ओम भित्र्याएपछि बलियो बनेको एनएमबि बैंक सेयर खरिद गर्दा घाटा छैन(प्राविधिक विश्लेषण)



चालु आर्थिक वर्षको प्रथम त्रैमाससम्ममा एनएमबि बैंक लिमिटेडले ८१ करोड ५१ लाख ३६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४८.०५ प्रतिशत बढी हो ।

गत आर्थिक वर्षको यसै अवधिसम्ममा बैंकले ५५ करोड ५ लाख ५६ हजार खुद नाफा आर्जन गरेको थियो । बैंकको खुद ब्याज आम्दानी र खुद ब्याज फि तथा कमिसन आम्दानी राम्रो वृद्धि भए पनि खर्च बढी हुँदा संचालन नाफा ७८ करोड १७ लाख रुपैयाँबाट ५५ प्रतिशतले घटेर ३४ करोड ५२ लाख रुपैयाँमा आयो ।

सञ्चालन मुनाफा घटेपनि गैर सञ्चालन आम्दानी ३५ लाख २९ रुपैयाँबाट १७ हजार ५ सय ३०.१८ प्रतिशतले बढेर ६२ करोड २१ लाख रुपैयाँ पुगेपछि खुद नाफा बढ्न टेवा पुगेको हो ।

बैंकको वितरणयोग्य मुनाफा ५३ करोड ६१ लाख ६८ हजार रुपैयाँ रहेको छ । कुल खुद मुनाफामा ३० प्रतिशतले २४ करोड ९८ लाख रुपैंया वैधानिक कोष अर्थात् स्त्याचुरी रिजर्भ र रेगुलेटरी रिजर्भमा २ करोड ९१ लाख रुपैयाँ छुट्याएको छ ।

जसअन्तर्गत साधारण कोषमा १६ करोड ३० लाख २७ लाख ,क्यापिटल रिडेन्सन रिजर्भ ७ करोड १७ लाख ९२ हजार, वित्तीय विनिमय दरको उतारचढाव कोषमा ६८ लाख ३१ हजार, सामाजिक सुरक्षाकोषमा ८१ लाख ५१ हजार रुपैंया छुट्याएको छ ।

बैंकसँगको सफल मर्जर पश्चात बैंकको चुक्ता पूँजी ११ अर्ब ५२ करोड ९७ लाख पुगेको छ । बैंकको जगेडा कोषमा ४ अर्ब ६९ करोड ९९ लाख रुपैयाँ, सेयर प्रिमियममा २ अर्ब ५४ करोड १४ लाख र सेयरधनी कोषमा २ अर्ब २५ करोड ९० लाख रुपैयाँ सञ्चित छ । त्यस्तै शेयर प्रिमियममा १ दशमलव १४ प्रतिशत र रिटर्न अर्निङ २६.८९ प्रतिशतले वृद्धि भई २ अर्व ५४ करोड १४ लाख रुपैयाँ छ ।

बैंकले चालु आवको असोज मसान्तसम्ममा १ खर्ब २१ अर्ब ९१ करोड २६ लाख रुपैयाँ ग्राहकबाट निक्षेप संकलन गरी १ खर्ब १० अर्ब ३१ करोड ३५ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

यसबापत बैैंकले १ अर्ब २२ करोड ३६ लाख रुपैयाँ खुद ब्याज आम्दानी गर्न सफल भएको छ । बैंकको खुद ब्याज आम्दानी गत आवको यसै अवधिको तुलनामा २५.३३ प्रतिशत बढी हो ।

नाफामा उल्लेख्य सुधार भएसँगै बैंकको प्रतिसेयर आम्दानी पनि बढेको छ । बैंकको प्रतिसेयर आम्दानी ५ रुपैयाँ ८७ पैसा बढेर ३२ रुपैयाँ ५१ पैसा कायम भएको छ ।

निश्क्रिय कर्जा ०.७६ प्रतिशतबाट बढेर १.२१ प्रतिशत, औसत ब्याज स्प्रेड ०.३४ प्रतिशतले बढेर ४.१२ प्रतिशत, आधार दर ०.४० प्रतिशतले बढेर १०.३३ प्रतिशतसम्म बढ्यो ।

बैंकको कस्ट अफ फण्ड ०.४० प्रतिशतले घटेर १०.३३ प्रतिशतमा पुग्यो । एनएमबि बैंकले गत आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट सेयरधनीलाई मुनाफाबाट २१ प्रतिशत बोनस र बोनसमा लाग्ने कर सहित १४ प्रतिशत नगद लाभांश गरी कुल ३५ प्रतिशतको कुल लाभांश घोषणा पनि गरेको छ ।

प्राविधिक विश्लेषण

मैनबती आकृति विश्लेषण

मैनबत्ती आकृतिले खरिदकर्ता तथा बिक्रीकर्ताको चापको देखाउँछ । साप्ताहिक मैनबत्ति विश्लेषण लामो माथि स्याडो सहितको सानो वियरिस मैनबत्ति बनेको छ । यसले बिक्री चापको संकेत गर्दछ ।

१४ दिने रिलेटिव स्ट्रेन्थ इन्डेक्स (आरएसआई)

रिलेटिव स्ट्रेन्थ इन्डेक्स (आरएसआई) ले अधिक खरिद (ओभरसोल्ड जोन) मूल्य वा अधिक बिक्री (ओभरबट जोन) परिवर्तनको परिमाण मापन गर्दछ ।

साताको अन्तिम दिन कारोवार बन्द हुँदा आरएसआई ५६.०७ बाट ५३.५२ स्केल आएको छ जसले न्युट्रल जोनबाट तल आएको छ । यसले पनि केही समयका लागि खरिद गर्न केही समय कुर्नुपर्ने संकेत गर्दछ । आरएसआई रेखा देखि १०० स्केलभित्र मुभ हुनेगर्छ । मूलत साइडवेज् रुपमा चलिरहेको बजारमा सेयर किनबेच गर्न बढी उपयोगी मानिन्छ ।

मुभिङ एभरेज कन्भर्जेन्स डाइभर्जेन्स (एमएसीडी)

एमएसीडीमा २ वटा रेखा हुन्छन । जसमा एउटा रेखाले बजारको दिशा परिवर्तनको संकेत गर्छ भने अर्कोे रेखाले बजारको प्रवृत्ति (ट्रेण्ड) देखाउने गर्छ ।

यदि एमएसीडी रेखाले सिग्लन रेखालाई तलबाट माथि काटेमा यसलाई सकारात्मक संकेत र एमएसीडी रेखाले सिग्लन रेखालाई माथिबाट तल काटेमा यसलाई नकारात्मक संकेतका रुपमा लिइन्छ ।

एनएमवि बैङ्कको एमएसिडी र सिग्नल सेन्ट्रल लाइन जिरो सेन्ट्रल लाइनभन्दा माथि ओभरल्याप भएको देखिन्छ । यसले पनि अहिले नन ट्रेन्डको संकेत गर्दछ ।

कमोडीटि च्यानल इन्डेस्क

गत हप्ता कारोबार बन्दसँगै कमोडिटि च्यानल इन्डेस्कले धनात्मक ८१ को स्केलबाट घटेर धनात्मक ३८ को स्केलमा आएको देखाउँछ । सीसीआई धनात्मक १०० तथा ऋणात्मक १०० मा विभाजन गर्दछ ।

यदि बजार धनात्मक १०० भन्दा माथि रह्यो भने बढ्ने र ऋणात्मक १०० को स्केल भन्दा तल गएपछि घट्ने संकेत मानिन्छ ।

बोलिंजर ब्याण्ड

बोलिंजर ब्याण्ड भोलुममा आधारित प्राविधिक सूचक हो जसमा अपर, मिड तथा लो ब्याण्ड हुन्छ । तथ्यांकशास्त्रको स्ट्यान्डर्ड डेभिएसनको सुत्र प्रयोग भएकाले एक आपसमा निश्चित दूरी तय गर्छ ।

यस सूचकले बजारको भोलातिलिटी मापन गर्दछ । बैंकको चार्ट हर्दा मूल्यले ब्याण्ड छोएर फर्किएको छ भने तीन ओटै ब्याण्ड समान्तर रुपमा खुचिएको देखिन्छ । यसले बैंकको मूल्य तत्काल ठूलो उतारचढाव कम हुने जनाउँछ ।

निश्कर्ष

करिब १४ महिनादेखि मर्जर प्रक्रिया रहेको एनएमबि बैंक तथा ओम डेभलपमेन्ट बैंकको एकीकृत कारोबार थालेको करिब डेढ महिना पश्चात ३५१ रुपैयाँमा सेयर कारोबार खुला भएको हो ।

एनएमबि बैंकको मर्जरमा जानुअघि प्रतिकित्ता ३८२ रुपैयाँ र ओम डेभलपमेन्ट बैंकको प्रतिकित्ता १ सय ९७ रुपैयाँमा सेयर कारोबार रोकिएको थियो । एनएमबि र ओम १०० बराबर ७६ अनुपात स्वाप रेसियोमा मर्ज गरेका हुन् ।

चालु आवको प्रथम वित्तीय विवरणमा खुद आम्दानी राम्रो वृद्धि भए पनि खर्च बढी हुँदा सञ्चालन नाफामा भारी गिरावट आयो । अन्य सञ्चालन आम्दानी १७ हजार ५ सय ३०.१८ प्रतिशतले बढेर ६२ करोड २१ लाख रुपैयाँ पुगेपछि खुद नाफा बढ्न टेवा पुगेको हो ।

बैंकको लोन विस्तार तथा निक्षेप संकलन स्थिर छ । निश्क्रिय कर्जा १.९७ प्रतिशत पुगेकोमा आउदो त्रैमासदेखि घट्ने अपेक्षा गरेको छ ।

मर्जरपछि एनएमबी बैंकको प्रदेश ३ मा ४४ शाखा तथा गण्डकी प्रान्तमा ३९ शाखा गरी कूल शाखा संख्या १६३, एटीएम १२८ र एक्स्टेन्सन काउण्टर ५ वटा पुगेको छ ।

एनएमबि बैंकले गत आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट ३५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । ११ अर्ब ५२ करोड ९७ लाख ४१ हजार ६०० रुपैयाँ रहेकोमा २१ प्रतिशत बोनस वितरण पश्चात बैंकको १३ अर्ब ९५ करोड ९ लाख ८७ हजार रुपैँया चुक्ता पूँजी रुपैयाँ पुग्नेछ ।

ओम विकास बैंकलाई लिएपछि राम्रो जगेडा कोष भएकाले अर्कोवर्ष पनि आकर्षक लाभांश दिने सक्ने सम्भावना प्रबल छ । समग्र बजार ओरालो लागेको अवस्थामा एनएमबि बैंकको पनि सुधारको अवस्था रहेको छ । यद्यपि बैंकको वित्तीय अवस्थाको बलियो देखिएको दीर्घकालिन अवस्थाको लागि राम्रो देखिन्छ ।

तथ्यांकको आधारमा गरिएको प्राविधिक विश्लेषणमा हुने लगानीको लाभहानीको जिम्मेवार क्लिकमाण्डू हुने छैन


क्लिकमान्डु