राष्ट्रिय प्रसारण कम्पनी र दीपक मल्होत्राको आईएमएसबीच ग्रीड कनेक्सन सम्झौता
काठमाडौं । राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेड र आईएमएस प्राइभेट लिमिटेडबीच विद्युत् प्रसारणसम्बन्धी ‘ग्रिड कनेक्सन सहमति’ पत्रमा हस्ताक्षर भएको छ ।
राष्ट्रिय प्रसारण ग्रिड कम्पनीले निर्माण गर्न लागेको नलगाड-मैनतडा (भेरी कोरिडोर) ४०० केभी प्रसारण लाइनअन्तर्गत नलगाड ४००/१३२ केभी सबस्टेसनमा आईएमएस प्राइभेट लिमिटेडको निर्माणाधीन अपर भेरी जलविद्युत् आयोजना (३२५ मेगावाट) लाई जोड्ने गरी सहमति गरिएको हो ।
उक्त समझदारी पत्रमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत डा. नेत्र प्रसाद ज्ञवाली र आईएमएस प्राइभेट लिमिटेडका अध्यक्ष दीपक कुमार मल्होत्राले हस्ताक्षर गरे । यस सहमति अनुसार राष्ट्रिय प्रसारणलाइन कम्पनीले निर्माण गरेको प्रसारणलाइन मार्फत भेरी जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् देश तथा विदेशका भार केन्द्रहरूमा प्रसारित गर्न सकिनेछ ।
भेरी नदी बेसिनमा पहिचान भई निर्माणका विभिन्न चरणमा रहेका जलविद्युत् आयोजना राष्ट्रिय प्रसारण प्रणालीमा जोड्न नलगाड-मैनतडा ४०० केभी डबल सर्किट प्रसारण लाइन निर्माण गर्ने लक्ष्य राखिएको छ । करिब ७५ किलोमिटर लम्बाइको यो प्रसारण लाइन अन्तर्गत सुर्खेत जिल्लाको भेरीगंगा नगरपालिकामा मैनतडा सवस्टेशन र जाजरकोट जिल्लाको नलगाड नगरपालिकामा नलगाड सबस्टेसन रहनेछन् ।
नलगाड सबस्टेसनमा अपर भेरी (३२५ मेगावाट) सहित जगदुल्ला हाइड्रोपावर (१०६ मेगावाट), भेरी-१ हाइड्रोपावर (२७० मेगावाट), भेरी-२ जलविद्युत् आयोजना (२०६ मेगावाट) तथा अन्य जलविद्युत् आयोजनाका लागि एमओयू सम्पन्न भइसकेको छ । यी आयोजनासहित थप १८०० मेगावाट विद्युत् यो प्रसारण लाइनमार्फत केन्द्रीय प्रणालीमा जोडिनेछ ।
हालसम्म भेरी कोरिडोर ४०० केभी प्रसारण लाइनको विस्तृत अध्ययन, डिजाइन, तथा वातावरणीय प्रभाव मूल्यांकन सम्पन्न भएको छ । आयोजनाको लागि भारतको एक्जिम बैंकबाट करिब १३.५ अर्ब रुपैयाँ ऋण स्वीकृत हुने प्रक्रियामा छ। निर्माणका लागि आगामी माघमा टेन्डर आह्वान गरी आर्थिक वर्ष २०८७/८८ सम्ममा निर्माण सम्पन्न गर्ने लक्ष्य छ।
डोल्पा जिल्लाको दुनैसम्म विद्युत् पुर्याउने लक्ष्य राखिएको यो आयोजना कर्णाली प्रदेशको विकासका लागि महत्वपूर्ण आधारस्तम्भका रूपमा रहनेछ ।
राष्ट्रिय प्रसारण ग्रीड कम्पनीका सीईओ नेत्र ज्ञवालीले निजी क्षेत्रले उत्पादन गर्ने बिजुली स्वदेश तथा विदेशका लोड सेन्टरहरुसम्म पुर्याउन कम्पनीले ठूला ठूला प्रसारणलाइनहरु निर्माण गरिरहेको बताए । उनका अनुसार दुई दर्जन निजी कम्पनीसँग कम्पनीले एमओयु गरिसकेको छ ।