मोटरबीमामा पुल लागू हुने, ‘अन्डरटेबल’ पैसा दिन नपरेपछि निर्जीवन बीमा कम्पनी फाइदामा



काठमाडौं । मोटर बीमामा अस्वस्थ प्रतिस्पर्धा बढेपछि त्यसलाई न्यूनिकरण गर्न पुल (एकद्वार प्रणालीमार्फत) लागु हुने भएको छ ।

त्यसको लागि बीमक संघका महासचिव चंकी क्षेत्री, लुम्बिनी जनरल इन्स्योरेन्सका प्रमुुख कार्यकारी अधिकृत (सिइओ) नुर प्रताप प्रधान, दि ओरियन्टल इन्स्योरेन्स कम्पनीका सिइओ विनोद बालचन्द्र घातीसहित चार जनाको समिति बनेको छ । उक्त समितिले पुल कसरी तयार पार्ने र त्यसको मोडालिटी कस्तो बनाउने भन्ने विषयमा छलफल गरिरहेको छ । उक्त समितिले तयार पारेको मोडालिटी बीमा समितिमा बुझाउने र त्यही मोडालिटीमा आवश्यक छलफल गरेर पुल प्रणाली ल्याइने भएको छ ।

अहिले मोटर बीमा त्यसमा पनि दुई पाङ्ग्रे सवारी साधनमा निकै अस्वस्थ प्रतिस्पर्धा चलेको छ । पुल लागु भएपछि त्यो प्रतिस्पर्धा न्यून हुने संघका महासचिव तथा सगरमाथा इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सिइओ) चंकी क्षेत्रीले बताए । ‘यो प्रतिस्पर्धा न्यून हुने गरी हामी मोडालिटी बनाउँछौं, त्यो बीमा समितिमा बुझाउँछौं’ उनले भने ।
बीमा कम्पनीहरुले मोटर बीमाको पोलिसी ल्याउनको लागि अन्डर टेबलबाट प्रति मोटरसाइकल साढे २ सय रुपैयाँसम्म कमिसन दिने गरेका थिए । सरकारले अनिवार्य गरेको बीमाको व्यवसाय तान्न नै अस्वस्थ प्रतिस्पर्धा भएपछि बीमा कम्पनीहरुले पुलमा जाने विषयमा गृहकार्य थालेका हुन् ।

मोटर बीमामा नक्कली पोलिसी जारी हुने, एजेन्टले बढी शुल्क लिने जस्ता समस्या देखिएपछि उक्त समस्यामा समाधानको लागि पुलको अवधारणा आएको हो ।

पुल प्रणाली कार्यान्वयनमा आएपछि मोटर बीमा गर्न जानेलाई बीमा कम्पनीमा एजेन्टले तानातान गर्ने समस्या पनि समाधान हुनेछ । आफूले मन लागेको कम्पनीमा गएर आफ्नो सवारी साधनको बीमा गर्न सकिनेछ । यसअघि एजेन्टहरुले कमिशनको लागि बीमा गर्नेलाई तानातान गर्ने समस्या थियो । त्यो समस्या पनि समाधान हुनेछ । पुल प्रणाली लागु भएपछि बीमा कम्पनीका एजेन्टले सेवाग्राहीलाई दुःख दिने, नक्कली पोलीसी जारी हुनेक्रमको पनि अन्त्य हुने बताइएको छ । पुल प्रणाली लागु भएपछि एकै ठाउँबाट बीमा पोलिसी बिक्री हुने र कम्पनीको व्यापार हिस्सा अनुसार आम्दानी बाँडफाँड हुनेछ । यो लागु भएपछि यातायात व्यवस्था विभाग अगाडी बुथ राखेर ग्राहक तान्ने प्रवृतिको पनि अन्त्य हुने छ ।

यसअघि जीवन बीमा कम्पनीमा पनि पुल लागु भइसकेको छ । वैदेशिक रोजगारी बीमामा हुने अस्वस्थ प्रतिस्पर्धालाई रोक्न बीमा समितिले सामूहिक पुल (एकद्धार) मार्फत बीमा पोलिसी जारी गर्ने व्यवस्था गरिसकेको छ ।

वैदेशिक रोजगारीका लागि हुने म्यादी बीमामा कम्पनीबीच अस्वस्थ प्रतिस्पर्धा रोक्नका लागि पुल मार्फत पोलिसी जारी गर्ने व्यवस्था लागु भएको हो । जसका कारण एकै ठाउँबाट बीमा पोलिसी बिक्री हुने र कम्पनीको व्यापार हिस्सा अनुसार आम्दानी बाँडफाँड हुँदै आएको छ । यो लागुभएपछि वैदेशिक रोजगार कार्यालय अघि पहिलाको जस्तो प्रतिस्पर्धाए नभई, रोजगारीको लागि विदेश जान बीमा गर्न जानेलाई तानातान नगरी बीमा हुन थालेको छ । मोटर बीमामा पनि यस्तै परिकल्पना गरिएको हो । जसले अस्वस्थ प्रतिस्पर्धा न्यून बनेको छ ।

पुल व्यवस्थापनको लागि छुट्टै कार्यालय आवश्यक पर्छ । त्यही कार्यालयले नै मोटर बीमा पोलिसी बिक्री गर्ने देखि दावी भूक्तानीसम्मको काम हुनेछ । जारी भएका पोलिसीलाई पुलले बजारमा कम्पनीको हिस्सा अनुसार बाँडेर दाबी भूक्तानी तथा प्रिमियम बापतको रकम दिनेछन् । पुलको कार्यालय खर्च तथा कर्मचारी व्यवस्थापनको खर्च कम्पनीले गर्नुपर्ने व्यवस्था जीवन बीमा कम्पनीको रहेको छ । निर्जीबनमा कस्तो बन्छ भन्ने बीमक संघले तयार पर्ने मोडालिटीमा भर पर्ने छ । यसले आफूखुसी पोलीसी जारी नहुने र नक्कली पोलिसी जारी हुनेक्रा रोकिने छ ।


क्लिकमान्डु