दोस्रो चरणको चक्रपथ विस्तार अन्योलमा मुआब्जा विवादले अल्झियो काम



काठमाडौं । राजधानीको चक्रपथ विस्तार अन्र्तगतको काम सरकारले समयमै नगर्दा अन्योलमा परेको छ ।

चिनियाँले चक्रपथ विस्तार गर्न लागेपनि नेपाल पक्षले मुआब्जा दिने, सडक छेउमा रहेका विजुलीको पोल, बिजुलीका साथै विभिन्न दुुरसञ्चार सेवा प्रदायक कम्पनीको तार नहटाएको, ‘साइड क्लियरेन्स’ गर्न नसकेको लगायतका काम समयमा नै नगर्दा चिनियाँ पक्षले काम गर्न नसकेको हो ।

यतिबेला चक्रपथ विस्तारका लागि विजुलीको पोल स्थानान्तरण गर्ने, सडक क्षेत्रमा रहेका संरचना हटाउने ‘साइड क्लियरेन्स’ अझै पनि सकिएको छैन ।

दोस्रो चरणको विस्तार अन्तर्गत उक्त क्षेत्रमा पर्ने रुख काट्ने काम सकिएको चक्रपथ सुधार आयोजनाका प्रवक्ता सुप्रिम चुडालले बताए ।

उनका अनुसार विधुत प्राधिकरणले विजुलीको पोल सार्ने काम सकेर तार तान्न थालेको छ । विद्युतको पोल सार्न तथा तार तान्नका लागि प्राधिकरणलाई १० करोड ७२ लाख रुपैयाँ पेस्की दिइएको चुडालले बताए ।

पाइपलाईन सार्ने काम पनि तीव्रताका साथ अघि बढिरहेका उनको भनाइ छ । नेपाल वन निगम लिमिटेड र खानेपानी लिमिटेडलाई भने पेस्की दिन बाँकी छ ।

दोस्रो चरणको विस्तारका लागि सडकको पन्छाउने काम चैत मसान्तभित्र सक्ने आयोजनाले लक्ष्य राखेको छ ।

दोस्रो चरण अन्तर्गत कलंकीदेखि चावहिल धोवीखोलाको पुलसम्मको ११.४ किलोमिटर चक्रपथ सुधार गर्न लागिएको हो । सडक बिस्तारका लागी नेपालतर्फबाट तयारी पूरा हुन नसेको कारण चिनियाँ प्राविधिक तथा कामदार नेपाल आउन सकेका छैनन् ।

कोटेश्वर कलंकी सडक खण्डमा समयमा तयारी नगर्दा चिनियाँ पक्षले अनावश्यक समय र लगानी बेहोर्नुपरेकोले यसपटक नेपालतर्फको सबै तयारी पूरा नभई काम शुुरु नगर्ने चिनियाँ पक्षले अडान राखेको छ ।

‘साइड क्लियरेन्स’मा यस्ता छन् समस्या

चक्रपथ विस्तारका लागी काठमाडौंको महाराजगञ्ज र स्वयम्भुनाथ क्षेत्रमा समस्या देखिएको छ । महाराजगञ्ज क्षेत्रमा जग्गा अधिग्रहणको काम हुन नसक्दा समस्या परेको हो । यो क्षेत्रको २ सय मिटर भित्र रहेका घर तथा टहरा हटाउने तथा मुआब्जा दिनु पर्ने छ ।

उक्त क्षेत्रको घर तथा टहरा हटाउन तथा मुआब्जा वितरण गर्नका लागी सरकारसँग बजेट माग गरिएको छ । मुआब्जा वितरणका लागी २ अर्ब ९ करोड लाग्ने अनुमान आयोजनाको रहेको छ । कलकीं देखि महाराजगञ्जसम्मको दुरी ८.२ किलोमिटर रहेको छ ।

गत पुष १४ गते बसेको मन्त्रिपरिषदको बैठकले चक्रपथ विस्तारका लागी उक्त क्षेत्रको जग्गा अधिग्रहणको निर्णय गरेको थियो तर प्रकृया भने अझै सुरु हुन सकेको छैन ।

त्यस्तै स्वयम्भुनाथ क्षेत्रमा रहेका चैत्य सडक सुधारको क्षेत्रमा पर्ने भएकाले उक्त क्षेत्रमा पनि समस्या देखिएको छ । सडक विस्तारको क्रममा उक्त स्थानको चैत्य स्थानान्तरण गर्नुपर्ने हुन्छ।

प्रवक्ता चुडालका अनुसार उक्त चैत्य स्थानान्तरण गर्नुपर्ने जानकारी सहितको पत्र चैत्य निर्माण समितिलाई पठाईसकिएको छ ।

उनका अनुसार उपयुक्त ठाउँ र चैत्य स्थानान्तरणका लागी लाग्ने रकम उपलब्ध गराईदिन समितिले माग गरेको छ । आयोजनाले यसको बारेमा के गर्ने भन्ने निर्णयमा भने पुगेको छैन ।

विस्तार क्षेत्रभित्र रहेको नयाँ बसपार्कको पुल हटाउन परिपत्र गरिसकेको पनि आयोजनाले जानकारी गराएको छ ।

चक्रपथ विस्तार अन्तर्गत दोस्रो चरणमा कलकीं धोबीखोला चावहिल खण्डको विस्तारका लागी चीन सरकारसँग सम्झौता र सबै कानूनी प्रकृयाहरु पुरा भइसकेको छ । जग्गा अधिग्रहण लगायतका कामहरु चैत मसान्तभित्र सकिने प्रवत्ता चुडाल बताउँछन् ।

यसअघि पहिलो चरण अन्तगर्त चक्रपथको कलकीं कोटेश्वर खण्ड अन्तर्गत १०.३ किलोमिटर सुधार गरिएका थियो । चिनियाँ कम्पनीले मुख्य सडक विस्तार गरेपनि सहायक सडकको बाँकी काम आयाजनाले गरिरहेको छ ।

आकाशे पुल निर्माणमा ढिलाइ

पहिलो चरणको सडक विस्तार अन्र्तगत चिनियाँ सरकारले निर्माण सम्पन्न गरेको कोटेश्वर कलकीं सडक खण्डको थप ६ ठाउँमा असार मसान्तभित्र आकाशे पुल निर्माण सम्मन्न गर्ने बताइए पनि अझै पूर्णता पाउन सकेका छैनन् ।

चिनियाँ कम्पनीले कोटेश्वर, ग्वार्को र बाग्डोलमा आकाशे पुल बनाएर सरकारलाई हस्तान्तरण गरेको थियो । चक्रपथ सुधार आयाजनाले सानेपा, महालक्ष्मीस्थान, बल्खु, एकान्तकुना बालकुमारी र सातदोवाटोमा आकाशे पुल निर्माण गर्ने भनेको थियो ।

एकान्तकुना, सातदोवाटो तथा बालकुमारीमा निर्माण भएको आकाशे पुल अन्तिम चरणमा पुगेका प्रवक्ता चुडाल बताउँछन । उनका अनुसार पुलको ९० प्रतिशतभन्दा बढी काम सकिएको छ ।

बाँकी ३ वटा सानेपा, महालक्ष्मीस्थान र बल्खुको डिजाइन रिभ्युको क्रममा छ । रिभ्यु भेरिफाइ गर्नका लागि ललितपूर सडक डिभिजनमा पठाएको उनले क्लिकमाण्डूलाई बताए ।

चिनियाँ ठेकेदारले सडक विस्तारको काम नसकी आकाशे पुलको काम अगाडि बढाउन नदिएकाले निर्माणमा ढिलाइ भएको उनले बताए । ९ करोड ३८ लाख रुपैयाँमा ४० मिटर लम्बाइको एकान्तकुना, बालकुमारी र सातदोबाटोका आकाशे पुलको निर्माण गर्नका लागि हिराचन÷महादेव खिम्ती÷अवाले विल्डर्सले ठेक्का पाएका थिए ।

सानेपाको पुल निर्माणका लागि महर्जन, पूर्णचण्डी, सप्तपथले ४ करोड २० लाख रुपैयाँ, वल्खुका लागि महर्जन, पूर्णचण्डी, ड्रामा जेभीले ४ करोड ६ लाख रुपैयाँ र महालक्ष्मीस्थानको निर्माणका लागि ४ करोड ३२ लाख रुपैयाँमा ड्रामा कन्ट्रक्सनले ठेक्का पाएका छन् ।


क्लिकमान्डु