सबैलाई वृद्धभत्ता दिँदा आर्थिक असमानता बढ्योः अर्थमन्त्री खतिवडा



काठमाडौं । सबैलाई समान रुपमा ज्येष्ठ नागरिक (वृद्ध) भत्ता उपलब्ध गराउँदा असमानता बढेको अर्थमन्त्री डा. युवराज खतिवडाले टिप्पणी गरेका छन् ।

‘सबै वर्ग तथा तहका ज्येष्ठ नागरिकलाई सम्मान स्वरुप ज्येष्ठ नागरिक भत्ता उपलब्ध गराउँदा धनी र गरिबबीचको असमानता झनै बढेको छ, त्यसकारण वितरणले मात्रै समानता आउन सक्दैन्’ संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम यूएनडीपीले मंगलबार राजधानीमा सार्वजनिक गरेको मानव विकास प्रतिवेदन-२०१९ कार्यक्रममा बोल्दै उनले भने ।

लोककल्याणकारी राज्यका लागि प्रगतिशिल कर र करका दायरा फराकिलो पार्नुपर्ने भए पनि वितरण प्रक्रियामा रहेका केही कमजोरीले असमानता बढाउने उनको थप प्रष्टोक्ति थियो ।

नेपालमा गरिबीको प्रतिशत घट्दै गएको भए पनि विभिन्न तह र तप्काका बीचमा रहेको असमानताले व्यवहारिक रुपमा भने अनुभव गर्न केही समय लाग्ने उनको भनाइ थियो ।

संसारका विकसित देशहरु जी-७, जी-२० जस्ता समूहहरु बैंक तथा वित्तीय संस्था र वित्तीय क्षेत्रमा लगानी गर्ने अन्य निकायले गरिब र विकासोन्मुख देशको गरिबी तथा असमानता घटाउन के कति योगदान गरे भन्ने विषय महत्वपूर्ण रहेको उनको भनाइ थियो ।

हामीले कस्तो खालको समानताको कुरा गरेको प्रश्न गर्दै उनले भने, ‘बजार, राज्य, नागरिक समाज तथा मुलुक-मुलुकबीचको र क्षेत्रीय निकायबीचको असमानता घटाउन विकसित देशले व्यापारमा दिनुपर्ने सहुलियत दिए कि दिएनन् र उनीहरुले प्रविधिको हस्तान्तरणमा उदार भए कि भएन् भन्ने प्रश्न महत्वपूर्ण छ ।’

उनले धन सिर्जना गर्ने, नाफा गर्ने, कर तिर्ने र नतिर्नेबीचको असमानता हटाउँदा पूँजी प्रविधिको हस्तान्तरणमा ख्याल गर्नुपर्ने बताए । पछिल्ला दिनमा प्रविधिले श्रम बजारलाई प्रभावित पारेकाले असमानताको दर बढ्न सक्ने तर्क गरे ।

धनी र गरिबलाई समान रुपमा सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउने कि नगराउने भन्ने प्रश्न समेत उठेको छ । धनीले म यो भत्ता लिन्न पनि भन्न नसक्ने भएकाले जुन समुदाय र वर्गका लागि त्यो भत्ता दिइएको हो त्यसले सार्थक रुपमा लक्षित समुदायलाई प्रभाव पार्यो कि पारेन भन्ने विषय महत्वपूर्ण छ ।


पुष्प दुलाल