‘राष्ट्र बैंकले व्यक्ति तोकेर सहकारी बैंकमा राख्ने, नराख्ने भन्न मिल्दैन’
'अध्यक्षलाई जेलमा राखेर सीईओलाई च्याप्ने काम भयो’
काठमाडौं । नेपाल राष्ट्र बैंकले सहकारी बैंकका सञ्चालकमध्ये यसलाई राख्नु, यसलाई नराख्नु भनेर तोक्न नमिल्ने सरोकारवालाले बताएका छन् ।
सहकारी बैंकको २१ औं वार्षिक साधारणसभाका वक्ताहरुले राष्ट्र बैंकले कसलाई राख्ने कसलाई नराख्ने भन्न नमिल्ने बताएका हुन् ।
राष्ट्रिय सहकारी महासंघका पूर्वअध्यक्ष तथा सहकारी बैंकका सल्लाहकार केशव बडालले राष्ट्र बैंकले पछिल्लो समय सहकारी बैंकको सञ्चालक तोक्दा नाम नै तोकेर पत्र पठाउन नमिल्ने बताए ।
‘सहकारी बैंकमा सञ्चालक कति जना रहने, को– को रहने, को–को नरहने भन्ने विषय आएको छ’ उनले भने ‘राष्ट्र बैंकले सहकारी बैंकमा नामै तोकेर पत्र पठाउँदा सहकारीको सिद्धान्त भित्र रहेर काम गर्दा केही पैसा भुक्तानी गर्न बाँकी रहेको देख्ने वित्तीकै उसलाई हटा, उसलाई नहटा भनेर भन्न मिल्दैन । बाँकी बक्यौता भुक्तानीका लागि १, २ महिनाको समय दिएर यति अवधिमा तिर्नु भन्ने पत्र लेख्न मिल्छ । नाम तोक्न मिल्दैन ।’
उनले राष्ट्र बैंकले यो वा त्यो मान्छे हटा भनेर भन्न नमिल्ने बताए ।
‘एक जना फरार हुनुहुन्छ, एक जना हिरासतमा हुनुहुन्छ उहाँहरुको विषयमा मलाई भन्नु केही छैन,’ उनले भने, ‘कुनै केश परेपछि जिम्मेवार मान्छेले पनि विधिवत रुपमा राजीनामा दिनुपर्ने हो । बाँकी ४ जनालाई तपाईहरुको कारोबार के छ, विनियम भित्र रहेर कारोबार गर्नुपर्छ । सञ्चालक ऋणको डिफल्ट हुन मिल्दैन । यति दिन भित्र क्लियर गर्नु भन्न मिल्छ । फलानो फलानो हटाउनु भन्नु सहकारीको स्वायत्त र स्वतन्त्रता अनुसार भएन । त्यस्तो गर्नुहुँदैन ।’
बडालले सहकारीलाई अनुसाशित बनाउन सहयोग गरेपनि संस्थालाई हस्तक्षेप गर्ने काम नगर्न आग्रह गरे । सहकारीको सिद्धान्त विपरित कसैले पनि केही काम गर्न नमिल्ने उनको भनाइ छ ।
सामान्य लेनदेन यति समयसम्म भुक्तान नगरे यति समयसम्म फरफारक नभए पदमा बस्न मिल्दैन भनेर भन्न मिल्ने बताए । समय नदिइ सञ्चालकलाई निष्कासन गर्न नमिल्ने बताए ।
राष्ट्र बैंकको पत्र आएपछि भोलिपल्टै सहकारी बैंकका सञ्चालक राष्ट्र बैंकमा गएको र त्यहाँ आफ्नो कुराको सुनुवाइ नभएको उनले बताए ।
बैंक धेरै अप्ठयारो अवस्था पार गरेर आजको स्थितिमा आएको उनको भनाइ छ । सहकारी बैंकमा राष्ट्र बैंकको १ करोड सेयर पुँजी रहेको र वित्तीय क्षेत्र भएका कारण अनुगमन, निरीक्षण राष्ट्र बैंकले गर्दै आएको उनले बताए ।
सहकारी बैंकका अध्यक्ष तथा सञ्चालक, व्यवस्थापकले आफुलाई अनुशासित रुपमा रुपमा लैजानु पर्ने उनले बताए ।
कार्यक्रममा माओवादी केन्द्र सहकारी विभाग प्रमुख लिलामणी पोखरेलले राष्ट्र बैंकले आफ्नो क्षेत्राधिकारभन्दा बाहिर गएर सहकारी बैंकलाई निर्देशन जारी गरेको दाबी गरे।
उनले राष्ट्र बैंकले यतिजना बोर्ड सदस्य हटाउ भनेर आफ्नो अनुकुलको निर्देशन जारी गरेको दाबी गरे । राष्ट्र बैंकले आफू अनुकुल, आफ्नो अनुसारको बोर्ड सदस्य संख्या तोकेर पठाएको र यो राष्ट्र बैंकको क्षेत्राधिकार भित्र पर्ने हो वा होइन ? भन्दै उनले प्रश्न गरे ।
अहिले सहकारी बैंक र सहकारी आन्दोलनलाई सिध्याउन खोजिएको उनको दाबी छ।
सहकारी बैंक र सहकारी आन्दोलनलाई सिध्याउन खोज्ने कार्यमा हामी कति जिम्मेवार छौं, त्यसमा ध्यान दिनुपर्ने उनको भनाइ छ ।
‘कार्यशैली, लगानी कसरी गरेको छ, लगानी उठाउनेमा हामी पनि जिम्मेवारी देखिनु पर्ने होला,’ उनले भने, ‘होइन भने बैंकको अध्यक्ष जेलमा किन जानु पर्ने ? अनी राष्ट्र बैंकले बोर्ड सदस्यमा फलानो फलानोलाई राख भनेर किन बन्यो । फलानोले ऋण लियो, ऋण तिरेको छैन, फलानोलाई हटा भनेर निर्देशन दिनुपर्ने अवस्था किन आयो ?’
सहकारी स्वनियमनमा चल्ने र आफ्नै विनियम भएको भन्दै उनले बोर्ड कतिजनाको बनाउने भन्ने राष्ट्र बैंकसँग सम्झौता गरेको छ ? भन्दै प्रश्न गरे ।
अहिले राष्ट्र बैंकको निर्देशनले सीईओ चेपुवामा पर्नु परेको उनको दाबी छ । ‘राष्ट्र बैंकको निर्देशन पालना नगरे पनि भएन, पालना गरौं भने सहकारीको विधि विधानसँग मिल्दैन,’ उनले भने ।
सहकारी बैंकको दायित्व १६ हजारभन्दा बढी सहकारी संस्थामा रहने उनले उल्लेख गरे । ‘१६ हजारभन्दा बढी सहकारीमा जनताको पैसा छ । त्यो पैसाको रक्षा गर्ने, निकाय राज्य हो,’ उनले भने, ‘तर राष्ट्र बैंकले क्षेत्राधिकार मिच्न मिल्दैन ।
उनले सहकारी बैंकलाई बचाउन, सहकारी अभियानलाई बचाउनका लागि, बचतकर्ताको बचत फिर्ता गर्नका लागि भएपनि राष्ट्र बैंकले क्षेत्राधिकार भन्दा बाहिर गएर निर्देशन दिन नमिल्ने उनको भनाइ छ ।
‘राष्ट्र बैंकले करिब १५ दिन भित्र बोर्ड सदस्य नियुक्त गर भनेको छ’ उनले भने ‘हामी गएर हामीलाई ९ जना बनाउन देउ भन्यौ । तिमी यहाँ निवेदन लिएर आउने होइन । आयौ भनेर कारबाही गर्छौ भनेर धम्की दिएको छ । २ जनालाई हटाइनै सक्नु भएको छ । अब चार जना हटाउनु पर्ने छ । राष्ट्र बैंकले १५ दिनमा हस्तक्षेप गर्छु भनेको छ । गर्यो भने अर्थतन्त्रको एउटा पिल्लर भाचिने छ।’
राष्ट्र बैंकले यस्तो गर्दा भनेर कल्पना नगर्दा आजको अवस्था आएको उनको दाबी छ ।
सरकारले नीति तथा कार्यक्रममा एउटा कुरा ल्याउने त्यो विषय बजेटमा नहुने गरेको स्मरण गरे । यस्ता कार्यले सहकारीलाई तीन खम्बे अर्थनीति भने पनि त्यो खम्बा भाचिएको तर्क गरे ।
कार्यक्रममा सहकारी बैंकका अध्यक्ष महेन्द्र गिरीले बैंकका सञ्चालक तथा व्यवस्थापक व्यवसायीक नबनी राष्ट्र बैंकले नछोड्ने बताए । उनले अब सहकारी बैंकलाई पूर्ण रुपमा व्यवसायीक बनाएर लैजाने बताए ।
राष्ट्र बैंकले बैंकको ५ जना सञ्चालकलाई हटाउने भनेको र त्यो नमाने कारबाही गर्ने भनेको जानकारी गराए । सहकारी बैंकलाई बचाउन सबैको सहयोगको आवश्यक रहेको उनले बताए ।