सामाजिक सञ्जालमा लेख्नेमाथि राप्रपाको कडाइ: व्यक्तिगत धारणा राख्न नपाइने, यस्तो छ कार्यविधि




काठमाडौं । संघीय संसदको पाँचौ ठूलो दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सामाजिक सञ्जाल सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०८१ तयार पारेको छ ।

राप्रपाले तयार पारेको कार्यविधि अनुसार पार्टीको नीति विपरीत व्यक्तिगत धारणासमेत सामाजिक सञ्जालमा राख्न नपाइने उल्लेख छ । सामाजिक सञ्जालमा पार्टीलाई जोडेर आफ्नो धारणा राख्न राप्रापाले कार्यविधि नै ल्याएर कडाइ गरेको हो ।

राप्रपाले तयार पारेको उक्त कार्यविधि अनुसार सामाजिक सञ्जाल सञ्चालन गर्नु भनेको पार्टीको उद्देश्य, विचार, सिद्दान्त र कार्यक्रमलाई जनतासमक्ष पुर्याउनु भएको उल्लेख गरेको छ ।

कार्यविधिले पार्टीको सदस्यबाट पार्टीको विषयमा प्रसार हुने सामग्रीहरुमा एकरुपता कायम गर्न मद्दत गर्ने, पार्टीको सामाजिक सञ्जाल प्रति रणनीतिको माध्यमबाट पार्टीलाई संगठित र व्यवस्थित गर्ने, सामाजिक सञ्जालको प्रयोगबाट पार्टी र जनताबीच सन्तुलित, स्वस्थ र बलियो सम्बन्ध स्थापित गर्दै पार्टीलाई बलियो र विश्वनीय बनाउने उल्लेख छ ।

राप्रपाले बनाएको यस्तो कार्यविधि अनुसार राप्रपाका सदस्यले पार्टीको प्लेटफर्ममा पार्टी हित हुने गरी कुनै प्रतिक्रिया, सामग्री प्रसारण वा प्रेषण गर्न सक्नेछन्। सदस्यले पार्टीको संवेदनशील सूचना, निर्णय वा सामग्री अध्यक्षको अनुमती लिएर मात्र प्रसारण, प्रेषण वा सार्वजनिक गर्न पाउनेछन् ।

सदस्यले अर्को कुनै सदस्य वा समाजको जुनसुकै व्यक्तिका बारेमा धारणा राख्दा सम्मानजनक शब्द, आचरण र व्यवहार प्रदर्शन गर्नु पर्ने छ । पार्टी र नेतृत्वको काम कारवाहीका बारेमा सकारात्मक बहस गर्ने गरी धारणा राख्नु पर्ने छ । सदस्यले आफ्नो विचार राख्दा पार्टीको आधिकारिक निर्णय भएको विषयमा सोही बमोजिम राख्नु पर्नेछ । प्रष्ट निर्णय नभएको विषयमा सकभर धारणा प्रकट नगर्ने तर गर्नु पर्ने अवस्थामा ‘मेरो विचारमा’ भन्ने उल्लेख गर्नु पर्नेगरी राप्रपाले सामाजिक सञ्जाल सञ्चालन कार्यविधि बनाएको छ ।

निर्देशिका अनुसार पार्टी सदस्यले नकारात्मक शब्द, भाव, प्रतिक्रियात्मक फोटो सम्प्रेषण (पोस्ट) गर्न रोक लगाइएको छ । सदस्यले कुनै अर्को सदस्य वा व्यक्तिलाई होच्याउने, बद्नाम गर्ने, चरित्रमा आँच पुर्याउने वा व्यक्तिगत प्रतिष्ठामा हानी हुने गरी सार्वजनिक रुपमा आलोचना गर्न वा फोटो, भिडियो शेयर गर्न हुँदैन ।

प्रतिस्पर्धी पार्टी, व्यक्ति वा समुहले पार्टीलाई हित नहुने विषयको सामग्री शेयर गर्ने, लाइक गर्ने, रिट्वीट गर्न हुँदैन । आफ्नो कार्य क्षेत्रभित्र नपर्ने विषयमा प्रतिक्रिया वा सामग्री प्रसारण वा प्रेषण गर्न हुँदैन । पार्टीको सदस्य वा अन्य कुनै व्यक्ति, समाज, समुदाय, लिङ्ग, वर्ग, धर्म, समुदायप्रति विद्वेष फैलाउने गरी सामग्री सम्प्रेषण गर्न हुँदैन । तर स्वस्थ आलोचना गर्न बाधा पुगेको मानिने छैन भन्ने व्यवस्था पनि राप्रपाले सामाजिक सञ्जाल कार्यविधिमा उल्लेख गरेको छ ।


क्लिकमान्डु