ओसामु सुजुकीको निधन: सानो जापानी कम्पनीबाट विश्वव्यापी ब्रान्डसम्मको यात्रा



एजेन्सी । जापानका ख्यातिप्राप्त अटोमोबाइल निर्माता कम्पनी सुजुकी मोटर कर्पोरेसनका पूर्वअध्यक्ष ओसामु सुजुकीको ९४ वर्षको उमेरमा निधन भएको छ । लामो समयदेखि क्यान्सरबाट पीडित रहेका सुजुकीको शुक्रबार निधन भएको हो । सुजुकी मोटरले उनको निधनको औपचारिक घोषणा गरेको छ ।

सानो कम्पनीबाट विश्वव्यापी ब्रान्डसम्मको यात्रा

सन् १९५८ मा मिचियो सुजुकीकी नातिनी शोकोसँग विवाह गरेपछि कम्पनीमा प्रवेश गरेका ओसामु सुजुकीले आफ्नो दूरदर्शिता र नेतृत्व क्षमताले सुजुकी मोटरलाई कपडा बुन्ने मेसिन र मोटरसाइकल बनाउने सानो कम्पनीबाट विश्वव्यापी अटोमोबाइल क्षेत्रको एक प्रमुख शक्ति बनाएका थिए ।

उनले १९७८ मा अध्यक्ष र पछि सीईओको जिम्मेवारी सम्हाल्दै, साना र किफायती सवारीसाधन निर्माणलाई प्राथमिकता दिए । विशेष गरी, उनले जापानी ‘केई कार’लाई लोकप्रिय बनाउन भूमिका खेल्दै जापानको सवारीसाधन बजारमा नयाँ युगको सुरुवात गरे ।

भारतमा सुजुकीको प्रवेश उनका लागि सबभन्दा ठूला उपलब्धिमध्ये एक थियो । १९८३ मा स्थापना गरिएको मारुती सुजुकीले भारतलाई विश्वकै ठूला अटोमोबाइल बजारमध्ये एक बनायो । आज, मारुती सुजुकी भारतकै सबैभन्दा ठूलो कार निर्माता हो । साना र किफायती कारहरूको निर्माणमा सुजुकीको योगदानले भारतका लाखौं परिवारलाई पहिलो पटक कार स्वामित्वको अवसर दिलायो ।

सुजुकीको नेतृत्वमा कम्पनीले थुप्रै चुनौतीहरूको सामना गर्‍यो । २००८ को विश्वव्यापी वित्तीय संकट र २०११ मा फोक्सवागनसँगको विवादास्पद साझेदारी समाप्त भए पनि, सुजुकीको मितव्ययी र रणनीतिक निर्णय क्षमताले कम्पनीलाई संकटबाट जोगाउँदै सफलता हासिल गर्न सहयोग गर्‍यो ।

उनले २०२१ मा ९१ वर्षको उमेरमा अध्यक्ष पदबाट राजीनामा गरे । उनको नेतृत्वपछि कम्पनीको जिम्मेवारी उनका छोरा तोशिहिरो सुजुकीले सम्हालेका छन् ।

सुजुकीले सन् १९५५ मा जापानको पहिलो मास-प्रोडक्सन मिनी सवारीसाधन ‘सुजुलाईट’ सार्वजनिक गरेर नयाँ युगको सुरुवात गरे । कम्पनीले सन् १९६५ मा ‘फ्रन्टे ८००’ सार्वजनिक गर्दै कम्प्याक्ट सवारीसाधनको क्षेत्रमा आफ्नो उपस्थिति बलियो बनायो ।

कम्पनीको विश्वव्यापी विस्तारको यात्रा सन् १९५९ मा ‘सुजुलाईट’ निर्यात गर्दै सुरु भएको थियो । सन् १९७५ मा पाकिस्तानमा पहिलो विदेशी उत्पादन प्लान्ट स्थापना गरेपछि, कम्पनीले सन् १९८३ मा भारत र सन् १९९२ मा हंगेरीमा उत्पादन सुरु गर्‍यो ।

सुजुकी मोटरले २०२३ को अन्त्यसम्ममा ८० मिलियन सवारीसाधन बिक्री गर्ने ऐतिहासिक उपलब्धि हासिल गरेको छ, जसमा जापानमा २८.९ मिलियन इकाइ र अन्य देशहरूमा ५१.२७ मिलियन इकाइ समावेश छन् ।

आर्थिक वर्ष २०२३/२४ मा सुजुकीको ३.२ मिलियन युनिट गाडी बिक्री भएको छ । जसमा आधाभन्दा बढी भारतमा बिक्री भएको कम्पनीको दाबी छ । यो बिक्रीले हाल विश्वकै सबैभन्दा ठूलो अटोमोबाइल निर्माता टोयोटाको ठीक पछाडिको दोस्रो स्थान हासिल गरेको छ । २०२४ डिसेम्बर २६ को तथ्यांकलाई आधार मान्ने हो भने यो कम्पनीको नेटवर्थ २१.४६ बिलियन अमेरिकी डलर छ । ४५ हजारले यो कम्पनीमा काम गर्छन् ।

ओसामु सुजुकीको योगदानले साना सवारीसाधन र उदाउँदो बजारहरूको विकासमा मात्र होइन, अटोमोबाइल उद्योगमा सुजुकी ब्रान्डको विशिष्ट पहिचान स्थापित गर्न पनि महत्त्वपूर्ण भूमिका खेलेको छ ।

उनको मितव्ययी नेतृत्व, साना कारहरूको विकासमा ध्यान, र ग्राहकहरूको आवश्यकता पूरा गर्ने रणनीतिले सुजुकीलाई अटोमोबाइल क्षेत्रमा शीर्ष स्थानमा पुर्‍यायो ।

उनका पत्नी शोको र तीन छोराछोरी छन् ।

नेपालमा सुजुकीको आधिकारिक बिक्रेता सिजी मोटोकर्प हो । यो कम्पनी नाडा अटोमोबाइल एशोसिएसन अफ नेपालका अध्यक्षसमेत रहेका करण चौधरीको हो । नेपालमा पछिल्लो समय सुजुकीको हाइब्रिड कारहरु लोकप्रिय छन् ।

सुजुकीको ब्रेज्जा हाइब्रिड साढे चार महिनामा २४३ युनिट आयात भएको छ । ग्राण्ड भिटारा स्मार्ट हाइब्रिड १० युनिट र इरटिगा स्मार्ट हाइब्रिड १ युनिट आयात भएको छ । साढे ४ महिनामा कुल आयात भएको २७४ युनिट हाइब्रिडमध्ये मारुतीको २५४ युनिट छन्। सुजुकी मारुती नेपालमा कुनै समय एकदमै लोकप्रिय कार हो ।

सुजुकी विश्वमा मोटरसाइकल उत्पादन गर्ने अग्रणी कम्पनी पनि हो ।


क्लिकमान्डु