होटल क्षेत्रमा संख्या बढे पनि व्यापार बढेन, कर्जा नतिर्दा बैंकले लगानी घटाए



काठमाडौं । नेपाल भ्रमण वर्षलाई लक्षित गरी होटल क्षेत्रमा संख्यात्मक वृद्धि भए पनि व्यापार भने घटेको छ । व्यापार कम हुँदा बैंक तथा वित्तीय संस्थाले होटल, रेष्टुराँ तथा रिसोर्टमा कर्जा लगानी घटाएका छन् ।

एकातिर बैंक तथा वित्तीय संस्थाले कर्जा लगानी घटाएका छन् भने अर्कोतर्फ ऋण तिर्न नसक्दा २ वर्षयता मात्रै १८ वटा होटल, रेष्टुराँ तथा रिसोर्ट कालोसूचीमा परेका छन् ।

कर्जा सूचना केन्द्रको तथ्यांकअनुसार हालसम्म ५० वटा होटल, रेस्टुँरा तथा रिसोर्टहरु कालोसूचीमा परेका छन् । बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिएर समयमा भुक्तानी गर्न नसक्दा कर्जा सूचना केन्द्रले कालोसूचीमा राखेको हो ।

केन्द्रको तथ्यांक अनुसार २०७० सालमा ४ वटा, २०७१ मा २ वटा, २०७२ मा १ वटा, २०७३ मा ३ वटा, २०७४ मा २ वटा, २०७५ मा ९ वटा र २०७६ साल मंसिर मसान्तसम्म ९ वटा होटल, रेस्टुँरा तथा रिसोर्ट कालोसूचीमा परेका छन् ।

बैंक तथा वित्त कम्पनीहरुबाट कर्जा लिएर समयमा नै भुक्तानी नगर्ने होटल, रेस्टुरेन्ट तथा रिसोर्टहरुमा पछिल्लो समय मध्यमस्तरका होटलहरुको संख्या बढ्दो छ । यसले होटल व्यवसाय क्षेत्रमा संख्यात्मक वृद्धि देखिए पनि कर्जा लगानी बढाउन बैंक तथा वित्तीय क्षेत्र आकर्षित नभएको देखाएको जानकारहरु बताउँछन् ।

‘बैंकले जहाँ राम्रो प्रतिफलको सुनिश्चिता हुन्छ त्यही लगानी गर्ने हो, अहिले होटलको प्रतिफल राम्रो छैन त्यसैले कर्जा लगानी कम भएको हो’ डेभलपमेन्ट बैंकर्स एसोसिएसनका अध्यक्ष गोविन्दप्रसाद ढकालले भने ।

राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा अनुसन्धान विभागका प्रमुख गुणाकर भट्ट होटलको संख्या बढे पनि अकुपेन्सी कम भएकाले आम्दानी घटेको बताए ।

उनका अनुसार गत वर्षको तुलनामा यसवर्ष ट्राभल आय ११.३१ प्रतिशतले बढेर २६ अर्ब ८९ करोड रुपैयाँ पुगेको छ । तर भारतमा आर्थिक वृद्धिदर कमजोर भएकाले त्यसको असर नेपालको होटल क्षेत्रमा परेको बताए ।

‘सन् २०१८ मा समग्र विश्वको आर्थिक वृद्धिदर ३.६ प्रतिशत थियो, अहिले त्यो घटेर ३ प्रतिशतमा झरेको छ,’ उनले भने, ‘त्यस्तै नेपालमा सबैभन्दा बढी पर्यटक आउने भारतको आर्थिक वृद्धिदर पनि ४.५ प्रतिशतमा सीमित भएको, जसको असर नेपालको पर्यटक क्षेत्रमा पनि देखिएको हो ।’

होटल एसोसिएसन अफ नेपाल (हान)का उपाध्यक्ष विनायक शाह होटल व्यवसायमा अकुपेन्सी कम भएकाले व्यापार खस्केको र यसले कर्जा चुक्ता गर्न नसकेको बताउँछन् । जसका कारण होटल क्षेत्र कालोसूचीमा पर्न थालेको बताए ।

‘पहिले राष्ट्र बैंकले उत्पादनमुलुक क्षेत्रमा लगानीको निर्देशनबमोजिम बैंकको लगानी बढेको थियो, तर अहिले बैंकको लगानीको सीमा तोकेबमोजिम पुगेपछि पछिल्ला वर्षमा लगानी कम देखिएको हो’ शाहले भने ।

‘सरकारले बैंकहरुलाई उत्पादनमुलक क्षेत्रका लागि निर्देशित गरे बमोजिम बैंकहरुले आफ्नो पोर्टफोलियो अनुसार लगानी गरेको थियो,’ नेपाल बैकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले भने, ‘हाल सरकारी योजना अनुसार होटलको संख्या बढे पनि कर्जा सोको अनुपातमा कर्जा बढेको छैन ।’

नेपाल राष्ट्र बैंकले आव २०६७/६८ को मौद्रिक नीतिमार्फत् उत्पादनमुलक क्षेत्र कृषि, पर्यटन, उर्जालगायतका क्षेत्रमा बैंकहरुले कर्जा बढाउन निर्देशन दिएको थियो । जसमा बैंकहरुले आफ्नो प्राथमिक पुँजीको २० प्रतिशतसम्म लगानी गर्नुपर्ने व्यवस्था थियो ।

जानकारका अनुसार अहिले होटल क्षेत्रमा ग्राहक आकर्षित गर्नका लागि ४० प्रतिशतसम्म छुट दिन थालेका छन् । र, यसले होटलको आम्दानीमा कमी आएको छ । आम्दानी कम हुँदा ऋण चुक्ता गर्न नसक्ने होटल, रेष्टुराँ तथा रिसोर्टहरु कालोसूचीमा परेका हुन् ।

डेभलपमेन्ट बैंकर्स एसोसिएसनका अध्यक्ष गोविन्दप्रसाद ढकाल पनि होटलको संख्या वृद्धि भए पनि अकुपेन्सी कमजोर हुँदा आम्दानी कमी आएकाले बैंकहरुले कर्जा लगानी घटाएको बताए ।

‘बैंकले जहाँ राम्रो प्रतिफलको सुनिश्चिता हुन्छ त्यही लगानी गर्ने हो, अहिले होटलको प्रतिफल राम्रो छैन त्यसैले कर्जा लगानी कम भएको हो’ ढकालले भने ।

पर्यटन मन्त्रालको तथ्यांक अनुसार नेपालमा आउने विदेशी पर्यटकले गर्ने खर्चमा पनि कमी आएको छ । सन् २०१७ मा एक जना पर्यटकले दैनिक औसत ५४ अमेरिकी डलर खर्च गर्ने गरेकोमा सन् २०१८ मा आइपुग्दा पर्यटनले दैनिक गर्ने खर्चको औसत ४४ डलरमा मात्रै सीमित भएको थियो । यसले पनि होटलको आम्दानीमा कमी आएको हो ।

उद्योग विभागको तथ्यांक अनुसार विदेशी लगानीतर्फ सबैभन्दा बढी होटल तथा रेष्टुराँमा आकर्षण देखिएको छ । जसमा सबैभन्दा बढी चीनले होटल, रेष्टुराँ क्षेत्रमा लगानीको प्रतिवद्धता देखाएको छ ।

लगानीको वृद्धिदर घट्यो

राष्ट्र बैंकको तथ्यांक अनुसार बैंक तथा वित्त कम्पनीले आर्थिक वर्ष २०७०/७१ मा ३२ अर्ब ९० करोड ९६ लाख रुपैयाँ लगानी गरेका थिए । त्यस्तै, आव २०७१/७२ ४४ अर्ब २ करोड ८९ लाख रुपैयाँ बैंकहरुले लगानी गरेका थिए । यो २ आर्थिक वर्षको तुलनामा लगानीको वृद्धिदर ३३.७९ प्रतिशत हो ।

बैंकहरुले आव २०७२/७३ मा लगानी ५४ अर्ब ४२ करोड ६२ लाख रुपैयाँ कर्जा लगानी गरेका थिए । जुन अघिल्लो आवको तुलनामा लगानी वृद्धिदर १०.६१ प्रतिशतले कमी आइ वृद्धिदर २३.६१ प्रतिशतमा सीमित भएको थियो ।

त्यस्तै, आव ०७३/७४ मा कर्जा लगानी ६६ अर्ब ९० लाख रुपैयाँ थियो । जुन अघिल्लो वर्षको तुलनामा वद्धिदर ०.६९ प्रतिशतले हो ।

आर्थिक वर्ष २०७४/७५ मा बैंक तथा वित्तीय संस्था होटल क्षेत्रमा ९१ अर्ब १४ करोड ६० लाख रुपैयाँ लगानी गरेका थिए । त्यस्तै, आव २०७५/७६ मा कर्जा १ खर्ब २२ अर्ब १२ करोड २० लाख रुपैयाँ कर्जा लगानी गरेका थिए ।

रकममा कर्जा लगानी बढे पनि वृद्धिदरका हिसाबले आव २०७४/७५ मा लगानी वृद्धिदर ३६.२४ प्रतिशत थियो । भने आव २०७५/७६ मा कर्जा लगानी वृद्धिदर ३३.९९ मा सीमित भएको छ । जुन अघिल्लो आवको तुलनामा २.२५ प्रतिशतले कमी हो ।

बढ्दो संख्या
कम्पनी रजिष्ट्रार कार्यालयको तथ्याक अनुसार २०७० सालदेखि मसिर मसान्तसम्म १ हजार ९ सय ९४ वटा नयाँ होटल, रेस्टुराँ र रिसोर्टहरु स्थापना भएका छन् ।

जसमध्ये २०७० सालमा १५३ वटा, २०७१ सालमा २४८ वटा, २०७२ सालमा १९२ वटा, २०७३ सालमा ३१६ वटा, २०७४ सालमा २९१ वटा, २०७५ ४८१ सालमा वटा र २०७६ मसिर मसान्तसम्म ३१५ वटा नयाँ होटल, रेस्टुरेन्ट तथा रिसोर्टहरु स्थापना भएका हुन् ।

विदेशी लगानी पनि बढ्यो
नेपाल भ्रमण वर्ष शुरु हुन डेढ साता बाँकी छ । सरकारले सन् २०२० मा नेपाल भ्रमण वर्षमा २० लाख पर्यटक भित्राउने लक्ष्य लिएको छ ।

उद्योग विभागको तथ्यांक अनुसार विदेशी लगानीतर्फ सबैभन्दा बढी होटल तथा रेष्टुराँमा आकर्षण देखिएको छ । जसमा सबैभन्दा बढी चीनले होटल, रेष्टुराँ क्षेत्रमा लगानीको प्रतिवद्धता देखाएको छ ।

उद्योग विभागका अनुसार ५६ वटा होटल तथा रेष्टुराँमा चालु आर्थिक वर्षमा मात्रै ७ अर्ब ६२ करोड रुपैयाँको लगानीको प्रतिवद्धता आएको छ । आर्थिक वर्ष २०७५/७६ मा होटल तथा रेष्टुराँ क्षेत्रमा १० अर्ब ५३ करोड रुपैयाँ विदेशी लगानीको प्रतिवद्धता आएको थियो ।


क्लिकमान्डु