ब्रोकर्स संघको साधारणसभाः सेयर बजार चलायमान बनाउने यस्ता छन् उपाय



काठमाडौं । अर्थ समितिका सभापति सन्तोष चालिसेले बैंकमा पैसा भए पनि सेयर बजार चलायमान हुन नसकेको बताएका छन्।

स्टक ब्रोकर्स एशोसिएसन अफ नेपालको ३० औं वार्षिक साधारणसभामा चालिसेले अहिले सबै क्षेत्रमा यस्तै गुनासो रहेको बताए । बजारलाई कसरी चलायमान गराउने भन्ने चासोको विषय रहेको उनको भनाइ छ ।

अहिले समितिमा धितोपत्र ऐनसहित ५ वटा विधेयक आएको जानकारी गराउँदै उनले विज्ञहरुको सुझावका आधारमा अघि बढ्ने बताए । यसैगरी सेयर बजारलाई सुरक्षित कारोबार गराउने गरि कानुन बनाउने उनको भनाइ छ ।

यता धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले बजारको विकास गर्न संस्थागत क्षमता बढाउन आवश्यक रहेको बताउँदै बजार विकास भएसँगै चुनौती पनि बढेको उल्लेख गरे । भित्रि कारोबार, कर्नरिङ रोक्न आफूले हरसम्भव काम गर्ने र यस्ता विषय रोक्न कुनै सम्झौता नगर्ने उनको दाबी छ । बजारमा लगानीकर्तामैत्री काम गर्ने प्रयत्न गर्ने उनले बताए ।

मार्जिन कारोबार लगायतका विषयमा देखिएको समस्या समाधान गर्न प्रयत्न गर्ने बताउँदै श्रेष्ठले लगानीकर्ताले गरेको कारोबारको राफसाफ समयमा नै गर्ने सुझाव दिए । यसले बजारको विकास गर्न सहयोग गर्ने उनको धारणा छ ।

उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले ऐन संशोधन गर्न समय लाग्ने, संशोधन भएपछि व्याख्या आफू अनुकुल हुने गरेको उनले उल्लेख गरे । सेबोनलाई स्वायत्त बनाउन लाग्नु पर्ने उनले सुझाव दिए । महासंघ र आईक्यान हटाउन खोज्नु गलत भएको उनले बताए ।

बजार घट्दा धेरै चिन्ता हुने र बढ्दा ‘केकेन होला’ भन्ने चलन रहेको उनले बताए । मार्जिन ट्रेडिङको सिमा कति राख्ने भन्ने निर्धारण सेबोनले गर्नुपर्ने, राष्ट बैंकले गर्न नहुने उनको भनाइ छ ।

ब्रोकरले गल्ती गरे कारोबार रोक्ने, थुन्नेभन्दा पनि नगद जरिवाना गराउने व्यवस्था आवश्यक रहेको उनले बताए ।

अर्थ मन्त्रालयका सहसचिव शोभाकान्त पौडेलले देशको ७० प्रतिशत सम्पत्ति १०० जनाको हातमा रहेको उल्लेख गरे । यसले अर्थतन्त्र माथि जान नसक्ने उनको भनाइ छ । नयाँ मान्छेलाई बजारमा आउन नदिने हो भने बजारको विकास नहुने तर्क उनले गरे ।

पुँजी बजारको विकास गर्न डिजिटलमा जानुको विकल्प नभएको पौडेलको भनाइ छ । वित्तीय बजारको विकासका लागि नयाँ स्टक चाहिने हो कि होइन भन्नेमा सबैले ध्यान दिनु पर्ने उनले बताए ।

नेप्सेका अध्यक्ष समेत रहेका पौडेलले बजार विकासका लागि ब्रोकर सम्बन्धी छुट्टै कानुन आवश्यक रहेको बताए ।

सरकारी बन्ड, ग्रिन बन्डमा जान आवश्यक रहेको उनको भनाइ छ । बजारको विकासका लागि नियमन, सुपरिवेक्षण बलियो चाहिने उनले बताए ।

एसोसिएसनका पूर्वअध्यक्ष भरत रानाभाटले लामो समयदेखि धितोपत्र ऐन संशोधनको क्रममा रहेको भन्दै त्यसलाई विशेष रुपमा हेरिदिन सेबोन अध्यक्षलाई आग्रह गरे । बोर्डमा लामो समय अध्यक्ष नहुँदा रोकिएका काम अब द्रुत गतिमा अघि बढने अपेक्षा रहेको उनले बताए ।

रानाभाटले खेलले विदेशमा रहेका नेपालीलाई जोडे जस्तै सेयर बजारले पनि जोड्न सक्ने धारणा राखे । संघका पूर्वअध्यक्ष सन्तोष मैनालीले ब्रोकरलाई चुक्ता पुँजी थेग्नै नसक्ने गरि बढी भएको बताए । ब्रोकरको पुँजी बढेको भए पनि आम्दानीको स्रोत पुरानै रहेको उनको भनाइ छ ।

नेपालका ब्रोकरले लिने कमिसन दक्षिण एसियाकै सस्तो भएको उनको दाबी छ । अहिले सय रुपैयाँ लगानी गर्नेले २१ पैसा मात्रै आम्दानी गर्ने गरेको उनले बताए ।

बोर्डमा आउने हरेक अध्यक्षले कमिशन घटाउने गरेको भन्दै अब धेरै घटाउन नहुने उनले बताए । अहिले ब्रोकरले उधारो कारोबार गर्न बाध्य हुनुपरेको उनको भनाइ छ ।

धितोपत्र सम्बन्धी कानुन लगानीकर्तासम्म नपुगेको भन्दै उनले वित्तीय अपराध रोक्न लगानीकर्तासमेत पुग्ने कानुन बनाउन सुझाव दिए । अहिले ब्रोकरको सानो कमजोरीका कारण लगानीकर्ता कारोबार गर्न बन्चित भएको भन्दै उनले ब्रोकरलाई नगद जरिवाना गराउने व्यवस्था मिलाउन सुझाव दिए ।

कारबाहीको नाममा ब्रोकर १५ दिन कारोबार बन्द गर्दा त्यसको असर सीधै लगानीकर्तामा पुग्ने बताए ।


क्लिकमान्डु