स्प्रेडले नाफा घटेपछि डुबेको ऋण उठाउन नेपाल बैंक आक्रमक, ६५ जनालाई ३५ दिने अल्टिमेटम



काठमाडौं । स्प्रेडका कारण नाफा घटेपछि सरकारी लगानीको नेपाल बैंक डुबेको ऋण उठाउन आक्रमकरुपमा प्रस्तुत भएको छ । बैंकले एकैदिन ६५ जना ऋणीलाई ऋण तिर्न ३५ दिने अल्टिमेटम दिँदै सूचना नै प्रकाशित गरेको छ ।

पटक-पटक ताकेता गर्दा पनि कर्जा चुक्ता नगरेकोले ३५ दिनभित्र कर्जा चुक्ता गर्न अल्टिमेटमसहित बिहीबार सूचना प्रकाशित गरेको हो ।

तोकिएको समयभित्र कर्जा चुक्ता नगरे ऋणीहरु कालोसूचीमा पर्नेछन् । र, त्यसपछि धितो लिलामी गरी बैंकले आफ्नो लगानी र त्यसको ब्याज असूल गर्नेछ ।

नेपाल बैंकका प्रवक्ता प्रकाश कुमार अधिकारीले बैंकले अब खराब कर्जालाई पहिला जस्तो ब्याज बढी रहन्छ भनेर बस्ने अवस्था नरहेको बताए ।

‘अब नेपाल बैंकले १ वर्षभन्दा धेरै समय कुनै खराब कर्जा रहेको छ भने त्यसलाई हेरेर बस्दैन,’ प्रवक्ता अधिकारीले क्लिकमाण्डूसँग भने, ‘रिकोभरिमा एग्रेसिभ भएर अघि बढ्छौं ।’

बैंकले बिहीबार जारी गरेको सूचनामा उपत्यका भित्रका बैंकको शाखाबाट ऋण लिएर नतिर्ने ३१ जना व्यक्ति,फर्म तथा कम्पनी रहेको छ ।

बैंकको ललितपुरका विभिन्न शाखाबाट पाटन औद्योगिक क्षेत्र भित्रका १९ जना व्यक्ति रहेका छन् । यस्तै काठमाडौं भित्र पनि विभिन्न फर्म तथा व्यक्ति रहेका छन् ।

बकैंकबाट ऋण लिएर समयमा नै नतिर्नेमा उपत्यका, झापा, कपिलबस्तु, मोरङ, चितवन, रुपन्देही, पर्सा, धनगढी, सुुनसरी, मकवानपुर लगायत जिल्लाका रहेका छन् ।

२०७६ पुस मसान्तमा बैंकको खराब कर्जा २.६६ प्रतिशत रहेको छ । जुन गत आवको सोही अवधिको तुलनामा ०.१४ प्रतिशत कम हो । खराब कर्जामा सुधार आए पनि निक्षेपमा लिने र कर्जामा दिने ब्याजको अन्तर (स्प्रेड दर) का कारण बैंकको नाफा १८ प्रतिशतले घटेको छ ।

‘राष्ट्र बैंकले भनेअनुसार स्प्रेड कायम गर्दा नेपाल बैंकको ब्याज आम्दानी ८० करोड रुपैयाँको हाराहारीमा घटेको छ, जसको असर नाफामा देखिएको छ,’ बैंकका सीइओ कृष्ण अधिकारीले क्लिकमाण्डूसँग भने ।

०७५ पुस मसान्तमा १ अर्ब ६६ करोड रुपैयाँ नाफा कमाएको बैंकले ०७६ पुस मसान्तमा १ अर्ब ३५ करोड रुपैयाँ मात्रै नाफा कमाएको छ ।

‘स्प्रेड मिलाउनका लागि २/३ प्रतिशत रहेको बचतको ब्याजदर साढे ६ प्रतिशतसम्म पुर्यायौं,’ अधिकारीले भने, ‘तर, कर्जाको ब्याजदर भने बढाउन सक्ने अवस्था रहेन । यसरी ब्याज खर्च बढ्न जाँदा खुद ब्याज आम्दानी घटेको छ ।’

बैंकद्धारा सार्वजनिक चालु आवको दोस्रो त्रैमासिक वित्तीय विवरण अनुसार बैंकले सञ्चालन नाफा पनि २४.९८ प्रतिशतले घटेको छ । गत आवको पुस मसान्तमा २ अर्ब ३१ करोड २४ लाख रुपैयाँ सञ्चालन नाफा कमाएको बैंकले चालु आवको सोही अवधिमा सञ्चालन नाफा ५७ करोड ७८ लाख रुपैयाँले घटाएर १ अर्ब ७३ करोड ३४ लाख रुपैयाँमा सीमित गरेको हो ।

गत वर्षको ६ महिनाको तुलनामा बैंकले निक्षेप संकलन ३३.९० प्रतिशतले घटाउँदा कर्जा लगानी तर्फ भने ६.५३ प्रतिशतको वृद्धि देखिएको छ । बैंकले चालु आवको ६ महिनामा १ खर्ब १७ अर्ब २२ करोड ८७ लाख रुपैयाँ निक्षेप संकलन गरि ९८ अर्ब ४५ करोड ९६ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।

गत आवको सोही अवधिमा बैंकले १ खर्ब ७७ अर्ब २० करोड रुपैयाँ निक्षेप संकलन गरि ९२ अर्ब ४२ करोड १६ लाख रुपैयाँ कर्जा लगानी गरेको थियो ।

बैंकको निक्षेप संकलन घटेसँगै ब्याज आम्दानी पनि १३.३२ प्रतिशतले घटेको छ । गत आवको ६ महिनामा ३ अर्ब १६ करोड ७२ लाख रुपैयाँ ब्याज आम्दानी गरेको बैंकले चालु आवको सोही अवधिमा ४२ करोड २१ लाख रुपैयाँले घटेर २ अर्ब ७४ करोड ५० लाख रुपैयाँ मात्र ब्याज आम्दानी गरेको छ । बैंकको वितरण योग्य नाफा भने ६८ करोड ३७ लाख रुपैयाँ रहेको छ ।

यस्तै, चालु आवको पुस मसान्तसम्म बैंकको कष्ट अफ फण्ड ५.१९ प्रतिशत, प्रतिसेयर आम्दानी २७ रुपैयाँ ५७ पैसा, प्रतिसेयर नेटवर्थ २७७ रुपैयाँ र मूल्य आम्दानी अनुपात १०.०५ गुणा रहेको छ ।

पुस मसान्तसम्म बैंकको आधार दर ७.८२ प्रतिशत र स्प्रेड दर ४.४४ प्रतिशत रहेको छ । एक वर्षको अवधिमा बैंकले स्प्रेड दर घटाएको छ भने बेस रेट बढाएको छ ।

बैंकले सम्पत्ति शुद्धिकरण लगायत जोखिम व्यवस्थापनमा काम गरेको र सूचना प्रविधिमा खर्च बढाएको जनाएको छ । जसको असर पनि नाफामा देखिएको हो ।


क्लिकमान्डु