इजरायलद्वारा सिरियामा व्यापक हवाई आक्रमण: असदको पतनसँगै संकट



एजेन्सी । सिरियामा इजरायलले दर्जनौं हवाई आक्रमण गर्दै विभिन्न सैन्य स्थानहरूमा क्षति पुर्याएको छ ।

दमास्कसमा रहेको अनुसन्धान केन्द्र, जसलाई रासायनिक हतियार निर्माणसँग सम्बन्धित भनिएको छ, मुख्य निशानामा परेको छ । सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्सका अनुसार, पछिल्लो दुई दिनमा १०० भन्दा बढी हवाई आक्रमण गरिएका छन् ।

इजरायलले आफ्नो कारबाहीलाई ‘सुरक्षात्मक कदम’ भन्दै यस्तो हतियार अतिवादी समूहको हातमा पर्न नदिन आक्रमण गरिएको जनाएको छ ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले असद शासनको पतनलाई ‘मध्यपूर्वको ऐतिहासिक क्षण’ भनेका छन् ।

चार दशकभन्दा बढी समयदेखि सत्तामा रहेको बसर अल-असदको शासन इस्लामिक विद्रोही समूह हायत तहरीर अल-शाम र अन्य विद्रोहीहरूको आक्रमणपछि पतन भएको छ। अल शामले दमास्कस कब्जा गरेपछि सिरियालाई ‘मुक्त’ भएको घोषणा गरेको छ ।

समूहले पूर्व शासनका अधिकारीहरूमाथि युद्ध अपराधको अनुसन्धान गर्ने र दोषीहरूलाई कारबाही गर्ने जनाएको छ ।

सिरियाले २०१३ मा रासायनिक हतियार नष्ट गरेको दाबी गरे पनि, ती सबै भण्डार नष्ट नभएको आशंका छ । यस्ता हतियार विद्रोहीहरूको हातमा पर्न सक्ने डरले संयुक्त राष्ट्रसंघको रासायनिक हतियार प्रतिबन्ध संगठनले सिरियालाई ती हतियारको सुरक्षा सुनिश्चित गर्न चेतावनी दिएको छ ।

इजरायलले गोलान हाइट्स नजिकैको बफर जोनमा अस्थायी रूपमा प्रवेश गरेर आफ्नो सुरक्षा रणनीति कडा बनाएको छ । यस क्षेत्रमा विद्रोही समूहहरूको गतिविधिले क्षेत्रीय अस्थिरता बढ्न सक्ने देखिएको छ। इजरायली रक्षामन्त्रीले “सिरियाको गहकिला हतियारहरू नष्ट गर्ने” अभियान जारी रहने बताएका छन्।

असद शासनको पतनले सिरियाको परम्परागत सहयोगीहरू इरान र हेजबोल्लाका लागि चुनौती खडा गरेको छ। युक्रेन युद्धमा रसियाको ध्यान केन्द्रित भएकाले असदलाई रसियाबाट समर्थन कम भएको छ। यसले विद्रोही समूहहरूलाई आफ्नो नियन्त्रण विस्तार गर्न मद्दत गरेको देखिन्छ।

संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्‌ले सिरियाको क्षेत्रीय अखण्डता र नागरिकहरूको संरक्षणका लागि जोड दिएको छ। साथै, मानवीय सहायता प्रदान गर्न सबै पक्षले सहयोग गर्नुपर्ने बताइएको छ।

सिरियाको यो परिवर्तनले मध्यपूर्वको राजनीतिक स्थितिमा गहिरो प्रभाव पार्न सक्ने देखिन्छ । विद्रोही समूहहरूको उदय, रासायनिक हतियारको सुरक्षा, र इजरायलको सैन्य रणनीतिले आगामी दिनमा क्षेत्रीय अस्थिरता थप गहिरिन सक्ने संभावना छ।


क्लिकमान्डु