात्रै होइन विश्वको पर्यटन क्षेत्रमा नराम्रोसँग परेको छ ।
नेपाल भ्रमण वर्ष २०२० शुरु हुँदै गर्दा हामीसँग के आशा थियो भने मुलुकमा राजनीतिक स्थिरता छ । पहिले सामाजिक र राजनीतिक मुद्दाले मात्रै स्थान पाउनेमा आर्थिक मुद्दामा पनि ठूलो बहस हुन थालेको छ भन्ने थियो । लगानी पनि बढेको थियो ।
तर, कोरोनाको महामारी देखिन थालेपछि भने आशा मरेर गएको छ ।
अहिले १३०० होटलहरु दर्ता भइ सञ्चालनमा छन् । जसमध्ये १३ जना जनशक्ति यस क्षेत्रसँग जोडिएको छ । जसमध्ये ५ देखि ७ लाख जनशक्ति प्रत्यक्ष रुपमा जोडिएका छन भने ३ लाख जनसशक्ति सिजन अनुसार जोडिएका छन् साथै ५ लाखभन्दा बढी जनशक्ति अप्रत्यक्ष रुपमा यस क्षेत्रसँग जोडिएका छन् ।
सन् २०१९ को तथ्यांक हेर्ने हो भने विश्वमा १ अर्ब ४० करोड पर्यटकले यात्रा गरेको थिए । जसले गर्दा हवाई कम्पनीहरु, यातायातका अन्य क्षेत्रहरु, पर्यटनले गर्ने खरिदमा, होटल क्षेत्रमा ठूलो व्यापार भएको थियो ।
हामीले सन् २०२० मा २० लाख पर्यटक ल्याउने भनिरहँदा पनि १५ लाख मात्रै आउँदा पनि त्यसले दिने आर्थिक गतिविधिको प्रभाव ठूलो हुन्छ । हामीले सन् २०२० मा ३ करोड होटलका बेड बिक्री गर्ने अपेक्षा गरेका थियौं । पर्यटकको नेपाल बसाइ औसत प्रति पर्यटक १५ दिन बनाउने योजना बनाएका थियौं ।
अहिलेको संकट मजदुरलाई मात्रै छैन । राज्यलाई पनि व्यवसायीलाई पनि । त्यसैले सन् २०२० लाई योगदानमा आधारित अर्थ व्यवस्था भएको मुलुक बनाउनुपर्छ । अहिले मैले देखेको समाधान भनेको एउटा कर्मचारीले २० हजार रुपैयाँ तलब पाउथ्यो भने ५ हजार राज्यले हालिदिने, १० हजार रोजगादाताले हालिदिने र अन्य स्रोतबाट बाँकी रकम तलब जुटाउन सकिन्छ ।
पर्यटन क्षेत्रमा कति क्षति ?
कोरोना भाइरसको महामारीका कारण नेपालको पर्यटन क्षेत्रमा १ अर्ब ६० करोड रुपैयाँ नोक्सान हुने अनुमान गरिएको छ । त्यसैले पर्यटन मन्त्रालयले यसमा सम्बोधन गर्दै राहतको प्याकेज ल्याउनु पर्छ । अहिले काम नपाएका कामदारलाई अन्य क्षेत्रमा पनि लगाउन सकिन्छ । त्यसका लागि मन्त्रालयले के गर्ने, नेपाल पर्यटन बोर्डले के गर्ने र व्यवसायीले के गर्ने भन्ने कुरा स्पष्ट हुनुपर्छ ।
अब के गर्ने ?
वल्र्ड ट्राभल एन्ड टुरिजम काउन्सिलले सबै देशका सरकारलाई खुला पत्र लेख्दै कोरोनाको महामारीको असरबाट निस्कनका लागि ३ वटा कुरा गर्न भनेको छ ।
१) कामदारलाई सबैभन्दा ठूलो मर्का परेका हुनाले वित्तीय प्याकेज ल्याउनुपर्छ ।
२) साना उद्यमहरुमा बिना ब्याजमा ऋण उपलब्ध गराउनुपर्छ ।
३) ठूलो ऋणीहरुलाई कर र किस्तामा छुट दिनुपर्छ ।
यतिबेला विमानस्थल, होटल, यातायातमा हामीले कति दूरी व्यवस्थापन गर्ने हो भनेर विश्वलाई जानकारी गराउनु पर्छ । यसका लागि संयन्त्र आवश्यक छ ।
महामारी सकिएपछि नेपालमा किन आउने भन्ने कुरा प्रचार गरिनु जरुरी छ । त्यसका लागि नेपाल जुडिबुटीको देश भएको र हावापानी पनि राम्रो भएकाले यसमा बढी फोकस गर्नुपर्छ । कोरोना विरुद्ध लड्नका लागि शरीरलाई आवश्यक पर्ने खनिज पदार्थ नेपालमा पाइन्छ भनेर प्रचारप्रसार गर्न सक्नुपर्छ । पर्यटन बोर्डले पनि विदेशीसँग समन्वय गर्ने, योगाा, मेडिटेसनका प्रचारमा पनि ध्यान दिनुपर्छ ।
कोरोनालाई अब महामारीका रुपमा भन्दा पनि अवसरका रुपमा सदुपयोग गर्नु जरुरी छ ।
अब यसमा ४ वटा कुराहरु गर्न सकिन्छ ।
जसमा सबैभन्दा शुरुमा आन्तरिक रुपमा बलियो बनाउनुपर्छ । आन्तरिक पर्यटनको विकासमा लाग्नु पर्छै ।
दोस्रो नम्बरमा नेपाल किन विशेष छ भन्ने हिसाबले विश्वमा प्रचार गर्नुपर्छ । जस्तै हिमाल आरोहरणका लागि, ट्रेकिङका लागि नेपाल उपयुक्त छ । वाइल्ड लाइफका लागि अफ्रिकामा मानिसहरु गए जस्तै नेपाल किन विशेष छ भन्ने कुरा प्रचार गरिनुपर्छ ।
त्यसपछि बिजनेश मेलाहरुमा पनि प्रबर्द्धन गर्न जरुरी छ । यसमा स्टार्ट अप व्यवसायलाई प्रोत्साहन गर्नुपर्छ । यसका लागि सरकारले नीति बनाउनुपर्छ ।
साथै चौथो नम्बरमा शुरुमा हामीले क्षेत्रीय पर्यटकहरु ल्याएर शुरुवात गर्नुपर्छ । अनि मात्रै विदेशका अन्य देशबाट पर्यटकहरु नेपाल आउँछन् ।
२०२२ को लक्ष्य
हामीले सन् २०२० लाई नेपाल भ्रमण वर्षका रुपमा मनाउने योजना अहिले स्थगित भइसकेको छ । यस्तो अवस्थामा हामीले सन् २०१९ लाई आधार बनाएर ३ वर्षे कार्ययोजनाका साथ काम गर्नुपर्छ ।
सन् २०२० लाई इयर अफ सर्भाभलका रुपमा लाग्नु पर्छ । कसरी यो क्षेत्रलाई बचाउने हो त्यसमा क्षमता लगाऔं । सन् २०२१ लाई इयर अफ रिभाइवल भनेर कम्तीमा २०१९ को अवस्थामा लैजाने काम गरौं र सन् २०२२ मा सन् २०२० मा लिएको लक्ष्य पूरा गर्ने हिसाबले इयर अफ थ्राइभलका रुपमा जान सक्छौं । यसभन्दा अगाडिको कमी कमजोरीलाई पनि हटाउँदै अझ राम्रो र सशक्त रुपमा अगाडि बढौं ।
(सोमबार आर्थिक पत्रकार समाज सेजनले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा जोशीले राखेको बिचार)