बाहिरी चक्रपथ: चर्चामा बित्यो २० वर्ष, कुन मोडालिटीमा बनाउने अहिलेसम्म टुंंगो छैन



काठमाडौं । २० वर्षअघि काठमाडौं उपत्यकामा बाहिरी चक्रपथ बनाउने परिकल्पना गरियो । उद्देश्य थियो, अव्यवस्थित रुपमा बढ्दो सहरीकरणलाई व्यवस्थित गराउनु ।

तर दुई दशक लामो समय वितिसक्दा पनि त्यो परिकल्पनाले अझै मूर्तरुप लिन सकेको छैन । बाहिरी चक्रपथ बनाउन प्रस्ताव गरिएका अधिकांश क्षेत्रहरु त्यतिबेला खुला र काठक्षेत्रकै रुपमा थिए । ती क्षेत्रमा यतिबेला सहरीकरणले छोइसकेको छ ।

२०५५/०५६ मै भौतिक योजना मन्त्रालयले गृहकार्य गरेको चक्रपथको निर्माण समयमै हुन्थ्यो भने काठमाडौंका जनताले अहिलेको जस्तो गाडीको जाम, खाल्डाखुल्डीले भरिएको सडक, जनसख्याको अत्यधिक चाप र अव्यवस्थित ढल निकासका कारण बर्षामा समस्या भोग्नु पर्ने थिएन ।

आयोजना निर्माण हुने चर्चा चलेयता कांग्रेस र कम्युनिष्टले संयुक्तरुपमा वा एक्लै पनि पटकपटक सरकारको नेतृत्व गरिसकेका छन् । तर कुनै पनि सरकारले यसबीचमा निर्माणको अग्रसरतामा चासो देखाएका छैनन् ।
कुनै न कुनै रुपमा बाहिरी चक्रपथ बनाउने योजना सुनाउन भने उनीहरुले भुलेका पनि छैनन् । तर काम भने कत्ति पनि भएको छैन ।

हल्ला चलेपछि सम्बन्धित क्षेत्रमा जग्गाको कारोबार अत्यधिक मात्रामा बढ्यो । जसले गर्दा अब सग्लो जग्गा भेट्नै मुस्किल मात्रै होइन, सरकारले जग्गा अधिग्रहण गर्न पनि कठिन हुने अवस्था आएको छ ।
भौतिक योजना मन्त्रालयले २० वर्ष अघि गृहकार्य गरेको बाहिरी चक्रपथ निर्माणे जिम्मा ०६२/०६३ मा बाहिरी चक्रपथ जग्गा विकास आयोजनालाई दिएको थियो । पछि काठमाडौं उपत्यका विकास प्राधिकरणले उक्त जिम्मेवारी पाएको थियो ।

पछिल्लो समय मंसिर पहिलो साताबाट बाहिरी चक्रपथ निर्माणको कार्य शुरु हुने भनिएको थियो । तर पनि काम भने अझै शुरु भएको छैन ।
मन्त्रिपरिषदको बैठकले गत असोज ६ गते आयोजना निर्माणका लागि चासो देखाएका ४ चिनियाँ कम्पनीमध्ये चाइना कम्युनिकेसन कन्ट्रक्सन (सीसीसी)सँग प्रस्ताव आह्वान गरी निर्माण प्रक्रिया शुरु गरिने लगानी बोर्डले बताएको थियो ।

२० वर्षअघि सडक विभागको सर्वेक्षणमा बढ्दो जनसख्यालाई ध्यानमा राखी व्यवस्थित सहर निमार्णका लागि बाहिरी चक्रपथको अवधारणा ल्याइएको थियो ।
बाहिरी चक्रपथ आयोजना शुन्यकै अवस्थामा रहेको आयोजना प्रमुख दिलीपसिँह भण्डारीले बताए । उनका अनुसार सहरी बिकास मन्त्रालयले लगानीको सुनिश्चितता नभएसम्म काम अघि नबढ्ने भनेकाले काम रोकिएको हो ।
सरकारको प्रथामिकतामै नपरेकाले आयोजना शुरुमा ढिलाइ भएको उनले बताए ।

लगानी बोर्डले बोर्ड र काठमाडौं बिकास प्राधिकरणले प्राविधिक प्रतिवेदन तयार पारिसकेको छ । बोर्डका प्रवक्ता बलराम रिजालका अनुसार सहरी विकास प्राधिकरणको नेतत्व परिवर्तनले पनि काममा ढिलाइ हो ।
मंसिरको पहिलो साता नै प्रस्ताव आह्वान गर्ने बताए पनि प्राविधिक विषय भएकाले थप अध्ययन गर्नुपर्ने भएकाले काममा ढिलाइ भएको अर्याललको भनाइ छ ।

‘मंसिरमा सम्झौताको तयारी त भएको हो तर प्राविधिक पाटोमा अध्ययन गर्नुपर्ने भएकाले काम अघि बढ्न सकेको छैन,’ उनले भने ।

लगानी बोर्डले लगानी सम्मेलन २०१९ मा बाहिर चक्रपथ निर्माणका लागि आशयपत्र पेश गर्न सकिने सूचीमा राखेको थियो । जसअनुसार चार चिनीयाँ कम्पनीले लगानीका लागि चासो देखाएका थिए । जसमध्ये मापदण्ड पूरा गरेको आधारमा चिनियाँ कम्युनिकेशन कन्ट्रक्सन (सीसीसी)लाई बोर्डले सिफारिस गरेको थियो ।

बोर्डको सिफारिसका आधारमा गत असोज ६ गते सरकारले उक्त कम्पनीलाई छनोट गरी प्रस्ताव माग्ने निर्णय गरेको थियो ।

छनोट भएको कम्पनीलाई ६० दिनभित्र प्रस्ताव माग गर्ने र ४५ दिनभित्र छनोट भएको कम्पनीले प्रस्ताव पेश गरिसक्नुपर्ने बताएको थियो । मंसिरको पहिलो साता नै बोर्डले प्रस्ताव माग गर्ने बताएको भए पनि माग भने अझै गरेको छैन ।

सरकारी निजी साझेदारी (पीपीपी मोडल) मा निर्माण हुने यो आयोजनाको अनुमानित लागत २ अर्ब ११ खर्ब हुने बोर्ड बताउँछ । ७२ किलोमिटर लम्बाइ रहेको बाहिरी चक्रपथले काठमाडौंका ३ वटै सहर काठमाडौं, ललितपूर र भक्तपुरलाई जोड्ने छ ।

चक्रपथले उपत्यकाका चोभार, गाम्चा, सतुङ्गल, पुरानो नैकाप, सितापाइला, पौयाँटार, धर्मस्थली हलचोक, टोखा सरस्वती, चपली, चुनिखेल, गोकर्णेश्वर, नयाँपाटी, थलि डाँछी, दुवाकोट, पकाउनेपाटी, खरिपाटी, जगती, सुडाल, सिर्जनानगर, दधिकोट, लुभु, विसन्डोल, हरिसिद्धी, धापाखेल, बाग्मती, खोकना, हुदै चोभार जोड्ने छ ।

५० मिटर चौडाइ हुने चक्रथपथमा दाँयाबायाँ २ सय ५० मिटरमा जग्गा विकास कार्यक्रम सञ्चालन हुनेछ ।

जग्गा विकास कार्यक्रम अन्तर्गत हालसम्म १४ वटा आयोजनाबाट ५ हजार ८१९ रोपनी जग्गामा काम सम्पन्न भइसेकेको छ । सम्पन्न भइ सेवा सुविधा अन्तर्गत सञ्चालित आयोजनामा कुलेश्वर आवास आयोजना ५२१ रोपनी र गल्फुटार आवास आयोजन २१३ रोपनी छन ।

त्यस्तै, जग्गा एकीकरण अन्तर्गत डल्लु आवास आयोजना ३९६ रोपनी, नयाँबजार जग्गा एकीकरण आयोजना ८४० रोपनी, गोँगबु आवास योजना २८२ रोपनी, चावहिल गोपिकृष्ण जग्गा एकीकरण २०१ रोपनी, बाग्मती फाँट ज्वागल क्षेत्र जग्गा एकीकरण १९७, कीर्तिपुर (प्रथम) एकीकरण १०७, कमल विनायक (प्रथम) १४५ रोपनी, लिवाली जग्गा एकीकरण ६७० रोपनी, लुभु जग्गा एकीकरण २६९ रोपनी, सिन्टिटार जग्गा एकीकरण ५२५ रोपनी, सैवु भैसेपाटी विकास ५५२ रोपनी र सिनामंगल जग्गा एकीकरण आयोजना ९०१ रोपनी छन् ।

त्यस्तै, कार्यक्रम अन्र्तगत ११ वटा आयोजना सञ्चालनमा छन । सञ्चालनमा रहेका आयोजनामध्ये बाग्मती नगर जग्गा एकीकरण आयोजना १२४६ रोपनी, कमेरोटार जग्गा एकीकरण आयोजना, चःमती जग्गा एकीकरण आयोजना १४४० रोपनी, मनोहरा फाँट जग्गा एकीकरण १७७४ धोविखोला करिडोर पूर्वाधार सुधार, बाग्मती कोरिडोर पूर्वाधार सुधार, तुमुचो दुमुचो दुगुरे चोखा ६०० रोपनी, बाग्मती फाँट आयोजना १४० रोपनी, दिव्यश्वरी जग्गा एकीकरण, इचंगु नारायण ६०८ रोपनी र सैंवु नख्खु डोल जग्गा एकीकरण आयोजना छन् ।


क्लिकमान्डु