कुखुराजन्य उद्योगमा १८ अर्बको नोक्सान, उत्पादन बढेपनि किसानले लागत पाएनन्



काठमाडौं । करिब करिब आत्मनिर्भर अवस्थामा पुगेको मुलुकको कुखुराजन्य उद्योगमा मात्रै १८ अर्ब रुपैयाँ भन्दा बढीको क्षमति भएको पाइएको छ । यो तथ्यांक पछिल्लो एक वर्षको हो ।

अण्डा, चल्ला र मासुमा वर्षभरि नै किसानले नोक्सानी व्यहोरेको र उनीहरुको लगानीमा चरम संकट देखा परेको पाइएको छ । त्यसो त पछिल्लो दिनमा मौलाएको सिण्डिकेटका कारण उपभोक्ताले समेत चर्को मूल्य तिर्नुपर्ने अवस्था आएको छ । कुखुराको मासुको मूल्य बढेर ४०० रुपैयाँको हाराहारीमा पुग्दा किसान भने झनै मर्कामा परेका छन् । यस्तै एउटा कोणबाट उत्पादन बढी भएपछि किसानले लागत मूल्य नपाएको पनि तर्क गरिएको छ ।

नेपाल पोल्ट्री महासंघका उपाध्यक्ष टीकाराम पोखरेलले कुखुराजन्य उत्पादनमा वर्षभरि नै किसानले नोक्सानी व्यहोरेको दावी गर्छन । उनका अनुसार गएको एक वर्षमा ५५ रुपैयाँ लागत पर्ने चल्ला सरदर प्रतिगोटा २५ रुपैयाँमा बिक्री भएको छ । देशभरमा सातामा उत्पादन हुने ३५ लाख ब्रोइलर चल्लाबाट प्रतिगोटा ३० रुपैयाँ घाटा सहनुपरेको छ ।

गएको एक वर्षमध्ये छ हप्ता लागत मूल्यमा बिक्री भए पनि बाँकी समय घाटामा बिक्री गर्नुपरेको पाइएको छ । यसरी हेर्दा एक वर्षमा ४ अर्ब ७२ करोड ५० लाख हाराहारी घाटा कृषकले व्यहोरेको सहजै देखिन्छ ।

यसैगरी सातामा १ लाख ५० हजार बिक्री हुने लेयर्स चल्लाबाट गत एक वर्षमा ३० करोड रुपैयाँ हाराहारी नोक्सान भएको छ ।

मासुमा दैनिक ९ लाख ५० हजार किलो बिक्री गर्दा सरदर प्रतिकिलो ३० रुपैयाँ घाटा व्यहोर्नुपरेको छ । त्यसबाट एक वर्षमा ९ अर्ब ७२ करोड रुपैयाँ नोक्सान भएको छ ।

नेपाल अण्डा उत्पादक संघका केन्द्रीय उपाध्यक्ष किरणभुषाल ओली नेपालमा दैनिक ५० लाख अण्डामा प्रतिगोटा ३ रुपैयाँ हाराहारी नोक्सान भएको पाइन्छ । अण्डाबाट १ वर्षमा ३ अर्ब ४ करोड ५० लाख रुपैयाँ नोक्सान भएको छ । देशभरमा ठूलो संख्यामा कृषक विस्थापित भएका छन् ।

यसरी कुखुराजन्य उत्पादनमा एक वर्षमा रु १७ अर्ब ७९ करोड हाराहारी नोक्सान भएको देखिन्छ । केहीले बैंकको ऋण सार्ने वा सोही बैंकमा ऋण थपेर टिकेको देखिन्छ ।

उत्पादित कुखुराजन्य पदार्थको एकातर्फ मूल्य नहुने अर्काेतर्फ दानाको कच्चा पदार्थको मूल्य बढ्दा थप समस्या उत्पन्न भएको छ । एक वर्षअघि प्रतिकिलो २९ रुपैयाँको मकै अहिले ३८ पुगेको छ भने ५६ रुपैयाँको भटमास ७२ रुपैयाँ सम्म पुगेको छ ।

चल्लाको लागत मूल्य प्रतिगोटा रु ५५, लेयर्स चल्लाको प्रतिगोटा रु ९०, अण्डा प्रतिगोटाको १० र मासु प्रतिकिलो ३३० देखि ४०० रुपैयाँ पर्ने देखिन्छ । बजारमा दानाको मूल्य ५३ देखि ६४ रुपैयाँ सम्म पर्ने गर्दछ ।

नेपालमा ३०८ ह्याचरी, एक हजारभन्दा बढी ठूला फार्म र ब्रोइलर कुखुरा पाल्ने साना फार्म १० हजारभन्दा बढी रहेको छ । यस क्षेत्रमा १ खर्ब १५ अर्ब लगानी छ । त्यसमध्ये आधाभन्दा बढी बैंकिङ लगानी रहेको छ ।

लगातारको मूल्य गिरावटपछि पछिल्लो समय लागत मूल्य धान्ने गरी व्यवसायीले मूल्य तोकेर बिक्री वितरण शुरु गरेका छन् । हाल अण्डाको फार्म मूल्य प्रतिक्रेट (३० वटाको) ३०५, मासु प्रतिकिलो रु ४०० र ब्रोइलर चल्ला ६५ एवं लेयर्स चल्ला ६० देखि ७० सम्म बिक्री भइरहेको छ ।

ब्रोइलर पालक किसानले जिउँदो कुखुराको मूल्य २०० देखि २२० रुपैयाँ सम्म मात्रै पाउँदै आएका छन् । मासुको मूल्य उच्च भएपछि किसानले जिउँदो कुखुराको उचित मूल्य पाउन सकेका छैनन् । बजारमा अन्य मासुको मूल्य उच्च भए पनि अण्डा र कुखुराको मासुको मूल्य कम भएको व्यवसायीको गुनासो छ ।


क्लिकमान्डु